विकासन्युज

स्वावलम्बन लघुवित्तले शाखा प्रबन्धकहरुलाई तालिम दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । सो तालिम यही साउन २२ गतेदेखि २५ गतेसम्म संचालन हुने छ । संस्थाले लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पुर्याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको बताएको छ । तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक श्रोत व्यक्तिहरु र नियामक निकायका श्रोत व्यक्तिबाट लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौति र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्तहरु, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रीत रही विभिन्न सत्रहरु संचालन हुने बताइएको छ । चार दिनसम्म संचालन हुने यस तालिममा संस्थाका विभिन्न ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागीता रहेको छ ।

मुक्तिनाथ विकास बैंक सिन्धुलीको कमलामाईमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई, धुराबजारमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गरेका हुन् । यससहित बैंकको शाखा संख्या ९५, १५ वटा एटिएम रहेको छ । पुगेको छ । हाल बैंकको ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हेटौँडामा १३ नयाँ उद्योग सञ्चालनमा

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्धवटै उद्योगका लागि संरचना तयार भएपनि सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन । सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठ अघि नै सम्झौता गरेका थिए । भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघका जिल्ला अध्यक्ष नवराज अर्यालले बताए । उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युत्मा थप १० केभीए विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महिना ढिला भए पनि उद्योग भने लक्ष्यअनुसार सञ्चालन भइसकेको छ । उक्त क्षेत्रमा १५ वटा नयाँ उद्योगमध्ये सञ्चालन हुन बाँकी दुई उद्योग पनि छिटो सञ्चालन हुने अध्यक्ष अर्यालले जानकारी दिए । सो क्षेत्रभित्र ९४ वटा उद्योग सञ्चालनमा छन् भने २९ उद्योग निर्माणाधीन अवस्थामा छन् । एक दर्जन धेरै पुराना उद्योग बन्द अवस्थामा छन् । रासस

२ अर्ब लगानीमा धनगढीमा ३०० शैयाको अस्पताल निर्माण हुने, डेढ वर्षपछि सेवा

काठमाडौं । २ अर्ब रुपैयाँ निजी लगानीमा कैलालीको धनगढीमा ३०० वेडको एभरेष्ट कलेज अफ मेडिकल साइन्स अस्पताल खुल्ने भएको छ । एभरेष्ट कलेज अफ मेडिकल साइन्स प्राइभेट लिमिटेडले धनगढीको गेटामा नयाँ ठुलो अस्पताल खोल्न लागेको हो । निजी लगानीमा सुदुरपश्चिममा सञ्चालनमा आउन लागेको एभरेष्ट सबैभन्दा ठुलो अस्पताल हुनेछ । अस्पताल खोल्नका लागि हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम भइरहेको छ । साइन्टिफिक सेन्टर फर इन्भारोमेन्टल कन्सल्टिङ प्राइभेट लिमिटेडले ईआईएको काम गरिरहेको छ । अस्पतालमा नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजको संयुक्त लगानी रहेको छ । सरकारले स्वीकृत दिन साथ अस्पताल निर्माणको काम शुरु गरिने एभरेष्ट कलेज अफ मेडिकल साइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु वस्नेतले बताए । आगामी ३ महिनापछि अस्पतालको निर्माण शुरु गरी २०७७ वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । नाम मेडिकल कलेज भएपनि मेडिकल कलेज सञ्चालनका लागि सरकारबाट आशयपत्र (एलओआई) नपाएको उनले बताए । अस्पतालले उच्च, मध्य र विपन्न वर्गलाई लक्षित गर्ने भएको छ । पहिलो चरणमा न्युरो, मुटु, युरोलोजी सम्बन्धित र जनरल सेवा सुरु गरिने वस्नेतले बताए । त्यसपछि विस्तार अन्य रोगेको उपचार सुरु हुने छ । सञ्चालनमा आएको केही वर्षपछि अस्पताल विस्तार गरी ७५० शैयाको बनाउन तयारी भएको छ । अस्पताल सञ्चालन भएको ३ वर्षपछि मात्र मेडिकल कलेज सञ्चालन गर्न पाइने व्यवस्था हुन लागेको छ ।

१० कम्पनीमा लगानीकर्ताको दुई अर्ब ६४ करोड गुम्यो

काठमाडौं । विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका लगानीकर्ताको करीब दुई अर्ब ६४ करोड रुपैयाँ बराबरको लगानीकर्ताको लगानी करीब डुबेको छ । हाल उक्त कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता सेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएपनि ती कम्पनीका सेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । स्टकमा कारोवार नभएका ती उद्योग तथा कम्पनी धेरैजसो बन्द भइसकेका छन् । सञ्चालनमा रहेका भनिएका उद्योगको सेयरसमेत कारोवार हुन सकेको छैन । सरकारले निजीकरण गरेका कारण केही उद्योग पनि बन्द भएका छन् । स्टकमा सूचीकृत भएका तर कारोवार नभएका उत्पादनमूलक समूहमध्ये अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता सेयर सूचीकृत छ । तर सो कम्पनीको सेयर कारोवार विगत लामो समयदेखि हुन सकेको छैन । विराट सुज लिमिटेडको अवस्था पनि उस्तै छ । सो कम्पनीको एक लाख ६५ हजार कित्ता शेयर सूचीकृत भए पनि कारोवार शून्य छ । बुटवल स्पिनिङ मिल्स लिमिटेडको १३ लाख छ हजार ६९३ कित्ता शेयर सूचीकृत छ । तर कारोवार भने लामो समयदेखि हुन सकेको छैन । फ्ल्यूर हिमालयन लिमिटेडको दुई लाख ६२ हजार १०२ कित्ता शेयर स्टकमा सूचीकृत छ । तर कारोवार भएको छैन । सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग लिमिटेड विगत पाँच वर्षदेखि बन्द भएको छ । सरकारले सो उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । स्टकमा सो उद्योगको ३८ लाख ३३ हजार ४०० कित्ता सेयर सूचीकृत छ । तर कारोवार भने हुन सकेको छैन । स्टकले सो उद्योगले अन्तिम बिक्री मूल्य भन्दै ३८ रूपैयाँ उल्लेख गरेको छ । सो उद्योगको बजार पूँजीकरण भने १४ करोड ५६ लाख रूपैयाँ रहेको छ । यस्तै सरकारी स्वामित्वको तर हाल बन्द अवस्थामा रहेको हरिसिद्धी इँटा तथा टायल उद्योगको १८ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको थियो । उद्योग बन्द भए पनि स्टकलाई जानकारी नआएका कारण सूचीबाट भने हटाइएको छैन । ज्योति स्पिनिङ मिल्सको १२ लाख ७० हजार २८८ कित्ता शेयर सूचीकृत भएको देखिन्छ । तर कारोवार पनि भएको छैन । स्टकलाई कुनै जानकारी पनि दिइएको पाइँदैन । स्टकमा सूचीकृत भएको अर्को नेपाल विटुमिन एण्ड ब्यारेल उद्योगको अवस्था पनि उस्तै छ । सो उद्योगको दुई लाख १० हजार ६८० कित्ता सेयर सूचीकृत भएको देखिन्छ तर कारोवार भने शून्य रहेको छ । नेपाल वनस्पति घ्यू उद्योगको एक लाख एक हजार २५० कित्ता, नेपाल खाद्य उद्योगको ९० हजार कित्ता शेयरको पनि कुनै कारोवार छैन । सरकारी स्वामित्वको भृकुटी कागज कारखाना उदारीकरणको नाममा तत्कालीन सरकारले निजीकरण गर्यो । सो उद्योग हाल प्रायः बन्द छ । सेयर बजारमा सूचीकरण भएको सो उद्योगमा लगानी गर्ने लगानीकर्ता समेत नराम्ररी डुबे । कूल ३५ लाख कित्ता सेयरको मूल्य करीब शून्य अवस्थामा छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरहरि पराजुली बन्द भएका कम्पनीले हालसम्म कुनै पनि सम्पर्क नगरेको र कुनै आधिकारिक जानकारीसमेत नगराएको बताउँछन् । “उनीहरु स्टकमा सूचीकृत छन्, तर कम्पनीको अवस्था के छ भन्ने बारेमा केही पनि जानकारी छैन” पराजुलीले भने । बन्द भएका कम्पनी आधिकारिक रुपमा ‘लिक्विडेशन’मा गए पनि बाँकी रहेको सम्पत्तिबाट ऋण तिर्नुपर्ने, कर्मचारीलाई तलब भक्ता खुवाउनुपर्ने, ऋणपत्रको कारोवार गरेको भए त्यसको समेत प्रबन्ध मिलाउनुपर्ने भएकाले ती सबै कार्य भएपछि बाँकी रहने सम्पत्ति मात्रै लगानीकर्ताको हुने कानूनी व्यवस्था छ । उत्पादनमूलक क्षेत्रका युनिलिभरको प्रतिकित्ता सेयर २४ हजार ५०० रुपैयाँ रहँदा विगतमा राम्रै प्रसिद्धि कमाएका सरकारी उद्योग भने हाल बन्द भएर लगानीकर्ताको लगानी डुब्न पुगेको छ । यस्तै, श्रीराम सुगर मिलको सेयर प्रतिकित्ता १२४ रुपैयाँ, नेपाल ल्यूब आयलको प्रतिकित्ता २१३ रुपैयाँ, हिमालयन डिस्टिलरीको एक हजार २९५, बोटलर्स नेपाल तराईको पाँच हजार ४०० रुपैयाँ र बोटलर्स नेपाल बालाजुको एक हजार ६९३ रुपैयाँमा कारोवार भइरहेको छ । स्टकमा कूल १९ वटा उत्पादनमूलक कम्पनीको सेयर सूचीकृत भए पनि एकाध कम्पनीका मात्रै कारोवार हुने गरेका छन् । रासस

भारतमा कपडा आयात भन्सार दोब्बर बढ्यो, आन्तरिक उत्पादन बढाउने तयारी

एजेन्सी । मोदी सरकारले भारतमा कपडा आयातलाई निरुत्साही बनाउन भन्सार शुल्क दोब्बर बढाएको छ । मोदी सरकारले ३२८ प्रकारका कपडाजन्य वस्तुमा भन्सार शुल्क दोब्बर बढाएर २० प्रतिशत पुर्याएको हो । आन्तरिक उत्पादन बढाउनुका साथै रोजगारीको अवसर सिर्जना गर्न कपडाजन्य वस्तुको भन्सार शुल्क दोब्बर बढाएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । सरकारको यो निर्णयले थप १० करोड ५० लाख जनसंख्यालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । गत जुलाईमा मोदी सरकारले ५० प्रकारको कपडाजन्य वस्तु आयातमा भन्सार शुल्क दोब्बर बनाएको थियो ।

भेरी-बबई डाइभर्सन समयमै सकिने

बाँके । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ खन्न निकै कठिन र चुनौतीपूर्ण मानिएको स्थान पार गरेर अघि बढिसकेकाले समयमै निर्माण सम्पन्न गर्न सहज देखिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले बताए । उनले भने, “जिओलजिकल सर्भेमा छिन्चु नजिकैको तोली खोलामा जोखिम देखिएको थियो । त्यो क्षेत्रबाट उक्त उपकरण अघि बढेपछि अब सुरुङ निर्माणको काम तीव्र गतिमा अघि बढ्छ ।” निर्देशक बस्नेतका अनुसार दुई वर्षभित्र सुरुङ खन्ने लक्ष्य रहे पनि हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिएको छ । सात महिनामा उक्त उपकरणले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । हालसम्म छ हजार ३५० मिटर सुरुङ खनिएको छ । सो उपकरणले दैनिक ५१ मिटरका दरले सुरुङ खनिरहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले भने, “आयोजना समयमै बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण काम सम्पन्न भयो । रेडजोन पार गर्न नसकिने त्रासमा आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणलाई पहिलो प्राथमिकता दिएको थियो । ” रेडजोनकै कारण सुरुङ निर्माण सफल हुने नहुनेमा आशंका देखिएपछि आयोजनाले पावरहाउस र बाँध निर्माण प्रक्रिया शुरु नै नगरेको प्रशासन प्रमुख शाहीले जानकारी दिए। उनले भने, “जोखिम मानिएको काम सफल भएपछि आयोजनाले पावर हाउस र बाँध निर्माणलगायतका अन्य काम पनि धमाधम अघि बढाउने भएको छ ।” आयोजनाले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थाल्ने जनाएको छ । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । आयोजना प्रमुख बस्नेतले भने, “जोखिमपूर्ण मानिएको क्षेत्र पार भइसकेको छ, अब पावरहाउस र हेडवक्र्सको काम अघि बढाउन कागजात बनाउने काम भइरहेको छ ।” विद्युत् उत्पादनका लागि चिप्लेमा हेडवक्र्स र हात्तीखालमा विद्युतगृह बनाउनका लागि बोलपत्र आह्वानको प्रक्रिया अघि बढिसकेको छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा तोली खोलामा पर्ने भागलाई प्राविधिकले रेडजोनका रूपमा लिएका थिए । यो खोलामुनि पानीको तलाउ वा कडा चट्टान हुनसक्ने र यसले चुरे पहाडमा १२ किलोमिटर लामो सुरुङ खन्ने काममा अवरोध पुर्याउने आशंका गरिएको थियो । सात महिनाअघि परम्परागत हिसाबले बिष्फोट गर्दै सुरुङ खन्न थालिएको थियो । टिबिएमले सुरुङ खन्न थालेपछि दुई वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो । हालसम्मको प्रगति हेर्दा तोकिएको अवधिभन्दा अघि नै काम सकिने देखिन्छ । सात महिनामा टिबिएमले आधाभन्दा बढी सुरुङ खनिसकेको छ । सुरुङ निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० नेपाली मजदूर संलग्न छन् । रासस

फर्स्ट माइक्रोफाइनान्सले १२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभा अनुमोदन गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।