काठमाडौं । अब पुनर्बीमामा पनि ब्रोकरको व्यवस्था हुने भएको छ । बीमा समितिले पुनर्बीमालाई थप व्यवस्थित र सुरक्षित गराउन ब्रोकर सेवा सम्बन्धी व्यवस्था गर्न लागेको हो । हालसम्म नेपाली बीमा कम्पनीहरुका लागि भारतको जेबी बोडा इन्स्योरेन्स ब्रोकरेजले प्रतिनिधी राखेर ब्रोकर सेवा दिँदै आएको छ । ‘नेपाली बीमा कम्पनीका लागि व्यवसायीक ब्रोकर मार्फत काम गराउने उदेश्यले ब्रोकर सम्बन्धी निर्देशिका तयार पार्दैछौं’, बीमा समितिका नियमन विभागका प्रमुख साम्भराज लामिछानेले विकासन्युजसँग भने ।

त्यस्ता ब्रोकरहरुले नेपाली बीमा कम्पनीका लागि संसारका राम्रा पुनर्बीमा कम्पनी खोजिदिनेछ भने नेपाल पुनर्बीमा कम्पनीका लागि पनि विदेशी व्यापार खोजिदिनेछ । ‘नेपाली कम्पनीका लागि राम्रा विदेशी पुनर्बीमा कम्पनी खोज्ने र नेपाली कम्पनीमा पनि विदेशी कम्पनीहरुबाट पुनर्बीमा गराउने कामका लागि पुनर्बीमा दलालको व्यवस्था गर्न लागेका हौं’, नियमन विभाग प्रमुख लामिछानेले भने । समितिले पुनर्बीमा दलाल निर्देशिका मार्फत त्यस्तो ब्रोकरहरुको व्यवस्था गर्न लागेको हो ।
समितिले हाल त्यस्ता रि इन्स्योरेन्स ब्रोकरको चुक्ता पुँजी, सेवा शुल्क, संख्या, कार्यक्षेत्र र नियमनका उपायबारे अध्ययन गरिरहेको छ । पुनर्बीमा ब्रोकरको चुक्ता पुँजी एक करोड राख्नेबारे सहमति नजिक पुगिएको श्रोतले बतायो । बीमालाई जोखिम हस्तान्तरणको व्यवसाय मानिन्छ । एउटा कम्पनीमा गरिएको बीमा वापतको प्रीमीयम दर्जनौं पुनर्बीमा कम्पनीमा बाढिएको हुन्छ र ती कम्पनीहरुले प्राप्त गरेको प्राप्त गरेको प्रीमीयमका आधारमा जोखिम वहन गरिरहेका हुन्छन् ।
नेपालमा भने हालसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स मात्रै रहेको छ । पुनर्बीमा ब्रोकरले लाइसेन्स पाएर सेवा आरम्भ गरेपछि नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनी पाउने समितिले दावी गरेको छ । हाल विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका कम्पनीहरुले दावी भुक्तानी नपाएर हैरानी पाईरहेका छन् । युनाइेटड इन्स्योरेन्स कम्पनीले सिटी स्केपको दावी भुक्तानी लिन सकिरहेको छैन् । पुनर्बीमा ब्रोकर सेवा आरम्भ भएपछि त्यस्ता समस्याहरु नहुने बीमा समितिको दावी छ । आगामी डेढ महिना भित्र पुनर्बीमा ब्रोकरलाई लाइसेन्स दिने गरि बोर्डले काम अघि बढाईरहेको बताएको छ ।