काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कूल २०६ वटा कम्पनीहरु मध्ये ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकरण भएका छन् । उक्त वर्गीकृत कम्पनीमध्ये वाणिज्य बैंक समूहबाट २७, माइक्रोफाइनान्स वित्तीय समूहबाट २६, विकास बैंक समूहबाट २१, बीमा समूहबाट १६, वित्त समूहबाट ११, जलविद्युत समूहबाट ५, होटल समूहबाट २ र अन्य समूहबाट २ वटा कम्पनीहरु ‘क’ वर्गमा परेका हुन् ।
नेप्सेले आर्थिक वर्ष २०७३/२०७४को अन्तसम्ममा सूचिकृत कूल कम्पनीहरु मध्ये उक्त कम्पनीहरुलाई प्रावधान अनुरुप चालु आवमा ‘क’ वर्गमा वर्गीकरण गरेको हो । (कुन कुन कम्पनी ‘क’ वर्गमा परे, हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।)
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली अनुसार चुक्ता पूँजी २ करोड, साधारण सेयरधनीहरुको संख्या कम्तिमा हजार नाघेको, कम्तिमा ३ वर्षदेखि लगातार मूनाफा रहेको, सेयर किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण पेश गरेकाले ११० कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गराएको हो ।
गत आवको तुलनामा यस वर्ष ‘क’ वर्गमा पर्ने कम्पनीको संख्या घटेको छ । गत आवमा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका थिए भने चालु आवमा जम्मा ११० कम्पनीहरु ‘क’ वर्गमा परेका नेप्सेले जनाएको छ ।