२०७७ असार ३ गते ११:१५ रमेश घिमिरे
यो आलेख तयार हुँदा (२०२० जुन) कोभिड १९ रोगले विश्वभर प्रभाव पारिरहेको छ । २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरमा कोरोना समूहको नयाँ भाइरस पहिचान भयो । त्यसलाई विश्व स्वास्थ्य संगठनले सार्स कोभ टु र त्यसको संक्रमणबाट लाग्ने रोगलाई कोभिड १९ नामाकरण गर्यो । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा यो रोगलाई विश्व महामारी (पेण्डामिक) घोषणा गर्यो । यो महामारीले विश्व प्रणालीमा व्यापक बदलाव ल्याउने अनुमानहरु भइरहेका छन् । ती अनुमानको विश्वासिला आधार नभएको यहाँ चर्चा गरिएको छ ।
ठूला महामारी, युद्ध, प्राकृतिक प्रकोप जस्ता विपत्तिले भावी विश्व प्रणालीलाई असर त गर्छन् नै । कति र कस्तो असर गर्छ भन्ने कुरा त्यस्ता विपत्तिले गर्ने क्षतिको आधारमा मात्र अनुमान गर्न सकिन्छ । कोभिड फैलिन सुरु भएको ६ महिना पुग्दासम्म क्षतिको सही अनुमान गर्न सकिने गरी रोगबारे पत्ता लागेको छैन ।
एक संक्रमित व्यक्तिबाट उसको संक्रमण अवधिमा औसत कति जनालाई संक्रमण सर्छ भन्ने एकीन छैन । २ जनादेखि ५ जनाको बीचमा रहेको कोरा अनुमान छ । संक्रमण कसरी सर्छ भन्ने पनि निश्चित छैन । कोभिडको मृत्युदर पनि एकीन छैन । चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ५.६ प्रतिशतको मृत्यु भएको छ । त्यहाँ ८३ हजार संक्रमितमा ४ हजार ६ सयको मृत्यु भएको छ । एउटा देशको मात्र तथ्यांकको आधारमा समग्र मृत्युदर मान्दा यथार्थपरक नहुन सक्छ । त्यस्तै, जुनसुकै रोगका कारण मानिसको मृत्यु भए पनि उसलाई कोभिड समेत छ भने कोभिडको मृत्युमा गणना गर्ने गरिएको छ । कोभिड नभएको भए ती बिरामीको मृत्यु हुन्थ्यो या हुँदैन थियो भन्ने थाहा छैन ।
ग्लोबल अर्डरमा अमेरिका, रुस र चीन
विश्व महाशक्तिको स्पष्ट प्राज्ञिक कुनै परिभाषा छैन । जुन देशको सैनिक शक्ति, आर्थिक शक्ति, सांस्कृतिक प्रभाव र राजनीतिक प्रभाव सबैभन्दा बढी देशमा फैलिएको छ, त्यसैलाई विश्व महाशक्तिको रुपमा बुझ्ने गरिएको छ । संस्कृतितर्फ अमेरिकाको भाषा, सिनेमाहरु र जीवनशैलीको प्रभाव विश्वमा छ । अमेरिकी सैनिकको उपस्थिति देशबाहिर ७० वटा मुलुक (टेरेटोरीसमेत) मा छ । अन्य देशका सेनासँग अमेरिकाको संयुक्त सैन्य गठबन्धन रहेको छ । विश्वको पहिलो अर्थतन्त्र अमेरिका हो ।
सन् १९९१ मा सोभियत संघ विभाजित भएपछि विश्व एक धुर्बीय भएको हो । त्यसपछि विश्वको महाशक्ति अमेरिका बनेको हो । विश्वमा पहिलो क्रम (फस्ट अर्डर) मा अमेरिका रहेको मानिन्छ । सन् २००१ बाट चीन अमेरिकाको चुनौतीको रुपमा आइरहेको छ । पछिल्लो २० वर्षमा चीनले तीव्रतर आर्थिक विकास गरिरहेको छ ।
चीनले कोभिडलाई अस्थायी नियन्त्रणमा राखी विभिन्न वस्तुहरुको निर्यात बढाइरहेको छ । अमेरिकामा भने संक्रमण फैलिरहेको छ । तसर्थ यो महामारीपछि अमेरिकाको बर्चस्व खस्केर चीन विश्वको महाशक्ति बन्नेछ भन्ने हलुका अनुमान कतिपयले गरेका छन् । कोभिडले चीनलाई थप केही क्षति पुर्याउँदैन र अमेरिकालाई एकदमै बढी क्षति पुर्याउँछ भन्ने निष्कर्षमा अहिल्यै पुग्न सकिंदैन । कोभिडको समयमा पनि अमेरिकाको गतिभन्दा चीनको गति अघि बढ्नु पुरानै निरन्तरता हो ।
चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ५.६ प्रतिशतको मृत्यु भएको छ । एउटा देशको मात्र तथ्यांकको आधारमा समग्र मृत्युदर मान्दा यथार्थपरक नहुन सक्छ । त्यस्तै, जुनसुकै रोगका कारण मानिसको मृत्यु भए पनि उसलाई कोभिड समेत छ भने कोभिडको मृत्युमा गणना गर्ने गरिएको छ । कोभिड नभएको भए ती बिरामीको मृत्यु हुन्थ्यो या हुँदैन थियो भन्ने थाहा छैन ।
अमेरिकी रक्षा बजेटको तुलनामा चीनको तीन गुणा कम रहेको छ । अमेरिकाको रक्षा बजेट ७३२ अर्ब डलर छ भने चीनको २६१ अर्ब डलर छ । सन् २०१८मा अमेरिकाको कूल ग्राहस्थ उत्पादन २०.५४ ट्रिलियन डलर छ भने चीनको १३.६१ ट्रिलियन डलर छ । चीन र अमेरिकाबीच ग्याप (दूरी) धेरै रहेको कारण अमेरिका यथाअवस्था वा केही खस्कदो अवस्था र चीन तीव्र वृद्धिको अवस्थामा रहे पनि चीनले जित्न धेरै वर्ष लाग्ने देखिन्छ ।
चीनले कन्जुमर आइटम, होम एपलाइन्सेस, फेन्सी, बच्चाका खेलौना आदिको व्यापारमा सफलता पाएको छ । उच्च प्रविधियुक्त सामानहरु, हातहतियार, उपकरण, मेशिनरी जस्ता महत्वपूर्ण सामानको पेटेन्ट राइट र उत्पादनमा अमेरिका धेरै अगाडि छ । औषधी विज्ञानदेखि अन्तरिक्ष विज्ञानसम्म अमेरिकाको रिसर्च र आविस्कार चीनको तुलनामा कयौं गुणा अगाडि छ । ज्ञानको क्षेत्रमा चीन धेरै पछि छ ।
वास्तवमा वल्र्ड अर्डरमा अहिले पनि चीन दोस्रो स्थानमा छैन । दोस्रो स्थानमा रुस छ । अमेरिकाको स्थान चीनले लिन्छ भन्ने अनुमान हुन्छ तर रुसबारे चर्चा नै हुँदैन । चीन धेरै पछाडि रहेको र अहिले तीव्र रफ्तारमा दौडिएको कारण मानिसहरुको ध्यान त्यतातिर मात्र गएको हो । चीनले अन्तर्राष्ट्रिय व्यापारमार्फत आर्थिक शक्ति हासिल गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत कुटनीतिक सम्बन्ध विस्तार गर्ने रणनीति लिएको छ । चीन र रुस राजनीतिक रुपमा मित्र शक्ति रहेको कारण विश्व राजनीतिमा आपसमा प्रतिस्पर्धा गरेको पाइदैन ।
सैन्य शक्ति, प्रविधिको आविस्कार र प्रयोग, अन्तरिक्ष खोज आदि विषयमा चीनभन्दा रुस धेरै अगाडि छ । रुस यसअघि विश्व शक्ति बनिसकेको राष्ट्र हो । रुसका राष्ट्रपति भ्यादिमिर पुटिन विश्वका शक्तिशाली नेताको रुपमा गणना हुँदै आएका छन् । रुस देश आफैंमा शक्तिशाली र नेता पनि एउटा शक्तिकै रुपमा रहेका छन् । हालै पुटिनले संविधान संशोधन गरेर आफू आजीवन देशको नेतृत्वमा रहने कानुनी व्यवस्था बनाएका छन् । पुटिनले रुसको पुराना विरासत फर्काउने सोच त बनाएका छैनन् ? रुससँग सबै क्षेत्रमा पुरानै शक्ति विद्यमान छ । ऊ त्यसमा टेकेर आक्रामक बन्न चाह्यो भने चाँडै अगाडि आउन सक्छ ।
चीनका राष्ट्रपति सि जिङ पिङले पनि आजीवन देशको नेतृत्व गर्न पाउने गरी संवैधानिक व्यवस्था गराएका छन् । उनी पनि उच्च व्यक्तित्व सहितका नेतामा गनिन्छन् । उतातिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंमा महत्वपूर्ण नेता होइनन् । अमेरिका देश मात्र शक्तिशाली छ । अमेरिका लोकतान्त्रिक मुलुक भएका कारण एक व्यक्तिले लामो समय शासन गरेर उसको प्रभाव विश्व राजनीतिमा पार्ने सम्भावना कम हुन्छ । यस अर्थमा रुस र चीनलाई शक्ति बढाउन अनुकूलता पर्दछ ।
यसअघि विश्व शक्तिमा रहेका बेलायत र जर्मनी अहिले दौडमा देखिंदैनन् । विश्व परिवेशमा बेलायत अमेरिकाको समर्थकको रुपमा रहेको छ । रुस र चीनभन्दा बढी बेलायत र अमेरिका एकाकार देखिन्छन् । जर्मनी भने अर्को मुलुकलाई आफ्नो साख सुम्पेर बसेको वा आक्रामक दुवै अवस्थामा छैन । तथापि जर्मनी पनि दौडमा निस्क्यो भने धेरैलाई चुनौती सिर्जना गर्न सक्छ । यूरोपमा अर्को शक्तिको रुपमा फ्रान्स रहेको छ । परम्परागत शक्ति फ्रान्स पनि कुनै बेला उठ्न सक्छ । फ्रेन्चहरुको राष्ट्रवाद र आफूहरुलाई उच्च मानव शभ्यता प्रतीक मान्ने उनीहरुको अहमताबीच कुनै महत्वांक्षी नेता जन्मिन सक्छ ।
चीनले आफ्नाे भाषा र संस्कृतिको प्रभाव विश्वमा फैलाउने प्रयत्न गरिरहेको छ । चाइना रेडियो इन्टरनेसनलले कार्यक्रम सञ्चालन गर्ने भाषाको संख्या ६५ पुर्याइसकेको छ । वैदेशिक भ्रमण गर्नेमा पनि चिनियाँहरु आक्रामक देखिन्छन् । चिनियाँ भाषा सिक्ने र सिकाउने क्रम विश्वमा बढ्दो नै छ । तथापि अंग्रेजीको आवश्यकता र मोहलाई यसले कम भने गराउन सकेको छैन ।
कोभिडको कारण विश्वभर सरकारहरुको राजस्व खुम्चिने तर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको खर्च बढ्ने हुँदा कतिपय देशहरु ऋणमा डुब्न सक्छन् । यूरोपका केही देशमा ऋणले समस्या ल्याउन सक्छ । यदि देशहरु ऋण चुक्ता गर्न नसक्ने वा ऋण चुक्ता गर्न पुनः ऋण लिनुपर्ने (डेप्थ ट्रयाप) मा परे भने साहु मुलुकको अबाञ्छित प्रभावमा पर्न सक्छन् । तर पहिलो नम्बरको देश ५ औं नम्बरमा झर्ने र १० औं नम्बरको ५ मा उक्लने जस्तो गरी मुलुकहरुको दर्जा क्रम भत्कने सम्भावना देखिंदैन ।
कोभिडको कारण विश्वभर सरकारहरुको राजस्व खुम्चिने तर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको खर्च बढ्ने हुँदा कतिपय देशहरु ऋणमा डुब्न सक्छन् । यूरोपका केही देशमा ऋणले समस्या ल्याउन सक्छ । यदि देशहरु ऋण चुक्ता गर्न नसक्ने वा ऋण चुक्ता गर्न पुनः ऋण लिनुपर्ने (डेप्थ ट्रयाप) मा परे भने साहु मुलुकको अबाञ्छित प्रभावमा पर्न सक्छन् । तर पहिलो नम्बरको देश ५ औं नम्बरमा झर्ने र १० औं नम्बरको ५ मा उक्लने जस्तो गरी मुलुकहरुको दर्जा क्रम भत्कने सम्भावना देखिंदैन । चीन विश्व शक्ति हुने होडमा छ र भविष्यमा हुन पनि सक्छ तर कोभिडकै कारण विश्व शक्ति हुने कुनै आधार देखिन्न ।
राजनीतिक व्यवस्था
चीनमा स्वास्थ्य सेवा सरकारी स्वामित्व छ । त्यहाँ नागरिक अधिकार सहजै दमन गर्न सकिने व्यवस्था छ । यसै कारण त्यहाँ कोभिड सहजै नियन्त्रणमा आयो भन्ने कतिपयको बुझाइ छ । स्पेनमा सरकारले निजी अस्पताल राष्ट्रियकरण गर्यो । यी लगायतका आधारमा सरकारी नियन्त्रण भएकै व्यवस्था उपयुक्त हो भन्ने पुष्टि भएको कतिपयको बुझाइ छ । त्यसको आधारमा अबको विश्वमा उदारवादी पुँजीवाद अन्त्य हुन्छ भन्ने अनुमान भएका छन् ।
जुन शासन व्यवस्था भएका मुलुकले कोभिडलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्छन्, त्यो शासन व्यवस्था बाँकी मुलुकले पनि अनुशरण गर्ने अनुमान गरिएका छन् । स्वास्थ्य र शिक्षा उदारवादी पुँजीवादी व्यवस्थामा पनि राज्यकै दायित्वभित्र राखिएको छ । यसका लागि शासन प्रणालीमा फेरबदलको आवश्यकता नै छैन । नेपाललगायत कतिपय देशमा सरकारी अव्यवस्था र कुशासनको कारण स्वास्थ्य सेवा अप्रभावकारी भएका छन् । यस घटनालाई देशमा निजी अस्पताल रहेका कारण स्वास्थ्य सेवा राम्रो भएन भन्ने निष्कर्षमा पुग्नु सही हुँदैन ।
कोभिड र त्यसको व्यवस्थापनको क्रममा हुने गल्ती कमजोरीका कारण बढ्ने गरिबी, बेरोजगारी, अभाव, मानसिक समस्या आदि विविध कारणले सामाजिक स्वरुपमा बदलाव आउन सक्छ । त्यसको कारण देश विशेषको शासन प्रणालीलाई असर पार्न सक्छ । त्यस्तै, सत्ता समीकरण र नेतृत्वमा फेरबदल हुन सक्छ । तर धेरै मुलुकले सही व्यवस्थापन गर्ने अनुमान गर्न सकिन्छ । विश्वभर एउटै विधिमात्रै सही हुन्छ भन्न सकिंदैन । चीन, अमेरिका, जापान, दक्षिण कोरिया सबै देशका विधि ठीक हुन सक्छन् ।
जीवनशैली
यो भाइरसले स्वरुप परिवर्तन गरेन वा गरे पनि नयाँ स्वरुपले खासै क्षति गरेन भने यसले मानिसको जीवनशैलीमा असर गर्ने छैन । यो रोगको वास्तविक मृत्युदर नै अहिले अनुमान गरिएभन्दा कम रहेछ भने जीवनशैली सामान्य हुनेछ । हरेक सिजनमा भाइरसले रुप फेरेर आउने र क्षति पनि बढी नै गर्ने भयो भने मात्र विश्वका मानिसको जीवनशैलीमा परिवर्तन आउने छ ।
यदि यस्तो अवस्था आउँछ भने अहिलेजस्तो मास्क, सेनिटाइजर, सामाजिक दूरी, साबुन पानी, उच्च सरसफाइ, अनलाइन सेवाको प्रवर्द्धन हाम्रो जीवनशैली बन्ने छ । भीडभाडमै रमाउनुपर्ने पार्टी डान्स, पौडी, पिकनिक जस्ता अनेकै हाम्रा गतिविधिको रुप पनि फेर्नुपर्नेछ । सिनेमा हल र स्कूलहरुको भौतिक संरचना फेरबदल हुनेछ । तथापि भाइरससँग सहज रुपले जीउन सक्ने कुनै विधि आविश्कार भएर जीवनशैली पुरानै लयमा फर्कन सक्ने सम्भावना पनि देखिन्छ ।
आर्थिक प्रभाव
चिनियाँ कम्पनीहरु विश्वभरका कम्पनीमा सेयर लगानी र ठेक्का पट्टाको काम गर्न कोभिडभन्दा पहिलेदेखि नै आक्रामक छन् । कोभिडका कारण मूल्य घटेका यूरोपेली कम्पनीका सेयरहरु चिनियाँ कम्पनीले किनेका छन् । भारतीय कम्पनीमा पनि मूल्य घटेको बेला हिस्सेदारी बढाउन चिनियाँ कम्पनी अघि सरेका थिए । तर भारत सरकारले अनुमति बिना चीनले भारतीय कम्पनीको सेयर किन्न नपाउने कानुन जारी गर्यो । कोभिडको बेला चिनियाँ कम्पनीको हिस्सेदारी विस्तार भएको छ । यूरोपलगायतका ठूला कम्पनीमा ऋण लगानी गर्ने भने अमेरिकी बैंकहरु नै हुन् ।
कोभिडको प्रभावस्वरुप अहिले विश्वभर करोडौं मानिसले रोजगारी गुमाएका छन् । कयौं प्रकारका उद्योग व्यापार बन्द भएका छन् । यसले व्यक्ति र राष्ट्रहरुको अर्थतन्त्रमा प्रभाव पर्दछ । तर महामारीले युद्ध वा प्राकृतिक प्रकोपले जस्तो भौतिक संरचनाहरु समेत क्षति गर्दैन । त्यसैले यसबाट भएको आर्थिक क्षतिको भरण सहज र छिटो हुन्छ । रोगको कारण आर्थिक रुपले सक्रिय युवा शक्तिको खासै क्षति हुने देखिएको छैन । रोगले अस्वस्थ र वृद्धावृद्धालाई क्षति पु¥याएको छ । मानवीय दृष्टिकोणले यो क्षतिको उत्तिकै प्रभाव भए पनि आर्थिक दृष्टिकोणबाट प्रभाव पर्दैन ।
चिनियाँ कम्पनीहरु विश्वभरका कम्पनीमा सेयर लगानी र ठेक्का पट्टाको काम गर्न कोभिडभन्दा पहिलेदेखि नै आक्रामक छन् । कोभिडका कारण मूल्य घटेका यूरोपेली कम्पनीका सेयरहरु चिनियाँ कम्पनीले किनेका छन् । तर भारत सरकारले अनुमति बिना चीनले भारतीय कम्पनीको सेयर किन्न नपाउने कानुन जारी गर्यो । उता यूरोपलगायतका ठूला कम्पनीमा ऋण लगानी भने अमेरिकी बैंकहरुले नै गरेका छन्।
बेरोजगारी समस्या समाधान गर्न कुनै देशलाई बढी ऋणको बढी भार पर्न सक्छ । कहीं मुद्रा स्फीति र कहीं मूल्य ह्रासको समस्या आउन सक्छ । तर यसले विश्वभर नै उथलपुथल ल्याउने स्थिति देखिंदैन । समस्याहरु सरकारहरुले विवेकसम्मत ढंगले समाधान गरेर केही वर्षमा सामान्य अवस्थामा फर्काउन सक्छन् । आर्थिक समस्यासँग जुँध्न विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकलगायत बहुपक्षीय संगठनहरु रहेका छन् । वैदेशिक रोजगारीमा निर्भर देशहरुलाई ठूलै समस्या पर्ला भन्ने अनुमान छ । तर स्थिति सामान्य भएपछि वैदेशिक रोजगार पुनः सुचारु भइहाल्छ । यो दीगो समस्याका रुपमा रहँदैन ।
वातावरणीय प्रभाव
मानिसहरुले आफूले स्वाभाविक रुपले खानुपर्ने कुराभन्दा फरक कुरा खाने र गर्नुपर्नेभन्दा फरक काम गरेका छन् । मानिसले उपभोग नगरेका स्थानहरुमा प्राकृतिक रुपले पारिस्थितिक प्रणाली (इको सिस्टम) चलिरहेको थियो । त्यहाँ मानिसले जमिनको स्वरुप बदलेर उपभोग गर्ने, एउटा प्रजातिका रुख विरुवा नष्ट गरेर अर्को प्रजातिका रोप्ने, जीवजन्तुलाई बाधा पुर्याउने, मार्ने र खाने गरे । यसले गर्दा एक अर्का पारिस्थितिक प्रणालीलाई प्रतिकूल असर पर्न गयो ।
प्रकृतिमाथिको दोहोनको कारण समस्या आउँछ भन्ने मानव सभ्यतालाई पूर्व जानकारी भएकै कुरा हो । यो कार्य बढ्दो जनसंख्यालाई बचाउन र सुविधा दिनकै लागि भएको हो । त्यसैले अब मानिस प्राकृतिक जीवनशैलीमै फर्कने सम्भावना छैन । यो महामारीले थप प्रकृतिमैत्री हुन मानव सभ्यतालाई केही दबाब भने पर्नेछ ।
निचोड
कतिपयले कोभिड विश्व महामारी घोषणा गर्नुपर्ने स्तरको रोग नै होइन भन्ने दाबी पनि गरिरहेका छन् । यसले प्रत्यक्ष रुपमा के कति क्षति गर्छ र यसको व्यवस्थापनको गल्ती कमजोरीबाट समेत गरी कूल क्षति कति हुन जान्छ भन्ने अहिले एकिन भएको छैन । यसले विश्वप्रणाली र मानव जीवनशैलीमा के कस्तो परिवर्तन निम्ताउँछ भन्ने अनुमान गर्न सकिने बेला अझै भएको छैन । तथापि अहिलेसम्म जे जति तथ्य पत्ता लागेका छन्, त्यसका आधारमा यो महामारीले विश्व प्रणालीमा तात्विक फेरबदल ल्याउने सम्भावना देखिंदैन ।
(यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक)
Copyright © 2024 Bikash Media Pvt. Ltd.