काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अघि बाम गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रमा आगामी पाँच बर्षभित्र २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने उल्लेख थियो । यतिबेला बामपन्थीहरु सुबिधा जनक बहुमत सहित सरकार गठन गर्ने अवस्थामा पुगिसकेका छन् । अब प्रश्न उठेको छ, के बामपन्थी सरकारले आगामी पाँच बर्षमा २३४५ किलोमिटर लामो विद्युतिय रेल मार्ग बनाउँछ ? के बामपन्थी सरकारले बनाउन चाहदैँमा पाँच बर्षकै अवधीमा २३४५ किलोमिटर रेलमार्ग निर्माण सम्भव होला त ?
रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्याय भन्छन–‘राजनीतिज्ञले सपना देख्नु उचित भए पनि केहि हदसम्म महत्वकांक्षी देखियो तर लगानी ठुलो कुरा होइन, नीति र नेतृत्व राम्रो भयो भने पैसा सहजै जुट्छ ।’ उनले आगामी एक महिनाभित्रै आगामी पाँच बर्षभित्रै निर्माण हुने रेलमार्गको खाता तयार हुने पनि जानकारी दिए ।‘बामपन्थीहरुले रेलमार्गलाई उच्च प्राथमिकतामा राखेका छन्, नयाँ सरकारले आगामी पाँच बर्षमा रेलका क्षेत्रमा के के काम गर्न सक्छ भन्नेबारे खाका तयार भैरहेको छ’, उपाध्यायले भने ।
नेकपा(एमाले) र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणा पत्रमा पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने उल्लेख छ । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ ।
बाम गठबन्धनले घोषणा गरेको रेलमार्गको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए ।
तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ ।
त्यसबाहेक बाम गठबन्धनले आगामी पाँच बर्षभित्रै राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिका रेल सञ्चालन गर्ने, काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा सम्भाव्यता अनुसार मेट्रो, मोनोरेल, ट्राम तथा अन्य अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने पनि बामपन्थी घोषणा पत्रमा उल्लेख गरेका छन् ।
के के सम्भव छ पाँच बर्षमा ?
रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्रमा यसको पनि डिपिआर तयार भएर निर्माण कायृ अघि बढिसकेको हुनेछ ।
पुर्व पश्चिम रेलमार्गका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि सञ्चालन भैसकेको हुनेछ । उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।