६२ करोडको कोदो आयात, स्वदेशमै उत्पादन बढाउनुपर्ने चुनौती
काठमाडौं । रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा शनिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२, ठोकर्पामा आयोजित कार्यक्रममा वक्ताहरूले कोदोको बढ्दो महत्वसँगै यसको उत्पादन, प्रशोधन र बजार विस्तारमा राज्य, निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन नेपाल (एफएओ) तथा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कोदो दिवस मूल समारोह समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला निर्माणमा योगदान पुर्याएका किसानप्रति धन्यवाद व्यक्त गर्दै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा काम गरिरहेको बताए। मल व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल गरिरहेको उल्लेख गर्दै उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गरे । यसबाट किसानले उत्पादनको सुनिश्चित बजार पाउने र स्थानीय अर्थतन्त्र समेत सुदृढ हुने उनको भनाइ थियो । सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष पूर्णबहादुर महतले आफ्नो वडाका किसानहरू कृषि व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएको बताए । पछिल्लो समय कोदो खेतीप्रति किसानको आकर्षण बढेको, उत्पादनमा सुधार आएको र बजारको पहुँच पनि विस्तार हुँदै गएको उनले जानकारी दिए । कृषि, वातावरण तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै यसको उपभोग र माग निरन्तर बढिरहेको बताए। सरकारले कोदो प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र निजी क्षेत्रको सहकार्यले यस अभियानलाई थप बल पुगेको उनको भनाइ थियो । उनले कोदोको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको स्मरण गराए । कोदो उत्पादन विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए । खाद्य तथा कृषि संगठन नेपाल (एफएओ)का कार्यक्रम विशेषज्ञ महेश बडालले सरकारले राष्ट्रिय कोदो दिवसलाई प्राथमिकताका साथ मनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा कोदो प्रवर्द्धनका लागि अझ प्रभावकारी नीति र कार्यक्रम आवश्यक पर्ने बताए । उनले विगतमा हेलामा परेको बालीका रूपमा लिइने कोदो पछिल्लो समय स्वास्थ्य, पोषण र बजारका दृष्टिले महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले यसको दीगो विकासका लागि मूल्य शृङ्खला स्थापना अपरिहार्य रहेको बताए । बडालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कोदोका उन्नत बीउको अनुसन्धान तथा संरक्षण गरिरहेको र सहकारी तथा निजी क्षेत्रले समेत यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी दिए । मूल्य शृङ्खलासम्बन्धी समस्या समाधानका लागि एफएओले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी गराए । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले अन्य खाद्यान्नसरह कोदो पनि महत्वपूर्ण बाली भएको उल्लेख गर्दै गाउँघरमा उत्पादन घट्दै गए पनि सहरी क्षेत्रमा यसको प्रयोग र माग बढेकाले आयातसमेत वृद्धि भएको बताए। उनले उत्पादन वृद्धि गर्न सरकारले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय जीन बैंकमार्फत कोदोका स्थानीय जातको संरक्षण भइरहेको जानकारी दिए । उनका अनुसार रैथाने बालीप्रति जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। कोदोसहितका बालीको उत्पादन बढाउन रोपाइँदेखि कटानीसम्म आवश्यक कृषि औजार तथा यान्त्रिकीकरणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कोदोलाई विगतमा ‘गरिबको खाना’ भनेर हेर्ने प्रवृत्ति रहे पनि व्यावसायिक खेती विस्तारसँगै यसको महत्व उल्लेखनीय रूपमा बढेको बताए। कृषि बजेटको ठूलो हिस्सा रासायनिक मलमा खर्च हुँदा रैथाने बाली प्रवर्द्धनका कार्यक्रम प्रभावित भएको उल्लेख गर्दै किसानलाई रासायनिक मलको प्रयोग घटाई जैविक तथा स्थानीय उत्पादनमुखी खेती प्रणाली अपनाउन आग्रह गरे । कार्यक्रममा कोदो बाली संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने बाजुराको बडीमालिका नगरपालिका निवासी किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो। त्यसैगरी लमजुङको घनापोखरी सहकारी संस्थालाइ सम्मान गरिएको छ । कृषि पत्रकारितामा योगदान पुर्याएकोमा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को सिफारिसमा कृषि पत्रिकाका प्रकाशक तथा सम्पादक गोपाल आले मगर तथा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई समेत कदरपत्र प्रदान गरिएको थियो । कोदोजन्य बालीको उत्पादन र उत्पादकत्वमा ह्रास आउने क्रम बढिरहँदा कोदो प्रवर्धनका लागि २०७८ देखि राष्ट्रिय कृषक समुह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन शुरु गरेका थिए । हरेक वर्ष दिवस मनाउँदै कोदोजन्य बालीको दिवस घोषणा गर्न सरकारलाई दबाब दिँदै आइरहेकोमा सरकारले यस विषयलाई सकात्मक रुपमा लिँदै २०८२ सालदेखि साउन १६ गते कोदो दिवस मनाउने मन्त्रिपरिषदबाट निर्णय भएपछि औपचारिक रुपमा राष्ट्रिय दिवसको रुपमा कोदो दिवस साउन १६ लाई मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले सन् २०२३ लाई “अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष “को रुपमा मनाउने घोषणा गरेसंगै विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ । चौरिदेउरालिमा छुट्टै कार्यक्रम, देशभर मनाइयो कोदो दिवसको आयोजनामा दोस्रो राष्ट्रिय कोदो दिवस जिल्ला कृषि विकास कार्यालय, काभ्रे, चौरिदेउराली गाउँपालिकामा छुट्टै कार्यक्रम गरि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रे, चौरिदेउराली गाउँपालिका, खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)को संयुक्त आयोजनामा चौरिदेउराली गाउँपालिका, काभ्रेमा कार्यक्रम सम्पन्न भएको हो । कोदो सम्बन्धि बहसपश्चात स्थानीय सहभागीले कोदो रोपेर कोदो प्रवर्धनका कार्य गरेका छन् । काय्र्रकममा सहभागी वक्ताहरूले रैथाने कोदोका जातहरू संरक्षण गर्नमा जोड दिएका छन्। कोदोको उत्पादन र उत्पादकत्व बढाउँदै स्थानीय अर्थतन्त्र प्रवर्धनमा जोड दिन अनुरोध गरिएको छ । गत वर्ष राष्ट्रिय कोदो दिवस घोषणा भएपछि संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाको आयोजनामा देशभर कोदो प्रवर्धनका काय्र्रकम भइरहेका छन् । काठमाडौँमा पनि रैथाने बजार, मौलिक भान्साघर लगायतका स्थानमा कोदो तथा फापर संघ जस्ता संघसंस्थाले तथ्य र तथ्यांकमा कोदोः कृषि, वन तथा पर्यावरण मन्त्रालयको आ.ब. २०८१/८२ को तथ्याङ्कअनुसार २ लाख १४ हजार ४७७ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई २ लाख ८४ हाजर ३५२ मे.टन कोदो उत्पादन भएको जनाएको छ । कोदोजन्य बालीको उत्पादकत्व १.३३ मे.टन प्रति हेक्टर मात्र रहेको छ। कोदोजन्य बालीहरुमा उन्नत प्रविधिको प्रयोग, सिंचाई, मलखादको व्यवस्था गर्न सकेमा उत्पादन तथा उत्पादकत्व बढाउन सकिने देखिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत आ.व. २०८२/८३ मा कोदोजन्य बाली र जुनेलो बाली (बीउ बीजन समेत) ६२ करोड २८ लाख ९८ हजार बरावरको करिब ४४.८८ मे.ट. कोदोजन्य वस्तुको आयात भएको देखिन्छ भने सोही आ.व.मा १३ लाख २५ हजार बरावरको २.११ मे.ट. कोदोबाली र बीउ बीजन निर्यात भएको तथ्याङ्कबाट देखिन्छ। त्यसकारण कोदोजन्य बालीहरुको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता रहेको छ। कोदोजन्य बालीहरु प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्वहरुको राम्रो स्रोत हुन् । पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत कोदोजन्य बालीमा अनुसन्धान गरि हालसम्म कोदोका ६ वटा चिनोको १ वटा कागुनोको १ वटा गरि ८ वटा जातहरु उन्मोचन तथा दर्ता गरिएको छन् भने कोदोजन्य बाली र तिनीहरुको जंगली प्रजातिहरुको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ । राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका १२८० परिग्रहणहरु सुरक्षित गरि राखिएको छ । विभिन्न सामुदायिक बीउ बैंकहरूले स्थानीयस्तरमा कोदो र अन्य रैथाने बालीहरूको संरक्षण एवं दिगो उपभोगका लागि कार्य गरिरहेका छन्। स्थानीय ठाँउहरुमा छरिएर गरिएको कोदोजन्य बालीहरुको संकलन, प्रशोधन र बजारीकरणमा स्थानीय तह र नीजि क्षेत्रवाट आवश्यक सहयोग र सहजिकरण हुँदै आएको छ । बालीहरुबाट बन्ने रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट,पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिढिँका जनमानसमा समेत हाम्रा कोदोजन्य बालीको उपभोग बढाउन सकिन्छ । कोदोजन्य बालीको परिकार विविधिकरण भएमा नीजि उद्यमी तथा होटल व्यवसायी र होमस्टे संचालकहरु मार्फत आन्तरिक र वाह्य पर्यटक सम्म पनि बजार विस्तार गर्न सकिने विज्ञहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा कोदोजन्य उत्पादनप्रति उपभोक्ताको आकर्षण बढिरहेकाले उत्पादन बढाउनमा सरकार तथा सरोकारवालामाथि जिम्मेवारी बढेको देखिन्छ ।
रिलायबल भेञ्चर क्यापिटलको साढे ६ करोडको सेयर बिक्रीमा, मूल्य १२६ रुपैयाँ
काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले करिब ६ करोड ६२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीबाट सेयर बिक्रीका लागि निवेदन परेपछि कम्पनीले ५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीका अनुसार प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसाको मूल्य निर्धारण गरिएको छ । उक्त मूल्यका आधारमा कुल ६ करोड ६१ लाख ५५ हजार २५० रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले १५ दिनभित्र कम्पनीबाट १०० रुपैयाँ तिरेर आवेदन फारम खरिद गरी आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट उल्लेख गर्दै गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकबाहेक अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ ।
वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, यी सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार वर्षाका कारण केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही सडकमा रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार इलामको इलाम नगरपालिका-९ अन्तर्गत मेची राजमार्गको सडकखण्ड अत्यधिक वर्षाका कारण हिलाम्मे बनेपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि लामासाँघु-रामेछाप सडकखण्डमा सवारी सञ्चालन हुन सकेको छैन । गोरखाको धार्चे गाउँपालिका-३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट सडकको कच्ची खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध पनि लगाइएको छ । बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । यस्तै, कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ । मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेको भन्दै नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।
५ प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। अहिले सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली छ। कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गरी सुरक्षित रहन पनि अनुरोध गरिएको छ।
साना किसान लघुवित्तको नाफा ६५.३१ करोड, लाभांश क्षमता ३३.४६ प्रतिशत
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ को चैथो त्रैमा खुद नाफा २५.३६ प्रतिशत घटेर ६५ करोड ३१ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ८७ करोड ५० लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी २९.प्रतिशत घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले अघिल्लो वर्षको १ अर्ब ७९ करोड ६३ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६४ प्रतिशत घटेर १ अर्ब २७ करोड ५४ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा २७.१३ प्रतिशत घटेर ९३ करोड ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ८१ करोड २७ लाख ७५ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १ अर्ब २७ करोड ६३ लाख ४४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको ३३.४६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको देखिन्छ । अघिल्लो वर्ष लघुवित्तको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड ९१ लाख ११ हजार रुपैयाँ थियो भने लाभांश क्षमता ४२.८८ प्रतिशत । ४ अर्ब ९२ करोड ७१ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख २० हजार रुपैयाँ र सेयर प्रिमियममा १८ अर्ब २६ करोड ९७ लाख १३ हजार रुपैयाँ रहेको छ । लघुवित्तको निक्षेप तथा सापटि ७.१३ प्रतिशत बढेर २६ अर्ब ३८ करोड १७ लाख ५५ हजार रुपैयाँ र कर्जा ३.१८ प्रतिशत बढेर ३५ अर्ब ३९ करोड २९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म लघुवित्तले २४ अर्ब ६२ करोड ६८ लाख ९७ हजार रुपैयाँ निक्षेप तथा सापटी लिएर ३४ अर्ब ३० करोड १४ लाख ४७ हजार रुपैयाँ थोक कर्जा लगानी गरेको थियो । लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २०.२९ प्रतिशत रहेको प्रतिसेयर आम्दानी १३.२६ प्रतिशतमा सीमित भएको छ । यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.७२ गुणा छ भने प्रतिसेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष २.६५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर २.९६ प्रतिशत पुगेको छ ।
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको प्रथम जिल्ला बोर्ड बैठक सम्पन्न
काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको लायोनिस्टिक वर्ष २०२६/२७ अन्तर्गतको प्रथम जिल्ला बोर्ड बैठक शनिबार सम्पन्न भएको छ । लियो क्लब अफ काठमाडौं मखमलीको आयोजनामा भएको उक्त बैठकले नयाँ कार्यकालका नीति, योजना तथा कार्यदिशा तय गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गरेको छ । बैठक लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट लियो चेयरपर्सन लायन विवेक कुमार धितालको गरिमामय उपस्थिति रहेको थियो । त्यसैगरी विशिष्ट अतिथिहरूमा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका जी.एल.टी. संयोजक तथा पीडीपी लियो लायन विशाल रिजाल, मुख्य जिल्ला सल्लाहकार पीडीपी लियो सबिन भट्टराई तथा निवर्तमान डिस्ट्रिक्ट प्रेसिडेन्ट (आईपीडीपी) लियो बालकृष्ण परियारको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो माधव तिमल्सिनाले सबैले स्वागत गरेका थिए । कार्यक्रमको संयोजन लियो दुर्गादत्त भट्टराईले गरेका थिए भने बैठकको प्रभावकारी सञ्चालन डिस्ट्रिक्ट सचिव लियो सहनशील बरालले गरेका थिए । साथै कार्यक्रमलाई थप मर्यादित, अनुशासित तथा व्यवस्थित बनाउन लियो सुदीप राज फुयालले टेल ट्विस्टरको भूमिका निर्वाह गरेका थिए । बैठकमा ३७ जना बोर्ड सदस्य तथा सल्लाहकारहरूको उत्साहजनक सहभागिता रहेको थियो । बैठकका क्रममा संगठनका विभिन्न समसामयिक तथा नीतिगत एजेन्डामाथि छलफल गरिएको थियो । जिल्ला कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य तथा विभिन्न विभागका संयोजकहरूले आफ्नो जिम्मेवारीअनुसारका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने ती प्रतिवेदनमाथि रचनात्मक समीक्षा, सुझाव तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । यसै बैठकमार्फत संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, सेवा कार्यक्रमहरूको प्रभावकारिता अभिवृद्धि, सदस्य सक्रियता, क्लबबीचको समन्वय तथा आगामी जिल्लास्तरीय कार्यक्रमहरूलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू समेत गरिएको थियो । डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक मूल मन्त्र “कर्मसहितको नेतृत्व” केवल नारामा सीमित नरही व्यवहार, सेवा र नेतृत्वमार्फत कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । जिल्ला प्रवक्ता लियो डा. जनक राज बडूका अनुसार प्रथम जिल्ला बोर्ड बैठकमा भएका निर्णय, छलफल तथा रणनीतिक योजनाले लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको वर्तमान कार्यकाललाई स्पष्ट दिशा प्रदान गर्नुका साथै आगामी सम्पूर्ण सेवा अभियान, नेतृत्व विकास तथा संगठन सुदृढीकरणका कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यो बैठक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ ।
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो । विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (प्यान) तथा भ्याट (भ्याट) बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् । ‘हामीले प्राइज डट आइआरडी डट जीओभी डट एनपि नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौं, ’ उपमहानिर्देशक शर्माले भने, ‘नगद भुक्तानी गरी स्व(प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० रुपैयाँ भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ ।’ क्यूआरमार्फत गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ । विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत १०० रुपैयाँ भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनुपर्दैन । क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुनेछ । तर, उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ । विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ । विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । ‘प्राविधिक हिसाबले हामी तयारी अवस्थामा छौं । कुनै ठूलो प्राविधिक समस्या नआए आगामी साता पहिलो १५ दिनको (हरेक दिनको १ लाख रुपैयाँका दरले १५ जना विजेता र १५ दिनको बम्पर १० लाख रुपैयाँका विजेता १ जना) नतिजा घोषणा गर्न सक्ने अवस्थामा छौं,’ विभागले भनेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार मन्त्रालयले असार अन्तिम साता उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरेर १ लाख रुपैयाँ नगद र हरेक १५/१५ दिनमा महिनाको दुई जनालाई बम्पर उपहारस्वरूप १० लाख नगद प्रदान गरिने उल्लेख छ ।
सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईयुएनइएफ) को आठौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरू, कूटनीतिज्ञ, उद्योगपति तथा युवा उद्यमीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले युवा सशक्तीकरणमा मञ्चको भूमिकाबारे प्रकाश पारेका थिएका थिए भने स्टार्टअप चेयर चिराग सरावगीले विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गरेका थिए । साधारण सभाको अवसरमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मानित समेत गरिएको थियो । जसअनुसार जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, श्रीमती नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यसैगरी, सीएनआईवाइईएफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र सीएनआईवाइईएफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मान गरिएको थियो । सभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नयाँ बोर्डमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर श्रीमती शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर श्रीमती निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अङ्कुर अग्रवाल रहेका छन् । त्यसैगरी, को–चेयरहरूमा श्रीमती न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन) र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन डा. पुकार मल्लले सरकारले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै सीएनआईयुएनइएफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको आर्थिक समृद्धिमा युवा उद्यमीको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरेका थिए ।