मैले काम गर्छु भन्दाभन्दै कर्मचारीले जबरजस्ती ताला लगाए : उपकुलपति प्रा.डा. शीलु बज्राचार्य

  २०८१ मंसिर १३ गते १८:१७     विकासन्युज

खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्य ।

आर्थिक, सामाजिक राजनीतिकलगायत विभिन्न कारणवश उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै स्थान भएको विश्वविद्यालय हो, नेपाल खुला विश्वविद्यालय । नेपाललगायत विभिन्न देशमा खुला विश्वविद्यालय सञ्चालनमा आएका छन् । यसको उद्देश्य जसले समयमै आफ्नो पढाइ पुरा गर्न सकेनन्, उनीहरूको लागि घरमै बसीबसी शिक्षा प्रदान गर्ने /गर्न पाउनु हो । तर, नेपालमा रहेको खुला विश्वविद्यालयले उद्देश्यअनुरूप काम गर्न सकेको छैन ।कहिले  डीन नियुक्तिमा विवाद, कहिले शिक्षक कर्मचारीबीच विवादले यो विश्वविद्यालय थिलोथिलो हुँदै गएको छ । स्थापनाको ७ वर्षसम्म न आफ्नै भवन बनाउन सकेको छ न त देशभरका विद्यार्थीलाई समेट्न सकेको छ । अहिले पनि यो विश्वविद्यालयका शिक्षक कर्मचारी आन्दोलित छन् । कलेजमा ताला लागेको छ । यस्तो अवस्था किन आयो ? के खुला विश्वविद्यालय राजनीति गर्ने थलो बनेकै हो त ? हामीले खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्यसँग कुरा गरेका छौं। सोही कुराकानीको सम्पादित अंश :  

अचेल यहाँको दैनिकी विश्वविद्यालयभन्दा बढी अड्डा अदालत धाउँदै बितेको छ, केही दिन अगाडि डीनमाथि कारवाही पनि गर्नु भयो, खासमा यो विवाद के हो ?

केही दिन अगाडि सामाजिकशास्त्र तथा शिक्षा संकायका डीनलाई कारवाही गर्नुपर्ने अवस्था आयो । किनकि विश्वविद्यालयको डीन भनेपछि फ्याकल्टीको एकेडेमिक लिडर हो । लिडरको जिम्मेवारी भनेको आफ्नो फ्‍याकल्टीअन्तर्गत चल्ने सम्पूर्ण शैक्षिक कार्यक्रमलाई राम्रोसँग चलाउने हो । शैक्षिक क्यालेण्डर व्यवस्थापन गरेर काम गर्ने हो । सँगै आफ्नो संकायमा चलेका कार्यक्रम, रिसर्च प्रोजेक्टहरू सबै नियमसंगत चलाउनुपर्ने हो । तर उहाँले कोही कसैसँग सहकार्य नगरी एकलौटी ढंगमा काम गर्न थाल्नुभयो । म यो संस्थाको कार्यकारी प्रमुख हो । कुनै पनि काम गर्दा मसँग पनि सल्लाह लिनुपर्छ तर, उहाँले कसैको कुरा नसुनेर काम गर्दा मैले विभागीय कारवाही गरेकी हुँ ।

भनेपछि उपकुलपतिलाई डीनले टेरेनन्, हो ?

विश्वविद्यालयको उपकुलपति भनेको पूर्णकालीन प्रमुख कार्यकारी हो । ऊअन्तर्गत डीन पनि पर्छ । डीनले कार्यकारी प्रमुखले भनेको कुरा मान्नुपर्छ । कुनै पनि काम गर्दा राय सल्लाह लिनुपर्छ । तर यहाँ त्यस्तो भएन । कुनै पनि काममा सोधनी हुँदैन, कुनै काम भनेको अनुसार गरेको पनि हुँदैन, आफ्नै स्वेच्छाचारी ढङ्गबाट अगाडि बढ्ने भएको र त्यहाँका शिक्षकलाई पनि वेवास्ता गरेर एकलौटी काम गर्ने कारवाही गर्नुपरेको हो ।

यही घटनाले हो अदालतसम्म पुग्नु परेको ?

कारवाहीपछि उहाँ अदालत पुग्नुभयो । उहाँ जानुपर्ने त पुनरावेदन अदालत हो तर जिल्ला अदालत जानुभयो । अहिले मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामै कारवाही भोगेका डिनले कुलपतिबाट डिनलाई यथावत जिम्मेवारीमा कामकाज गराउन दिनु भनेको पत्र ल्याएर फर्कनुभो । यो विश्वविद्यालयको कुलपति शिक्षामन्त्री हुन्छ  । मलाई थाहा नदिइकन यो निर्णयको कार्यान्वयन विश्वविद्यालयको रजिष्टारबाट भयो । बोधार्थको आधारमा रजिष्टारले जसलाई मैले निमित्त भनेर दिरहेको थिएँ, उहाँलाई काम नगर्न भनियो र मैले कारवाही गरेको मान्छेलाई फेरि त्यही काममा राखिएको छ ।  यो कुरामा हाम्रो मन्त्रीज्यूले एक पटक सोधेर काम अगाडि बढाएको भए हुने, त्यसो गर्नुभएन । यहाँ अराजकता अपनाइयो । हामी विश्वविद्यालयका प्रमुखले समस्या समाधान गर्ने हो, सिर्जना गर्ने होइन । 

अनि, शिक्षामन्त्रीसँग यो विषयमा छलफल भएन त ?

छलफल हुनुपर्थ्यो । तर गरिएन । उपकुलपतिले कारवाही गरेको मान्छेलाई फेरि काम गर्न पठाउँदा एक पटक किन हो भनेर सोध्नुपर्थ्यो । तर सोधिएन । मन्त्रीज्यूबाट नै योसम्मको कार्य हुनु राम्रो पक्कै होइन । किनकि मैले त्यत्तिकै विभागीय कारवाही पक्कै गरेको थिइनँ पनि ।

विश्वविद्यालयमा किन यस्तो हुन्छ ?

यो सब भएको राजनीतिक हस्तक्षेपले गर्दा हो । यो विश्वविद्यालयमा अवरोध भएको अहिले मात्र होइन । पहिले पनि धेरै पटक भइसक्यो । म नियुक्त भएको २० दिनमा पनि यस्तै भएको थियो । यो समस्या बाहिरबाट भएको होइन, विश्वविद्यालय भित्रका व्यक्तिबाट भएको हो । यसमा यसको उसको भन्दा पनि सबैको दोष छ । म त हामी आफैले आफैलाई दोष दिनुपर्छ भन्छु । यो कसैको कारण भएको भन्नुभन्दा पनि हामी कर्मचारीको आफ्नै संस्कार र नियतिका कारण भएको हो । अब यसको समाधान पनि आफैले गर्नुपर्ने हो तर अवस्था सहज छैन ।

अहिले शिक्षक/कर्मचारीले नै विश्वविद्यालयमा ताला लगाएका छन्, ताला लगाउनुपर्ने अवस्था किन आयो ?

तालाबन्दी नै गर्नुपर्ने कुनै कारण थिएन । यो विश्वविद्यालयमा धेरै कर्मचारी छैनन्  । केही शिक्षक कर्मचारीलाई २०७५ सालमा करारमा नियुक्त गरिएको थियो । त्योबेला करारमा नियुक्त भएकाहरू अहिले हामी सबै प्रक्रिया पुर्‍याएर करारमा छिरेको भन्दै स्थायी हुनुपर्‍यो भनिरहनुभएको छ । त्यसमा पनि विशेष आन्तरिक हुनुपर्‍यो भन्ने माग उहाँहरूको छ  । यसमा मेरो कुनै आपत्ति छैन । उहाँहरू स्थायी हुनुपर्छ भन्ने चाहना मेरो पनि हो । आज नभएपनि  गर्ने नै हो । तर अस्ति एउटा बैठक बस्ने तय भएको थियो, मेरो व्यस्तताले बैठक स्थगित हुनेबित्तिकै उहाँहरूले ताला लगाउनुभयो । यो  विषयमा अगाडि बढाउने योजनामा म पनि छु । तर यसमा उहाँहरूले मलाई विश्वास नगरेको हो ।

खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्य र पंक्तिकार ।

भनेपछि डीन, रजिष्टारले नै उपकुलपतिको विश्वास गर्दैनन् ?

हो, त्यस्तै लाग्छ , नभए त मैले यो विषयमा निर्णय गर्छु भनेकै थिएँ । म केही व्यस्त भएकाले मात्र बैठकमा बस्न सकेको थिइनँ । मैले काम गर्छु भन्दा पनि कर्मचारीले जबरजस्त ताला लगाउनुभयो ।

सबै प्रक्रिया पुर्‍याएकै छन् स्थायी गरे भइहाल्यो नि त ?

तीन महिनाजति भयो हाम्रो कार्यकारीसहितको बैठक नबसेको । हामीले एउटा डीन नियुक्त गरेका थियौं । त्यसमा हाम्रै भित्रका साथीहरूले मुद्दा हाल्नुभयो । त्यो मुद्दामा पनि उहाँले आदेश पाउनु भएन । जबसम्म अदालतले काम नगर भन्यो तबसम्म उहाँले काम गर्नुभएन । यो विषयलाई मुद्दा बनाएर बैठकमा उपस्थित नहुने भएपछि बैठक बस्न सकेन । यो बैठक नबसेर धेरै काम पनि प्रभावित भएको छ । हामीले समिति, सभापति, सभासद नियुक्त गर्नुपर्ने छ । अस्ति हामीले बैठक बस्ने भनेका थियौं तर, मेरो व्यस्तताले बैठक बस्ने सकेन अनि यो अवस्था आयो । 

अब यो विवादलाई कसरी समाधान गर्नु हुन्छ ?

अब बैठक बसेर यो विषयमा छलफल गर्छौं । यो ठूलो विषय पनि होइन । यसलाई छलफलकै माध्यमबाट समाधान गर्छौं । 

भनेपनि  यहाँका दिन कहिले अदालत, कहिले कहिले विश्वविद्यालय धाउँदै आन्तरिक विवादमै बितिरहेका छन्, हैन त ?

अब हो भन्नै पर्छ । यसरी नै बितिरहेका छन् । यही विवादले चाहेअनुसार काम गर्न सकेको छैन । सरकारले एउट खुला विश्वविद्यालयको जिम्मा दिएको छ । यो एउटा राम्रो काम गर्ने अवसर पनि हो । यति मात्र होइन, म एउटा महिला पनि हुँ । मैले राम्रोसँग काम गर्‍यो भने महिलाको पनि इज्जत बढ्ने हो । जसले मलाई नियुक्त गरेको छ, उहाँहरू सबैको इज्जतको कुरा हो । यो समयलाई सदुपयोग गर्नुपर्ने हो, तर मेरो समय अन्य काममा बर्बाद भइरहेको छ । मलाई यो कुराले साह्रै चिन्तित तुल्याएको छ । तर पनि म संघर्षरत छु । मेरो कार्यकालमा अझै पनि राम्रो काम गर्नेछु भन्नेमा विश्वस्त छु । अर्को धेरै कुरा गर्न नसके पनि सुरुवातीमात्र गर्ने हो भने अब आउनेहरूका लागि राम्रो एउटा बाटो कोर्ने प्रयासमा छु । 

नेपालका धेरै विश्वविद्यालयमध्ये खुला विश्वविद्यालयले मात्र महिला उपकुलपति पाएको छ, महिलालाई नेतृत्वदायी भूमिकामा काम गर्न कति सहज हुन्छ ?

महिलालाई स्वीकार्न अहिलेको पुस्तालाई पनि गाह्रो छ । अहिले जति पनि दुःख पाइरहेको छु एउटा कारण यही हो भन्ने पनि मलाई लागिरहेको छ । महिलालाई अझै प्रमुखको रूपमा स्वीकार गर्न सक्ने हिम्मत धेरैमा छैन ।  

भनेपछि अहिले पनि महिलाको नेतृत्वमा पुरुष डीन बन्न चाहँदैनन् भन्ने भाव देखियो ?

यो पुरुषप्रधान देश हो । यहाँ जति ठूला कुरा गरेपनि अहिलेसम्म सोंच पितृसत्ता नै छ । मलाई पनि म महिला भएकै कारण नटेरेको हो कि भन्ने लाग्छ । मेरो ठाउँमा अन्य पुरुष भएको भए यस्तो अवस्था सायद आउँदैन थियो होला । यही आन्तरिक द्वन्द्वले चाहेको काम पनि गर्न नसकेको अवस्था छ ।

तपाईं यो विश्वविद्यालयमा एउटा डीन भएर प्रवेश गर्नुभयो, अहिले उपकुलपति हुनुभएको छ, डीन र उपकुलपतिको भूमिकामा के फरक छ ?

डीन पनि एक लिडर नै हो । तर उसले एउटा संकायमात्र हेर्नुपर्छ भने उपकुलपति भइसकेपछि पुरै विश्वविद्यालयलाई हेर्नुपर्छ । म डीनमा रहँदा राम्रो काम पनि गर्न सकेकी हुँ । एउटा सफल डीन भएर आफ्नो संकाय चलाउन सकेकी हुँ  । तीनवटा संकायमध्ये मैले चार वर्षे कार्यकालमा ब्याचलर्सदेखि पीएचडीसम्मका कार्यक्रम शैक्षिक क्यालण्डेरअनुसार सञ्चालन गरेकी पनि हुँ । तर, उपकुलपति हुँदा यसरी काम गर्न सकिनँ । काम गर्न पाइएन अथवा दिइएन भनौं । यहाँ राजनीति धेरै हुने र राम्रो राजनीतिक पहुँच नहुँदा मलाई समस्या आएजस्तो लाग्यो । तर म चुनौतीलाई अवसरको रूरुपमा लिन्छु ।

उपकुलपति हुँदा म के गर्छु भनेर योजना बनाउनुभएको थियो ? 

म डीनमै रहँदा यो विश्वविद्यालयमा कहाँ के गर्नुपर्छ, कहाँ के कमजोरी छ, के गर्‍यो भने राम्रो हुन्छ भन्ने सबै कुरा थाहा थियो । त्यही काम गर्ने भन्ने योजना पनि थियो तर, मलाई काम गर्न दिइएन । अथवा गर्न सकिनँ, तर मैले हार मानेकी छैन । मेरो कार्यकाल अझै केही समय छ । त्यो समयमा म गर्ने प्रयासमा छु । सफल हुने कुरामा म ढुक्क छु ।

अब कसरी अगाडि बढ्नुहुन्छ ?

पहिले त अहिलेको आन्तरिक किचलो मिलाउनुपर्छ । यो किचलो मिलाइसकेपछि अनि कसरी अघि बढ्ने भन्ने कुरामा सोच्नुपर्छ । हामीले जुन उद्देश्यका साथ यो विश्वविद्यालयको सुरुवात गरेका हौं, त्योअनुसारको काम गर्न सकेका छैनौं । गर्नुपर्ने काम धेरै छन् तर गर्न सकिएको छैन । खुला विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा बिलकुल फरक हो । यसको परिकल्पना नै फरक छ । एउटा नवीनतम प्रविधिको आधारमा दुरदराजमा, कामकाजीहरू अथवा उच्च शिक्षामा पहुँच नपुगेकाहरूलाई पहुँच पुर्‍याउन खोलिएको विश्वविद्यालय हो । घरमै बसेर सिक्न पाउने, काम गर्दै पढ्न पाउने विश्वविद्यालय हो । अहिलेको अवस्थामा यस्तो विद्यालयको आवश्यकता छ र मलाई लाग्छ अब अन्य विश्वविद्यालयले पनि यही बाटो अपनाउनुपर्छ । यसमा पढ्न जुसुकै उमेर समूहकाले पनि अध्ययन गर्न पाउनुहुन्छ । कतिपय कार्यक्रम अध्ययनको लागि हामीले ब्याचलर्स पढ्नयोग्य जुनसुकैलाई अध्ययन गर्ने व्यवस्था छ भने कतिपय कार्यक्रममा इन्ट्रान्स परीक्षा पनि लिने गरेका छौं । 

विद्यार्थीको संख्या कति छ ?

अहिले हामीकहाँ करिब २ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ व्यवस्थापन र कानुन, एजुकेसन र सोसल साइन्स र साइन्स हेल्थ टेक्नोलोजी गरी तीनवटा संकायमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीलगायत देशभरका विद्यार्थी आवद्ध रहेका छन् ।

खुला विश्वविद्यालय भएर जति खुला मासलाई समेट्नुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौं । विश्वविद्यालयभित्रको आन्तरिक कोलाहोलले नै हामी जसरी अगाडि बढ्नुपर्थ्यो, त्योअनुसार अगाडि बढ्न सकेको अवस्था छैन । धेरै गर्न सकिन्थ्यो भन्ने मैले पनि सोंचेकी थिएँ । भएका स्रोतसाधनलाई प्रयोग गरेर ७ वटै प्रदेशमा अध्ययन केन्द्रहरू सञ्चालन गर्ने, अन्य धेरै विद्यार्थीलाई आवद्ध गराउने यतिमात्र नभइ विदेशमा रहेका नेपालीलाई पनि यसमा आवद्ध गराउने भन्ने थियो । गएको वर्षमा यो कुरा पनि आएको थियो तर, गर्न सकिएन ।

हामीसँग मानव संशाधन पनि कम छ । अन्य सबै विश्वविद्यालयभन्दा हामी कङ्गाल विश्वविद्यालय नै हो । हामीसँग आफ्नो भवन छैन, आफ्नो जग्गा छैन भनौंभन्दा सरकाले दिने भनेको छ ।  हामीले साइनबोर्ड पनि राखेका छौं तर, हामीले आफ्नो भवन बनाउन सकेका छैनौं । यो विद्यालय प्रविधिमा आधारित विश्वविद्यालय भएकाले आफ्नो आइसीटी पूर्वाधार बनाएर आफ्नो ढङ्गबाट जान सकिरहेका छैनौं ।

अहिले हामीले जे पनि अन्तर्राष्ट्रिय डेटा निगम (आइडीसी)मा भर्नुपरेको छ ।  त्यता डाउन भयो भने हाम्रो पनि सबै डाटा उड्ने समस्या छ । हामीले यो सबैको व्यवस्थापन गर्न सकेका छैनौं । कर्मचारीको कुरा गर्ने हो भने हामीसँग अधिकृत तहका कर्मचारी छैनन् । अहिले जम्मा करिब ३० जनामात्र कर्मचारी छौं । अन्य शिक्षक सबै पार्टटाइमका हुनुहुन्छ । हामीसँग दुईवटा भवन छन् । हामीले मासिक ५ लाख भाडा तिर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.