विकासन्युज

विकास बैंकको बजार संकुचित हुँदै

२ मंसिर ।वित्तीय बजारमा विकास बैंकको बजार हिस्सा संकुचिन हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विकास बैंकहरुको संख्या घट्नुको साथै, निक्षेप परिचालन, कर्जा परिचालनसहित व्यालेन्सिट सानो हुँदै गएको छ । ९३ वटासम्म पुगेको विकास बैंकको संख्या अहिले ८२ वटामा झरेको छ । त्यसको असर विकास बैंकहरुको निक्षेप आकार र कर्जाको आकार पनि सानो भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा विकास बैंकहरुको निक्षेप परिचालन ५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । जबकी समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २.७ प्रतिशत (रु. ३८ अर्ब १५ करोड) ले बढेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः ४.१ प्रतिशत र १.१ प्रतिशतले बढेको छ । केही विकास बैंकहरु वाणिज्य बैंकहरुमा मर्ज भएकोले समीक्षा अवधिमा विकास बैंकहरुको निक्षेप घटेकोले निक्षेप परिचालनमा संकुचन आएको राष्ट्र बैंकको निष्कर्ष छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः ३.९ प्रतिशत, ४.८ प्रतिशत र ३.३ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७१÷७२ को पहिलो तीन महिनासम्ममा विकास बैंकहरुको कर्जा तथा लगानी पनि ४ प्रतिशतले घटेको छ । जवकी बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ५.१ प्रतिशत (रु. ६७ अर्ब १५ करोड) ले बढेको छ । वाणिज्य बैंक र वित्त कम्पनीहरुको कर्जा तथा लगानी क्रमशः ७ प्रतिशत र २.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा रु. १९ अर्ब ९५ करोडले बढेको छ । थोक तथा खुद्रा व्यापारतर्फको कर्जा रु. २२ अर्ब ७५ करोडले, निर्माण क्षेत्रतर्फको कर्जा रु. ८ अर्ब ६३ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको रु. २ अर्ब ८४ करोडले बढेको छ । त्यसैगरी, कृषि क्षेत्रतर्फको कर्जा रु. २ अर्ब ७१ करोडले बढेको छ ।

धेरै आयकर तिर्नेमा टेलिकमलाई एनसेलले उछिन्यो

१ मंसिर । आर्थिक वर्ष २०७०/०७१ मा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल नेपाल सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम भने सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा परेको छ । यसअघि टेलिकम सबैभन्दा बढी कर तिर्ने कम्पनी घोषित हुँदै आएको थियो । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा राज्यलाई धेरै कर तिर्ने संस्थाकोहरुको नाम सोमबार सार्वजनिक गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी नबिल बैंकले आयकर तिरेको छ भने व्यापार–व्यवसायबाट सिप्रदी ट्रेडिङ पहिलो भएको छ । निर्यात व्यापारबाट बढी कर तिर्नेमा किरण सुज म्यानुफ्याक्चर रहेको छ । त्यस्तै होटल सेवार्फत सबैभन्दा बढी आयकर सोल्टी होटलले तिरेको छ । छिमेकी लघुवित्त विकास बैंक सबैभन्दा बढी आयकर तिर्ने लघुवित्त कम्पनी भएको छ भने स्वास्थ्य सेवातर्फ ओम अस्पताल एन्ड रिसर्च सेन्टर, पर्यटन उड्डयन क्षेत्रबाट बुद्ध एयर, औषधि उद्योगबाट देउराली जनता फर्मासिटिकल्स, रेमिटान्स कम्पनीबाट इन्टरनेसनल मनि एक्सप्रेस (आईएमइ), लेखापरीक्षकबाट सिएससि एन्ड कम्पनी, कानून व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवा शुल्कबाट काठमाडौं मेडिकल कलेजले बढी आयकर तिरेका छन् । कर दिवसका अवसरमा कर विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले धेरै कर तिर्ने विभिन्न संस्थाहरुलाई सम्मान गरे । सो क्रममा उनले जीडीपीमा करको योगदान १७ प्रतिशत पुगेको बताए ।

मेलाले हस्तकलाको आन्तरिक बजार विस्तार गरेको छ

किरणकुमार डंगोल संयोजक, सार्क हस्तकला प्रदर्शनी तथा व्यापार मेला आगामी मंसिर ४ देखि ८ गतेसम्म काठमाडौं सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेला हुँदैछ । नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय र सार्क कल्चरल सेन्टर श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको यो मेलाको संयोजक हुनुहुन्छ, नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरणकुमार डंगोल । प्रस्तुत छ, उक्त मेला र नेपाली हस्तकला व्यापारका विषयमा देशविकासका लागि उहाँसँग गरिएको विकास वहस यस अंकमा । सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेलाको उदेश्य के हो ? हस्तकलाको आन्तरिक बजार विकास गर्नु, निर्यात प्रवद्र्धनमा सहयोग गर्नु र सार्क क्षेत्रका मुलुकहरुबीच हस्तकलाको माध्यमबाट एक अर्को देशको संस्कृति आदान प्रदान गर्न सहयोग गर्नु मेलाको मुख्य उद्देश्य हुन् । यस्तै, यो व्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको विजनेश हवको रुपमा विकास गर्दै लाने लक्ष्य रहेको छ । यस मेलाले नेपालभित्र पनि हस्तकलाको प्रयोग बढाउन मद्दत गर्छ । व्यवसायीहरुबीच परिचय, अन्त्रक्रिया, सहकार्य गर्नको लागि पनि मेला उपयुक्त माध्यम हुन्छ । मेलाको तयारी कस्तो छ ? तयारी राम्रो छ । प्रचार प्रसारको काम भईराखेको छ । यद्यपी केही समस्या छन् । सार्क क्षेत्रबाट ४० देखि ५० वटा प्रदर्शनीकर्ता आउनुपर्नेमा केहीको नाम आईसकेको छैन । नेपालीहरुबाट पनि केही वेटिङको सूचिमा छन् । त्यसैले स्टल प्लानिङमा केही समस्या आएको छ । मेला अवलोकन गर्न आउनेले के पाउने छन् ? १० वर्ष पहिला नेपाली हस्तकता परम्परागत र एउटै खाले देखिन्थ्यो भने अहिले नयाँ नयाँ उत्पादन देख्न सकिन्छ । उलन प्रडक्टमा धेरै विविधिकरण भएको छ । सिल्भर ज्वेलरी, हातेकागजको उत्पादनमा पनि धेरै विविधिकरण भएको छ । मेलामा मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरि २०० भन्दा बढी स्टलहरु रहने छन् । त्यसमा सार्क कल्चरल सेन्टरको सिफारिसमा सार्कका आठ देशहरुबाट ४०देखि ५० वटा स्टल रहनेछन् । सात वटा प्याभिलियनमा ७० वटा स्टल रहने छन् । मेलामा काष्ठकला, धातुकला, चा“दी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वा“सका सामानहरु अबलोकन तथा खरिद गर्न सकिनेछ । साथै, मेलाको अवसरमा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दशौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, फेशन—सो, गरगहना सप्ताह, डिजाइन प्रतियोगिता र समसामयिक विषयमा गोष्ठीहरु समेत आयोजना गरिनेछ । स्टल राख्नेहरुले कसरी लाभ पाउनेछन् ? यस पटक स्टल राख्नेले पहिलाभन्दा बढी लाभ लिन सक्ने आशा गरेका छौं । पहिला प्रदर्शनीमा जिल्लाबाट आएका उत्पादक, राजधानीका उत्पादक, निर्यातकर्ताहरुबीच भेट हुने थियो । यस पटक विदेशबाट वायरहरु पनि आउने छन् । सार्कस्तरीय हस्तकला व्यापार मेला भएकोले सार्क क्षेत्रका आठ देशहरुबीच हस्तकला व्यापार सरल बनाउने दिशामा यस मेलाले सहयोग गर्छ । विडम्मना कस्तो छ भने भारतमा बनेको हस्तकाल नेपालमा सजिलै आउँछ र बिक्री हुन्छ । तर नेपाली हस्तकला भारतमा निर्यात गर्न प¥यो भने महाभारत नै लड्नुपर्छ । यस्तो समस्याहरु सार्कलेवलमा छलफल हुन्छ । त्यसबाहेक १५÷२० जना चाइनिज वायर आउँदै हुनुहुन्छ । उहाँहरुले बुद्ध सम्वन्धि आर्टमा काम गरिरहेको व्यवसायीसँग कुराकानी गर्दै हुनुहुुन्छ । खासगरी नेपालमा बनेका बुद्धिष्ट आर्टको एउटा शो रुम बेइजिङमा खोल्ने विषयमा कुरा भईरहेको छ । यसले नेपाली हस्तकला व्यापारमा तत्कालिक मात्र होइन, दीर्घकालिन रुपमा पनि फाइदा हुन्छ । मेलामा उत्पादनको प्रदर्शनी मात्र होइन, बिक्री पनि बढ्ने अपेक्षा गरिएको छ । यो मेलामा करिव १० करोड रुपैया“सम्मको हस्तकला व्यापार हुन सक्ने हाम्रो अनुमान छ । यो मेलामा करिव ४ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने छन् । नेपाली हस्तकला खरिद गर्दै आएका विदेशी व्यवसायीहरु पनि मेलामा सहभागि हु“दैछन् । त्यसैले यस मेलाबाट प्रदर्शनीकताले राम्रो लाभ लिन सक्नेछन् । हस्तकला व्यापार मेला ११ पटक आयोजना भई सक्यो, यसले समग्र उद्योगलाई कति फाइदा ग¥यो ? हस्तकला व्यापार मेलाले समग्र उद्योगको प्रवद्र्धनमा एकदमै धेरै सहयोग पुगेको छ । हस्तकलाका समान किनेर उपहार दिने, विदेशमा साथीहरुलाई पठाउने, आन्तरिक हजावटमा हस्तकलाको समान प्रयोग गर्ने अभ्यास बढेको छ । हस्तकलाको आन्तरिक बजार ८÷९ अर्बबाट विस्तार भएर १३÷१४ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान छ । निर्यात व्यापारको जस्तो आन्तरिक खपत भएको डाटा हामीसँग छैन । तर कच्चा पदार्थको खपत, व्यवसायीहरुले गरेको उत्पादन वृद्धि, व्यापारीहरुको व्यापार आकारमा आएको वृद्धि, उनीहरुमा देखिएको उत्साहका आधारमा हामी निष्कर्षमा पुग्न सक्छौ कि हस्तकलाका आन्तरिक खपत बढेको छ । नेपाली कागज कै कुरा गर्ने हो भने विवाहको कार्डदेखि संघसंस्थाले पठाउने निमान्त्रणा कार्ड, भिजिङ कार्ड, गिफ्ट डायरीमा नेपाली कागजको प्रयोग निकै बढेको छ । पस्मिनाको शो रुमहरुमा भएको विस्तारले यसको आन्तरिक बजार विस्तार भएको संकेत गर्छ । ग्रामिण क्षेत्रमा पनि हस्तकलाको उत्पादन बढेको छ । हस्तकला क्षेत्रमा लाग्नेको संख्या बढेको छ । यही मेलामा नेपाल हस्तकला महासंघका सदस्यहरु, जिल्ला हस्तकला संघ, बस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरुको सहभागिता बढेको छ । व्यापार मेलाहरु पहिला पनि गरियो, यस वर्ष पनि गर्नुपर्छ भनेर निरन्तरताको लागि मात्र गरिएको छ कि मेलामा नविनता पनि देख्न सकिन्छ ? अरु बस्तुको व्यापारा मेलाको बारेमा म कुनै टिप्पणी गर्दिन । तर हस्तकला महासंघले आयोजना गर्ने व्यापार मेला अरुको भन्दा फरक हुन्छ । गत बर्षमा हामीले क्राफ्ट कम्पिटिशन गरायौं, यस पटक क्राफ्ट कम्पिटिशन सँगै साकस्तरीय व्यापार मेला आयोजना गर्दैछौं । जिल्लाका व्यवसायीहरुलाई राजधानीका ठूला र निर्यात व्यापारमा लागेका व्यवसायीहरुसँग अन्तरक्रिया गराउने काम पनि गर्दै आएका छौं । मेलाको अवसरमा हामीले गोष्टी, सेमिनार गर्ने, नीतिगत विषयमा छलफल गरेर सुधारका लागि सुझाव दिने काम पनि गर्दै आएका छौं । मेलामा उपभोक्ता र व्यापारी दुबैको लागि कसरी लाभ दिन सकिन्छ भनेर हामीले धेरै गृहकार्य गरेका हुन्छौं । हरेक वर्ष मेला हुने निश्चित मिति नै तोक्ने भनेर तपाईहरुले भन्नु भएको थियो, त्यो किन हुन सकेन ? ‘यो महिना, यति तारिक’ भनेर तेक्न मिल्दैन । किनकी आइतबार मेला शुरु भएर विहीबार सकियो भने मेला हेर्न आउनेको संख्या कम हुन्छ । मेला अवधिमा कम्तिमा शुक्रबार, शनिबार हुनुपर्छ । अन्तराष्ट्रिय व्यापार मेलामा हुने अभ्यास पनि यस्तै नै रहेछ । गत वर्षदेखि नै हामीले हरेक वर्ष नोभेम्वर तेस्रो साता हस्तकला व्यापार मेला आयोजना गर्न थालेका छौं । यसले विदेशी वायरहरुलाई नेपाल आउन सहयोग पुग्छ । मेला आयोजना गर्दा आम्दानी कति हुन्छ, खर्च कति हुन्छ ? यो मेलाको बजेट करिव ढेड करोड रुपैयाँको हो । प्रतिस्टल लागत ४० देखि ५० हजार हुन्छ । तर हामीले प्रदर्शनीकर्तालाई सहुलितमा प्रतिस्टल १८ देखि २२ हजार रुपैयाँमा स्टल दिएका छौं । हामीलाई नेपाल सरकारले २० लाख अनुदान दिएको छ । सार्क कल्चर सेन्टर, अमेरिकन राजदुतावास, जीआईजेट, सिभिल बैंक, लघु उद्यम बिकास कार्यक्रम लगायत संस्थाहरुबाट सहयोग प्राप्त छ । यो मेला गरेर हामी नाफा गर्न गईरहेका छैन । संस्थालाई नोक्सान नहुनेगरी व्यवसायीहरुलाई बढीभन्दा बढी लाभ दिने उदेश्यले यो मेला आयोजना गरिएको हो । यस्तो मेलाले हस्तकला व्यवसायीहरुको आर्थिक गतिविधि बढ्यो, निर्यात बढ्दो भने अप्रत्यक्ष रुपमा महासंघको आम्दानी बढिहाल्छ । निर्यात बढाउने विदेशमा हुने व्यापार मेलामा नेपाली हस्तकलाको प्रदर्शनी गर्नुपर्ने हुन्छ, यस्तो प्रदर्शनीमा महासंघले के भूमिका खेल्छ ? हस्तकलाका सामान सबैभन्दा बढी निर्यात गर्ने तीन कम्पनीलाई विदेशमा हुने प्रदर्शनीमा भाग दिनजाँदा महासंघले स्टलभाडाको लागि आर्थिक सहयोग गर्दै आएको छ । साथै, नेपाली हस्तकला निर्यात हुने मुलुकमा हुन लागेको व्यापार मेलाको बारेमा सूचनाहरु संघका सदस्याहरुलाई दिएर मेलामा भाग लिन उत्प्रेरित गर्दै आएको छ । निर्यात व्यापारको अवस्था कस्तो छ ? निर्यात करिव १० प्रतिशतले बढेको छ । ४०÷४५ प्रकारका हस्तकलाका समानहरु ८०÷८२ देशमा निर्यात हुन्छ । उत्पादनमा विविधिकरण हुँदै गएको छ । बजारमा धेरै परिवर्तन आएको छैन । पछिल्लो समयमा चीनतर्फ बुद्धिजम आर्ट एण्ड क्राफ्टको निर्यात बढ्दै गएको छ । चीन सरकारले पनि बुद्धिजम आर्ट एण्ड क्राफ्ट चासो बढाएको छ । सायद चीन सरकारले यस्तो बस्तु आयत गर्नेलाई केही छुट पनि दिएको हुनुपर्छ । चीनतर्फ बुद्धको मुर्ति निर्यात करिव ४० प्रतिशतले बढेको छ । निर्यात वृद्धिलाई सरकारले दिएको निर्यात अनुदानबाट हस्तकला व्यवसायी कत्तिको लाभान्वित भएका छन् ? निर्यात रकमका आधारमा सरकारले २ देखि ३ प्रतिशत अनुदान दिन्छ । यसबाट ठूला व्यवसायीहरुले केही लाभ लिएका छन् । तर साना व्यापारीले लाभ लिन सकेका छैनन् । उत्पादनको तहमा रहेका व्यवसायीसम्म त्यो अनुदान पु¥याउन हामीले माग गर्दै आएका छौं । हामी चाहान्छौं, सरकारले अनुदान प्रतिशत पनि बढाउनेपर्छ, साना उत्पादक र व्यापारीले पनि त्यसबाट लाभ लिन सक्ने हुनुपर्छ । सरकारले दिएको सुविधा लिन असंगठित रुपमा रहेका व्यवसायीहरुले संगठित रुपमा काम गर्नुपर्ने देखिन्छ ।

समस्याग्रस्त फाइनान्स कम्पनी पुनः सञ्चालनको सम्भावना कम

२७ कात्तिक । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका अधिकांश फाइनान्स कम्पनीहरु पुनः स्वाभाविक सञ्चालनमा आउने सम्भावना कम भएको छ । समस्याग्रस्त घोषणा गरिएको लामो समयसम्म पनि वित्तीय अवस्था सुध्रन नसकेको र संस्थाको रकम हिनामिना गर्ने सञ्चालक र उच्च ब्यवस्थापनले त्यस्तो रकम फिर्ता नगरेका कारण उनीहरु खारेजीको संघारमा पुगेका हुन् । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट, वल्र्ड मर्चेन्ट, जनरल, नेपाल सेयर मार्केटस्, कुवेर मर्चेन्ट, हिमालयन र क्रिस्टल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ । यसमध्ये हिमालयन र क्रिस्टललाई खारेजी प्रक्रियामा लैजाने नेपाल राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरेको छ । समस्याग्रस्त घोषणा गरिएको सम्झना फाइनान्स खारेजीको प्रक्रियामा गइसकेको छ । राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुको अवस्थाको विषयमा अध्ययन गर्न बैंकका उपनिर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा एउटा शाखा नै स्थापना गरेर अध्ययन गरिरहेको छ । सो शाखाले पनि समस्याग्रस्त वित्तीय संस्थाको सुधारको अवस्था कम देखेको छ । ‘समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाहरु पुनः स्वाभाविक सञ्चालनमा आउने सम्भावना निकै कम देखिन्छ,’ नेपालले भने– जसले संस्थाको रकम हिनामिना गरेर संस्थालाई यस्तो अवस्थामा पु¥याए उनीहरु मध्ये केहि भागेका, केहि तिर्न नसक्ने भएर बैंकिङ कसुरमा जेल परेका र केहि स्थीर सम्पत्ति विक्री हुन नसक्दा पनि संस्था पुन संचालनमा आउने सम्भावना निकै कम देखिन्छ । जनरल फाइनान्स जनरल फाइनान्सलाई नेपाल राष्ट्र बैंकले २०७० सालमा समस्याग्रस्त घोषणा गरेको हो । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘२०६८ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा स्थलगत निरीक्षण गर्दा उक्त संस्थाले यस बैंकको निर्देशन बमोजिम भाका नाघेको आधारमा कर्जा वर्गीकरण गरी सो अनुसार नोक्सानी व्यवस्था कायम नगरेको कारण सुपरिवेक्षकीय आधारमा रु.१९ करोड ४५ लाख ७ हजार र एकल ग्राहक कर्जा सीमा भन्दा बढी लगानी गरेको रु.५२ लाख २९ हजार कर्जा नोक्सानी व्यवस्थामा थप गर्नुका साथै संचालक सम्बद्ध कर्जा रु.४ करोड १४ लाख ५७ हजार प्राथमिक पुँजीबाट घटाउँदा संस्थाको पुँजीकोष ८.७३ प्रतिशतले ऋणात्मक हुन गएकोमा २०६९ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा अनुगमन निरीक्षण गर्दा त्यस संस्थाको पुँजीकोष क्रमशः विग्रदै गई १६.८३ प्रतिशतले ऋणात्मक भएको हुँदा यस बैंकबाट पुँजीकोष सम्बन्धमा जारी निर्देशनको पालना हुन नसकेको’ उल्लेख गरेको थियो । यस्तै संस्थामा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनको अवस्था कमजोर रहेको, व्यवस्थापन सूचना प्रणाली प्रभावकारी नरहेको, विवेकशील बैंकिङ्ग मान्यताको परिपालना कमजोर रहेको, जोखिम व्यवस्थापन सन्तोषजनक नरहेको तथा यसअघि पटक पटक दिईएका सुधारात्मक निर्देशनहरु संस्थाबाट पालना नभएको स्थितिमा संस्थालाई यथावत संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने देखिएको, लगानीकर्ताको पुँजी थप क्षय हुने संभावना रहेको तथा वित्तीय प्रणालीमा नकारात्मक सन्देश प्रवाह हुने संभावना रहेकोले संस्थालाई कारवाही गर्ने र समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकले जनरल फाइनान्सलाई सुधारको लागि विभिन्न शर्त दिएको भएपनि ती शर्तको पालना हुन सकेको छैन । फाइनान्सका तत्कालिन महाप्रवन्धक राजु श्रेष्ठ र केही संचालकको मिलेमतोमा गुड फर पेमेन्ट चेक दुरुपयोग गरिएको थियो भने कर्जा दुरुपयोग पनि भएको थियो । सो समुहले दुरुपयोग गरेको रकम नतिरेसम्म जनरलको अवस्था सुधार आउने सम्भावना नभएको राष्ट्र बैंकको ठहर छ । उनीहरु दुरुपयोग गरेको रकम तिर्न सक्ने अवस्था नभएको फाइनान्स स्रोतले जानकारी दियो । वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई २०७० वैशाखमा समस्याग्रस्त घोषणा गरेको छ । ६ महिनाका लागि भनेर समस्याग्रस्त घोषणा गरिए पनि सो कम्पनी अझै समस्याग्रस्त नै छ । समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘समानुपातिक चुक्ता पँुजी कायम गर्न नसकेको तथा सुपरिवेक्षकीय समायोजन पश्चात थप कर्जा नोक्सानी व्यवस्था कायम गर्दा संस्थाको पँुजीकोष २०६८ चैत्र मसान्तमा ४४.१४ प्रतिशतले ऋणात्मक र २०६९ पौष मसान्तमा ४२.०६ प्रतिशत ऋणात्मक रहेको, यस बैंकबाट जारी निर्देशन अनुसार कर्जा वर्गीकरण एवं नोक्सानी व्यवस्था कायम नगरेको तथा सो सम्बन्धमा गलत विवरण पेश गरेको, एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गरेको, कुल कर्जा तथा सापटमा निष्कृय कर्जाको अंश २०६९ पौष मसान्तमा ७५ दशमलब ७६ प्रतिशतको उच्च बिन्दुमा रहेको एवम् कतिपय कर्जा प्रवाह गर्दा कर्जा सुरक्षण वापत लिइने धितो रोक्का एवं दृष्टिबन्धक समेत नगरेकोले संस्था उच्च संचालन जोखिममा रहेको’ उल्लेख गरेको छ । यस्तै आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर रहेको, संस्थागत सुशासन कायम हुन नसकेको, पूर्व निरीक्षणका क्रममा देखिएका कैफियतका आधारमा दिएका निर्देशनहरु पालना नभएको, स्थापनाकालदेखि अध्यक्ष रही आएका संस्थाका अध्यक्षले अप्रत्यक्ष रुपमा संस्थाबाटै कर्जा उपयोग गरेको, लामो समयदेखि अनिवार्य नगद मौज्दात एवं बैधानिक तरलता अनुपात कायम नगरेको तथा निर्देशन बमोजिम विपन्न वर्ग कर्जा प्रवाह गर्न नसकेको तथा सो नगरेबापत जरिवाना र हर्जाना रकम जम्मा गर्न नसकेको, तरलता जोखिम उच्च रहेको, स्रोत परिचालनमा कुल कर्जा सापटको अंश २०६९ पौष मसान्तमा १७६ दशमलब ९ प्रतिशत रहेको, संस्थाको वित्तीय अवस्था ‘इनसल्भेन्सी’को अवस्थामा रहेको, समयमै आवश्यक कारवाही नगरेमा वित्तीय प्रणालीमै नकारात्मक सन्देश प्रवाह हुने संभावना रहेको तथा संस्थामा अविछिन्न उत्तराधिकारको संभावना नदेखिएको परिप्रेक्षमा उक्त संस्थालाई यथावत संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने, लगानीकर्ताको पुँजी थप क्षय हुने देखिएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी संस्थाको क्रियाकलाप सिमित गरेको थियो । वल्र्ड मर्चेन्टलाई पनि छ महिनाको लागि समस्याग्रस्त घोषणा गरिएको भएपनि सो संस्था अझै समस्यामा नै छ । संस्थाको अधिकांश कर्जा घरजग्गा ब्यवसायी सुधिर बस्नेतले चलाएको कारण बस्नेतको अवस्था राम्रो भए मात्रै सो संस्था बाच्न सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । बस्नेत ओरेन्टल सहकारी र विभिन्न हाउजिङ्ग कम्पनीमा सर्वसाधारणले जम्मा पारेको रकम हिनामिनाको आरोपमा फरार रहेका छन् । क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स राष्ट्र बैंकले विभिन्न शर्त पूरा गर्नको लागि ६ महिनाको समय दिएर २०६९ सालमा नै समस्याग्रस्त घोषणा गरेको हो । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा नेपाल राष्ट्र बैंकले ‘२०६८ आषाढ मसान्तको वित्तीय विवरणको आधारमा गरेको मूल्यांकन प्रतिवेदनबाट निष्कृय कर्जा ७३ दशमलब ३१ प्रतिशत, नेटवर्थ रु. १ अर्ब ५३ करोडले ऋणात्मक, पुँजीकोष अनुपात करिव ४२.२० प्रतिशतले ऋणात्मक तथा कुल संचित नोक्सानी रु.२ अर्ब ४६ करोड देखिएको र उपरोक्त वित्तीय परिसूचकहरु क्रमशः कमजोर हुँदै गई २०६९ आश्विन मसान्तमा पुँजीकोष ४३.६२ प्रतिशतले ऋणात्मक, निष्कृय कर्जा ९८.२१ प्रतिशत तथा नेटवर्थ रु. १ अर्ब ४१ करोडले ऋणात्मक भएको, विगतमा ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएको कारण संस्थामा खासै सुधार हुन सक्ने संभावना नदेखिएको स्थितिमा संस्थालाई प्रचलित ऐन, कानून र नियमनकारी व्यवस्था बमोजिम कारवाही नगरेमा संस्थाको वित्तीय स्वास्थ्य अझ बढी जीर्ण हुने, निक्षेपकर्ता र लगानीकर्ताको हितमा थप प्रतिकूल असर पर्ने तथा उक्त संस्थाको इनसल्भेन्सीका कारणले वित्तीय क्षेत्रमै प्रणालीगत जोखिम बढ्दै जाने परिस्थिति सृजना भएको’ उल्लेख गरेको छ । सो फाइनान्सको अधिकांश कर्जा पवनकुमार कार्कीले दुरुपयोग गरेको र उनी अमेरिका भागीसकेको कारण कर्जा असुल हुन नसक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । कार्कीले कर्जा तिरे संस्था बाँच्न सक्ने र नतिरे खारेजी प्रक्रियामा जाने निश्चित भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । कुवेर मर्चेन्ट फाइनान्स कम्पनी राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्सलाई २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको हो । छ महिनामा सुधार गर्नुपर्ने विभिन्न शर्त दिएर समस्याग्रस्त घोषणा गरिएको भएपनि कुबेर अझै समस्यामा नै छ । राष्ट्र बैंकले कुबेरलाई समस्याग्रस्त घोषणा गर्दा ‘संस्थाले तरलता समस्याको कारण निर्देशन बमोजिमको अनिवार्य मौज्दात अनुपात र वैधानिक तरलता अनुपात कायम गर्न नसकेको, कतिपय संस्थाको भुक्तानी अवधि समाप्त भएका मुद्दति निक्षेपको रकम समेत भुक्तानी गर्न नसकी चरम तरलता संकटबाट गुज्रिरहेकोे, संस्थामा निरीक्षण गरिएका कर्जाहरुको अधिकांश धितो कमसल रहेको, संस्थाका ऋणी वास्तविक ऋणीहरु हुन भनी निजहरुको आर्थिक लगायत अन्य हैसियतले प्रमाणित गर्नसक्ने आधार नदेखिएको, संस्थाको करिब ४० प्रतिशत कर्जा एउटै समूहमा गएको हुनसक्ने देखिएको’ उल्लेख गरेको छ । यस्तै निर्देशन बमोजिमको न्यूनतम पूँजीकोष कायम गर्न नसकेको, विगतमा औल्याईएका कैफियतहरु सुधार हुनुपर्नेमा अध्यावधि कायम रहेको, संस्था सुधार तर्फ उन्मुख हुन नसकी वित्तीय रुपमा कमजोर हुँदै गई सम्पत्तिको गुणस्तर खस्कँदै गएको साथै, सुपरिवेक्षकीय समायोजन पश्चात् संचालक सम्बद्ध व्यक्ति तथा संस्थाहरुलाई प्रवाहित कर्जा रु.२० करोड ७२ लाख ३४ हजार सुपरिवेक्षकीय आधारमा प्राथमिक पूँजीबाट घटाउँदा संस्थाको पूँजीकोष रु.३९ करोड ६५लाख १७ हजार (२० प्रतिशत) ले ऋणात्मक हुन गएको, संस्थाको वित्तीय स्थिति थप नाजुक हँुदै गई संस्था, लगानीकर्ता, सरोकारवाला तथा निक्षेपकर्ताहरु थप जोखिममा पर्नसक्ने अवस्था विद्यमान रहेको र यस बैंकबाट सोधिएको स्पष्टीकरण सम्बन्धमा संस्थाले पेश गरेको स्पष्टिकरणको जवाफ समेत सन्तोषजनक एवं पूर्ण नदेखिएकोले कुवेरलाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको भनाइ छ । कुबेरको पनि अधिकांश कर्जा घरजग्गा ब्यवसायी सुधिर बस्नेतले नै चलाएका छन् । यो संस्थाको भविष्य पनि बस्नेतको भविष्यसँग जोडिएको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स नेपाल सेयर मार्केटस एण्ड फाइनान्सलाई पनि २०६९ सालमै समस्याग्रस्त घोषणा गरिएको छ । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘संस्थाको कुल संचित नोक्सानी रु.३ अर्ब ७० करोड ५० लाख ५३ हजार रहेको, संस्थाको नेटवर्थ रु. १ अर्ब ५९ करोडले ऋणात्मक रहेको, खराब कर्जा ५६ दशमलब ९८ प्रतिशत रहेको, पँुजीकोष अनुपात ५९ दशमलब १४ प्रतिशतले ऋणात्मक हुने देखिएको, कुल निक्षेपमा रु.७८ करोड लेखाङ्ककन नभएको निक्षेप रहेको’ जानकारी दिएको थियो । यस्तै संस्थाको २०६८ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरणबाट पनि संस्थाको संचित नोक्सानी रु.२ अर्ब २७ करोड २१ लाख ४९ हजार रहेको र पँुजीकोष ५.७३ प्रतिशतले ऋणात्मक रहेकोे पाइनुको साथै संस्थाको वित्तीय अवस्था थप कमजोर भएको देखिएको राष्ट्र बैंकको भनाइ छ । यस प्रकार संस्थाको पँुजीकोष ऋणात्मक हुनुको साथै वित्तीय स्थिति थप कमजोर हुदै गएकोले सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । संस्थाको रकम पूर्वप्रवन्ध संचालक योगेन्द्र श्रेष्ठले अपचलन गरेको कारण श्रेष्ठले कर्जा तिरे मात्रै संस्था बच्न सक्ने देखिएको छ ।

पोखरेललाई नागरिक लगानी कोषमा लगिँदै

२६ कात्तिक । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेललाई नियुक्त गर्ने भएको छ । गत पुसदेखि खाली रहेको कार्यकारी निर्देशक पदमा कृषि विकास बैंकबाट अवकाश प्राप्त कर्मचारी पोखरेललाई नियुक्त गर्ने पस्ताब मन्त्रिपरिषद्मा पुगेको हो । ‘पोखरेललाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि अर्थ मन्त्रालयबाट फाइल आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो– सम्भवतः भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद्ले उहाँलाई नियुक्त गर्ने निर्णय गर्छ । स्रोतका अनुसार सार्कको तयारीका कारण उनको नियुक्ति सार्क सम्मेलनपछि हुने सम्भावना पनि प्रबल छ । नियुक्ति केही ढिला भए पनि पोखरेललाई कोषको कार्यकारी निर्देशक बनाउने तय भने भइसकेको स्रोतले जानकारी दियो । गत पुसमा तत्कालीन कार्यकारी निर्देशक ऋषिराज लामिछानेले अवकाश पाएपछि कोषमा कार्यकारी निर्देशक नियुक्त हुन सकेको छैन । कोष सञ्चालक समितिले त्यहीका वरिष्ठ कर्मचारी अर्जुनलाल राजवंशीलाई निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ । पोखरेल पुराना कांग्रेसी कार्यकर्ता हुन् । कृषि विकास बैंकमा रहँदा काँग्रेस भएर पञ्चायती ब्यवस्थाविरुद्ध अभियान चलाएको भन्दै उनको जागिर पनि गएको थियो । देशमा प्रजातन्त्र स्थापना भएपछि उनको जागिर पुनः जोडिएको थियो । पोखरेलले कृषि विकास बैंकको सहायक कम्पनी गोवरग्यास कम्पनी लिमिटेडमा करिब ४ बर्ष महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका थिए । उनी कोषको कार्यकारी निर्देशक भएपछि कोषमा रहेको करिब ४० अर्ब रुपैयाँ ब्यवस्थापन गर्ने जिम्मेवारी पाउने छन् ।

प्रभु बैंक र रत्नाकर बैंक बीच सम्झौता, प्रभु मनि ट्रान्सफर भारतमा पनि

२५ कात्तिक । प्रभु बैंक, भारतको रत्नाकर बैंक लिमिटेड (आरबीएल) र प्रभु मनी ट्रान्सफर इन्डिया बीच रेमिटान्स कारोबारका लागि त्रिपक्षीय सम्झौता भएको छ । त्रिपक्षीय सम्झौताबमोजिम भारतमा आप्रवासी कामदारको रूपमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सरल र सुलभ हुने विश्वास लिइएको छ । सम्झौतापत्रमा प्रभु बैंकका कामु कार्यकारी अधिकृत अशोक शेरचन, रत्नाकर बैंकका वरिष्ठ उपाध्यक्ष तथा डाइरेक्ट बैंकिङ च्यानलका प्रमुख रितेश पाई र प्रभु मनी ट्रान्सफर इन्डियाका सञ्चालक रामअवतार गोयलले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि अब भारतको विभिन्न राज्यमा बसोबास गरिरहेका आप्रवासी नेपाली कामदारहरूले भारतस्थित रत्नाकर बैंकका १ सय ८० भन्दा धेरै शाखा कार्यालयमार्फत पठाएको रकम नेपालस्थित प्रभु बैंक र प्रभु मनी ट्रान्सफर कार्यालयबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । प्रभु बैंकका मुलुकभर १ सय २० शाखा र प्रभु मनी ट्रान्सफरका ५ सयभन्दा बढी एजेन्टहरू रहेका छन् । भारतबाट रेमिटान्स भित्र्याउन त्रिपक्षीय सम्झौता ऐतिहासिक सावित हुने प्रभु बैंकले जनाएको छ । भारतमा २० लाख भन्दा बढी नेपालीले काम गरी नेपालमा पैसा भित्राउने अनुमान गरिएको छ । प्रभु मनि भारतमा पनि यसैगरी भारतमा प्रभु मनि ट्रान्सभर इण्डिया कम्पनी खुलेको छ । उक्त कम्पनीमा नेपालको प्रभु मनि ट्रान्सफरको ४९ प्रतिशत सेयर रहेको छ भने भारतीय व्यवसायी रामअवतार गोयल समूहको ५१ प्रतिशत सेयर छ । भारतको नियमअनुसार सेयर संरचनामा प्रभु मनी ट्रान्सफर इन्डिया कम्पनी खोलेको प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । उक्त कम्पनीले रेमिट्यान्स कारोबार गर्न भारतीय रिर्जभ बैंकबाट स्वीकृति लिएको छ  भारतमा रहेको प्रभु मनि ट्रान्सफर कम्पनीले रेमिट्यान्स संकलन गरी रन्नाकार बैंकमार्फत पैसा पठाउने र यता रत्नाकार बैंकबाट प्रभु बैंकमा आएको रकम बैंकका शाखा तथा प्रभु रेमिट कम्पनीका एजेन्ट मार्फत सम्वन्धित ग्राहकले पैसा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

पुस्तकालय निर्माणमा नयाँ अभियान थाल्दैछौं

पुस्तकालय सभ्य र विकसित समाजको मापन गर्ने एक महत्वपूर्ण परिसूचक हो । विद्यालय र विश्वविद्यालयको औपचारिक अध्ययनपछि पनि निरन्तर अध्ययन गर्न, मानिसलाई आवश्यकताअनुसारको सूचना दिन हरेक समाजमा पुस्तकालयको आवश्यकता पर्छ । तर पनि सरकारी निकाय, नीति–निर्माता, डोनर–एजेन्सीको प्राथमिकता सूचीमा पुस्तकालय पर्दैन । यद्यपि, पुस्तकालयको आवश्यकता बोध गर्ने, पुस्तकालय निर्माण र सञ्चालनमा धेरै मिहेनत गर्ने, त्याग गर्ने नेपालीहरू पनि छन् । रिड नेपालले उनीहरूलाई सहयोग गर्दैआएको छ । नेपालमा सामुदायिक पुस्तकालयहरू स्थापना गर्न, दिगोरुपमा सञ्चालन गर्न, पुस्तकालयप्रति समुदायलाई आकर्षित गर्न, पुस्तकालयमार्फत् समुदायमा सूचनाको पहुँच बढाउन, उनीहरूको ज्ञान, सीप र क्षमता वृद्धि गर्न रिड नेपाल महत्वपूर्ण भूमिका खेल्दैआएको देखिन्छ । प्रस्तुत छ: नेपालमा सामुदायिक पुस्तकालयको वर्तमान अवस्था र यसको विकास बारेमा रिड नेपालका देशीय निर्देशक संजना श्रेष्ठस“ग गरिएको विकास वहस ।[divider] रिड नेपालले कस्तो संस्था हो र यसले काम गर्छ ? रिड नेपाल अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसको शुरुवात डा. एन्टोनिया न्यूवावर (टोनी) ले सुरु गर्नुभएको हो । उहाँ ट्रेकिङ गर्न नेपाल आउनुभएको थियो । उहाँ आफ्नो पथ–प्रदर्शकबाट निकै प्राभावित हुनुभयो र कुनै सहयोग गर्ने प्रस्ताव गर्नुभयो । पथ–प्रदर्शकले आफ्नो समूदायमा पुस्तकालय माग गर्नुभएछ । त्यसैबाट प्रभावित भएर डा एन्टोनियाले सन् १९९१ बाट नेपालमा सामुदायिक पुस्तकालय निर्माण सुरु गर्नुभएको हो । अहिलेसम्म रिड नेपालको सहयोगमा नेपालमा ५६ वटा सामुदायिक पुस्तकालय निर्माण भई सञ्चालनमा छन् । रिड नेपालले समुदायसँग मिलेर सामुदायिक पुस्तकालय बनाउन र सञ्चालन गर्न सहयोग गर्छ । हामीले सामुदायिक पुस्तकालयलाई समुदायको विकासको केन्द्रको रुपमा अगाडि बढाइरहेका छौं । पुस्तकालयमा पुस्तकहरू त हुन्छ नै । साथै, महिला सशक्तिकरणका कार्यक्रम, बालविकासका कार्यक्रम, सूचना र प्रविधिको प्रयोगका कार्यक्रम, साक्षरताका कार्यक्रम, आर्थिक क्षमतवृद्धिका कार्यक्रमहरू पनि पुस्तकालयमार्पmत् नै अगाडि बढाएका छौं । रिड नेपालको २३ वर्षको उपलब्धि कस्तो रह्यो ? सुरुमा परिकल्पना गरिएको भन्दा धेरै राम्रो काम भएको छ । डा टोनीले आफ्ना साथीहरूबाट आर्थिक सहायता जुटाएर पहिलो पटक जुनबेशीमा पुस्तकालय खुल्न मद्दत गर्नुभयो । सँगै, पुस्तकालयका लागि आयआर्जन गर्नको लागि भनेर सोभिनियर सप खुलेको थियो । पछि रिड नेपालको स्थापना गरेर संस्थागत रुपमा पुस्तकालय निर्माण अभियान सुरु भएको पाइन्छ । तर समुदायलाई पुस्तकालयको महत्व बुझाउन कठिन भयो । मानिसहरूलाई पुस्तकालय बनाउन, सञ्चालन गर्र्न, त्यसको प्रयोग गरी लाभ लिन सिकाउन पनि रिड नेपालले धेरै प्रयास गर्नुपरेको छ । समुदायलाई पुस्तकालयप्रति आकर्षित गर्न बालकक्षको अवधारण ल्यायौं । बालबालिकालाई आकर्षित गर्ने खेलौंना, पुस्तकहरू राखेर बालकक्ष सञ्चालनमा ल्यायौं । अब बालबालिकाहरू सानै उमेरदेखि पुस्तकालय आउन थाले । बालबालिकसँगै महिलाहरू पनि पुस्तकालय आउन थाले । उनीहरूलाई पनि उपयोग हुने पुस्तकालयको परिकल्पना गर्न थाल्यौं । पढ्न नजानेका वृद्धवृद्धालाई पनि उपयोगी हुने गरेर पुस्तकालयभित्रकै एउटा कोठामा अडियो भिडियो कक्ष सञ्चालन ग¥यौं । त्यसपछि पुस्तकालहरूमा वृद्धवृद्धाहरू जाने क्रम बढ्यो । महिलाहरू क्षमता विकासमा पनि पुस्तकालय सहयोग गर्ने उद्देश्यले महिला कक्ष सञ्चालन ग¥यौं । यस कक्षबाट महिला समूह गठन गर्ने, उनीहरूको क्षमता विकासका लागि तालिम दिने, विभिन्न प्रकारका सीप सिकाउने काम सुरु भयो । समुदायलाई सूचना र प्रविधिको ज्ञान दिने, उपयोग गराउने पुस्तकालयभित्रै आईसीटी कक्ष स्थापना भइरहेको छ । अहिले रिड नेपालले सहयोग गरेका पुस्तकालयहरूमा पुस्तकालय कक्षको साथै, सूचना प्रविधि कक्ष, बाल कक्ष, महिला कक्ष, अडियो भिडियो कक्ष र आयआर्जन कार्यक्रम गरी ६ वटा कक्षहरू सञ्चालन भइरहेका छन् । रिड नेपाल स्थापना हुँदा यस्तो वृहत पुस्तकालयको परिकल्पना गरिएको थिएन । हामीले समुदायको माग तथा आवश्यकताअनुसार सेवामा विविधिकरण गर्दै गएका छौं । अहिले सामुदायिक पुस्तकालयको मोडल नै नयाँ भइसक्यो, जसलाई ‘रिड मोडल’ भन्न थालिएको छ । नेपालबाट सुरु भएको सामुदायिक पुस्तकालय निर्माण कार्यक्रम भारत र भुटानमा पनि विस्तार भएको छ । रिड नेपालले चाहेर गर्न नसकेको के छ ? गर्न नसेकोभन्दा पनि गर्नुपर्ने काम धेरै छन् । समुदायको माग, समयको आवश्यकता नै मुख्य कुरा हो । पुस्तकालयमा सूचना र प्रविधि प्रयोगलाई बढाउनु पर्नेछ । पुस्तकालयमा सूचना र प्रविधिको डिभाईसहरू राख्न धेरै महँगो छ, साथै सञ्चालन र मर्मत सम्भार निकै महंगो छ । कम्प्यूटर मात्र राखेर भएन, इन्टरनेट चाहियो, पैकल्पिक ऊर्जा पनि चाहिएको छ । कहीँ बिजुली पुगेको छैन, पुगेको ठाउ“मा पनि लोडसेडिङको समस्या छ । पुस्तकालयमा सूचना प्रविधि कक्ष स्थापना गर्न कम्तीमा १८ लाख रुपैयाँ लाग्दोरहेछ । यसको सञ्चालन खर्च पनि धेरै महंगो भएको छ । पुस्तकालय सञ्चालन गर्नभन्दा सूचना प्रविधि कक्ष सञ्चालन खर्च बढी भइरहेको छ । यसको लागि आयआर्जनको भरपर्दो कार्यक्रमको खोजीमा छौं । रिड नेपालको सहयोगमा बनेको पुस्तकालयहरू बहुउद्देश्यीय देखिन्छन् । रिड नेपाल पुस्तकालय निर्माण र सञ्चालनको मुख्य भूमिका छोडेर अरू भूमिकातिर ड्राईभर्ट भएको त होइन ? हामीलाई धेरैले यो प्रश्न गर्छन् । हामीले जति पनि कार्यक्रमहरू सञ्चालन गरेका छौं, ती सबै सूचनाको पहुँचमा जोड दिएका छौं । साक्षरता कार्यक्रम सञ्चालन गर्नु, महिलाहरूलाई सशक्तिकरण गर्नु, प्राविधिक ज्ञान सेवाका कार्यक्रम वा सूचना प्रविधि कक्षको विकासलगायत जति पनि नयाँ कार्यक्रम थपिंदै गएको छ त्यो सबै सूचनाको पहँुच वृद्धि गर्न सहयोग गर्ने कार्यक्रम नै छन् । विद्यार्थीलाई एक प्रकारको सूचना चाहिएको छ भने किसानको लागि अर्कै प्रकारको सूचना चाहिएको हुन्छ । सुत्केरी महिलालाई छोराछोरी राम्रोसँग स्याहार गर्ने सूचना चाहिएको हुन्छ भने घरेलु हिंसा सहेर बसेकी महिलाका लागि अर्कै प्रकारको सूचना चाहिएको हुन्छ । फरक–फरक उमेर समूह, फरक–फरक पेशा व्यवसाय गरेका सबैलाई फरक–फरक सूचना तथा ज्ञान आवश्यक हुन्छ । स्रोतले भ्याएसम्म पुस्तकालयले समुदायसाग मिलेर धेरैभन्दा धेरै काम गर्नसक्छ । मुुख्य काम चाहीँ सूचनामा पहुँच बढाउनु नै हो । डोनरले सहयोग गर्न तयार छ भन्दैमा हामी पुल बनाउने काम गर्दैनौं, प्राकृतिक प्रकोप रोक्ने काम गर्दैनौं । रिडले सहयोग गरेका पुस्तकालयहरूबाट कति मानिसहरूले सेवा पाइरहेका छन् ? नेपालमा मात्र करिब ५० लाख मानिसहरूले रिड नेपालको सहयोगमा स्थापित सामुदायिक पुस्तकालयले दिने सेवा प्रयोग गर्छन । यो संख्या वर्षेनि बढ्दैछ । नेपालभर बाट हरेक दिन जसो पुस्तकालय निर्माण गर्न सहयोग माग गर्दै प्रस्तावहरू आउने गरेका छन् । तर हामीले वर्षमा २/३ वटा पुस्तकालय मात्र बनाउन सकेका छौं । सामुदायिक पुस्तकालय निर्माणका लागि अबरोधहरू के के हुन् ? स्रोत साधानको अभाव नै मुख्य चुनौती हो । पुस्तकालय बनाउने अजेन्डा डोनरहरूको पहिलो, दोस्रो प्राथमिकतामा छैन । तेस्रो, चौथो प्राथमिकतामा पर्छ । त्यसमाथि रिड मोडलमा पुस्तकालय बनाउने डोनरले एकदमै गाह्रो मान्छ । किनकी हामी पुस्तकालयको भवन बनाएर पुस्तकालय बनाउ“छौं, तर भवन बनाउनका लागि डोनरले सहयोग गर्न चाह“दैनन् । भवन भाडामा दिएर बनाएको पुस्तकालय दिगो हुन सक्दैन । विस्तारै डोनरहरू भवन निर्माणमा पनि सहयोग गर्न थालेका छन्, तर अभैm डोनरको प्राथमिकताको पहिलो सूचीमा पुस्तकालय परेको छैन । रिड नेपालका मुख्य डोनर को हुन् ? व्यक्तिगत डोनरहरूबाट रिड नेपाललाई धेरै सहयोग जुट्छ । त्यसमा डा. एन्टोनिया न्यूवावर र उहा“को टीमले धेरै मिहेनत गर्नुहुन्छ । संस्थागत रुपमा विल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन, कतार फाउन्डेशनले हामीलाई सहयोग बढाएका छन् । नेपालबाटै पनि सामुदायिक पुस्तकालय निर्माण सहयोग गर्नेहरू धेरै छन् । समुदायबाट व्यक्ति व्यक्तिले सहयोग गर्छन् । गाविस, जिविस, जिल्ला शिक्षा कार्यालय, नगरपालिकाहरूले सहयोग गरिरहेको हुन्छ । औसतमा एउटा सामुदायिक पुस्तकालय निर्माण गर्न स्थानीय तहका १५ वटा संस्थाले सहयोग गरेका हुन्छन् । थुप्रै अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको भीडमा रिड नेपालबीच फरक पहिचाहन के हो ? रिड नेपालको आफ्नै केही युनिकनेश छ । पहिलो, रिड नेपालले जे गर्दैआएको छ, त्यो दिगो छ । हामी डोनेशन खोज्ने, समुदायमा गएर केही काम गर्ने, पछि हराएर जाने काम गर्दैनौं । हामी समुदायको मागअनुसार काम गछौं, समुदायसँग मिलेर पुस्तकालय बनाउ“छौं । पुस्तकालय निर्माण हुनुपूर्व नै त्यसलाई दिगोरुपमा सञ्चालन गर्न आयआर्जन हुने कार्यक्रम तय गर्छौ । पुस्तकालय दिगोरुपमा सञ्चालन गर्न आवश्यक स्रोत जुटाउने गरी दिगो आयआर्जनको कार्यक्रम नभएको अवस्थामा हामी पुस्तकालय निर्माणमा पनि सहयोग गर्दैनौं । यो नै हाम्रो यूनिकनेश हो । दोस्रो, समुदाय कै नेतृत्वलाई हामी विश्वास गर्छौ । जबसम्म समुदायले नेतृत्व लिन तयार हुँदैन, तबसम्म हामी पनि सहयोग गर्न तयार हुँदैनौं । पुस्तकालयको स्वामित्व, नेतृत्व, सञ्चालन समुदायबाट नै हुनुपर्छ । एउटा सामुदायिक पुस्तकालय बनाउने कति बजेट चाहिन्छ ? पाँच वर्षअघिसम्म हामी एउटा पुस्तकालय बनाउन १०/१२ लाख रुपैयाँ सहयोग गथ्र्यौ । अहिले एउटा पुस्तकालय निर्माण गर्न रिडले ८० लाख रुपैयाँसम्म सहयोग गर्छ । त्यसमा समुदायको योगदान छुट्टै हुन्छ । हामी नेपालीले मात्र बनाएको पनौति लाईब्रेरी भवन बनाउन ८० लाखभन्दा बढी खर्च भयो । पनौतिमा जसरी नेपालीहरूको मात्र सहयोगमा पुस्तकालय बन्यो, त्यसरी अरू पुस्तकालय बनाउनेबारे कुनै योजना बनाउनुभएको छ ? हामी सोचिरहेका छौं । कम्तीमा एक वर्षमा एउटा पुस्तकालय बनाउने अभियानका छलफल चलिरहेको छ । ७ सय जना मिलेर प्रतिव्यक्ति प्रतिवर्ष ५ हजार ५ सय ५५ रुपैयाँका दरले पैसा संकलन गर्ने, उनीहरूसँग कम्तीमा तीन वर्षको प्रतिवद्धता लिने र हरेक वर्ष एउटा पुस्तकालय बनाउने अभियान सुरु गर्दैछौं । केही प्राविधिक काम बाँकी छ । भवन बनाउनका लागि नेपालीबाट स्रोत जुटाउन सकियो भने बाँकी कामको लागि डोनरबाट सहयोग जुटाउन सकिन्छ । यो मोडलबाट काम गर्न सकियो भने पुस्तकालय क्षेत्रमा धेरै काम गर्न सकिन्छ । रिड नेपालमार्फत् अहिलेसम्म सामुदायिक पुस्तकालयमा कति खर्च भयो ? त्यो डाटा त म भन्न सक्दिन । तर करिब पाँच वर्षअघि मैले रिड नेपालको नेतृत्व लिदा वार्षिक बजेट २/३ लाख डलरमात्र थियो । अहिले हाम्रो बजेट वार्षिक १४/१५ लाख डलर पुगेको छ । कुनै वर्ष २० लाख डलरसम्म स्रोत परिचालन भएको छ ।

दीर्घकालिन निर्णय नगर्न समितिलाई निर्देशन, सार्कस्तरीय सम्मेलन प्रभावित

विकास न्यूज/काठमाडौं । २३ कात्तिक । अर्थमन्त्रालयले बीमा समितिलाई दीर्घकालिन असर पुग्ने प्रकृतिका काम र निर्णय नगर्न निर्देशन दिएको छ । समितिमा भएको रकम विभिन्न बैंकको कल एकाउन्टमा राखेर समितिलाई नोक्सानी पु¥याएको, अध्यक्षले नियम विपरित आफ्ना मान्छे भर्ना गरेको तथा बीमा कम्पनीहरुको स्थलगत अध्ययनको क्रममा भेटिएका कमजोरी कार्यान्वयन गर्दा पक्षपात गरिएको भन्ने जस्ता उजुरी परेपछि अर्थमन्त्रालयको टोलीले छानविन गरी समितिलाई यस्तो निर्देशन दिएको हो । ‘दीर्घकालसम्म असर पुग्ने निर्णय र काम नगर्नु भन्ने पत्र आएको छ,’ समितिका एक अधिकारीले भने– मन्त्रालयको निर्देशन मान्ने प¥यो । निर्देशन दिने मन्त्रालयले भने दीर्घकालसम्म असर पुग्ने निर्णय र काम भनेको के हो भन्ने प्रष्ट नपारेको समितिको भनाइ छ । नयाँ सरकार गठन भएपछि समितिका अध्यक्ष डा. फत्तबहादुर केसीलाई हटाएर आफ्नो मान्छे ल्याउने प्रयास अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । यसैको लागि समितिमा कार्यरत नेपाली काँग्रेस समर्थित ट्रेड युनियनले निकै लामो आन्दोलन पनि गरेको थियो । तर मन्त्रीपरिषले नियुक्ति गरेको ब्यक्तिलाई विभागीय मन्त्रीले हटाउन नसक्ने कानुनी अबरोधको कारण अर्थमन्त्रीले केसीलाई हटाउन पनि सकेका छैनन र मन्त्रीपरिषदमा उनलाई हटाउने प्रश्ताव लान पनि सकेका छैनन् । अर्थमन्त्रालयले दीर्घकालसम्म असर पर्ने निर्णय र काम नगर्न निर्देशन दिएपछि समिति के गर्ने र के नगर्ने भनेर अन्योलमा परेको छ । जुनसुकै कामलाई पनि तत्कालिन आवश्यकता पूरा गर्न भनेर ब्याख्या गर्न पनि सकिने र दीर्घकालसम्म असर पुग्ने भन्न पनि सकिने अवस्था भएकोले समिति अहिले कुनै पनि निर्णय गर्न नसक्ने अवस्थामा पुगेको कर्मचारीहरुको भनाइ छ । मन्त्रालयको यस्तो पत्रपछि समितिका अधिकांश काम कारवाही रोकिएका छन् । लामो समयदेखि वोर्डको बैठक पनि बस्न सकेको छैन । मन्त्रलयको पत्रले सवैभन्दा बढी प्रभावित भएको काम आगामी बैशाख महिना गर्ने भनिएको बीमा सम्बन्धि नियामक निकायहरुको सार्कस्तरीय सम्मेलन हो । समितिको बोर्ड बैठक बस्न नसकेको र मन्त्रालयले दीर्घकालसम्म असर पुग्ने निर्णय र काम नगर्न भनेकोले सो सम्मेलन के गर्ने भन्ने अन्योल बढेको समितिका अधिकारीहरुको भनाइ छ । बीमा सम्बन्धि सार्कस्तरीय नियामक निकायहरुको सदस्य नेपाल पनि हो । यसअघि यस्तो सम्मेलन पाकिस्तानमा र त्योभन्दा अगाडि बंगलादेशमा भैसकेको छ । नेपालले एक दिन सम्मेलन गर्ने र त्यही मौकामा युरोप अमेरिका जस्ता देशका नियामक निकायका अधिकारीहरुलाई बोलाएर अन्तरक्रियात्मक कायक्रम पनि आयोजना गर्ने तयारी गरेको थियो । तर मन्त्रालयको पत्र तथा मन्त्रालय र समितिको तितो सम्बन्धको कारण यो सम्मेलन नै अनिश्चित बनेको छ ।