प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा, बैंकले कमाई १ अर्ब ७५ करोड
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा २ अर्ब ५ करोड रुपैयाँ छ । गत असारमसान्तसम्ममा बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६१ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले गरेको लगानी ११ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकको खराव कर्जा अनुपात ४ दशमलव २९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७१ दशमलव १० प्रतिशत छ ।
प्राइमले कमायो डेढ अर्ब, ३३ प्रतिशतले नाफा बढाउन सफल
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । बैैंकले गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसकोे संचित कोषमा ३ अर्ब १२ करोड रुपैयाँ छ । बैंकले गत आवमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ७१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यस बैैंकको हालसम्म लगानी ६ अर्ब १४ करोड गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात शून्य दशमलव ७८ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ७६ दशमल ८० प्रतिशत छ । यो बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ४४ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १४९ दशमलव ४२ प्रतिशत रहेको पनि उल्लेख छ ।
देवले साझा विकास बैंकलाई प्राप्ति गर्न बोलायो भदौ १ गते विशेष साधारणसभा
काठमाडौ । राजधानीमा रहेको देवः विकास बैंकले धनगढीमा रहेको साझा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । साझालाई प्राप्ति गर्न देवःले भदौ १ गते विशेष साधारणसभा बोलाएको छ । दुबैं विकास बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीपीए) प्रतिवेदन तयार भइसकेको छ । १ बराबर १ अनुपातमा सेयर आदनप्रदान (स्वाप रेसियो) कायम गर्ने विषयमा सहमति भइसकेको छ । दुबै बैंकको सभाले पारित गरेपछि प्राप्तिको प्रक्रिया अघि बढने छ । चुक्तापुँजी बढाउन देवले साझालाई प्राप्त गर्न लागेको हो । राष्ट्रियस्तरको विकास बैंक बन्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनु पर्ने वाध्यकारी व्यवस्थाका कारण देवले साझालाई खरिद गर्न लागेको हो ।
अरुण फाइनान्सको शतप्रतिशत हकप्रद, १५ लाख कित्ताको आवेदन भदौ ६ देखि
काठमाडौं । अरुण फाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो फाइनान्सले १ सय रुपैयाँ अंकित १५ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । यसको सेयरको आवदेन आगामी भदौ ६ गतेबाट असोज ९ गतेसम्म रहेको छ । यो वित्तीय संस्थाले १५ करोड चुक्तापुँजीमा सोही बजारबको पुँजी बृद्धिको लागि उक्त हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदन दिन गत असार ८ गतेसम्म सेयरका कारोबार गरेका लगानीकर्ताले मात्रै पाउने छन् । यसको सेयर आवेदन ग्लोवल आइएमई क्यापिटल, अरुण फाइनान्स, ग्लोवल आईएमईको विभिन्न शाखा कार्यालयबाट गर्न सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।
कामना सेवा विकास बैंकको आजदेखि एकिकृत कारोबार सुरु
काठमाडौं । कामना र सेवा विकास बैंक एक आपसमा गाभिएर शुक्रबारदेखि एकिकृत रुपमा बैकिङ कारोबार सुरु गरेका छन् । दूई विकास बैंक एक आपसमा गाभिएपछि कामना सेवा विकास बैंकको नाममा एकिकृत बैंकिङ कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले चुक्तपुँजी बढाउनु पर्ने वाध्यकारी व्यवस्था ल्याएपछि दुई विकास बैंक गाभिएका हुन् । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।
अब कतारमा पनि पीआर, नेपाली कामदारलाई लाभ हुनसक्ने
काठमाडौं । कतारले आफ्नो देशमा रहेका आप्रवासीहरुलाई स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी) पीआरको अनुमति दिने कानून पारित गरेको छ । १ महिनादेखि ६ खाडी मुलुकको प्रतिबन्ध सामना गरिरहेको कतारले अर्थतन्त्रमा प्रतिकूल असर पर्न नदिन यस्तो कदम चालेको हो । कतारको यस कदमबाट त्यहा बसोबास तथा काम गर्ने नेपालीले पनि फाइदा उठाउन सक्ने भएका छन् । सरकारी तथ्यांक अनुसार हाल ३ लाख ४० हजार देखि ४ लाखको हराहारीमा नेपाली कामदार रहेका छन् । यो बाहेक अन्य पेशा र व्यवसायमा आवद्ध नेपालीको संख्या पनि उल्लेख्य भएको बताइएको छ । आर्थिक अभियान दैनिकबाट ।
वर्षा शुरु भएपछि डोटीका सडक अनियमित
डोटी । बर्खायाम शुरु भएपछि डोटीका ग्रामीण सडक अनियमित बनेका छन् । केही सडकमा सवारीसाधन पूर्ण रुपमा रोकिएका छन् जसले गर्दा सर्वसाधारणले यात्रा गर्दा सास्ती भोगिरहेका छन् । वर्षा शुरु भएसँगै जिल्लाका दर्जनभन्दा बढी सडकमा यात्रा निकै कठिन भएको दीपायलका सवारी चालक देवबहादुर साउदले बताए । बाटोमा भेलले ठूल्ठूला खाल्डा परेको, हिलाम्मे तथा चिप्लो भएका कारण सडकमा यात्रा कठिन भएको हाे । यसरी सडक अवरुद्ध हुँदा लामो यात्रा पनि यात्रुले हिँडेर गर्नुपर्ने बाध्यता भएको छ । जिल्लाको लामो दूरीको मानिने राजपुर–चवरा चौतारा सडकखण्डमा सडक पूर्णरुपमा रोकिएको छ । रासस
बैंकको संचालक हुन स्तानकोत्तर हुनैपर्ने, १२ मध्ये कुनै एक बिषयमा डिग्री भए पुग्ने
काठमाडौं । बाणिज्य बैंकहरुको संचालक बन्न अब स्नातकोत्तर उर्तिण हुनै पर्ने भएको छ । नेपाल राष्ट्रले बैंक संचालक बन्न तोकेको मापदण्डले विभिन्न १२ बिषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह पास उर्तिण हुनैपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संचालक बन्न योग्यता पहिलोपटक तोकेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र संचालक र कार्यकारी प्रमुखको योग्यता तोकेको हो । बाफियाको दफा १६ को (ग) मा बाणिज्य बैंकहरुको योग्यता तोकिए बमोजिम हुने भन्ने ब्यवस्था छ । सोही ब्यवस्थामा टेकेर राष्ट्र बैंकले योग्यता तोकेको हो । ऐनको दफा १७ को (ग) मा लघुवित्त संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिमको योग्यता तथा प्राप्त ब्यक्ति स्वतन्त्र संचालक बन्न पाउने ब्यवस्था छ । सो ब्यवस्था अनुसार स्वतन्त्र संचालकको पनि योग्यता तोकिएको हो । नयाँ ब्यवस्था अनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालकको पदमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच बर्ष काम गरेको ब्यक्ति हुनु पर्नेछ । यो योग्यता नभएपनि स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको योग्यता र कार्यअनुभव भएको ब्यक्तिपनि संचालक बन्न पाउनेछ । यो योग्यता तथा कार्यअनुभव नभएपनि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको पनि बैंक तथा वित्तीय संस्थाको संचालक बन्न सक्ने राष्ट्र बैंकले निर्णय गरेको छ ।