काठमाडौं । सानिमा इक्वीटी फण्डमा आवेदन गर्ने म्याद १८ गतेसम्म थपिएको छ । फण्डका लागि आवेदन दिने अन्तिम म्याद तोकिएको १५ गतेका दिन सार्वजनिक विदा परेकाले १८ गतेसम्म पुगेको हो । सरकारले १५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ भने आइतबार पनि सार्वजनिक विदा नै परेको छ । अब सानिमा इक्वीटी फण्डमा १८ गते सोमबार पनि आवेदन दिन सकिनेछ । कम्पनीले ढिलोमा २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
लगानी कर्ताको राम्रो रेस्पोन्स आईरहेकाले १८ गतेभित्रै सबै इकाई खरिद भैसक्ने सानिमा क्यापिटलका इभेष्टेमन्ट हेड सन्दिप लुइँटेलले विकासन्युजलाई जानकारी दिए । ‘लगानी कर्ताको रेस्पोन्स राम्रो पाईरहेका छौं, ठ्याक्कै कति आवेदन आयो भनेर तथ्यांक चाँही निकालेका छैनौं’, लुइँटेलले भने ।
सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड ल्याएको छ । सानिमाले १० रुपैंयाँ मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड ल्याएको हो । कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ ।
लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ । सानिमा क्यापिटलका स्किम मेनेजर जनार्दन आचार्यले ७ बर्षमा १२८.१५ प्रतिशत प्रतिफल दिने गरि इक्वीटी फण्ड तयार पारिएको बताए ।