आइतबार ‘सपिङ डे’, खुद्रा व्यापारी उत्साहित
काठमाडौं । पछिल्लो समय साना खुद्रा व्यापारदेखि ठूला सटरसम्म बजारमा मानिसको चहलपहल बढ्न थालेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिएपछि आइतबार किनमेल गर्नेको चहलपहल बढेको हो । विशेषगरी शनिबारको तुलनामा आइतबार किनमेल गर्ने, भान्साका लागि आवश्यक सामग्री किन्न न्युरोड र असन क्षेत्रमा मानिसहरूको भीड बढ्दै गएको छ । आइतबार सेवाग्राही बढेसँगै व्यापार पनि बढेको व्यापारीहरू बताउँछन् । गत चैत २२ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको थियो । उक्त निर्णयले काठमाडौंका प्रमुख व्यापारिक केन्द्रहरूमा सकारात्मक प्रभाव पारेको हो । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन बिदा दिने नीति ल्याएको हो । यद्यपि, पेट्रोल खपतमा अपेक्षित कमी नआए पनि साना खुद्रा पसलहरूमा भने व्यापार वृद्धि भएको व्यापारीहरूको अनुभव छ । इन्धन संकटसँग जुध्न विभिन्न देशहरूले विभिन्न उपायहरू अवलम्बन गरिरहेका छन् । इरानमा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित भएपछि कतिपय देशहरूले सातामा अतिरिक्त बिदा दिने, सार्वजनिक यातायात प्रोत्साहन गर्ने जस्ता उपाय अपनाइरहेका छन् । नेपालमा पनि दुई दिन बिदासँगै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने बहस चलेको भए पनि कार्यान्वयनमा आएको छैन । यो नीतिले उपभोक्ताको व्यवहारमा समेत परिवर्तन ल्याएको देखिन्छ । ‘सातामा एक दिन विदा हुँदा मानिसले सरसफाई गर्दा र घुम्न जाँदा सपिङ गर्ने समय हुँदैन थियो । तर, आइतबार विदा हुँदा शनिबार सरसफाई र घुमफिर गर्ने, आइतबार सपिङ गर्न आउँछन्,’ ३५ वर्षदेखि पसल सञ्चालन गर्दै आएका काभ्रेका सिताराम तिमिल्सेनाले भने । सिताराम तिमिल्सेना । ‘व्यापार राम्रो हुनको लागि शनिबार कुर्नु पर्थ्याे, तर अहिले आइतबार नै शनिबार जतिको व्यापार हुन्छ । हप्तामा दुई दिन व्यापार राम्रो हुँदा खुसी भएको छु,’ युवा व्यवसायी सुनिल केसीले भने । त्यस्तै, उपभोक्ताले समय व्यवस्थापन गर्न पाएको कारण बजारमा आवागमन बढेको उनीहरु बताउँछन् । सुनिल केसी । व्यवसायी तारादेवी पहाडी सातामा दुई दिन बिदाले मानिसले एक दिन बजार डुल्न समय पाउने र सपिङको लागि समय छुटाउने भएकाले अहिले आइतबार बजारमा भीड हुने गरेको बताउँछिन् । अर्का व्यवसायी गोविन्द प्रसाद अग्रवाल भन्छन्, ‘आइतबार विदा भएर सरकारी कर्मचारी र विद्यार्थीहरू सपिङमा आउँछन्, पछिल्ला दुई हप्ताका आइतबारमा राम्रो व्यापार भएको छ, अहिले मार्केट ठूलो भएकाले पनि ग्राहकहरूका लागि अप्सन धेरै छन्, त्यसैले पनि पहिलाको तुलनामा अहिले व्यापार कम छ तर आइतबार व्यापार बढेको छ ।’ गोविन्द प्रसाद अग्रवाल । सातामा दुई दिन बिदा दिने निर्णयले बजारको माग–आपूर्ति संरचनामा सन्तुलन ल्याउने संकेत देखिएको छ । उपभोक्तालाई किनमेलका लागि अतिरिक्त समय उपलब्ध हुँदा खर्च गर्ने प्रवृत्ति बढेको छ, जसले खुद्रा व्यापारमा प्रत्यक्ष प्रभाव पारेको छ ।