काठमाडौं । स्थिर सरकार मार्फत विकास र समृद्धिको नारा दिएर चुनावमा होमिएको बाम गठबन्धनले सुबिधा जनक बहुमत प्राप्त गरेको छ । एमाले र माओवदीका बिचमा असमझदारी उत्पन्न नभएमा आगामी पाँच बर्ष यीनैले सरकार सञ्चालन गर्नेछन् । संघिय संरचनाले बढाएको चालु खर्चको चापलाई चिर्दै विकास र समृद्धिको जन चाहना पुरा गराउनु कम चुनौतीपुर्ण पक्कै छैन् । तर विकासको स्वभाविक गतिले निरन्तरता पाउँदा मात्रै पनि आगामी सरकारले धेरै उपलब्धी हासिल गरेको ठहरिनेछ ।
२०७५ सालको नयाँ बर्षमा मेलम्चीको पानी राजधानी बासीका धारामा आइपुग्नेछ । त्यस्तै, मंसिर भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । अबको १८ महिना भित्र गल्छी–त्रिशुली–रसुवागढी सडक डबल लेनमा कालोपत्रै भैसक्नेछ भने बेनी–जोमसोम–कोरला सडक पनि स्तरोन्नति भैसक्नेछ । तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनस्थापित हुनेछ । त्यसबाहेक किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बनिसक्नेछ ।
यहि पाँच बर्षे अवधीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न हुनेछ भने भैरहवा विमानस्थलको निर्माण सम्पन्न भैसक्नेछ । पोखरा विमानस्थल निकै अघि बढिसक्नेछ भने निजगढ विमानस्थलको कामले पनि धेरै गति लिईसकेको हुनेछ । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढिगण्डकी आयोजनाको निर्माणले पनि एउटा गति प्राप्त गरिसक्नेछ । हुलाकी राजमार्गको अधिकांश काम सम्पन्न भैसक्नेछ भने मध्यपहाडी लोकमार्गको निर्माणले पनि धेरै गति पाइसक्नेछ ।
करिब १० अर्ब खर्चेर देशभर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भैसकेको हुनेछ । यसले जनतामा सूचना प्रबिधीको पहुँच व्यापक रुपले विस्तार मात्रै गर्ने छैन् । सबै जसो सामुदायीक विद्यालयमा द्रुतगतिको इन्टरनेट सुबिधा प्रदान गर्नेछ ।
त्यस बाहेक जनकपुर–बिजलपुरा खण्डमा रेल गुडिसक्नेछ भने बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार भैसकेर सो भन्दा पुर्व र पश्चिमको रेलमार्ग निर्माणले पनि धेरै गति लिईसकेको हुनेछ । केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढिसकेको हुनेछ भने काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको काम पनि द्रुत गतिमा अघि बढिरहेको हुनेछ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम पनि धेरै मात्रामा अघि बढिसक्नेछ ।
आगामी सरकारको सानो पहल कदमीले मात्रै पनि आगामी पाँच बर्षमा यी र अन्य धेरै विकासका कामले स्वभाविक रुपले गति पाउनेछन् । सरकारले दृढ इच्छा शक्ति देखाउने हो भने अन्य धेरै कामले गति लिनेछन् । जसका कारण नागरिकले देश विकासको बाटोमा अघि बढेको महसुश गर्नेछन् ।