सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गर्ने याङ्गो चालक पक्राउ
काठमाडौं । महिलामाथि अभद्र व्यवहार गर्ने ‘याङ्गो’ चालक पक्राउ परेका छन् । आइतबार प्रहरीले सार्वजनिक स्थानमा महिलामाथि गालीगलौज तथा अभद्र व्यवहार गर्ने ४३ वर्षीय कुमार श्रेष्ठ पक्राउलाई गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जिनिता कार्कीले आफूलाई गालीगलौज तथा अपशब्द प्रयोग गरेका लिखित निवेदन दिएकी थिइन् । सामाजिक सञ्जालमा देखिएका भिडियोहरूको अनुसन्धान गर्दा काठमाडौं महानगरपालिका ७ चावहिल घर भई क्षेत्रपाटी बस्ने श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको कार्यालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति जिनपिङको २० पोका किताब जलाइएको थियो
काठमाडौं । मोरङको मनमोहन प्राविधिक कलेजमा २० पोका पुस्तक जलाइएको खुलेको छ । धमिराले नखाओस् भनेर र कलेजको कोठा सफाइ गर्न भनी २० पोका किताब जलाइएको कलेजका प्रवक्ता सरोज भुर्तेलले जानकारी दिए । पूर्ण रूपमा क्षति भएका र अरू पुस्तकलाई क्षति नहोस् भनेर चिनियाँ राष्ट्रपति सी जिनपिङको किताब जलाइएको उनले बताए । कलेजमा विद्यार्थीका लागि ल्याब बनाउनु पर्ने र वर्कसप बनाउन कोठा खाली गर्दा किताबहरू जलाउनु परेको भुर्तेलको भनाइ छ । ‘सरसफाइ गर्दा पतिङ्गरसहित किताब पनि जलाउन पुगियो,’ उनले भने, ‘कलेजले कुनै नियतवश जलाउन पुगेको होइन । कलेजमा कोठा अभाव भएकाले सफा गर्दा उक्त किताब जलाउनु परेको हो ।’ राष्ट्रपतिको बाँकी १२ हजार किताब सुरक्षित राखिएको भुर्तेलले बताए । मनमोहन प्रतिष्ठानमा ८(१० वर्ष अगाडि चिनियाँ राष्ट्रपतिको किताब पुगेका थिए । किताब जलाएको विषयमा जिल्ला प्रशासन कार्यालय, मोरङले कलेजलाई सोधपुछसमेत गरेको थियो । कलेजले प्रशासनलाई ५-६ पानासहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा विद्यार्थी प्रयोजनका लागि कोठा खाली गर्दा पुस्तकहरू जलाउन परेको उल्लेख गरिएको छ । कुनै नियतवश पुस्तक नजलाइएको समेत प्रतिवेदनमा बताइएको छ । प्रतिवेदन प्राप्त गरिसकेपछि आवश्यक अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाइने मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ । मोरङको मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो । गत शनिबार अपरान्ह मनमोहन कलेजमा राष्ट्रपति जिनपिङको पुस्तक जलाइएको हो । खाली गरेर राष्ट्रपतिको किताब जलाइएको थियो । प्रहरीले भने साँझ ५ बजेतिर खबर पाएको थियो । सी जिनपिङको पुस्तक जलाइएकोबारे चिनियाँ दूतावासको चासो, घटना के हो ?
देशभर ६० वर्षभन्दा माथिका ४७४ उम्मेदवार, ११ जना मात्रै विजयी
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या उल्लेख्य भए पनि जित्नेको संख्या भने निकै कम देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार देशभर ६० वर्षभन्दा माथिका ४७४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये ११ जना मात्रै निर्वाचित भएका छन् । आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा देशभर विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचनमा उम्मेदवारको रोजाइमा रास्वपा भएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रायः सबै जना युवा भएको हुँदा ६० वर्षभन्दा माथिका अधिकांश उम्मेदवारहरूले पराजय बेहोर्नुपरेको छ । निर्वाचनमा राजनीतिमा लामो अनुभव भएका चर्चित नेताहरू पनि यसपटक मतदाताको रोजाइमा पर्न सकेनन् । निर्वाचित हुने ६० वर्ष माथिका उम्मेदवारहरूमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५ जना, रास्वपाबाट उम्मेदवार भएका ३ जना, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट १/१ जना र स्वतन्त्र उम्मेदवार १ जना रहेका छन् । कांग्रेसबाट जित्ने ६० वर्ष माथिको उम्मेदवारमा मनाङ १ बाट उठेका ७१ वर्षीय टेकबहादुर गुरुङ, अछाम–१ का ७० वर्षीय भरतकुमार स्वार, डोटीका ६८ वर्षका भरतबहादुर खड्का, सोलुखुम्बुका ६२ वर्षीय प्रकाशसिंह कार्की र बाजुराका ६० वर्षीय जनकराज गिरी छन् । मनाङमा कांग्रेस उम्मेदवार गुरुङले २ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ४५४ मतसहित दोस्रो भइन् । अछाम १ बाट कांग्रेस उम्मेदवार स्वार १० हजार ७५९ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपाका भीमबहादुर रावल १० हजार २३३ मतसहित दोस्रो भए । त्यस्तै, डोटीमा कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतसहित दोस्रो भए । सोलुखुम्बुमा कांग्रेस उम्मेदवार कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राइले ९ हजार ४१४ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । बाजुरामा कांग्रेस उम्मेदवार गिरीले १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मतसहित दोस्रो भए । रास्वपाबाट विजयी भएका ६० वर्षभन्दा माथिका तीन उम्मेदवारहरूमा सप्तरी–४ बाट सिताराम साह, कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र दाङ–१ बाट देवराज पाठक छन् । साह ६५ वर्ष, थापा ६३ वर्ष र पाठकको उमेर ६० वर्ष रहेको छ । सप्तरी ४ बाट रास्वपाका उम्मेदवार साह ३६ हजार ४१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो भए । कपिलवस्तु २ मा रास्वपाका उम्मेदवार थापा २७ हजार ६३५ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ४८२ मत ल्याएर दोस्रो स्थानमा सीमित भए । त्यस्तै, दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठकले ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतमा प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार योगेन्द्र चौधरी १५ हजार २८० मतसहित दोस्रो भए । नेकपाबाट जित्ने उम्मेदवारमा रुकुम–पूर्वबाट उठेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी ७० वर्षका छन् । त्यस्तै, नेकपा एमालेबाट जित्नेमा दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल हुन् । उनी ६३ वर्षका भए । रुकुम–पूर्वमा नेकपाका उम्मेदवार दाहाल १० हजार २४० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतम ३ हजार ४६२ मतसहित दोस्रो भए । दैलेख–२ मा एमालेका उम्मेदवार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाही ९ हजार ५५२ मतसहित दोस्रो भए । स्वतन्त्र उम्मेदवारबाट जित्नेमा म्याग्दीबाट उठेका महावीर पुन हुन् । उनी ७१ वर्षका भए । पुन २२ हजार ८५० मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार ७ हजार ९१९ मत ल्याएर दोस्रो भए । ६० वर्षभन्दा बढीका उम्मेदवार सबैभन्दा धेरै मधेशमा निर्वाचन आयोगका अनुसार ६० वर्षभन्दा माथिका सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा १२६ जना छन् । मधेशमा १२६ जना उम्मेदवार ६० वर्षभन्दा माथिका रहेका छन् । दोस्रोमा बागमती प्रदेशमा ८९ जना छन् । तेस्रोमा लुम्बिनी प्रदेशमा ८८ जना छन् । त्यस्तै कोशी प्रदेशमा ६० वर्षभन्दा माथिका ८४, गण्डकी प्रदेशमा ४१ जना छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६० वर्षभन्दा माथिका उम्मेदवारको संख्या २३/२३ जना रहेका छन् ।
गण्डकीका १० जिल्ला अध्यक्षहरूले राखे एमालेमा माथिबाटै समीक्षा र पुनर्गठनको माग
काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशका १० वटा जिल्ला अध्यक्षहरूले पार्टीको पछिल्लो अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै केन्द्रदेखि स्थानीय तहसम्म व्यापक समीक्षा र पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकालेका छन्। फागुन २८ गते सम्पन्न भेलापछि सार्वजनिक गरिएको साझा धारणाअनुसार अध्यक्षहरूले पार्टीको वर्तमान राजनीतिक, संगठनात्मक तथा कार्यशैलीगत अवस्थाको वस्तुनिष्ठ समीक्षा अपरिहार्य भएको बताएका छन् । उनीहरूले यस्तो समीक्षा ढिलाइ नगरी केन्द्र तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए । गण्डकीका अध्यक्षहरूको निष्कर्षमा पार्टी नेतृत्व र कार्यशैलीमा व्यापक रूपान्तरण आवश्यक देखिएको उल्लेख छ । ‘सबै तहको नेतृत्व र कार्यशैलीमा परिवर्तनसहित पुनर्गठन जरुरी छ, त्यसका लागि हामी तयार छौ,’ साझा धारणामा भनिएको छ । मनाङ अध्यक्षबाहेकका १० अध्यक्षहरूको भेलाले वामपन्थी, देशभक्त तथा राष्ट्रवादी शक्तिहरूबीच आत्मालोचनासहित संवाद र सहकार्यको वातावरण बनाउन पहल गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ । पछिल्लो राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्यको आधार कमजोर बन्दै गएको भन्दै त्यसलाई पुनः सुदृढ बनाउनुपर्ने अध्यक्षहरूको धारणा रहेको छ । उनीहरूले पार्टी, जनप्रतिनिधि र जनताबीचको सम्बन्धमा आएको दूरीप्रति पनि चिन्ता व्यक्त गरेका छन् । यस विषयमा गम्भीर समीक्षा गर्दै जनताको भावना र सामाजिक आवश्यकतामा केन्द्रित नयाँ कार्ययोजना निर्माण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेपछि नेकपा एमालेभित्र पार्टी पुनर्गठनको माग जबरजस्त उठ्न थालेको छ । लुम्बिनी प्रदेशको तानसेन नगर कमिटीले नयाँ अधिवेशन जेठ ३ गते गर्नेगरी नगर कमिटी विघटन गरेको छ । तानसेन नगर कमिटी विघटन भएसँगै गण्डकी प्रदेशमा पनि पार्टी पुनर्गठनको बहस तीव्र हुन थालेको छ । मुस्ताङका जिल्ला अध्यक्ष दिपक लालचनका अनुसार केही दिन पहिले भएको भेला समग्र पार्टी पुनर्गठनको सुरुवात हो । भेलामा स्याङ्जा जिल्ला अध्यक्ष पारश गैरे सुरेश, पर्वत अध्यक्ष गोविन्द गिरी पहाडी, तनहुँ अध्यक्ष हरिराज कँडेल, मुस्ताङ अध्यक्ष दीपक लालचन, कास्की अध्यक्ष बैनबहादुर क्षेत्री र म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीलगायतको सहभागिता रहेको थियो ।
ललितपुरमा लापसे गर्ने राइड सेयरिङ चालकसहित ६ जना पक्राउ
काठमाडौं । लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने ६ जनालाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। मंगलबार ललितपुर महानगरपालिका २७ सुनाकोठीमा गरिएको लापसे चेकिङका क्रममा ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमध्ये मिनी ट्रक चालक २ जना, मोटरसाइकल (राइड सेयिरिङ) चालक २ जना र स्कुटर चालक २ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग चापागाउँको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको छ ।
‘रास्वपाले बोलेर होइन, काम गरेर देखाउँछ’ {अन्तर्वार्ता}
अबको एक सातापछि मुलुकले नयाँ सरकारले पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाई नजिकको मत पाएको छ भने नयाँ सरकारको नेतृत्वका रूपमा बालेन्द्र शाह (बालेन) लाई अगाडि बढाउने तयारी भइरहेको छ । यसबीचमा नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर रास्वपामा प्रवेश गरेका यातायात तथा पूर्वाधारविज्ञ आशिष गजुरेल पनि यस पटक संसदमा प्रवेश गर्दैछन् । उनी सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएपछि चर्चामा छन् । यातायात तथा पूर्वाधारविज्ञबाट नीति निर्माणको थलो संसदमा पुगेका गजुरेलसँग विकास बहस गरेका छौं । तपाईंलाई म सिन्धुली-२ बाट प्रतिनिधि सभा सदस्य बन्छु, सांसद बन्छु भन्नेमा विश्वस्तता कतिको थियो ? मैले जागिरबाट राजीनामा आवेगमा आएर दिएको होइन । एउटा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको मान्छेले परिस्थिति नबुझी निर्णय गर्दैन । मैले त्यहाँको वस्तुस्थिति गहिरो रूपमा अध्ययन गरेपछि मात्र यो कदम चालेको हुँ । जित्ने सतप्रतिशत ग्यारेन्टी भएर भने गएको होइन, तर देशभर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल र आफ्नै मिहिनेतले जनताको विश्वास जित्न सक्छु भन्ने भरोसाका साथ राजीनामा दिएर टिकट लिएँ र निर्वाचन मैदानमा उत्रिएँ । तपाईं रास्वपाबाट निर्वाचित हुनु भएको छ, यो जित रास्वपाको उभारले सम्भव भएको हो कि तपाईंको क्षमताले ? यो जित कुनै एक व्यक्तिको होइन, पूर्ण रूपमा पार्टीको जित हो । यो राष्ट्रिय स्वतन्त्र पार्टीको जित हो, यो घण्टीको जित हो । यसबारे हामीले कुनै दुविधा राख्नु हुँदैन । व्यक्तिगत रूपमा मैले गरेका काम, अनुभव र व्यक्तित्वले सानो प्लस पोइन्ट दिएको हुन सक्छ, तर यो विजयको मूल शक्ति भनेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको जनताको विश्वास नै हो । लोकतन्त्रमा व्यक्तिभन्दा दल ठूलो हुन्छ, र जनताले कुन दललाई कति विश्वास गर्छन् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि म स्वतन्त्र उम्मेदवारका रूपमा सिन्धुली क्षेत्र नं. २ बाट उठेको भए सायद ५०० भोट पनि आउँदैनथ्यो । त्यसैले यो स्पष्ट रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टीप्रतिको जनविश्वासको मत हो । यही विश्वासको मतका आधारमा हामी निर्वाचित भएका हौं, हामी त केवल त्यस विश्वासका प्रतिनिधि पात्र मात्र हौं । रास्वपाबाट टिकट पाएर सिन्धुली-२ मा प्रवेश गर्दै गर्दा मतदाताको मनोविज्ञान के-कस्तो पाउनुभयो ? सुरुमा जब म टिकट लिएर सिन्धुली जाँदै थिएँ, धेरैले प्रश्न उठाए, आशिष गजुरेल त सिन्धुलीकै हो कि होइन ? उसले सिन्धुलीका लागि के गरेको छ ? ऊ त यहाँको मान्छे नै होइन, पर्यटक जस्तै हो । यस्ता प्रतिक्रिया सुरुवाती दिनमा धेरै सुन्न पाइन्थ्यो । तर मनोनयन दर्तापछि म गाउँ–गाउँ पुगेँ, जनतासँग भेटेँ, संवाद गरे । त्यसपछि बिस्तारै उहाँहरूले बुझ्न थाल्नुभयो । यो त सिन्धुलीमै जन्मेर हुर्किएको मान्छे रहेछ, सिन्धुलीलाई माया गर्ने मान्छे रहेछ, विकासका काम गरेर डेलिभरी गरेर आएको व्यक्ति रहेछ । त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वास गरेर अघि सारेको उम्मेदवार पनि रहेछ । यी कुरा विशेष गरेर सहरी क्षेत्र । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाका मतदाताले छिट्टै बुझ्नुभयो, र केही दिनमै त्यहाँबाट ठूलो समर्थन प्राप्त हुन थाल्यो । तर बाँकी रहेका तीन गाउँपालिका घ्याङलेख, हरिहरपुरगढी र मरिण अलि ग्रामीण क्षेत्र भएकाले त्यहाँसम्म यी कुरा पु¥याउन समय कम भयो । बुझाउन पनि अलि गाह्रो भयो, र त्यसैले त्यहाँबाट मत अपेक्षाकृत कम आयो । निर्वाचनको प्रचारप्रसारमा तपाईंले सामाजिक सञ्जालमा भिडियोहरू राखेर प्रचार गर्नुहुन्थ्यो, तपाईंको पछाडि केही सीमित मानिसहरू हुन्थे । तर, अन्य पार्टीका उम्मेदवारसँग धेरै ठूलो भीड हुन्थ्यो । मसँग प्रचारप्रसार गर्ने मान्छे छैनन्, मतदाताहरू छैनन् भनेर नैराश्यता उत्पन्न भएन ? हामीसँग भीड लिएर हिँड्ने अनुभव नै थिएन । हामी पुराना दलहरूमा कहिल्यै रहेनौं, त्यसैले चुनावी अभियानलाई भीड प्रदर्शनको रूपमा चलाउने संस्कारमा पनि अभ्यस्त थिएनौं । तर हामीलाई एउटा कुरा प्रष्ट थाहा थियो, विगतमा धेरै पार्टीहरूले ठूलो भीड देखाए, तर काम गर्न सकेनन्, र त्यही कारणले देश आजको जटिल अवस्थासम्म आइपुगेको हो । त्यसैले हामीले त्यही पुरानो शैली दोहोर्याउने निर्णय गरेनौं । चुनावी अभियानमा पनि चुनाव जितेपछि पनि सरकारमा पुगेपछि पनि यदि पुरानै तरिका दोहोर्यायौं भने नयाँ केही गर्न सकिँदैन, देश पनि बदलिँदैन भन्ने कुरामा हामी स्पष्ट थियौं । हाम्रो मुख्य उद्देश्य भनेको जनतासामु एजेन्डा राख्नु थियो । एक्लै भए पनि दुई÷चार जना भए पनि मतदातासँग पुगेर हामी को हौं, हामी के गर्न सक्छौं, र किन राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनुपर्छ भन्ने कुरा बुझाउने प्रयास ग¥यौं । हामीले कुनै पार्टीलाई गाली गरेनौं, कसैबारे नराम्रो बोलेनौं । हामीले केवल आफ्नो योजना आफ्नो क्षमता र आफ्नो प्रतिबद्धता मात्र प्रस्तुत ग¥यौं । योभन्दा अगाडि नेपाल इन्टरमोडल यातायात विकास समितिमा कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो, पदबाट राजीनामा दिनुभयो, रास्वपाबाट टिकट पाउनुभयो । टिकट पाउने कुरा कसरी सम्भव भयो ? राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूसँग मेरो पहिलेदेखि नै छलफल र सम्पर्क भइरहन्थ्यो । यातायात पूर्वाधारका विषयमा कहिले मौखिक, कहिले लिखित रूपमा सुझाव मागिन्थ्यो र म पनि आफ्नो अनुभवका आधारमा सुझाव दिने गर्थें । त्यसैक्रममा भेटघाट हुँदा उहाँहरूले बारम्बार भन्नुहुन्थ्यो, आशिषजी, तपाईं जस्तो विज्ञता भएको व्यक्ति राजनीतिमा आउनुपर्छ । सुरुमा म पनि त्यसलाई गम्भीर रूपमा सोच्ने मात्र गर्थें । तर समयसँगै मैले नेपाल इन्टरमोडल यातायात विकास समितिमा गएर जुन उद्देश्य लिएर काम थालेको थिए । ती उद्देश्यहरू पूरा हुँदै गए । उदाहरणका लागि लामो समयदेखि अलपत्र परेको चोभारको सुक्खा बन्दरगाह सफलतापूर्वक निर्माण गरेर सञ्चालनमा ल्यायौं । सुदूरपश्चिमको दोधाराचाँदनीमा दुई दशकदेखि बन्ने बन्ने भनेर जनतालाई प्रतीक्षा गराइरहेको सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया पनि हामीले सुरु गरायौं । साथै, देशभरका सुक्खा बन्दरगाहहरूलाई आधुनिकीकरण गरेर पूर्ण रूपमा डिजिटल व्यवस्थापनमा ल्यायौं, जसले राज्यका लागि आम्दानी गर्ने प्रणालीको रूप लियो । जब यी लक्ष्यहरू पूरा भए, तब मलाई लाग्यो, अब एउटा संस्था मात्रै होइन, देशकै संरचना सुधार्नुपर्ने बेला आएको छ । देश बनाउनका लागि नीति र कानुन निर्माण हुने ठाउँमा पुग्नुपर्छ, अर्थात् संसदमा जानुपर्छ । त्यसपछि मैले आफैं नेताहरूसँग भेटेर भनेँ । मैले विकास निर्माण र यातायात पूर्वाधारको क्षेत्रमा काम गरेको छु, मेरो अध्ययन पनि यही विषयमा केन्द्रित छ । तर अहिले विकास निर्माणका धेरै कानुनहरू अस्पष्ट र त्रुटिपूर्ण छन् । सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा र पूर्वाधार विकासका लागि नयाँ नीति, स्पष्ट कानुन र प्रभावकारी व्यवस्था आवश्यक छ । त्यसैले यी सुधार गर्न संसदमा पुग्न चाहन्छु, मलाई टिकट दिनुहोस् । त्यसपछि पार्टीले ममाथि विश्वास गरेर टिकट दियो र म निर्वाचन मैदानमा होमिएँ । आम जनमानसमा टिकट लेनदेनमा आर्थिक चलखेल हुन्छ भन्ने बुझाइ छ । तपाईंले त्यो अनुभव कत्तिको गर्नुप¥यो ? त्यसमा पूर्ण रूपमा असत्यता छ । त्यो आरोपमा शून्य प्रतिशत पनि सत्यता छैन । हामी विधि र नैतिकताको आधारमा राजनीति गर्ने मान्छे हौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक राजनीति गर्दैन, र हाम्रो कुनै पनि नेताले त्यस्तो काम गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं । आर्थिक लेनदेनसँग जोडिएका यस्ता आरोपहरू पूर्ण रूपमा आधारहीन छन् । यस विषयमा सबैलाई स्पष्ट हुन जरुरी छ । यसमा कुनै सत्यता छैन । वास्तवमा यो बाहिर ह्वीम चलाउने, अफवाह फैलाउने प्रयास मात्र हो । केही अन्य दलका नेता र कार्यकर्ताहरूले अनावश्यक रूपमा हल्ला फैलाएका छन् । अहिले रास्वपामा जुन जनलहर आएको छ, यसलाई कसरी बुझ्नु भएको छ ? अहिले हामी कसैलाई शब्दमा जवाफ दिने पक्षमा छैनौं । यदि हामी पनि आरोप–प्रत्यारोपमै लाग्यौं भने हामी र पुराना राजनीतिक शैलीबीच फरक रहनेछैन । त्यसैले अहिले हाम्रो बाटो स्पष्ट छ । सुन्ने, धैर्य गर्ने र काम गरेर देखाउने । आज हामीले बोलेर होइन, काम गरेर जवाफ दिनेछौं । महिना वा एक वर्षभित्रै तपाईंहरूले परिणाम आफैं देख्न पाउनुहुनेछ । तपाईंहरुले चुनावअघि वाचापत्र पनि सार्वजनिक गरिसक्नुभएको छ, अब ५ वर्षको कार्यकालमा सिन्धुली-२ को लागि के-के काम गर्नुहुन्छ ? सिन्धुली–२ भन्दा पनि राष्ट्रिय राजनीति हाम्रो मुख्य एजेन्डा बन्न पुगेको छ । तपाईंहरूले हाम्रो पार्टीको वाचापत्र हेर्नु भएको होला । त्यो हाम्रो दृष्टिकोणको प्रतिबिम्ब हो । हाम्रो मुख्य फोकस छ सुशासन, भ्रष्टाचारको अन्त्य, दिगो विकास, र डिजिटलाइजेसन । हामी ५ वर्षभित्र १२ लाख रोजगारी सिर्जना गर्ने साहसिक लक्ष्य लिएर अगाडि बढिरहेका छौं । त्यसका लागि, हाम्रो योजना छ १५ हजार मेगावाट विद्युत ग्रिडमा जडान गर्ने, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग विस्तार गर्ने, र १० वटा ठूला सिग्नेचर परियोजना सञ्चालन गर्ने । आज हाम्रो प्रति व्यक्ति आय १४५० डलर छ, र हामीले यसलाई ३००० डलर पु¥याउने लक्ष्य राखेका छौं । हाम्रो वर्तमान जीडीपी ४५ अर्ब डलर छ, तर हामी यसलाई १०० अर्ब डलरसम्म पु¥याउने योजना बनाएका छौं । यी सबै उद्देश्यहरू प्राप्त गर्न हाम्रो योजनाबद्ध र ठोस रणनीति छ । हामी केवल कुरा गरिरहेका छैनौं, हामी सपना देख्छौं, लक्ष्य निर्धारण गर्छौं, र त्यसलाई वास्तविकतामा परिणत गर्छौं । आकर्षक घोषणा पूराना पार्टीहरु पनि गर्दै आइरहेका थिए । तर, ती घोषणा कागजमै सीमित बने । तपाईंहरुको ती वाचामा जनताहरु कसरी विश्वस्त हुने ? मैले पहिले पनि भने हामीलाई विश्वास दिलाउने हाम्रो काम हो, केवल कुरा होइन । अहिले हाम्रो फोकस छ काम गरेर देखाउने । हामीले एक स्पष्ट एक्सन प्लान बनाएका छौं, र त्यसै अनुसार अघि बढ्दै छौं । उदाहरणका लागि यदि हामीले १५ हजार मेगावाट विद्युत ग्रिडमा जोड्यौं भने हामी त्यसलाई प्रयोग गर्नेछौं र बाँकी उत्पादन बेचेर आम्दानी पनि हुनेछ । सडक मात्र यातायातको माध्यम होइन, पूर्वाधारको पूर्वाधार हो । राम्रो सडकले सामाजिक र आर्थिक गतिविधिहरूलाई सहज बनाउँछ । हाम्रो लक्ष्य १२ लाख रोजगारी सिर्जना गर्नु हो । त्यसका लागि उद्योग खोल्न आवश्यक छ, उत्पादन बढाउन आवश्यक छ, कृषि आधुनिकीकरण गर्न आवश्यक छ, र पर्यटन सुधार्न आवश्यक छ । अहिले वार्षिक १६ लाख पर्यटक पनि हामी ल्याउन सकिरहेका छैनौं । तर हामीले यो संख्या बढाउने छौं । यसले रोजगारी सिर्जना गर्ने, देशमा विदेशी मुद्रा भित्र्याउने अवसर दिन्छ । हामी स्पष्ट छौं । हामी केवल बोलेर होइन, काम गरेर देखाउँछौं । जलविद्युत आयोजना बनाउँछु, सडक बनाउँछु भन्ने कुरा मात्र होइन, हामीले वाचापत्रमा उल्लेखित उद्देश्यहरू प्राप्त गर्न के–के परियोजना आवश्यक छन्, निजी क्षेत्रको लगानी कसरी आकर्षित गर्ने, र सार्वजनिक–निजी साझेदारीमार्फत कसरी अघि बढ्ने भन्ने कुरामा गहन छलफल गरेर काम अघि बढाउँछौं । तपाईं यातायात विज्ञ पनि हुनुहुन्छ । हिजोका दिनमा तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत यातायात तथा पूर्वाधार क्षेत्र कसरी सुधार गर्न सकिन्छ भन्ने सल्लाह सुझाव पनि दिँदै आउनु भएको थियो । अब कानुन बनाउने ठाउँमा प्रवेश गर्नुभयो । नेपालको यातायात क्षेत्र कस्तो हुनुपर्छ ? कुनै पनि विकसित देशमा व्यवस्थित सार्वजनिक यातायात नभएको उदाहरण छैन । सार्वजनिक यातायात बिना दिगो विकास असम्भव छ । यो हाम्रो सामाजिक र आर्थिक विकासको आधारभूत आवश्यकता हो ।मैले पहिले पनि भने । हालै २०७९ मा आएको सहरी विकास तथा सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण अस्पष्ट थियो, त्रुटिपूर्ण थियो, र त्यसले काम गर्न सकेन । त्यसलाई सुधार्नैपर्छ । यो नियमन निकायको रूपमा मजबुत बनाइन्छ । अब, हाम्रो योजना ७५३ पालिकालाई क्लस्टरमा विभाजन गरेर, प्रत्येक क्लस्टरमा एक सार्वजनिक यातायात कम्पनी स्थापना गर्नेछौं, जहाँ राज्यको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानी हुनेछ । यसले के गर्छ भने, माग अनुसार बसको व्यवस्था, एकीकृत समय तालिका, एकीकृत योजना, एकीकृत रुट प्रणाली, र एकीकृत टिकटिङ प्रणाली तयार गरिन्छ । नतिजा ? २४ घण्टा सेवा दिने, आधुनिक, व्यवस्थित, र विश्वसनीय सार्वजनिक यातायात । यो मोडेल विश्वमा सफल भइसकेको छ, र म दृढताका साथ भन्छु, नेपालमा पनि यो सफल हुनेछ । रास्वपा सरकार बनाउने तयारीमा छ, तपाईंहरूले बालेनलाई प्रस्तावित प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनु भएको थियो, अब उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ होला । मन्त्रिपरिषद् पनि विज्ञ टोलीको बनाउने भन्ने कुरा सुनिएको छ । कतिको यथार्थता हो ? हाम्रो शीर्षस्थ नेताहरूले सक्रिय रूपमा काम गरिरहनुभएको छ । हाम्रो पार्टीमा अहिले धेरै विज्ञ सांसदहरू चयन भइसकेका छन्, र अब उनीहरूले कहाँ योगदान गर्न सक्छन्, कहाँ आवश्यक छ, त्यसको आधारमा काम अगाडि बढ्छ । प्रधानमन्त्री मोडेलमा, प्रधानमन्त्रीलाई कुन कुन मन्त्रालयले सहयोग गर्नेछ, डेलिभरी कसरी सुनिश्चित हुन्छ, यी सबै कुरा विश्लेषणको आधारमा तय हुन्छ । अर्को कुरा अर्काे पार्टीमा, मन्त्री बन्न दौडधुप, दाबी, आकांक्षा देखिन्छ । तर हाम्रो पार्टीमा त्यस्तो कुरा छैन । यहाँ सबैजना आफ्ना–आफ्ना काममा पूर्ण रूपमा समर्पित छन् । पार्टीले पहिले नै तय गरिसकेको छ । संबन्धित क्षेत्रको विशेषज्ञता भएका व्यक्तिहरूले आफ्नो सेक्टरको योजना बनाउन सुरु गर्नुपर्छ । सबैले यो गृहकार्य सुरु गरिसकेका छन्, र त्यसैले सबैजना आफ्ना जिम्मेवारीमा व्यस्त छन् । त्यो भनेको शीर्ष नेतृत्वले छान्ने हो, तपाईंले आफैंले दाबी गर्ने, म यो क्षेत्रको विज्ञ छु, मलाई पनि मन्त्री चाहिन्छ भन्ने आग्रह हुँदैन ? हिजोका दिनमा प्रेसर, आग्रह, प्रभावमा परेर मन्त्री छान्ने, निकायका प्रमुख तोक्ने, राष्ट्रिय योजना आयोगमा त्यही हिसाबले निर्णय गर्ने अभ्यासले देशलाई कहाँ पु¥यायो ? देश बनेन । यदि हामी त्यही पुरानो शैली फेरि दोहोर्यायौं भने यो देश फेरि अघि बढ्ने छैन । त्यसैले यो पटक फरक हो । पहिलेका समस्याहरू सुधार गर्ने लक्ष्य लिएर आज घण्टी छापमा उहाँहरूले स्वस्तिक लगाउनुभयो । भोलि त त्यो घण्टीले हामीलाई बजाउनेछ । र हामी त्यसमा सचेत र जिम्मेवार छौं । त्यसैले यहाँ कसैको व्यक्तिगत दाबी, म बन्नुपर्छ भन्ने कुरा छैन । अहिले कतिपयले सामाजिक सञ्जालमा गुट उपगुटका विभिन्न कुराहरू राख्छन् बालेन गुट र रवि गुट भनेर । यसमा कत्तिको सत्यता छ ? अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पछाडि लाग्ने प्रवृत्ति स्पष्ट भइसकेको छ । हिजो त केही व्यक्तिहरू हाम्रो पार्टी सभापतिविरुद्ध लागे आज पूरै पार्टी विरुद्ध लाग्ने प्रयास गर्दैछन् । जब उनीहरू ठूलो हुँदैछन्, झन् धेरै विवाद सिर्जना गर्ने र फुटाउने प्रयास हुन्छ । तर हामी सचेत छौ । यी सबै कुरा शीर्षस्थ नेताहरूले छलफल गरेर निर्णय गर्नुहुन्छ, र त्यसलाई कार्यान्वयन गरिन्छ । यसरी मात्र हामीले देश विकासको एउटा ठोस मोडेल निर्माण गर्न सक्छौं । विगतमा पुराना दलहरूले रवि लामिछाने विरुद्ध प्रतिशोध गरेकै हो भन्ने तपाईंको पनि बुझाइ हो ? यो त छर्लङ्ग नै छ नि । प्रतिशोधको कुरा होइन, निर्णय गर्ने अदालत हो, जनता हो । तपाईंले जसलाई जे भन्नुहुन्छ, त्यो त सम्भव छ । जसलाई चाहिँ गाली गर्न पनि पाउँछ, तर फटाहा, चोर, डाँका भनेर कसैले स्वतः निर्णय गर्न सक्दैन । जनताले पनि मतबाट स्पष्ट प्रमाणित गरिदिनुभएको छ । त्यसैले अब हाम्रो काम कुरा गरेर बस्ने होइन डेलिभरी गरेर देखाउने हो । तपाईं यातायात तथा पूर्वाधार विज्ञ हुनुहुन्छ । रास्वपाले पनि विज्ञलाई नै सम्बन्धित मन्त्रालय दिने चर्चा छ । धेरैले तपाईंलाई यातायात मन्त्रालयमा देख्न चाहेको छ । तपाईंको विज्ञता त्यहाँ प्रयोग होस् भन्ने चाहना छ । यदि रास्वपाले तपाईंलाई त्यो मन्त्रालयमा पठाउन चाहेन भने हामीले कसरी बुझ्ने ? म सांसद निर्वाचित भएर आएको छु । मेरो मुख्य फोकस कानुन निर्माणमा छ, त्यसैको लागि आएको हुँ । म मन्त्री बन्ने एजेन्डा लिएर गएको होइन, म सांसद बन्छु भनेर भोट मागेको हुँ । त्यसैले मेरो फोकस कानुन र जनताको हितमा हुनेछ । भोलिको दिनमा पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यसमा मेरो आत्मविश्वास छ कि म इमानदारीपूर्वक त्यस जिम्मेवारी निर्वाह गर्छु । अरूले यसलाई किन बनाएन, त्यसलाई किन बनाएन भन्नुपर्ने छैन । म मात्र विज्ञ होइन, यहाँ धेरै विशेषज्ञ साथीहरू हुनुहुन्छ । डेलिभरी कसरी हुन्छ, कुन मोडेल उपयुक्त हुन्छ, त्यो निर्णय शीर्ष नेतृत्वको जिम्मेवारी हो । आज पनि म विज्ञ, तँ विज्ञ, म हुनुपर्छ, त्यही हुनुपर्छ भन्ने कुरा हुँदैन । कुन परिस्थितिमा को उपयोगी हुन्छ, त्यो महत्त्वपूर्ण कुरा हो । त्यसैले मैले मन्त्रीको आकांक्षा राखेको छैन । मैले सांसद बन्छु भनेर भोट मागेको थिएँ, र आज सांसद भएर बसेकोमा म सबैभन्दा धेरै खुसी छु । पुराना नेताहरूले रेल, मोनो रेल अथवा मेट्रो रेलका धेरै सपनाहरू बाँडे, यो देशमा रेल पूर्वाधार कत्तिको आवश्यक छ ? यो आवश्यक छ । तर, महत्वपूर्ण कुरा के हो भने कुन, कहिले, र कहाँ बनाउने भन्ने निर्णय । त्यसका लागि कति लगानी छ, कुन मोडेल उपयुक्त छ, ती सबै कुरा विश्लेषण गरेर अघि बढ्नुपर्छ । उदाहरणका लागि, मोनोरेल त बनाउने कामै छै । संसारभरि यो प्रोजेक्ट असफल भइसकेको छ । तर मेट्रोरेल, अन्य रेलहरू कहिले र कुन क्रममा आवश्यक छ, त्यसको विश्लेषण गरेर मात्र योजना बनाइन्छ र काम अघि बढाइन्छ । काम गर्नुअघि योजना, विश्लेषण, र समयतालिका स्पष्ट हुनु जरूरी छ, त्यसपछि मात्र सफल र दिगो विकास सम्भव हुन्छ । यहाँ गफ गर्ने चलन छ । तर काम गर्ने चलन देखिदैन् । बालेन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँ मिडियामैत्री हुनुहुन्न, बाहिर बोल्न रुचि राख्नुहुन्न भन्ने अधिकांशको गुनासो छ । मिडियाप्रति रास्वपाको नीति कस्तो रहन्छ ? बोल्नुपर्ने बेला सबैले बोल्नुपर्छ । तर, बोल्नु नपर्ने विषयमा समय खर्च गर्नु काम होइन । बालेनजीले पनि यही सिद्धान्त अपनाएका छन् कम बोल्ने, धेरै काम गर्ने । नीति नै यही हो, त्यसैले अहिले अनावश्यक कुरा बोलेर समय गुमाउनुको अर्थ छैन । म आफैं पनि कहिलेकाहीँ सोचिराख्छु । किन धेरै बोलेँ ? तर आजको स्थिति फरक छ । मिडियाले मलाई चिनाएको छ, अन्तर्वार्ता र रिपोर्टिङका लागि धेरै अवसर आउँछ । म सांसद भइसकेको छु, तर अहिलेको अवस्था यस्तो छ कि अलिकति समय भएर म फ्लेक्सिबल भएर अन्तर्वार्ता दिइरहेको छु । सिन्धुलीमा तपाईंले के-के वाचा गर्नु भएको छ, ती वाचाहरू कसरी पूरा गर्नुहुन्छ ? सिन्धुलीमा हामीले अनावश्यक वाचा गरेका छैनौं । मेरो मुख्य ध्यान तीन वटा क्षेत्रमा केन्द्रित छ । निर्माण क्षेत्रलाई गति दिने, सार्वजनिक यातायात व्यवस्थापन सुधार गर्ने र सडक सुरक्षालाई मजबुत बनाउने । यी लक्ष्य पूरा गर्न अहिलेका नियम–कानुनमध्ये के खारेज गर्नुपर्छ, के सच्याउनुपर्छ र कहाँ नयाँ कानुन आवश्यक छ भन्नेमा मेरो विशेष फोकस रहनेछ । तर जनतासँग भेट्दा उहाँहरूले आफ्ना वास्तविक समस्या पनि स्पष्ट रूपमा राख्नुभएको छ । सिन्धुलीमा धेरै खोलानाला भएकाले वर्षेनी जमिन कटान हुने समस्या छ, त्यसैले बाढी व्यवस्थापनको माग छ । कृषि प्रधान जिल्ला भएकाले किसानले समयमा मल पाउनुपर्छ, सिँचाइको व्यवस्था हुनुपर्छ, उत्पादनको बजार सुनिश्चित हुनुपर्छ र बिचौलियाभन्दा किसानले नै उचित आम्दानी पाउने वातावरण बनाउनुपर्छ भन्ने आग्रह छ । गाउँ–गाउँ पुग्दा अर्को ठूलो पीडा पनि सुनियो । धेरै युवाहरू खाडी मुलुकमा छन्, आमाबुबाले ‘नेपालमै रोजगारी सिर्जना गरिदेऊ’ भन्ने अपेक्षा राख्नुभएको छ । साथै स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने माग पनि बारम्बार उठेको छ । हामीले जनतालाई भनेका छौं । सांसदको मुख्य काम नियम र नीति निर्माण गर्नु हो । तर जनताको समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्नबाट हामी पछि हट्दैनौं । उदाहरणका लागि, केही दिनअघि सिन्धुली अस्पतालमा एनेस्थेसिया विशेषज्ञ चिकित्सकको अभाव रहेको कुरा आयो । त्यसपछि हामी बागमती प्रदेशमा गएर सम्बन्धित निकायसँग छलफल ग¥यौं र सहजीकरण ग¥यौं । अहिले एक जना चिकित्सक सिन्धुली अस्पतालका लागि खटाइसकिएको जानकारी आएको ।
पार्टी पुनर्गठनको माग गर्दै एमाले तानसेन नगर कमिटी विघटन, जेठ ३ मा अधिवेशन गरिने
काठमाडौं । पार्टीभित्र नेतृत्व पुनर्गठनको माग तीव्र बन्दै गइरहेका बेला नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी विघटन गरेको छ । नयाँ संरचना निर्माण र संगठन सुदृढीकरणको उद्देश्यसहित नगर कमिटी भंग गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। आत्रेयका अनुसार निर्वाचन परिणामलगत्तै आफूले मात्रै राजीनामा दिने तयारी गरे पनि सिँगै कमिटीले आफूलाई साथ दिएपछि कमिटी नै विघटन गरिएको हो । उनले नगर कमिटी विघटनसँगै नयाँ कमिटी गठनका लागि आगामी जेठ ३ गते अधिवेशन गर्ने निर्णय गरिएको जानकारी दिए । त्यस्तै, तीन महिनाभित्र सबै वडा कमिटीहरूले पनि अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको उनले बताए । ‘एमालेले समयमै आफूलाई पुनर्ताजगीमा लाग्नुपर्ने समय आएको छ । त्यसैले यसको सुरुवात मैले गरेको हुँ,’ आत्रेयले भने । वर्तमान केन्द्रीय नेतृत्व परिवर्तन नभएसम्म पार्टी प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्षसहित यो कदम चालिएको हो । आत्रेयले नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब सिर्जना गर्ने उद्देश्यले पनि नगर तथा वडा कमिटीहरू विघटन गरिएको स्पष्ट पारे ।
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो ३ करोड
चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक ३ करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ । महानगरपालिकाले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए । उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरू उपलब्ध गराइसकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ । जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए । अब रोपिने बिरुवा संरक्षणका लागि १ करोड ९० लाख विनियोजन गरिएको हो । हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।