काठमाडौं । निष्क्रिय कर्जा बढेपछि विभिन्न २८ वाणिज्य बैंकले कुल कर्जाको २.४ प्रतिशत कर्जा नोक्सान व्यवस्था (प्रोभिजन) गरेका छन् ।

हालसम्म वाणिज्य बैंकले निष्क्रिय कर्जाका लागि ४३ अर्ब ५३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका हुन् । गत असोज मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा बढेर १.८ प्रतिशत पुगेको छ ।
गत असार मसान्तमा यस्तो कर्जा अनुपात १.६ प्रतिशत रहेको थियो । निष्क्रिय कर्जा बढेपछि बैंकले कर्जा नोक्सानी रकम पनि पनि बढेको हो । यसले बैंकको नाफामा समेत असर गरेको छ । चालु आवको पहिलो त्रैमाशमा वाणिज्य बैंकले १० अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेका छन् ।
चालु आवको पहिलो त्रैमाशमा मात्रै सिभिल बैंकले कर्जा नोक्सानी वापत १ अर्ब ८६ करोड रुपैयाँ राखेको छ । सिभिलको निष्क्रिय कर्जा अनुपात बढेर ४.६५ पुगेको छ । निष्क्रिय कर्जा बढेका कारण सिभिलले गरेको नाफा कर्जा नोक्सानीमा व्यवस्थापन गर्नुपरेको छ । सबैभन्दा बढी निष्क्रिय कर्जा सिभिलको छ । चालु आवमा यस्तो कर्जा घटाएर २ प्रतिशतमा झार्ने सिभिलको योजना छ ।
सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकले कायम गरेको छ । एसबीआईको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यद्यपी गत आर्थिक वर्षको असारमा बैंकको यस्तो कर्जा ०.१० प्रतिशत मात्र थियो ।एसबीआईपछि कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक दोश्रो नम्बरमा रहेको छ । सानिमाको निष्क्रिय कर्जा ०.१४ प्रतिशत छ । यद्यपी यसघि बैंकको यस्तो कर्जा ०.०५ प्रतिशत मात्र थियो । खराब कर्जा न्युन राख्ने प्रतिष्पर्धामा बैंकहरु लागिपरेको भएपनि अधिकांश बैंकको खराब कर्जा भने बढेकै देखिन्छ ।
स्ट्यान्डर्ड चाटर्ड बैंकको निष्क्रिय कर्जा ०.१८, एभरेष्ट बैंकको ०.२६, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत मात्र रहेका छ । १ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा हुने अन्य बैंकमा माछापुच्छ्रेको ०.४५,नेपाल बंगलादेशको ०.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको निष्क्रिय कर्जा ४.२९ प्रतिशत छ । प्रभु बैंकको ४.२३ प्रतिशत छ । ४ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा सिभिल र एनसीसी र प्रभु बैंक मात्र छन् ।
यस्तै सरकारी स्वामित्वका कृषि विकास बैंकको ३.५४, राष्ट्रिय वाणिज्य बैंकको २.९२ र नेपाल बैंकको ३.४२ प्रतिशत छ । कुमारी बैंकको १.९७, लक्ष्मी बैंकको १.७८, नेपाल इन्भेष्टमेन्ट बैंककको १.०४, सिद्धार्थ बैंकको २, हिमालयन बैंकको १.२४, एनएमबी बैंकको १.६७, जनता बैंकको १.८५, नविल बैंकको १.११, सिटिजन्स बैंकको १.९९ प्रतिशत रहेको छ ।
यसैगरी प्राइम कमर्शियल बैंकको १.३७, मेगा बैंकको १.६७, ग्लोबल आइएमईको १.५७, सेन्चुरी बैंकको १.७०, सनराइज बैंकको १.४९ र बैंक अफ काठमाण्डुको २ प्रतिशत रहेको छ । ५ प्रतिशत बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थालाई जोखिमयुक्त मानिन्छ । हाल सञ्चालनमा रहेका बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत तल रहेको छ ।