सुबिसु इन्टरनेट १७ औँ वर्षमा प्रवेश, संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सफल
काठमाडौं, २१ पुस । नेपालको एक अग्रणी इन्टरनेट सुबिसु केवलनेट बिहीबारबाट १६औं बर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा शुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ । १६ बर्षको अन्तरालमा कम्पनीले आफ्ना ग्राहकहरुलाई थप नविन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु दिँदै आएको छ । ग्राहकहरुलाई डिजिटल टिभी सेवा, इन्टरनेट टिभी ओटिटि सेवा र ब्रोड व्याण्ड सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भन्छन् “सुबिसु सफलतापूर्वक १७औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसँग रहोस भन्ने चाहान्छौँ । १६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”
रामचन्द्र संघाई विरुद्ध व्यापारिक साँझेदार सुभाष खेतान र रमेश अग्रवालको ६ आरोप
काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत हिस्सेदारका रुपमा रहेका खेतान र अग्रवालले राजश्व अनुसन्धान विभाग, अख्तियार, सम्पति सुद्धिकरण विभाग, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई बोधार्थ दिएर नेपाल आयल निगमलाई लेखेको पत्रमा संघाई विरुद्ध गम्भिर प्रकृतिका ६ वटा आरोप लगाइएको छ । रामचन्द्र संघाईले भारतबाट ग्यास ढुवानी गर्दा बढि रकम भाडा तिरेर राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गरेको आरोप पनि उनीहरुले लगाएका छन् । त्यस्तै, संघाईले ५० प्रतिशत लगानी कर्तालाई बाइपास गरेर उद्योग कब्जा गरेको, बुलेट ढुवानीमा बढि भाडा तिरेर राजश्व चुहावट गरेको, विदेशी मुद्रा अपचलन गरेको, उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्नेगरि न्युन गुणस्तरका सिलिण्डर बेचेको, भूकम्प र भारतीय नाका बन्दीका समयमा कालोबजारी गरेको लगायतका आरोप लगाएका छन् । उनीहरुले नेपाल आयल निगमलाई कात्तिक २५ गते पत्र लेखेर पिडिओ रोक्का गरि कारवाही अघि बढाउन माग गरेका थिए । संघाईले उपभोक्ताहित प्रतिकुल तथा राजश्व चुहावटको काम समेत गरेकाले उनी माथी तत्काल अनुसन्धान गरेर कारवाही गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । खेतान र अग्रवालले सिद्धार्थ ग्यास उद्योग प्रालीमा आफुहरुको ५० प्रतिशत हिस्सा रहेको र सो सम्बन्धी मुद्धा पाटन उच्च अदालतमा विचाराधिन रहेकाले पनि संघाईलाई अदालतको मानहानीको कारवाही पनि गरिनुपर्ने दावी गरेका छन् ।
बिहीबार मात्र गुडविल फाइनान्सको ९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २१ पुस । बिहीबार मात्र गुडविल फाइनान्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको ९ लाख ७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २८५ रुपैयाँमा किनबेच भएको छ ।
३५ करोडको कारोबार भएको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २१ पुस । बिहीबार नेप्से परिसूचक सामान्य ३ दशमलब ६८ अंकले घटेर १४५४ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३५ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १२ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । बजार राताम्मे हुँदा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । एनबी इन्स्योरेन्स कम्पनी र कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.८८ र ९.७८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । बिहीबार कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा र होटल समूहका परिसूचक क्रमशः ४१ र १५ अंकले घटेका छन् । अन्य बाँकी समूहको परिसूचकहरु सामान्य अंकले ओरालो लागेका छन् ।
बूढीगण्डकी आयोजनाः मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्यो
काठमाडौँ, २१ पुस । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने बाटो क्रमशः खुल्दै गएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आयोजनाबाट प्रभावित गाविस तथा क्षेत्रको मुआब्जा निर्धारण गरेर सम्पर्कका लागि स्थानीय प्रभावितलाई सम्पर्क गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले पहिलो चरणमा सलाङ, मैदी, खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले न्यूनतम प्रतिरोपनी पाँच लाख २५ हजार रुपैयादेखि अधिकतम आठ लाख ३५ हजार रुपैयाँसम्मको मुआब्जा तय भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले विभिन्न ११ वटा खण्डमा मुआब्जा तय गरेको छ । बाक्लो बस्ती र मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँका जग्गालाई सबैभन्दा बढी मुआब्जा दिइनेछ । यस्तै मूल मोटरबाटोसँग जोडिएका दायाँ बायाँ जग्गाको रु आठ लाख चार हजार, घरबस्ती क्षेत्र र सहायक मोटर बाटोको रु सात लाख ७३ हजार, खेत अब्बल रु सात लाख ४२ हजार, खेत दोयम रु सात लाख ११ हजार, खेत सिम रु छ लाख ८० हजार, खेत चाहार रु छ लाख ४९ हजार, बारी अब्बल रु छ लाख १८ हजार, बारी दोयम रु पाँच लाख ८७ हजार, बारी सिम रु पाँच लाख ५६ हजार तथा बारी चाहार रु पाँच लाख २५ हजारका दरले मुआब्जा तोकिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आयोजनाको प्रक्रिया अगाडि बढेको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार परियोजनाका लागि जग्गा अधिग्रहण गर्दा, सम्पूर्ण घर र जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहीँ पनि घर जग्गा नभएका विस्थापितले सोको प्रमाणपत्र पेस गरेको खण्डमा पाँच रोपनीभन्दा कम जग्गा हुने र पाँचदेखि १० रोपनीसम्म मात्र जग्गा हुने परिवारको हकमा तोकिएको मुआब्जाभन्दा बढी जग्गाको प्रकारका आधारमा थप १५ प्रतिशतसम्म मुआब्जा प्राप्त गर्नेछन् । घर, गोठ, उद्योग, कलकारखाना तथा बोटबिरुवालगायत अन्य वैयक्तिक भौतिक सम्पत्तिको लगत लिन अलग्गै टोली खटाउने र सोका आधारमा मूल्याङ्कन गरी थप मुआब्जा दिइनेछ भने मुआब्जा निर्धारण हुन बाँकी रहेका आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि विशेष टोली खटाइ सो टोलीले दिने प्रतिवेदनका आधारमा मुआब्जा तय गरिनेछ । गृहमन्त्रालयले बूढीगण्डकी आयोजना विकास समितिका तर्फबाट आज सार्वजनिक सूचना प्रकाशित गरी सलाङ, मैदी र खरी गाविसको मुआब्जाका लागि आयोजनाको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि पहिलो चरणमा तीन गाविसको मुआब्जा वितरण गर्ने सूचना प्रकाशित गरेको थियो । बूढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद देवकोटाले मुआब्जा लिनका लागि स्थानीय प्रभावितले जिल्ला प्रशासन कार्यालय, गोरखा र आयोजनाको कार्यालय सिउरेनीटारमा निवेदन दिइसकेको जानकारी दिएका छन्। आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले आगामी १५ दिनभित्र गोरखाका घ्यालचोक, भूमलीचोक र दर्बुङ गाविसको करिब दुई हजार १०० कित्तामध्ये एक हजार कित्ताको मुआब्जाका लागि निवेदन प्राप्त भएको र अन्यको चाँडै नै मुआब्जा वितरण गरिने बताउनुभयो । आयोजनाका लागि चालु आवमा अर्थ मन्त्रालयले पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कमार्फत हालसम्म तीन अर्ब रुपैयाँ जग्गा भइसकेको छ । यस्तै आयोजनाले इन्जिनियरिङ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत तयार पारिसकेको छ । आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि केही दिनभित्रै संयोजक पद चयन गरिने ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिएका छन्। रासस
एपेक्स डेभलपमेन्ट बैंकको १० लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं, २१ पुस । बिहीबार एपेक्स डेभलपमेन्ट बैंकको मात्र १० लाख ३३ हजार ६१५ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ६५ लाख ५९ हजार रुपैयाँ रहेको छ । हाल सम्म कम्पनीको ६६ लाख ६५ हजार ५९६ किता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकमा कसमस डेभलपमेन्ट बैंक र कम्यूनिटी डेभलपमेन्ट बैंक गाभिने, चुक्ता पुँजी १ अर्ब ३८ करोड पुग्दै
काठमाडौं, २१ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने (एक्वाएर गर्ने) भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । सांग्रिला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । दुई विकास बैंक गाभिएपछि सांग्रिलाको सेयर पुँजी करिव १ अर्ब ३८ रुपैयाँ हुने छ । तर स्वाप रेसियोको कारण मर्जपछि उल्लेखित पुँजीमा केही कमी आउन सक्नेछ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक सेयर पुँजी २० करोड ९५ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता २९० मा कारोबार भएको छ । यस बैंकले रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्लामा बैकिङ सेवा दिदै आएको छ । कसमस डेभलपमेन्ट बैंक गोर्खा जिल्लालाई कार्य क्षेत्र मानेर २०६७ सालदेखि सञ्चालनमा आएको एक जिल्ले बैंक हो । कसमसको सेयर पुँजी ९ करोड ८९ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको प्रति सेयर ४२८ रुपैयाँमा कारोबार भएको छ । एक्विजिशन प्रक्रियामा गएकाले नेपाल स्टक एक्स्चेञ्ज कम्पनीले कम्यूनिटी र कसमस दुबै बैंकको सेयर कारोबार बन्द गरेको छ । सांग्रिला बैंकले असोज मसान्तसम्ममा निक्षेप १० अर्ब र कर्जा ९ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ । कम्यूनिटी डेभलपन्ट बैंकमा निक्षेप १ अर्ब ६२ करोड छ भने कर्जा १ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ । कसमस डेभलपमेन्ट बैंकमा करिव ८० करोड निक्षेम छ भने करिव ५१ करोड रुपैयाँ कर्जा छ ।
अरुण भ्याली हाइड्रोको ७ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २१ पुस । बिहीबार अरुण भ्याली हाइड्रो पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ७ लाख ७६ हजार ०९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । थापाथलीमा केन्द्रिय कार्यलय रहेको यस कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा किनबेच भएको छ ।