विकासन्युज

सीएनआई युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईयुएनइएफ) को आठौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंस्थित होटल र्याडिसनमा  सम्पन्न भएको छ ।  राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरू, कूटनीतिज्ञ, उद्योगपति तथा युवा उद्यमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले युवा सशक्तीकरणमा मञ्चको भूमिकाबारे प्रकाश पारेका थिएका थिए भने स्टार्टअप चेयर चिराग सरावगीले विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गरेका थिए ।  साधारण सभाको अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मानित समेत गरिएको थियो । जसअनुसार जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, श्रीमती नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’ र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।  त्यसैगरी, सीएनआईवाइईएफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र सीएनआईवाइईएफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मान गरिएको थियो । सभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नयाँ बोर्डमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर श्रीमती शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर श्रीमती निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अङ्कुर अग्रवाल रहेका छन् ।  त्यसैगरी, को–चेयरहरूमा श्रीमती न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन) र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन् ।  कार्यक्रमलाई सम्बोधन डा. पुकार मल्लले सरकारले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै सीएनआईयुएनइएफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए ।  परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको आर्थिक समृद्धिमा युवा उद्यमीको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरेका थिए । 

मलेसिया रोजगारीमा सिण्डिकेटविरूद्ध लोकतान्त्रिक एसोसिएसन

काठमाडौं । मलेसिया रोजगारीमा एकाधिकार (सिण्डिकेट) लगाउन खोजिएको भन्दै वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित विभिन्न संगठनहरूले आन्दोलनको चेतावनी दिएका छन् ।  नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको आयोजनामा शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन् । एसोसियसनले मलेसिया रोजगारीमा केही व्यवसायीहरूले सिण्डिकेट लगाउन खोजेको भन्दै छलफल आयोजना गरेको महासचिव सुमनराज पाण्डेले बताए । केही व्यवसायीहरूको निहित स्वार्थमा मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन खोजिएको उनको भनाइ छ । पाण्डेले आजबाट सरोकारवालाहरूसँग छलफल सुरु भएको उल्लेख गरे । 'सिण्डिकेट लागू भयो भने हामी आन्दोलनमा उत्रन्छौं,' उनले भने,' एसोसियसनले वैदेशिक रोजगार व्यवसायी संघले सिण्डिकेटविरूद्द पहल नगरे एक्लै भएपनि संघर्षमा उत्रने तयारी गरेको छ ।' छलफलमा एसोसियसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, कुमुद खनाल, दीपक थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरूङ,संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका उपाध्यक्ष सरिता घले, नेपाल वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष मीन प्रसाद गोलेसहित तामाङ समान, नेवा समाज, मगर समाज, महिला संघलगायत थुप्रै घटक संस्थाहरू सहभागी थिए । उनीहरूले व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । एसोसियसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले सिण्डिकेटविरूद्द संघको ध्यानाकर्षण गराउने बताए ।  

जग्गा, मुआब्जा र समन्वयको समस्या हटाए मात्रै ऊर्जा क्षेत्रले गति लिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको विकासमा आयोजना निर्माणभन्दा नीतिगत र प्रक्रियागत अवरोध ठूलो चुनौती बनेको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले जग्गा अधिग्रहण, मुआब्जा, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले गत आर्थिक वर्ष चुनौतीपूर्ण रहे पनि मन्त्रालयले सन्तोषजनक भौतिक प्रगति हासिल गरेको उल्लेख गरे । नेपाल–भारत ऊर्जा सहकार्य विस्तार, प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्नु, ऊर्जा बन्ड जारी गर्ने निर्णय र राष्ट्रिय प्राथमिकताका आयोजनाले गति लिनु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । उनले चालु आर्थिक वर्ष २०८३/८४ लाई अवसर र परिणामको वर्षका रूपमा अघि बढाइने बताए । विद्युत उत्पादन, प्रसारण, वितरण, ऊर्जा व्यापार विस्तार र हरित ऊर्जाको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । ‘हाम्रो प्राथमिकता बजेट खर्च बढाउनु मात्र होइन, परिणाममुखी कार्यसम्पादन सुनिश्चित गर्नु हो,’ मन्त्री श्रेष्ठले भने । उनले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने, प्रसारण क्षमता विस्तार गर्ने, वर्षभरि सिँचाइ सुविधा विस्तार गर्ने र आयोजना कार्यान्वयनका संरचनागत अवरोध हटाउने प्रतिबद्धता जनाए । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ८४ अर्ब ३३ करोड रुपैयाँको बजेटमध्ये ५२ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ। वित्तीय प्रगति करिब ६२ प्रतिशत र भौतिक प्रगति ७१.३५ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रको भौतिक प्रगति ६३.२७ प्रतिशत र जलस्रोत तथा सिँचाइ क्षेत्रको ७९.२७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बैठकमा बुढीगण्डकी र अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी स्वीकृत हुनु, प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्नु, ऊर्जा बन्ड जारी गर्ने निर्णय तथा ऊर्जा सम्बन्धी विधेयक अघि बढ्नु प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो । समीक्षाअनुसार रानी–जमरा–कुलरिया, बबई र सिक्टा सिँचाइ आयोजनाले उल्लेखनीय प्रगति गरेका छन् । भेरी–बबई डाइभर्सन, सुनकोशी–मरिन र बुढीगण्डकी आयोजनामा भने जग्गा अधिग्रहण, ठेक्का व्यवस्थापन र स्रोत परिचालनका चुनौती अझै कायम रहेको निष्कर्ष निकालिएको छ ।

उचाइमै पुगेर निम्स दाइ अस्ताए

काठमाडौं । ब्रड पिकको हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पूर्जाको मृत्यु भएको छ । इलाइट एक्स्पेडले उनको निधन भएको पुष्टि गरेको छ । केही दिन अघिमात्र पाकिस्तान पुगेर ब्रड पिकमा आरोहण गर्न उनी पुगेका थिए । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो जाँदा उनी बेपत्ता भएका थिए ।  टोलीमा ६ जना नेपालीसहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी गरी कूल १० जना सहभागी थिए ।  सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान उनले बनाएका थिए। करिब डेढ दशकको आरोहण यात्रामा निम्स दाइले व्यक्तिगत साहसको सीमा मात्र तोडेनन् ।  नेपाली आरोहीको पहिचान र नेपालको हिमाल पर्यटनलाई पनि नयाँ उचाइमा पुर्याए। निम्स दाई हिमाल चढ्दाचढ्दै चिनिएका थिए । उनी कुनै समय ब्रिटिश लाहुरेमा भर्ना भएका थिए । लामो समयसम्म सेवा पनि गरे । तर, उनी हिमाल चढ्न पुगेका निम्स हिमालमै अस्ताए ।  उचाइमा पुगेर चिनिएका थिए निम्सदाइ । उचाइमा पुगेर अस्ताए । जन्मिए नेपालमा मृत्युवरण गरे पाकिस्तानमा । निम्सदाइ सामान्य आरोही मात्र थिएनन् । उनी असम्भव ठानिएको योजनालाई सम्भव बनाउँथे । विश्व पर्वतारोहणको गति, शैली र नेतृत्वबारे स्थापित मान्यता परिवर्तन गर्ने नेपाली आरोहीको रुपमा परिचय बनाएका थिए।  करिब २९ वर्षसम्म व्यावसायिक पर्वतारोहणको अनुभव नगरेका उनले त्यसपछिको छोटो अवधिमै संसारका अग्ला- अग्ला हिमालमा आरोहण गरी किर्तिमान बनाएका छन् । उनले म्याग्दीको एक गाउँबाट जीवन यात्रा सुरु गरेका थिए ।  निम्स दाईको जन्म २५ जुलाई १९८३ मा म्याग्दीको दाना भएको थियो । उनी सानो छँदै परिवार चितवन बसाइँ सरेको थियो। चितवन, ब्रिटिस गोर्खा सेना, बेलायतको विशेष सैन्य इकाइ र संसारका सबैभन्दा अग्ला हिमालसम्म पुगेको अनुभव हासिल गरिसकेका थिए । उनका बुबा ब्रिटिस गोर्खा सैनिक थिए। उनका दाजुहरू पनि गोर्खा सेनामा भर्ती थिए। परिवारको यही पृष्ठभूमिका कारण सानैदेखि उनको सपना पनि गोर्खा सैनिक बन्ने थियो। सन् २००३ मा उनी ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजमा भर्ती भए। करिब छ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेपछि सन् २००९ मा उनी बेलायतको ‘स्पेसल बोट सर्भिस’ अर्थात एसबीएसमा छनोट भए । एसबीएस बेलायतको रोयल नेभीअन्तर्गतको अत्यन्त विशिष्ट सैन्य इकाइ हो । उनी एसबीएसमा पुग्ने पहिलो गोर्खा भएको उनको आधिकारिक विवरणमा उल्लेख गरिएको छ । निम्सदाइको पर्वतारोहण यात्रा बाल्यकालदेखि सुरु भएको थिएन । सन् २०१२ मा सैन्य सेवाबाट बिदामा आएका बेला उनी सगरमाथा आधार शिविरतर्फ पदयात्रामा गएका थिए । त्यही यात्राले हिमालप्रति उनमा रुचि जगाएको थियो । आधार शिविरको यात्रापछि उनले साथमा रहेका गाइडलाई आफूलाई वास्तविक आरोहण सिकाउन आग्रह गरे। डिसेम्बर २०१२ मा उनले ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरे । त्यही नै उनले चढेको पहिलो हिमाल थियो। दुई वर्षपछि १८ मे २०१४ मा उनले आठ हजार १६७ मिटर अग्लो धौलागिरि आरोहण गरे। त्यो उनको पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमाल थियो। सन् २०१६ मा उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगे। उनले जागिर छाडेर संसारका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सात महिनाभित्र आरोहण गर्ने घोषणा गरे।  २३ अप्रिल २०१९ मा अन्नपूर्ण आरोहण गर्दै सुरु भएको अभियान २९ अक्टोबरमा तिब्बतको सिसापाङ्माको चुचुरोमा पुगेर पूरा भयो। उनले अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, मकालु, नाङ्गा पर्वत, गाशरब्रुम –१, गाशरब्रुम–२, केटु, ब्रड पिक, चोयु, मनास्लु र सिसापाङ्मा गरी १४ हिमाल ६ महिना ६ दिन अर्थात् १८९ दिनमा आरोहण गरे।  सन् २०१९ मा उनको १८९ दिनको उपलब्धिलाई आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सबैभन्दा छिटो आरोहण गरेको विश्व कीर्तिमान मानिएको थियो।  सन् २०२३ मा क्रिस्टिन हरिला र तेन्जेन लामा शेर्पाले ९२ दिनमा १४ वटै हिमाल चढेपछि गति कीर्तिमान पनि तोडिएको छ। तर, यसले सन् २०१९ को अभियानको ऐतिहासिक महत्त्व घटाउँदैन।  निम्सदाइले आठ वर्षको पुरानो समयलाई एकैपटक ६ महिनामा झारेर उच्च हिमाली आरोहणको योजना, गति र परिचालन क्षमतामा नयाँ मानक स्थापित गरेका थिए। सन् २०२५ मा नाङ्गा पर्वत आरोहणसँगै उनले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० सफल आरोहण पूरा गरेको घोषणा गरे। उनले आठ हजार मिटरमाथिको आरोहण संख्या अझै बढाएका थिए। उनी कीर्तिमान बनाउने मात्र होइन, आफ्नै कीर्तिमानलाई पुनः चुनौती दिने आरोहीका रूपमा परिचित भए। हिमाली पर्वतारोहणमा गरेको कामका लागि सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयले निम्स दाईलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’—एमबीई सम्मान प्रदान गरेकी थिइन् ।  सन् २०२० मा उनले पियोले डी’ओर एसिया सम्मान प्राप्त गरे। सन् २०२३ मा लफबरो विश्वविद्यालयले उनलाई मानार्थ उपाधि प्रदान गर्यो। उनको ‘प्रोजेक्ट पोसिबल’ अभियानमा आधारित वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ सन् २०२१ मा नेटफ्लिक्सबाट सार्वजनिक भयो। वृत्तचित्रले उनको कीर्तिमानलाई मात्र होइन, नेपाली आरोहीको क्षमता, हिमाली भूगोल, जोखिम र टोलीगत योगदानलाई विश्वका करोडौं दर्शकमाझ पुर्यायो। उनले लेखेको पुस्तक ‘बियोन्ड पोसिबल’ ले सैन्य जीवन, आरोहण यात्रा र असम्भव ठानिएको लक्ष्य पछ्याउने उनको सोचलाई समेटेको छ। ‘सम्भव’ र ‘असम्भव’ बारे उनले निर्माण गरेको भाष्य पर्वतारोहण बाहिरका युवामाझ पनि लोकप्रिय बन्यो। निम्सदाइको अन्तर्राष्ट्रिय लोकप्रियताले नेपाललाई सगरमाथाको देशका रूपमा मात्र होइन, विश्व कीर्तिमानी आरोही र उच्च हिमाली नेतृत्व जन्माउने देशका रूपमा चिनायो। नेटफ्ल्क्सि वृत्तचित्र, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय अन्तर्वार्ताले नेपालको पर्वतारोहण ब्रान्डलाई परम्परागत पर्यटन प्रचारभन्दा फरक दर्शकसम्म पुर्याए। उनको नेतृत्वमा सञ्चालन हुने अभियानले उच्च खर्च गर्ने अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फ आकर्षित गरे। यस्ता अभियानले पर्वतारोहण अनुमति, होटल, हेलिकोप्टर, वायुसेवा, गाइड, क्याडी, भरिया, उपकरण, बिमा र स्थानीय सेवासम्म आर्थिक गतिविधि सिर्जना गर्छन्।  उनले हिमाल आरोहणलाई लामो समय लाग्ने सीमित अभियानको ढाँचाबाट तीव्र योजना, प्रविधि, बलियो टोली र व्यवस्थित परिचालनमा आधारित नयाँ व्यावसायिक मोडलतर्फ लैजान भूमिका खेले। उनको शैलीबारे पर्वतारोहण समुदायमा बहस भए पनि उनले हिमाल पर्यटनमा नेपाली नेतृत्वको व्यावसायिक सम्भावना देखाएको तथ्य अस्वीकार गर्न सकिँदैन। निम्सदाइ फाउन्डेसनमार्फत उनले हिमाली समुदायमा शिक्षा, आपत्कालीन सहयोग र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम अगाडि बढाए। ‘बिग माउन्टेन क्लिनअप’ अभियानमार्फत अग्ला हिमालमा थुप्रिएको फोहोर हटाउने प्रयास गरिएको छ। आफ्नो पछिल्लो कीर्तिमानी अभियानमा प्राप्त हुने सहयोग फाउन्डेसनमार्फत समुदायका लागि प्रयोग गर्ने घोषणा पनि उनले गरेका थिए । लोबुचे इस्टबाट सुरु भएको उनको यात्रा धौलागिरि, सगरमाथा, केटु र विश्वका सबै १४ अग्ला हिमालसम्म पुग्यो। उनले बनाएका केही कीर्तिमान तोडिए, केही पुनर्वर्गीकृतभए र केही अझै कायम छन् तर उनले विश्व पर्वतारोहणमा छाडेको सबैभन्दा गहिरो छाप संख्याभन्दा ठूलो छ । 

आरोहीहरू इतिहासमा सधैँ अमर रहन्छन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार जना विदेशी आरोहीको निधनले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री शाहले पर्वतारोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन् । प्रधानमन्त्री शाहले निर्मल पुर्जासहित सम्पूर्ण दिवङ्गत आरोहीको भौतिक यात्रा टुङ्गिए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गरेका छन् । उनले दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

साताभर नेप्से १५.७८ अंकले घट्यो, कारोबार २१ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताभर १५.७८ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७०१.३२ अंकमा रहेको नेप्से यो साता २६८५.५४ अंकमा झरेर कारोबार बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो । त्यसपछि मंगलबार ४.६४ अंक र बुधबार ७.७९ अंकले घट्यो । बिहीबार पनि १६.२९ अंकको गिरावट आयो । शुक्रबार भने बजारमा सामान्य सुधार देखियो । शुक्रबार नेप्से १२.९६ अंकले बढे पनि साताभरको समग्र नतिजा भने नकारात्मक रह्यो । साताभर नेप्सेमा २१ अर्ब १९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच दिनमा ४ करोड ५९ लाख १ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा बढी ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । शुक्रबार सबैभन्दा कम ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।

हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयो : राधेश्याम अधिकारी

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को सट्टा हिंसामार्फत सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो धारणा राखेका हुन् । अधिकारीले विगतका हिंसात्मक घटनाका दोषीलाई जवाफदेही बनाउन नसक्दा त्यस्ता घटनाको पुनरावृत्ति भइरहेको तर्क गरे । भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै उनले ती घटनामा जवाफदेहिता कायम गर्न नसकिएकै कारण अहिले फेरि त्यस्तै प्रकृतिका घटना दोहोरिन थालेको बताए । हालैका दिनमा देखिएका धार्मिक तथा अधार्मिक प्रकृतिका उच्छृङ्खल गतिविधि र निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमाथि भएका आक्रमणप्रति पनि उनले चासो व्यक्त गरे । भाटभटेनी र सीजी ग्रुपजस्ता व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र क्षतिलाई उनले लोकतन्त्रका लागि चिन्ताको विषय बताए । यस्ता गतिविधिले मुलुकको शासन व्यवस्था र लोकतन्त्रको रक्षामा चुनौती थपेको उनको भनाइ छ । अधिकारीले भने, ‘पटक–पटक यस्ता घटना भइरहँदा हिंसा र हिंसामार्फत सत्ता परिवर्तन हुन सक्छ, ब्यालेटबाट होइन भन्ने मान्यता स्थापित हुँदैछ कि भन्ने डर लागिरहेको छ । त्यो हो कि होइन, त्यो आफ्नो ठाउँमा होला । तर आजको दिनमा यो विषय गम्भीर समीक्षा गर्ने विषय बन्न सक्छ कि सक्दैन ? यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ भन्ने मलाई लाग्छ। भदौ २३ र २४ गतेका घटना भए ।’ अधिकारीले सरकार र संसद्बीचको सम्बन्धका विषयमा पनि प्रश्न उठाए। संसदबाटै नियुक्त हुने प्रधानमन्त्रीलाई आजको अवस्थामा संसद्मै टेक्न गाह्रो हुनु जवाफदेहिताको अभावको संकेत भएको उनले बताए । राज्यको कार्यकारी प्रमुखले नै जिम्मेवारी र जवाफदेहिताको बोध नगर्ने हो भने लोकतन्त्रप्रति जनताको आस्था र विश्वास कायम राख्न कठिन हुने उनको चेतावनी छ । जवाफदेही शासन व्यवस्थाले मात्र लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले यस विषयमा गम्भीर समीक्षा गर्न सरोकारवालाको ध्यानाकर्षण गराए ।

निम्स दाइको निधन भएको पुष्टि

काठमाडौं । निर्मल पुर्जा अर्थात् निम्स दाइको निधन भएको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर उनको निधन भएको इलाइट एक्सपेडले पुष्टि गरेको छ । इलाइट एक्सपेडले जारी गरेको विज्ञप्तिमा हिम पहिरोपछि पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ' पुर्जाको दुःखद निधन भएको उल्लेख गरिएको छ । इलाइट एक्सपेड कम्पनी निम्स दाइको हो । उनीसहित केही पर्वतारोही साझेदारी छन् । ‘आज हामी अत्यन्तै गहिरो दुःख र असह्य पीडाका साथ पुष्टि गर्दछौं कि ब्रड पिकमा आएको हिम पहिरोपछि विश्व प्रसिद्ध पर्वतारोही निर्मल 'निम्स' दाइ पुर्जाको दुःखद निधन भएको छ। यस अभियानमा संलग्न अन्य केही सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ,’ विज्ञप्तिमा लेखिएको छ । 'हामीले केवल निम्सलाई मात्र होइन, यस दुःखद घटनामा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ । उनका विश्वासिला आरोहण सहयात्री तथा पर्वत मार्गदर्शक पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको विज्ञप्तिमा बताइएको छ । निर्मल 'निम्स दाइ' पुर्जा तथा यस दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली। तपाइलाई कहिले बिर्सने छैनौ । तपाइको साहस, उद्देश्यलाई आउने पुस्ताले सधैँभरि सम्झिरहने छन् ।