काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बाणिज्य बैंकहरुको पुँजी ८ अर्ब पुर्याउँदा बिरोध गर्नेहरुले नै यतिबेला १६ अर्ब पुँजी माग गर्न थालेका बताएका छन् । सेञ्चुरी कमर्सियल बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको एकिकृत कारोबार आरम्भ गर्दै गभर्नर डाक्टर नेपालले भने–‘हिजो आठ अर्ब पुँजी पुर्याउँदा धेरै भयो भनेर मेरो बिरोध गर्ने बैंकका लगानी कर्तामध्ये कतिपयले आज मैसँग १६ अर्बको माग गर्न थाल्नु भएको छ ।’

उनले नेपाल राष्ट्र बैंकको लामो अनुसन्धानपछि पुँजी वृद्धिको योजना अघि सारेको र ८ अर्ब पँजी अझै पर्याप्त नभएको दावी पनि गरे ।‘यो देशको सबै भन्दा राम्रो अनुसन्धान गर्ने निकाय राष्ट्र बैंक नै हो, लामो अध्ययनपछि पुँजी वृद्धिको योजना ल्याएका थियौं, त्यसको सकारात्मक प्रभाव देख्न थालिएको छ, यो अन्तिम होइन, अझै पर्याप्त भएको छैन, समय अनुसार बढ्दै जान्छ’, डा. नेपालले भने ।
उनले पुँजी वृद्धिको योजना कार्यान्वयनमा आएपछि वित्तिय पहुँच ४० प्रतिशतबाट बढेर ८५ प्रशित पुगेको पनि बताए ।‘४० प्रतिशतको वित्तिय पहुँच ८५ प्रतिशतमा पुगेको छ, अब १५० वटा स्थानीय तहमा मात्रै बाणिज्य बैंक खोल्न बाँकी छ’, डा. नेपालले भने ।
उनले राष्ट्र बैंक कारवाही गर्ने निकाय मात्रै नभएर बैंक तथा वित्तिय संस्थालाई मार्गदर्शन गर्ने निकाय पनि भएको धारणा राखेका थिए ।
डा. नेपालले मुलुकको कुल गार्हस्थ उत्पादन(जिडिपी) गणनाको नयाँ मोडल र मापदण्ड तयार भैरहेको पनि बताएका थिए । हाल मुलुककको जिडिपी २६ खर्बको रहेको र नयाँ मापदण्डले त्यसलाई बढाएर ३० अर्ब पुर्याउन सक्ने पनि उनको भनाई थियो ।