काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरु विरुद्ध धितोपत्र बोर्डले मुद्दा चलाएको छ । साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली कारोबारमा सघाएको ठहरसहित २२ लाख ५० जहार जरिवाना तिराउने निर्णय गरेको छ ।
तीन कम्पनीको नक्कली कारोबारबारे बोर्डबाट कानुनी रुपमा छानविन गरि सोको प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले गोविन्द घिमिरे विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा गत असार २३ गते मुद्दा दायर गरेको थियो । साथै पुस २१ गते धितोपत्र बोर्डको निर्णयले विभिन्न धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरीद बिक्री भएको गरेकाे भन्दै बाेर्डले धिताेपत्र दलाल अग्रवाल सेक्युरिटिज प्रा.लि.लाई रु. दस लाख जरिवाना तोकिएको जनाएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली शेयर कारोबारमा धितोपत्र दलाल व्यवसायी श्रीहरि सेक्युरिटिज प्रा.लि.लाई दश लाख रुपैयाँ जतिवाना तोकिएको छ ।
साथै सिप्रवी सेक्यूरिटिज प्रा.लि.तथा सोका सम्बन्धित कार्यकारी प्रमुख पनि कारवाहीमा परेका छन् । नक्कली काराेबारकाे शुरुवाती जानकारी पार्ई यस घटनालाई उजागर गरी बजारमा हुने थप क्षतिलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेतलाई दृष्टिगत गरी धितोपत्र व्यवसायी नियमावली, २०६४ ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपुर्याएकोले उनलार्इ पनि पचास हजार जरिवाना गराइएकाे छ ।
कानुनी अाधार
शेयर कारोबारको शिलशिलामा कुनै व्यक्ति वा संस्थासंग व्यवसायिक सम्बन्ध कायम गर्दा ब्राेकर कम्पनीले त्यस्तो ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख राख्नुपर्नेमा नराखेको भन्दै उनीहरुमाथि कारवाही गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, सो अन्र्तगत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानुन बमोजिम तोकिएका काम नगरेको भन्दै बोर्डले उनीहरुमाथि कारवाही गरेको हो ।
कारोबार गर्ने संस्थालाई तोकिएको कार्यहरु गर्ने गराउनु पर्ने तथा कानूनी दस्तावेजमा उल्लेख भए बमोजिम ग्राहकको पहिचान यकिन गर्नु गराउनु पर्नेमा सो नगर्नु तथा ग्राहकको पहिचानको अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने व्यवस्था बमोजिमको कार्य नगरेको साथै सरल वा बृहद ग्राहक पहिचान, प्रविधिको दुरुपयोगमा नियन्त्रण, अनुगमन सम्बन्धको समाप्ति लगायतका सम्बन्धित अन्य विषयमा आन्तरिक नीति तथा कार्यविधि बनाई लागू गर्नुपर्नेमा सो नगरेकोले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को बर्खिलाप कार्य भएबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको दफा ७ फ को उपदफा (१) ले खण्ड (ख) को उल्लंघन गरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७फ. को खण्ड(ख) बमोजिम कारवाही गरिएको बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम २९ को उपनियम (१) मा रहेको धितोपत्र दलालले ग्राहकको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची–१२ र अनुसूची–१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखी उक्त व्यवस्थाहरुको पालना नगरेकोले धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज प्रा. लि. र अग्रवाल सेक्यूरिटिज प्रा.लि. लाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येक कम्पनीलाई पचास हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
त्यस्तै, धितोपत्र सम्बन्धी सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई पचास हजार रपैयाँ जरिवाना गरिएको छ ।