काठमाडौं । बीमा समितिले अब नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स नदिने भएको छ । समितिले भर्खरै मात्रै ९ वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएर पनि कारोबार आरम्भ गरिसकेका छन् । त्यस्तै, निर्जीवन तर्फ मनकामना इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सानिमा इन्स्योरेन्सले लाइसेन्स कुरिरहेका छन् । तीमध्ये पनि सानिमा, अजोड र नेपाल जनरलले आसय पत्र पाईसकेका छन् ।
बीमा समितिले निर्जीवन तर्फका चार कम्पनीले लाइसेन्स पाएपछि नयाँ कम्पनीलाई लाइसेन्स नदिने स्पष्ट पारेको हो । १० वटा जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिन अर्थमन्त्रालयले सैद्धान्तिक सहमति दिँदा नै थप बीमा कम्पनीलाई लाइसेन्स नदिनुभन्ने निर्देशन भएको थियो । ‘नयाँ बीमा कम्पनीको लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने लगायतका निर्देशन त्यतिबेलै अर्थमन्त्रालयबाट भएको थियो, हामी त्यसकै मर्मका आधारमा काम गर्छाै’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने ।
निर्जीवनतर्फ प्रक्रिया पुरा गरेर आए भने अब तीनवटा निर्जीवन बीमा कम्पनी थपिनेछन् । जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन सैद्धान्तिक सहमति दिँदा नै अर्थमन्त्रायले समितिलाई केहि बुँदे मार्गदर्शन दिएको थियो । त्यसमा नयाँ लाईसेन्स बन्द गर्ने र भएका कम्पनीहरुलाई मर्ज तथा एक्विजिशन गर्न प्रोत्साहित गर्ने नीति लिने भन्ने थियो । ‘अर्थमन्त्रालयको मार्गर्दशन अनुसार नयाँ लाइसेन्स बन्द गर्ने र भएका बीमा कम्पनीहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रोत्साहन गर्न हामी केन्द्रित हुनेछौं’, अध्यक्ष चापागाईँले भने ।
उनले पुर्नबीमा कम्पनीलाई बलियो बनाउने, कम्पनीहरुको क्षमता विकासमा जोड दिने, बाली तथा पशुबीमाको लागि छुट्टै संरचना बनाउने, सम्पत्ति बीमा र स्वास्थ्य बीमालाई प्रोत्साहन गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको पनि स्पष्ट पारे । हाल नयाँ पुरानासहित १७ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । १७ वटै निर्जीवन बीमा कम्पनी पनि सञ्चालनमै रहेका छन् । थप ३ वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्सका लागि आसय पत्र पाएका छन् ।