अशान्तिले साना उद्योग धरापमा पर्ने महासंघको चिन्ता
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । महासंघले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महासंघका अनुसार सीमित पूँजी, स्थानीय बजार र दैनिक कारोबारमा निर्भर रहने घरेलु तथा साना उद्योगहरू अशान्ति, बन्द, तोडफोड तथा बजार अवरोधबाट सबैभन्दा बढी प्रभावित हुने गर्छन् । यस्तो अवस्थाले उद्यमीहरूको आत्मविश्वास कमजोर बनाउनुका साथै उत्पादन र आपूर्ति प्रणालीमा समेत असर पुर्याउने जनाएको छ । विज्ञप्तिमा नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास नै राष्ट्रिय स्थायित्व तथा आर्थिक समृद्धिको आधार रहेको उल्लेख गरिएको छ । यस्ता घटनाले घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, व्यापार, पर्यटन, रोजगारी तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष र दीर्घकालीन नकारात्मक असर पार्ने महासंघको भनाइ छ । महासंघले कुनै पनि समस्या वा मतभेदको समाधान हिंसा वा टकरावबाट नभई संविधान, कानुन, संवाद र आपसी समझदारीका माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राख्दै संयमता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ । विज्ञप्तिमार्फत महासंघले नेपाल सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग प्रभावित क्षेत्रमा प्रभावकारी शान्ति–सुरक्षाको व्यवस्था गर्न, उद्योग–व्यवसाय र सर्वसाधारणको जनधनको सुरक्षा सुनिश्चित गर्न तथा आर्थिक गतिविधि सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल निर्माण गर्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी विश्वासलाई थप मजबुत बनाउन नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई महासंघले आह्वान गरेको छ । महासंघले शान्तिपूर्ण, सुरक्षित तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवालासँग आवश्यक सहकार्य गर्न आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ ।
धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी
काठमाडौं । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण अवस्थालाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन् । गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिसँग छलफल अघि बढाएका हुन् । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो । सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवाद उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला तराई भ्रमणमा हुनुहुन्छ । वार्तामार्फत केही स्थानको अवस्था क्रमिक रूपमा शान्त बन्दै गएको छ । प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादमार्फत सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।
डढेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नं २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ । सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाएको छ ।
बेष्ट फाइनान्सको बनस्थली शाखा बन्द, अब सामाखुशीबाट कारोबार हुने
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बनस्थली (खरिबोट) शाखालाई गोंगबु (सामाखुशी) शाखामा समायोजन गर्ने भएको छ । कम्पनीले प्रविधिको विकाससँगै विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढ्दै गएको तथा शाखामा प्रत्यक्ष उपस्थित भएर कारोबार गर्ने ग्राहकको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै शाखा समायोजन गर्न लागिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले महानगरपालिका क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा आवश्यकताअनुसार समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था गरेपछि सोहीअनुसार निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार बनस्थली (खरिबोट) शाखा आगामी साउन १८ गते (सोमबार)देखि गोंगबु (सामाखुशी) शाखामा समायोजन हुनेछ । हाल बनस्थली शाखाबाट कारोबार गरिरहेका ग्राहकहरूले साउन १७ गते (आइतबार)सम्म सोही शाखाबाट सेवा लिन सक्नेछन् । त्यसपछि भने सम्पूर्ण बैंकिङ सेवा गोंगबु (सामाखुशी) शाखाबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । फाइनान्सले काठमाडौं उपत्यकाभित्र मुख्य शाखा, न्यूरोड, चावहिल र लगनखेल शाखासमेत सञ्चालनमा रहेकाले आवश्यक परे ग्राहकले आफ्नो खाता वा कर्जा ती शाखामध्ये कुनैमा स्थानान्तरण गर्न सक्ने जनाएको छ ।
नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत श्रेष्ठ ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित
काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयबाट प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित भएका छन् । भियतनामको परराष्ट्र मन्त्रालयले नेपाल–भियतनामबीच व्यापार, पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गरेको हो । मन्त्रालयले श्रेष्ठले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ । ‘भियतनामको वैदेशिक सेवामा योगदान’ शीर्षकअन्तर्गत प्रदान गरिएको सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङको हस्ताक्षर रहेको छ । सम्मानपत्रमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहकार्य विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले खेलेको भूमिका उल्लेखनीय रहेको उल्लेख गरिएको छ । सम्मानपछि श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँदिल्लीस्थित भियतनाम दूतावास तथा सम्बद्ध निकायप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । उनले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । प्रत्यक्ष हवाई सम्पर्कले बौद्ध पर्यटन, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उनको भनाइ छ । नेपाल बुद्धको जन्मस्थल र भियतनाम समृद्ध बौद्ध सम्पदा भएको मुलुक भएकाले धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि सिधा हवाई सेवा अपरिहार्य रहेको श्रेष्ठले बताए । लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उनले सिधा उडान सञ्चालन भए धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान–प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारीसमेत विस्तार हुने विश्वास व्यक्त गरे । श्रेष्ठले सूचना प्रविधि, पर्यटन, शिक्षा, सेवा, कृषि, खाद्य प्रशोधन, उत्पादन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा नेपाल–भियतनामबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुक लाभान्वित हुने बताए ।
९९३ सदस्य रहेको शुभ सन्देश सहकारीको सम्पत्ति साढे १२ करोड, ५१ जना ऋणी
काठमाडौं । शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देशन बमोजिम संस्थाले सार्वजनिक गरेको विवरणअनुसार सहकारीको कुल सम्पत्ति १२ करोड ४८ लाख १६ हजार १५९ रुपैयाँ पुगेको छ । विवरणअनुसार संस्थाको सेयर पुँजी १ करोड ६५ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ लाख ३६ हजार ६०६ रुपैयाँ रहेको छ । कुल संस्थागत पुँजी १२ लाख १ हजार ५६७ रुपैयाँ र अन्य कोषमा १२ लाख ५२ हजार ४०९ रुपैयाँ रहेको उल्लेख छ । सहकारीले ८ करोड ४३ लाख ३ हजार ७६७ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । संस्थाको कुल बचत ९ करोड ९३ लाख १५ हजार ४४७ रुपैयाँ रहेको छ । तरलता रकम ३ करोड ४७ लाख ७८३ रुपैयाँ रहेको र तरलता अनुपात ३३.२८ प्रतिशत पुगेको विवरणमा उल्लेख गरिएको छ । संस्थामा हाल ९९३ जना सदस्य आबद्ध रहेका छन् भने ५१ जना ऋणी सदस्य रहेको वित्तीय विवरणमा जनाइएको छ ।
कुवेतमा आक्रमणमा ज्यान गुमाएका नेपालीको शव आज स्वदेश ल्याइँदै
काठमाडौं । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार तामाङको पार्थिव शरीर कुवेत एयरवेजमार्फत स्वदेश ल्याउन लागिएको हो । मन्त्रालयले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको मन्त्रालयले जनाएको छ ।
२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगसँग सम्बन्धित विभिन्न सिफारिस तथा सेवा प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै प्रदान गरिने स्पष्ट पारेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने २५ करोड रुपैयाँभन्दा कम स्थिर पुँजी भएका उद्योगका लागि आवश्यक मेसिनरी, औजार तथा कच्चा पदार्थसम्बन्धी सिफारिस प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो । यस्तै, रसायन आयात, बण्डेड वेयरहाउस सञ्चालन, कच्चा पदार्थ खपतको नर्म्स निर्धारण तथा अन्य छुट, सुविधा र सहुलियतसम्बन्धी सिफारिससमेत सम्बन्धित प्रदेश सरकार र त्यसअन्तर्गतका निकायबाटै गरिने विभागले स्पष्ट पारेको छ । यसैबीच, उद्योग विभागले उद्योग दर्तासहित थप सात प्रकारका सेवा पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । विभागका अनुसार औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत आगामी साउन १८ गतेदेखि यी सेवाहरू अनलाइनबाटै सञ्चालनमा ल्याइनेछ ।