रामकृष्ण पौडेल

निर्देशित क्षेत्रमा खराब कर्जा बढ्यो, अब नीति पुनरावलोकन हुनुपर्छ {अन्तर्वार्ता}

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षा लिएर नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना यतिबेला फूर्सदमा छन् । एउटा बैंक छोडेपछि ६ महिनाको कुलिङ पिरियड पार नगरी अर्काे बैंकमा नियुक्ति खान नपाउने कानुनी व्यवस्थाका कारणले पनि ढुंगानालाई फुर्सद मिलेको हो । आर्थिक वर्षको अन्त्य हुँदैछ  तर, ज्ञानेन्द्रलाई यतिबेला न रिकभरीको चिन्ता छ, न नाफा बढाउनु पर्ने तनाव छ  । आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमा गर्नुपर्ने झन्झट छैन । नेपाल राष्ट्र बैंकमा एक दशक काम गरेको अनुभव समेत रहेका ढुंगानाले साविक बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा करियर सुरु गरेका हुन् । राष्ट्र बैंकबाट राजीनामा दिएका ढुंगाना साविक एनसीसी बैंकको जनरल म्यानेजर बने । त्यहाँ छोटो समय मात्रै काम गरेर उनी समस्याग्रस्त अवस्थामा रहेको नेपाल बंगलादेश बैंक (एनबी बैंक)को सीईओ बने । समस्याग्रस्त एनबी बैंकलाई अब्बल वाणिज्य बैंकका रुपमा स्थापित गर्न सफल ढुंगाना नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । आरामले अवकाश जिन्दगी बिताइरहेका ढुंगानासँग विकासन्युजका लागि रामकृष्ण पौडेलले गरेको विकास वहस:  करोडमा तलब आउने पद र नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षा गुमेको छ । कत्तिको पीडा भइरहेको छ ?   म त एकदमै इन्जोय गरिरहेको छु । किनभने गभर्नर बन्ने पक्कापक्की त थिएन । तर, सरकारले म भन्दा उपयुक्त व्यक्तिलाई गभर्नरमा नियुक्त गरेको छ । मौद्रिक नीतिबाट वित्तीय क्षेत्रको स्थायित्व, स्थिरता, वृद्धि विकास र अर्थतन्त्र सुस्त हुँदा पर्याप्त तरलता भएर पनि क्यापिटल एडुकेसीको समस्याबाट बैंकहरू गुज्रिरहेका छन् । ऋणीहरूले कर्जाको माग गरेका छैनन् । वर्किङ क्यापिटल गाइड लाइनको सकस, डकुमेन्टेसनको झण्झटिलो प्रक्रियाले कर्जा आवश्यक परेका ऋणीहरूले समेत कर्जाको माग गरेका छैनन् । अर्थतन्त्र चलायमान गर्न कर्जा प्रवाह बढाउन जरुरी छ । ब्याजदर एकल अंकमा पनि न्यून विन्दुमा झरेको हुँदा केही योगदान गर्ने मेरो चाहना थियो ।  करिब ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरे । ३० वर्षको अवधिमा अहिलेको जस्तो फुर्सदिलो कहिल्यै भएको थिइनँ । नेपाल बंगलादेश बैंकबाट अवकाश हुँदा ६ महिना कुलिङ पिरियडमा थियो । तर, नबिल बैंकसँगको मर्जरमा धेरै खटिनु पर्‍याे । त्यतिबेला आराम गर्न पाईनँ । तर, अहिले पूर्ण रुपमा म रेस्ट गरिरहेको छु, ‘आइ एम इन्जोइङ इन माइ लाइफ’ । क्वार्टर इण्डको तनाब छैन, ऋण उठेन भनेर समस्या सुन्नु परेको छैन । नाफा कम भयो भन्ने चिन्ता पनि छैन ।  साथीभाईहरुसँग भेट्दा, कफी खाँदा वा क्लबमा जाँदा कस्ता विषयमा गफ हुन्छन् ? बिहान क्लबमा सेयर बजार, बिजनेस म्यान लगायत विभिन्न प्रोफेसनल व्यक्ति धेरै हुन्छन् । तर, सबैले मलाई हेर्ने नजर भनेको बैंकर नै हुन्छ । अर्थतन्त्र के हुन्छ ? कहिले सहज हुन्छ ? भनेर प्रत्येक दिन तिनै मान्छेहरूबाट जिज्ञासा आउँछ । म विगतदेखि नै सकारात्मक भएकाले सबै ठिक छ, ठिक हुँदैछ भनेर जवाफ दिन्छु । बाह्य क्षेत्र पहिलेदेखि नै राम्रो छ । किनभने विदेशी मुद्रा सञ्चिति बढेको बढ्यै छ । तर, त्यसको प्रयोग उत्पादन मूलक तरिकाबाट गर्न सकिएको छैन । आयात बढिरहेको छ, गत वर्षभन्दा राजस्वको प्रतिशत बढेको हुँदा अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । दशैँ तिहारका लागि सामानहरूको आयात सुरु हुन थालेको छ । विगतमा रसिया-यूक्रेन यद्धले सामानहरूको मूल्य ह्वात्तै बढ्यो । जसले गर्दा निर्माण क्षेत्रलाई धराशायी बनायो । साथै सरकारले पनि समयमा भुक्तानी दिएन । फेरि इजराइल–इरान युद्धले पेट्रोलियम र अन्य सामाग्रीहरुको मूल्य बढ्ने देखिन्छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ । जसले माग कम हुने बित्तिकै राजस्व र आयातमा गिरावट आउँछ । यस्ता घटनाहरू भइरहन्छन्, अर्थतन्त्रले आफ्नो आधार लिई रहन्छ । नयाँ गभर्नरले मौद्रिक नीतिबाट यी समस्या समाधान गर्ने अपेक्षा छ ।  अहिलेको बजेटमा मौद्रिक नीतिले समेट्नु पर्ने विषय बोलिएका छन् । कर्जाको रिस्ट्रक्चरिङ, वर्किङ क्यापिटल गाइड लाइनका अप्ठ्यारा विषय फुकाउने, क्यापिटल एडुकेसीका समस्या, लोन लस प्रोभिजन, लोन क्लासिफिकेसनको विषय बजेटमा उल्लेख नगरेको भए राम्रो हुन्थ्यो । ती विषयलाई मौद्रिक नीतिले समावेश गर्ने हो ।  विगत जस्तो बैंकिङ क्षेत्रमा व्यवसाय वृद्धि हुन सकिरहेको छैन । शाखा विस्तार, निक्षेप तथा कर्जा विस्तार पनि सुस्त छ भने नाफा वृद्धि न्यून विन्दुमा पुगेको छ, किन ?  विगत जस्तो सधैं हुन्छ भन्ने हुँदैन । विगतमा बैंकिङ क्षेत्रको पहुँच थिएन । जब बैंकिङ क्षेत्रको पहुँच बढ्दै गयो, अर्थतन्त्रको आकार पनि बढ्यो । उद्योग, व्यापार व्यवसाय बढेपछि बैंकिङ बिजनेस बढ्ने हो । त्यतिबेला पुँजी थोरै थियो, व्यवसाय बढाएर बैंकहरुले सतप्रतिशतसम्म प्रतिफल दिएका थिए । अब पनि सेयरधनीहरूले विगतको जस्तो प्रतिफल खोज्नु गलत हो । किनभने बैंकको आकार धेरै ठूलो भइसक्यो । अर्थतन्त्रको आकारसँगै पुँजीको आकार पनि ठूलो भइसकेको छ । २ अर्बका बैंकहरू २० अर्ब भन्दा ठूला भइसके । मर्जर, हकप्रद सेयर, बोनस सेयर लगायतले वास्तविक नाफा घटेको छैन । ईपीएस, रिटर्न, लाभांशको प्रतिशत घटेको होला तर, वास्तविक नाफा घटेको छैन ।  विगत एक/डेढ वर्षदेखि खराब कर्जाको आकार बढेको पक्कै हो । अन्तर्राष्ट्रियस्तरमा ग्रस एनपीएल र नेट एनपीएल सार्वजनिक गर्ने अभ्यास छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्नु भन्दा पहिला नै नबिल बैंकले नेट एनपीएल सार्वजनिक गरिरहेको थियो । किनभने सर्वसाधारणले पनि नेट एनपीएल जानकारी पाउनुपर्छ । एनपीएलका लागि कति प्रोभिजन छुट्याएको छ भन्ने विषय महत्वपूर्ण हो । तर, एनपीएल बढ्नेक्रम नरोकिँदा चिन्ताको विषय बनेको हो । एनपीएल भनेको समग्र अर्थतन्त्रको ऐना हो । किनभने त्यसले अर्थतन्त्र, व्यापार व्यवसायमा भएको वास्तविकता देखाउँछ । एनपीएलभित्रका विषय खोतल्ने हो भने कुन-कुन क्षेत्रमा समस्या छ भनेर छर्लङ्ग भइन्छ । पछिल्लो समय सबैभन्दा बढी एनपीएल डाइरेक्टिभ लेण्डिङमा छ । एसएमई, कृषिमा बैंकहरुले कर्जा दिनै पर्छ । कर्जा नदिए पेनाल्टी, जरिवाना र कारवाही भोग्नुपर्छ । एकातिर जरिवाना जोगाउनुपर्ने भयो, अर्कातर्फ कर्जा दिन हतार गरियो । जसले गर्दा यो क्षेत्र अधिकतम हिटेड भयो ।  कतिको व्यापार व्यवसाय बन्द भएका छन्, सञ्चालनमा रहेका पनि कम आकारमा चलिरहेका छन् । निर्माण क्षेत्र नेगेटिभ ग्रोथमा छ । किनभने विकास खर्च समयमा भएको छैन । छुट्याएको पैसा पनि खर्च हुँदैन । काम गरेको पैसा पनि पाएको छैन । त्यसकारण निर्माण क्षेत्रमा पनि एनपीएल बढेको छ । कर्पोरेट क्षेत्रमा भने एनपीएल बढेको छैन । सिमेन्ट र स्टील निर्माण क्षेत्रसँग सम्बन्धित भएकाले केही समस्या आएको देखिन्छ । तर, राष्ट्र बैंकले रिस्ट्रक्चरिङको सुविधा दिएको हुँदा त्यो क्षेत्रले राम्रो पर्फम गरिरहेको छ । मुख्य गरी सानो कर्जा, कृषि, डिप्राइभ सेक्टर र डाइरेक्टिभलेण्डिङमा समस्या छ । राष्ट्र बैंकले नीति बनाएर, सीमा तोकेर, बाध्यकारी रुपमा कर्जा लगानी गर्न लगाएको क्षेत्रमा समस्या छ भन्न खोज्नु भएको हो ?  डाइरेक्टिभ सेक्टर लेण्डिङमा एनपीएको रेट उच्च छ । अब डाइरेक्टिभ सेक्टर लेण्डिङ नीति पुनरावलोकन गर्ने समय आएको छ । विगतमा बैंकहरू २ अर्बका थिए, सोही अनुसार कर्जाको पोर्टफोलियो थियो । डिप्राइभ सेक्टर, पर्यटन, एसएमई, कृषि, हाइड्रोमा निश्चित प्रतिशत कर्जा तोकिँदा ठिकै थियो । तर, अहिले बैंकहरू ६ सय अर्बका भइसके, भविष्यमा १ हजार अर्बका हुनेछन् । अब त्यो डिप्राइभ सेक्टर लोन प्रतिशतमै तोकेर राख्दा बढेर जाने भयो । किनभने बजारमा माग नै छैन । बजारमा माग नभएपनि बैंकहरुले तोकिएको प्रतिशत कर्जा दिनै पर्ने भयो । नदिए पेनाल्टी, जरिवाना, कारवाही हुन्छ । जरिवाना तिर्नु ठूलो विषय होइन तर, नन कम्प्लायन्स देखिन्छ । किनभने बैंकहरुको अन्तर्राष्ट्रिय व्यवसाय धेरै हुन्छ, करेस्पोन्डेन्ट्स बैंक भएकाले अन्तर्राष्ट्रिय साझेदारहरु धेरै हुन्छन् । त्यतिबेला बैंकले पेनाल्टी तिर्नु राम्रो मानिदैँन । के कति कारणले जरिवाना तिरेको, किन कम्प्लायन्स मिट भएन भन्ने प्रश्नको हजार ठाउँमा हजार पटक उत्तर दिनुपर्ने हुन्छ । त्यसकारण बैंकहरु कम्प्लायन्समा बस्न खोज्छन् । तर त्यो कम्प्लायन्स मिट गर्न जथाभावि कर्जा दिनुपर्ने भयो, हतार हतारमा दिनुपर्ने भयो । जसले समस्या निम्त्याउँछ ।  त्यसकारण कि यो नीति पर्सेन्टेजलाई पुनरावलोकन गर्नुपर्छ कि अन्य कुनै फर्मुला बनाउन पनि सकिन्छ । हो, राज्यले पनि प्राथमिकता प्राप्त क्षेत्रमा लगानी जाओस् भन्ने पनि चाहेको हुन्छ । कृषि त झन् हाम्रो मुख्य क्षेत्र हो । त्यसकारण भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने छ । सब्सिडाइज लोनलाई निरन्तरता दिने भनेर बजेटमा आएको छ । भलै सरकारले सब्सिडाइज लोनको पैसा समयमा तिर्न सकिरहेको छैन । तर, निरन्तरता दिने भनेपछि बैंकको लागि प्राथमिकतामा राख्नुपर्ने हुन्छ । साथै, लघुवित्त संस्थाहरूमा दोहोरो लेण्डिङको समस्या छ भने त्यो विषय समाधान गर्न जरुरी छ ।  विगत र वर्तमानको सिनारियोलाई आधार मान्दा भविष्यमा कुन-कुन क्षेत्रका कर्जाको जोखिम बढ्दैछ ?  राष्ट्र बैंकले भनेको २ करोड रुपैयाँसम्मको एसएमई क्षेत्रमा प्रवाह भएको कर्जामा अर्थतन्त्रमा देखिएको समस्याका कारण धेरै हिटेड भएको छ । कृषि क्षेत्रमा कस्ट अफ प्रडक्सन र मार्केट प्राइस एकदमै बढी छ । त्यसकारण कृषिमा सब्सिस्टेन्स फार्मिङ आफ्नो लागि गर्ने एउटा विषय रहन्छ । यसलाई व्यापारीकरण गर्ने, आधुनिकीकरण गर्नेमा हामी पछाडि छौं । पर्यटन, होटल, हाइड्रो, सिमेन्ट क्षेत्रमा बैंकहरुको ठूलो लगानी छ । होटल धेरै खुले, हाइड्रो धेरै बने । ओभर सप्लाईको समस्या भएको भन्ने सुनिन्छ । हाइड्रोमा जल वायु परिवर्तनले जोखिम बढेको भन्ने पनि छ । के यी क्षेत्रमा गरिएका लगानी पनि जोखिमयुक्त भएका हुन् ?  तपाईंको उठाएका विषयहरू बैंकिङ क्षेत्रमा उठेका छन् तर ती सबै सत्य पनि होइनन् । किनभने एउटा एंगलबाट मात्रै हेर्नु हुँदैन । पर्यटन क्षेत्रमा जतिपनि होटलहरू खुलेका छन्, अधिकांश कोरोना अगाडि नै सुरुवात भएका प्रोजेक्ट हुन् । कोरोनाकालमा पर्यटन क्षेत्र ठप्प थियो । कोरोनापछि ती प्रोजेक्ट पूरा हुन थाले । जबकी ती प्रोजेक्टहरूको अवधारणा वा सुरुवात कोरोना अघि नै भएको थियो । ओभर सप्लाइ वा फाइभ स्टार होटलहरूको संख्या बढी भएको भन्ने लाग्छ । अब सप्लाई बढी भएको हो भने डिमाण्ड क्रियट गर्नेतर्फ लाग्नुपर्छ । पर्यटक आउने संख्या बढाउनतिर लाग्नुपर्याे । १०/१२ लाख पर्यटक मात्रै आइरहेका छन् । जबकी करोडौं पर्यटक आउने देश पनि छन् । पर्यटकको संख्या २० लाख पुर्याउने हो भने ओभर सप्लाइ स्वतः कम हुन्छ । लगानीकर्ता, बैंकिङ क्षेत्रबाट हुनुपर्ने जोड भइसक्यो । जुन पूर्वाधार निजी क्षेत्रबाट बन्नुपर्ने हो, बनिसक्यो । अब सरकारको पक्षबाट बन्नुपर्ने पूर्वाधार र नीतिमा भएको कमजोरीका कारण पर्यटकको संख्यामा वृद्धि हुन सकेको छैन । लामो समयदेखि १० लाख मात्रै पर्यटक भित्र्याइरहेका छौं । त्यो १० लाखमा पनि एनआरएनए र दशैंमा नेपाल आउने नेपाली हुन् । काठमाडौंको एयरपोर्ट सानो छ । निजगढ एयरपोर्ट तपाई हाम्रो पालामा बन्नेमा शंका छ । बनिसकेका दुइटा एयरपोर्ट चल्न सकेका छैनन् । पर्यटकहरूका लागि आवश्यक पूर्वाधार सडक बाटो र एयरपोर्ट हो । हामीकहाँ आउने पर्यटकहरू ट्रेकिङ, माउन्टेरिङ, फरेस्टमा आउँछन् । भारतको त्यति धेरै जनसंख्या छ, धार्मिक पर्यटकहरू आउन बाँकी छ । केही मात्रामा धार्मिक पर्यटकको संख्या बढेको छ । किनभने केबलकारले पनि त्यो बढाएको हो ।  यदि सरकारले पूर्वाधार निर्माण गर्न सक्दैन भने निजी क्षेत्रलाई जिम्मा दिए हुन्छ । विगमा जलविद्युत सरकारले मात्रै निर्माण गर्थ्यो । सैलेजा आचार्यले १० मेगावाट भन्दा कमका प्रोजेक्ट निजी क्षेत्रलाई दिन सुरु गर्नु भएपछि यसको विकास भयो । आजको दिनमा ४/५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निजी क्षेत्रले निर्माण गरिरहेका छन् । आजसम्म ट्रान्समिसन लाइन सरकार आफैंले बनाउँछ । तर, निर्माण गर्न सकिरहेको छैन । जसले गर्दा उत्पादन भएको बिजुली खेर गइरहेको छ । ट्रान्समिसन लाइन निर्माणको काम निजी क्षेत्रलाई दिने अवधारणा बल्ल बनेको छ ।  त्यसकारण हाइड्रोमा त्यति धेरै ठूलो जोखिम छैन । किनभने ओभर सप्लाइ भयो भने पनि भारत बंगलादेशमा बिक्री सुरु भइसकेको छ । ती देशलाई दशौं हजार मेगावाट बिजुली आवश्यक छ । ट्रान्समिसन लाइन पनि बन्ला । र, हाम्रो आन्तरिक खपत पनि बढ्दैछ । हिजो १०००/१२०० रुपैयाँ बिजुलीको बिल तिर्नेहरु आज ५/६ हजार रुपैयाँ तिरिरहेका छौं । जबकी मूल्य बढेको छैन । खपत बढिरहेको छ । घरायसी विद्युतीय उपकरणहरू आइरहेका छन् । हिजो पंखा चलाउने आज एसी, कुकुर प्रयोग गर्ने राइस कुकुर प्रयोग गर्छ । अझै पनि हाम्रो प्रतिव्यक्ति बिजुली खपत बढाउने धेरै ठाउँछ । ठूल्ठूला उद्योगहरु आउन बाँकी छन् । भविष्यमा एउटै फर्टिलाइजर इण्डष्ट्रिज आयो भने त्यसैले २ सय मेगावट बिजुली खपत गर्छ । सिमेन्ट, स्टिल उद्योगलाई पनि धेरै बिजुली चाहिन्छ । इण्डस्ट्रिलाइजेशन पनि बढ्छ, आन्तरिक खपत पनि बढ्छ । बाह्य क्षेत्र भारत र बंगलादेशमा सजिलै निर्यात पनि गर्न सकिन्छ ।  अब तपाईंको यात्रा नीति निर्माणमा हुन्छ की कार्यान्वयनमा हुन्छ ?  अप्रेशनमा धेरै लामो समय भयो भनेर पोलिसी मेकिङ तिर जान खोजेको हो । त्यसैले पोलिसीतिरै हुन्छ । यदि भएन भने फरक विषय हो । अब २ महिना महिना पूर्णरुपमा रिटायरमेन्टमा बस्छु । त्यसपछिको अवस्थामा जुन अवसर आउँछ त्यतैतिर सोच्नुपर्ला । तपाईंले काम गर्नु भएका पाँच वटा संस्थामध्ये तीन वटा संस्था अस्तित्वमा छैनन् । पुरानै संस्थामा फर्कनु पर्यो भने कुन रोज्नुहुन्छ ? राष्ट्र बैंक छनोट गरेरै नबिल बैंक छाडेको हो । पक्कै पनि पोलिसी नै छनोट गर्छु होला । किनभने अर्थतन्त्र, बैंकिङ र मौद्रिक विषयमा अभ्यासकर्तालाई थाहा हुन्छ । कयौं नीतिहरु नीतिका लागि मात्रै आएका छन्, कार्यान्वयन हुँदैनन् । जस्तो बैंकर र व्यवसायी छुट्याउने विषय आजभन्दा १५ वर्ष अगाडिदेखि बहसमा छ । तत्कालीन अवस्थामा ठिक थियो, सम्भव पनि थियो । तर अहिले परिस्थिति धेरै परिवर्तन भइसकेको हुँदा बैंकर र व्यवसायी छुट्याउनै पर्दैन । त्यो सम्भव पनि छैन । भोलि कानुनी रुपमा आयो भने पनि कार्यान्वयन गर्न सम्भव छैन ।  हिजोका दिनमा बैंकहरू साना भएकाले छुट्याउन सहज थियो । त्यतिबेला बजारमा सहज रुपमा सेयर बिक्री हुन्थ्यो । तर, अहिले व्यापार व्यवसाय, उद्योग  बन्द गरेर कर्जा तिरेर बाहिरिन पनि सम्भव छैन । २०/३० अर्ब रुपैयाँ चुक्ता पुँजी भएका बैंकको सेयर बिक्री गर्न पनि सम्भव छैन । एक प्रतिशतभन्दा बढी सेयरधनीहरूको सेयर बजारमा आयो भने बजारको हालत के हुन्छ र कति मूल्यमा बिक्री हुन्छ ? र, त्यति धेरै किन्न मान्छे खोई ? त्यसकारण बाहिरिन सहज छैन । तत्कालीन समयमा बैंकको संस्थापक, सञ्चालकहरुले अर्काे बैंकसँग मिलेर कर्जा लिने काम गरे की भन्ने शंकाको भरमा यो विषय ल्याइएको थियो ।  त्यो शंका शंका मात्रै हो की अभ्यास पनि थियो ?  तत्कालीन अवस्थामा थियो । निरीक्षणका क्रममा देखिएपछि यो विषय आएको हो । तर, आजको दिनमा बैंकिङ अनुशासित छ, कर्जा दिने अभ्यासहरू धेरै परिवर्तन भइसकेका छन् । सीईओ, अध्यक्ष, सञ्चालकले भन्दैमा बैंकबाट कर्जा जाँदैन । त्यसको सिस्टम, रिस्क डिपार्टमेन्ट, इनिसिएटर, ग्यारेन्टर र प्रक्रिया हुन्छ । त्यसैले बैंकको अध्यक्षले फलासानो बैंकबाट ऋण लिएको छु, त्यो बैंकको अध्यक्षलाई यो बैंकबाट कर्जा देउ भन्दैमा कर्जा दिन सकिने अवस्था छैन । किनभने त्यो अनुसार सिस्टम आजको दिनमा छैन । प्रोजेक्ट विजनेश जस्टिफाइ छ भने बैंकहरुले हारालुछ गरेर दिन्छन् । यदि प्रोजेक्ट राम्रो छैन भने अध्यक्ष, सञ्चालक, संस्थापकले भन्दैमा कर्जा दिने अवस्था आजको दिनमा म देख्दिन। 

बाई द बुकमा ब्लण्डर, वार्षिक कारोबार ८७५ अर्ब ?

काठमाडौं । दरबारमार्गको श्याम्स् वान ट्री क्याफेमा कफी गफ सकेर मित्र तुला अधिकारी कार पार्किङतिर लागे, म अफिसतिर लम्किएँ । महेन्द्र शालिक नजिकै पुग्दा मलाई कान्तिपथस्थित मन्डला बुक्स जान मन लाग्यो, केही किताब किन्ने सोचसहित । सोच पनि यस्तो थियो कि मेरो खोजको विषयमा लेखिएका किताबहरू पाएसम्म सबै किन्नें ।  म जमलको बुक्स प्याराडाइजभित्र छिरेँ, लाग्यो मैले खोजेका केही किताबहरू यहाँ पनि हुन्छ सक्छन् । ‘ठ्याक्कै तपाईंले भनेजस्तो किताब हाम्रो स्टोरमा छैन । एउटा यो हुनसक्छ’ उक्त स्टोरका मालिकले बुद्ध एयरमा मालिक बीरेन्द्र बहादुर बस्नेतले लेखेको ‘बाई द बुक’ देखाए । उक्त किताबसँगै 'वाह ! जिन्दगी` म्यागेजिन किनेँ ।  त्यही बेला पानी छिट्यायो । मेरो मुड परिवर्तन पनि भयो । मन्डला नगई कार्यालयतर्फ लम्किएँ । भोलिपल्ट बिहानै बाई द बुकका शब्द-शब्दमा मेरा आँखा कुद्न थाले । फाइन प्रिन्टका अध्यक्ष नीरज भारीको प्रकाशकीय पढेपछि उनीलाई भेटेरै प्रसंशा गरेँ । बस्नेतकै शब्दमा ‘भाषा तिखारेर पठनयोग्य बनाउने भूमीश्वर पौडेल’लाई फोन गरेर भाषा सीपको तारिफ गरें ।  नियमति काम गर्ने पर्यौ । दैनिक १०/१२ पृष्ठ मात्र हो मैले किताब पढ्ने । हरेक दिन बिहान पढिन्थ्यो, दिउँसो तारिफ गर्थें, बीरेन्द्र बस्नेतको कर्म र कृतिबारे । पढेर आधाउधी पनि नभ्याउँदै धेरैलाई मैले यो किताब पढ्न सुझाव दिएको छु । भन्ने गर्छु, ६९८ रुपैयाँ खर्चनोस्, त्यो तपाईंको महत्वपूर्ण लगानी हुनेछ ।  अहिले पनि म त्यही भन्छु, यो किताब पढ्नुहोस् ।  तर, किताब पढ्दै जादा बाई द बुकमा एउटा बल्डर भेटें ।  ‘पारदर्शिताको पाइन’ शिर्षकमा बीरेन्द्र बस्नेतले कम्पनीको आर्थिक पारदर्शिताका लागि आफूले लिएको नीति र गरेका अभ्यासका बारेमा १० पृष्ठ लामो वर्णन गरेका छन् । तर, लेखकले यसैमा ब्लण्डर गरेछन् । पारदर्शितमा पाइन लगाउँदा हतियारमा खिया लाग्न पुगेछ । लेखक, सम्पादक सबै चुकेका छन् । पक्कै सीएले पाण्डुलिपी पढेनन् । किताबमा बुद्ध एयरको हिसाब ‘गोलमाल’ भएको रहेछ ।  किताबमा लेखिएको छ, ‘हामीले आर्थिक वर्ष २०८०/८१ मा मात्र राज्यलाई भ्याट बापत एक खर्ब ७१ करोड, नेपाल नागरिक उड्यन प्राधिकरणलाई विभिन्न शुल्कबापत २९ करोड ६० लाख र कर्पोरेट ट्याक्सबापत २५ करोड ११ लाख रुपैयाँ तिरेका छौं ।’ हो यसैमा छ गोलमाल । पाइन लगाउन खोज्दा हतियारमा खिया लागेको यही हो । अन्तःशुल्क र कर्पोरेट ट्याक्स ठिक हुन सक्छ । तर, भ्याटको विवरण सही छैन ।  जसलाई पुष्टि गर्न यहाँ चार वटा तथ्यलाई तुलनात्मक रुपमा विश्लेषण गरिएको छ ।  पहिलो, आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट कुल १ खर्ब ३० अर्ब १० करोड रुपैयाँ भ्याट संकलन भएको छ । बाई द बुकमा लेखिएको तथ्याङ्क हेर्ने हो भने कुल भ्याटमा बुद्ध एयरको योगदान ७७.४० प्रतिशत हुन आउँछ, जुन असम्भव छ ।  दोस्रो, सरकारले हरेक वर्ष मंसिर १ गते उत्कृष्ट करदाता घोषणा र सम्मान कार्यक्रम गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी र नियमित भ्याट तिरेको भन्दै सरकारले होङ्सी सिमेन्टलाई सम्मान गरेको छ । यदि बाई द बुकमा भनिए अनुसार १ खर्ब ७१ करोड भ्याट तिरेको भए बुद्ध एयरलाई नै सरकारले सबैभन्दा ठूलो करदाता भनेर घोषणा र सम्मान गर्ने थियो ।  तेस्रो, सरकारले सबै किसिमका वस्तु तथा सेवामा १३ प्रतिशतका दरले भ्याट लगाउँदै आएको छ । १ खर्ब ७१ करोड भ्याट तिर्नको लागि भ्याटबाहेक ७ खर्ब ७४ अर्ब ६९ करोड रुपैयाँको बिक्री हुनुपर्छ । भ्याटसहितको कारोबार ८ खर्ब ७५ अर्ब ४० करोडको हुनुपर्छ । यो रकम नेपालमा सबैभन्दा बढी कारोबार गर्ने नेपाल आयल निगमको भन्दा २०० प्रतिशतभन्दा बढी हुन आउँछ भने नेपाल सरकारको सोही आर्थिक वर्षको कुल बजेटको ५७.२० प्रतिशत हुन आउँछ, जुन असम्भव छ । चौथो, बुद्ध एयरको रेटिङ गर्दै इक्रा नेपालले मार्च २०२४ मा प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० का कम्पनीले १२ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेको उल्लेख छ । अघिल्लो वर्ष १० अर्ब ९ करोडको व्यापार गरेको उल्लेख छ । आर्थिक वर्ष २०७८/७९मा १० अर्ब ९ करोडको व्यापार गर्ने कम्पनीले आर्थिक वर्ष २०७९/८०मा १२ अर्ब १६ करोडको व्यापार गर्नु स्वाभाविक हुन्छ । तर, आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोडको व्यापार गर्ने कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ७४ अर्बको व्यापार गर्न सक्दैन ।  यस विषयमा वास्तविकता जान्नका लागि कम्पनीका सञ्चार अधिकृत दिपेन्द्र कर्ण, रेभेन्यू विभाग प्रमुख गणेश लोहनी, मार्केटिङ डारेक्टर रुपेश जोशीसँग सम्पर्क प्रयास गर्यौ यद्यपि हाम्रो प्रयास सफल भएन । उल्लेखित चार तथ्य केलाउँदा बाई द बुकमा लेखिएझै बुद्ध एयरले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ७१ करोड रुपैयाँ भ्याट बुझाएको दाबी गलत नै भएको बुझिन्छ ।  

केपी ओलीसँग राधिकाको असन्तुष्टि र अपेक्षाका गोप्य सूची

‘…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ,’ प्रधानमन्त्राणी राधिका शाक्यले आत्मकथा पुस्तक करुणामा श्रीमान वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा लेखेकी छिन् । यो विषय मेरो आँखामा मात्र परेन, मनमस्तिष्कमा पनि छिर्‍यो । त्यसपछि मेरो ध्यान किताब रिपोर्टिङमा गयो । केपी ओली र राधिका शाक्यको सन्तान प्राप्ति किन नभएको रहेछ भन्ने कौतुहलता मेरो मनमा उब्जियो । किताबमा केही त पक्कै उल्लेख होला भनेर उत्सुकतापूर्वक पढेँ । उनीहरूको उमेर, विवाह, प्रजनन वातावरण, दम्पतीको इच्छा, स्वास्थ्य अवस्था जस्ता विषयमा बुझ्ने उत्सुकता पलायो ।   राधिकाले किताबमा सन्तान पाउने इच्छा रहेको विषयलाई अभिव्यक्त गरेकी छिन् । उनले करुणा पुस्तकमा छोरी हुँदाको भूमिका र अनुभव लेखेकी छिन् । श्रीमती हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । बुहारी हुँदाको भूमिका र अनुभव पनि लेखेकी छिन् । तर आमाको भूमिका र अनुभव लेखेकी छैनन् । राधिका किन आमा बनिनन् ? उमेर, विवाह, प्रजनन वातावरणबारे पुस्तकमा लेखिएका विषयहरू नै उहाँ उल्लेख गरिएको छ ।  उमेर  २००८ फागुन १० गते केपी ओली जन्मिएका थिए, राधिकाको जन्म २०१६ साल साउन ९ गते भएको हो । २०४४ साल फागुन १० गते उनीहरूको विवाह भएको थियाे । ओलीको जन्मदिनमा नै विवाह भएको देखिन्छ । त्यसैले पनि होला राधिकाले आफ्नाे जन्मदिनलाई महत्त्व नदिने गरेको तर ओलीको जन्मदिनलाई विशेष महत्त्व दिने गरेको पुस्तकमा लेखेकी छिन् ।  ढिला विवाह भएका कारण राजनीतिज्ञहरू मोहनचन्द्र अधिकारी, शेरधन राई, बलबहादुर केसी, प्रदीप पौडेल लगायतको सन्तान नभएको समाचारहरू बनेका छन् । ढिला विवाहकै कारण कलाकारहरू राजेश हमाल, मिथिला शर्मा, गायक रामेश लगायतको सन्तान भएका छैनन् । तर केपी र राधिकाको विवाह धेरै ढिला भएको होइन । विवाह गर्दा केपी ओली ३६ वर्षका थिए, राधिका शाक्य २८ वर्षकी थिइन् । दुई जनाको उमेरअन्तर ८ वर्षको छ । विवाहको उमेर र दम्पतीको उमेर अन्तरका आधार सन्तान भएन भन्न मिल्दैन । ४५ वर्षको उमेरमा विवाह गरेका शेरबहादुर देउवा र आरजु राणाको एक छोरा छन् ।  दुई पटक विवाह केपी ओली र राधिका शाक्यबीच दुई पटक विवाह भएको रहेछ । पहिलो विवाह २०४४ साल फागुन १० गते कुपण्डोलस्थित पार्टीका एक कार्यकर्ताको घरमा भएको थियो । जनवादी विवाहमा झलनाथ खनाल, विष्णु रिमाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यसहित १५/२० जनाको उपस्थिति रहेको किताबमा उल्लेख छ ।  रोचक विषय यो छ कि विवाह भएको दिन राधिका घर गइनन्, उनी माइत नै बसिन् । विवाह भएको एक सातासम्म राधिकाले परिवारसँग नभनेको र एक सातापछि पनि केपी ओलीसँग विवाह गर्दैछु भनेकी रहेछिन् । त्यसपछि घर ठेगाना नभएको केटा, त्यो पनि अन्तरजातीय विवाह गर्न लागेको भन्दै  परिवारको मञ्जरी लिन नसकेको विषयमा किताबमा लामो वर्णन गरिएको छ ।  ओली र शाक्यबीच दोस्रो विवाह २०४४ फागुन २८ गते भएको छ । यो विवाह पारिवारिक रूपमा भएको छ तर यो विवाह बेहुलीका बाले बहिष्कार गरेका छन् । छोरीको विवाहका दिन राधिकाको बुबा ससुराली गइ बसेका छन् । ठूलाबा र आमाले विवाह कर्म गराएका छन् । ओलीको दोस्रो विवाहको जन्तीमा सुशील प्याकुरेल, नारद भारद्वाज, दीपक अमात्य लगायत सहभागी भएका थिए ।  दोस्रो विवाह भएको दिन राधिका र केपी पाटनकै एक डेरामा बस्छन् । डेरा आफूले खोजेको, कोठामा चाहिने सबै सामान आफूले बन्दोबस्त गरेको उल्लेख गर्दै राधिकाले लेखेकी छिन्‌- ‘खासमा बिहेपछि उहाँले मलाई होइन, उहाँलाई मैले भित्र्याएको अवस्था थियो ।’  केपी ओली, झलनाथ खनाल ईश्वर पोखरेल, शंकर पोखरेल, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत धेरै नेताहरूले घरबेटीको छोरी भगाएका गसिफ अर्थात् उडन्ते गफ राजनीतिक वृतमा बारम्बार हुन्छ । तर राधिकाले यसबारे खण्डन गरेकी छिन् र लेखेकी छिन् कि ‘म घरबेटीको छोरी पनि होइन, केपी ओलीले मेरो माइतीमा डेरा जमाएका पनि थिएनन् ।’ यसबारे सत्यतथ्य खोज्दा नयाँ लेख बन्छ । डेरालाई ससुरालीमा परिणत गर्ने नेताहरूको वास्तविकता खोतल्ने हो भने अर्को किताब नै तयार हुन्छ । प्रजनन वातावरण  सन्तान प्राप्तिका लागि विवाहपछि प्रजनन वातावरण अत्यन्तै महत्त्वपूर्ण हुन्छ । केपी ओली र राधिका दम्पतीले त्यस्तो वातावरण नपाएको करुणा पढ्दा छर्लङ्ग हुन्छ । श्रीमान श्रीमतीबीचको सम्बन्ध र पारिवारिक वातावरण जस्तो हुनुपर्ने हो हामीबीच त्यस्तो हुन नसेकेको राधिकाले किताबमा लेखेकी छिन् ।  उनले श्रीमान्‌–श्रीमतीबीचको सम्बन्ध र सन्तानबारे एउटै अध्याय वा खण्डमा उल्लेख गरेकी छैनन् । तर फरक फरक अध्यायमा टुक्रा टुक्रा गरेर वास्तविकता लेखेकी छिन् । श्रीमानश्रीमतीबीच रसरङ नै हुन नपाएको समेत उनले लेखेकी छिन् । यतिसम्म लेखिएको छ कि-'विवाहपछिको जीवनलाई ‘तावाबाट झरेको माछो भुङ्ग्रोमा’ भनेजस्तै हुँदै गयो ।’ फरक फरक प्रशङ्गहरूमा विवाहपछिको अवस्थाबारे उनले लेखेकी छिन्- ‘…त्यो सानो कोठामा सोह्र-सत्र जना मान्छेहरू पनि सुन्तुपर्थ्यो । सुत्ने पनि के भन्नु, अटे पो सुत्नु । रात कटाउने मात्र । …डेरा सार्वजनिक स्थल जस्तै थियो । मान्छेहरूको भेटघाटको चाप मैले कल्पना गरेको भन्दा विल्कुलै बढी हुन्थ्यो । …. हाम्रो डेरा राजधानी बाहिरबाट आउने कार्यकर्ताको लागि आश्रयस्थल बनेको थियो ।’  २०५१ सालमा केपी ओली गृहमन्त्री हुँदासम्म एउटा मात्र कोठाको डेरा रहेको किताबमा लेखिएको छ । ‘…श्रीमान्‌–श्रीमतीका रूपमा ‘सेयरिङ, रेयरिङ र केयरिङ’ भन्ने चिज कहिल्यै अनुभूति गर्न पाइएन । …विहेपछि हामीले गुमाएको केही चिज थियो भने त्यो श्रीमान श्रीमतीबीचको आत्मीय सम्बन्धको पल थियो । …सम्बन्धको मधुरताको लागि पर्याप्त समयको पनि जरुरी थियो । जुन हामीले पाएका थिएनौं ।… विहेपछि हाम्रो आफ्नो व्यक्तिगत समय, निजी स्पेस भएन । …हामीले जीवनको रसरङ अनुभूति गर्न कहिल्यै पाएनौं,’ करणाका थुप्रै पानाहरूका यस्ता पीडा व्यक्त भएका छन् ।  केपी ओली धेरैजसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने गरेको राधिकाको वृतान्तमा उल्लेख छ । केपी ओलीलाई भेट्न धेरै मान्छे आउने, राती पनि भेटघाट चलिरहने र उनीहरूको लागि राति पनि खाना खुवाउनु पर्ने, भाँडा माझ्नुपर्ने, डेरामा रातभरि कुराकानी चल्दा निदाउन नसक्ने जस्ता दुःखहरू पनि राधिकाले पुस्तकमा लेखेकी छिन् । पारिवारिक टन्टा बेहोनुपर्ला भनेर विवाह नै नगर्ने भनेर बसेकी तर झन् झमेला बेसाउन बाध्य भएको पनि उनले लेखेकी छिन् ।  बालबालिका मोह राधिका र केपी ओली दुबैलाई बालबालिका असाध्यै मन पर्ने किताबमा उल्लेख छ । बालबालिकासँग खेल्दा र उनीहरूसँग कुराकानी गर्दा दुबै जना आनन्दित हुन्छन् । प्रधानमन्त्री र प्रधानमन्त्राणीको हैसियतमा बालबालिकाप्रतिको प्रेम झल्कने विभिन्न कार्यहरू गरेको वर्णन किताबमा गरिएको छ ।  कुल ३२४ पृष्ठको पुस्तकमा राधिकाले सन्तानबारे आफ्नो धारणा ठाउँठाउँमा, चुस्सचुस्स, अलिअलि व्यक्त गरेकी छिन् । ‘…कहिलेकाहीँ आफ्नै कोखबाट जन्मिएका सन्तान भएका भए पनि ठिकै हुन्थ्यो होला भन्ने सोच मनमा उब्जन्छ,’ एक सन्दर्भमा लेखेकी छिन्, ‘सन्तानको सन्ताप’बारे अर्को सन्दर्भमा राधिकाले लेखेकी छिन्‌–‘मेरो आफ्नाे कोखबाट जन्मेका सन्तान छैनन्  अर्थात हाम्रा आफ्नै जैविक छोराछोरी छैनन् । सन्तान नै नहोस् भन्ने पनि थिएन ।’ यसबाट राधिकाको  सन्तान इच्छा अभिव्यक्त हुन्छ ।  तर उनले आफ्नाे जागिरको व्यस्तता र केपी ओलीको राजनीतिक व्यस्तताले सन्तानको खोजी नभएको तर्क किताबमा दिएकी छिन् । आफ्नै सन्तान हुनुपर्छ भनेर श्रीमानश्रीमतीबीच कहिल्यै सरसल्लाह नै नगरेको पनि लेखेकी छिन् । वर्तमान अवस्थामा जैविक सन्तान नभए माया गर्ने मानिसको कमी नभएको बारेमा उनले लामो व्याख्या गरेकी छिन् । सन्तान नहुँदाको चिन्ता वा दुःख उनले व्यक्त गरेकी छैनन् ।  ‘हाम्रो आफ्नै जैविक सन्तान छैनन् । हामीलाई हाम्रो सम्पत्तिको व्यक्तिगत उत्तराधिकारी पनि चाहिएन । व्यक्तिगत सम्पत्तिको उत्तराधिकारी नचाहिएपछि सम्पत्तिको पनि जरुरी भएन,’ ओली–शाक्य दम्पतीको निजी सम्पत्ति जीवनपश्चात केपी ओली ट्रष्टलाई दिएको विषय लेख्दै गर्दा उनले सन्तान र वर्तमान परिवेशबारे यी विषय पनि लेखेकी छिन् ।  अपेक्षाका सूचीहरू राधिकाको आत्मकथामा अधिकांश वर्णन ‘केपी ओली सर’को तारिफमै केन्द्रीत गरेकी छिन् । तर, श्रीमानको रूपमा अत्यन्तै धेरै गुनासो र असन्तुष्टि व्यक्त गरेकी छिन् । उनी स्पष्ट शब्दमा लेख्छिन्‌- ‘एउटा श्रीमतीको रूपमा गुनासो गर्ने ठाउँ प्रशस्त छन् । आफ्ना श्रीमानले समय देओस्, जन्मदिनमा उपहार देओस्, विवाह वर्षगाँठ यादगार बनाओस्, तिमीलाई के कुराको खाँचो छ भनोस् । आमश्रीमतीका जस्तै इच्छा मेरा मनमा पनि धेरै अपेक्षाहरू थिए,’ उनी थप लेख्छिन्‌, ‘श्रीमानसँगको अपेक्षाहरूको सूची बनाएर केही समय त कुरेँ । मेरो पनि त केही रहरहरु थिए ।’ राधिकाका ती अपेक्षाहरू एकै पृष्ठमा वा पाठमा सूचीबद्ध नलेखिएता पनि ठाउँठाउँमा, फरक फरक प्रसंगमा लिखत भएका छन् ।  श्रीमानसँगको अपेक्षाहरू पुरा नभएको फेहरिस्त लेख्दै जाँदा पुस्तकको ७७ पेजमा राधिकाले लेखेकी छिन्‌-…त्यसपछि मैले श्रीमतीको रूपमा ‘अपेक्षा’ गर्नै छाडिदिएँ । जुन दिनदेखि मैले अपेक्षाको बोझ बिसाएँ, टाउको हलुका भयो । पुस्तकमा जहाँ केपी ओलीलाई श्रीमान् भनेर लेखेकी छिन् त्यस आसपासमा प्रेमको अपेक्षा गरेकी छिन्, थोरै शंका, धेरै विश्वासको अपेक्षा गरेकी छिन् । दिनभरका गतिविधिबारे श्रीमानश्रीमतीबीच साँझ कुरा गर्न नपाएको, मायाप्रेमबारे कुराकानी हुन नपाएको, घरको काममा जोडीसँगै जोडिन नपाएको विषयहरू किताबमा लेखिएका छन् ।  सौताले सताएको अनुभूति घरमा टेलिफोन जोड्दा सुरुमा आफू धेरै खुसी भएको तर पछि त्यही फोनले राधिकालाई सौतालै झैं सताएको वृत्तान्त किताबमा छन् । ‘सुरु–सुरुमा त टिनिनिटिनिनी टेलिफोनको आवाज पनि सुमधुर लाग्थ्यो । समयक्रममा टेलिफोन नै सौताजस्तो लाग्न थाल्यो,’ राधिकाले लेखेकी छिन् । श्रीमान् धेरै जसो घरबाहिर नै बस्ने, घरमा हुँदा पनि साथीहरू लिएर आउने, साथीहरू नहुँदा फोनमा घण्टौं कुरा गर्ने विषय पुस्तकका उल्लेख छ । घरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने, परिवारको खर्च धान्न पनि आफैले आयआर्जन गर्नुपर्ने, त्यसतर्फ श्रीमानले कुनै सहयोग नगर्ने गरेको पीडालाई पनि उनले पुस्तकमा प्रकाश पारेकी छिन् ।  अनि समालिन्छन्  व्यापक असन्तुष्टिका बीच उनी फेरि आफूलाई सम्हाल्छिन् । ‘उहाँले पहिले नै एउटा धागोको धरो पनि किनिदिन सक्दिनँ पनि भनेकै हो । श्रीमानका रूपमा तिम्रा व्यक्तिगत चाहना पुरा गर्न सक्दिनँ भनेकै हो । उहाँले झूटो आशा देखाएर धोका दिएको होइन । अनि म किन दुःखी हुने ?’ ‘सहयात्राको संयोग’ भागको अन्तिम वाक्यमा राधिकाले चित्त बुझाउँदै लेखेकी छिन्- ‘मसँग कुनै गुनासो छैन उहाँसँग र आफैसँग, आफ्नो निर्णयसँग र आफैले रोजेको जिन्दगीको यति, गति र सङ्गतिसँग ।’ टिमुर्केको केटो राधिकाले जीवनभर विवाह नगर्ने साेंचसहित २८ वर्ष हुँदासम्म विवाह गरेकी थिइनन् । घरमा सहरका धनी परिवारबाट विवाहको प्रस्ताव आउँदा पनि आफूले अस्वीकार गरेको तर केपी ओलीले गरेको पहिलो प्रस्ताव नै स्वीकार गरेको उनले पुस्तकमा लेखेकी छिन् ।  राधिकासँग विवाहको प्रस्ताव केपीले राख्छन् । राधिकाले २/३ पनि जवाफ दिन्छु भन्छिन् । ‘ल हुन्छ भने हुन्छ । हुन्न भने हुन्न । केही बिग्रेको छैन । मेरो साइटबाट ओके भएरै भेट्न आएको’ केपीले तत्काल राधिकालाई च्यापेका पनि छन्, घुर्काएका पनि छन् । त्यतिमात्र होइन, ओलीले शाक्यलाई भनेको छन्‌-‘मान्छे मै हुँ । सम्पत्तिको नाममा केही पनि छैन, मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिनँ ।’ शाक्यको मनमा चस्स हुन्छ । ‘पहिलो पटक विवाहको प्रस्तावसहित भेट्न आएको केटो कस्तो टिमुर्केको फेला पर्‍यो,’ मनका कुरा किताबमा लेखेकी छिन् । ‘झुस्स दाह्री, फू.. गर्दा ढल्ला जस्तो ज्यान । ज्यान पनि के भन्नु ह्याङ्गरमा झुण्डाएको कपडा जस्तो । वयस्क युवाको रूपमा उहाँको शरीरमा कुनै आकर्षण थिएन ।’ पहिलो पटक शाक्यले ओलीलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भेटेकी थिइन । १४ वर्षको जेलमा बसेर छुटेपछि ओलीको स्वागतमा कलेजले आयोजना गरेको कार्यक्रममा पहिलो भेट भएको शाक्यले उल्लेख गरेकी छिन् ।  गृहमन्त्री बनेपछि घरज्वाइँ २०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि, केपी ओली-राधिका शाक्यका दम्पतीले मन्त्री निवास छोड्नु पर्ने भयो । पूर्वगृहमन्त्रीको सुरक्षार्थ खटिएको सुरक्षाकर्मीको लागि पोष्ट पनि आवश्यक भएपछि पाटनको महापालस्थित राधिकाको माइतीको खाली घरमा सरेको उल्लेख छ । ‘अहिलेका कम्युनिष्ट नेताहरू उबेलामा काठमाडौंका नेवारहरूका घरमा बस्ने अनि तिनैका छोरी पट्याउँथे भनेर यदाकदा ट्रोल गरेको सुन्छु । केपी सर डेरावालको रूपमा महापल बस्नु भएको होइन । खासमा हामी बिहे भएको सातआठ वर्षपछि माइतीमा आश्रय लिएका थियौं,’ करुणामा राधिकाले लेखेकी छिन् ।  ‘मन्त्री निवासबाट फर्किएर माइतघरमा’ अध्यायमा राधिका लेख्छिन्‌- ‘अब, पहिला जसरी एउटा मात्र कोठामा बस्न गाह्रो हुने भयो । अनि कम्पाउन्ड पार्किङ सुविधासहितको घर भाडामा लिएर पनि हामीले थेग्न सक्ने अवस्था थिएन ।’ उनको यो तर्क पत्याउन सकिँदैन । किनकि राधिकाले राष्ट्र बैंकमा जागिर खाएको १६ वर्ष भइसकेको थियो । त्यतिबेला उनी राष्ट्र बैंकको शाखा अधिकृत थिइन् । तत्कालीन श्री ५ को सरकारका अधिकृतले भन्दा राष्ट्र बैंकका अधिकृतले बढी तलब सुविधा पाउँथे । केपी ओलीले सांसदको हैसियतमा तलब सुविधा पाउँथे । गृहमन्त्री हुँदा हुने अस्वाभाविक कमाइबारे नेपालको राजनीतिमा थुप्रै किस्सा छन् । पूर्वगृहमन्त्रीको हैसियतमा थप सुविधा पाउने नै भए । यस अवस्थामा राधिका डेरा भाडा तिर्ने हैसियत नभएकोले माइतीको खाली घरमा बस्न गएको किताबमा लेखेकी छिन् ।  विवाहको सात वर्षपछि केपी ओली घरज्वाइँ बसेको विषय पनि राधिकाले लेखेकी छिन् । मन्त्री क्वाटर छोडेपछि ओली करिब २ वर्ष घरज्वाइँ बसेका रहेछन् । त्यसपछि ओली दम्पती ९ महिना डेरामा र ५ वर्ष शेखीमा बसेका रहेछन् ।  आफ्नै घर बनाएर २०६० मा बालकोट सरेको राधिकाले लेखेकी छिन् ।  त्यसपछि चाकुपाटमा साहिँली बहिनी जयश्रीसँगको सेयरिङमा ९ महिना भाडा तिरेर फ्लाटमा बसेको र जीवनमा सबैभन्दा बढी भाडा त्यही तिरेको राधिकाले उल्लेख गरेकी छन् । तर भाडा रकम भने खुलाएकी छैनन् । त्यसपछि तत्कालीन पीके क्याम्पसका प्राध्यापक कल्पना अधिकारी उनका श्रीमान बाबुराम अधिकारीले बानेश्वरस्थित आफ्नाे घरको एक फ्लाटमा भाडा नलिई बस्न दिएको, पाँच वर्षसम्म त्यही बसेको र बालकोटमा घर बनाएपछि उनी सरको उल्लेख गरेकी छिन् ।  अनौठा केपी ‘कुनै पनि लुगा हात परेको दिन त्यही लुगा लगाएरै सुत्नुहुन्छ । उहाँले त्यसो गर्दा मलाई भने गुडियासँग बच्चा खुसी भए जस्तो लाग्छ,’ राधिकाले लेखेकी यो विषय निकै रोचक छ । पछिल्लो समय प्रधानमन्त्रीको हैसियतमा हरेक दिन नयाँ कोटमा सार्वजनिक हुन्छन् । के उनी हरेक दिन नयाँ कोट लगाएर सुत्लान् ? खोजको विषय नै हो ।  केपी ओलीलाई सानो बच्चालाई जसरी समाल्नु पर्ने राधिकाको लेखाइ छ । ‘कतिबेला सुत्ने, कतिबेला उठ्ने, के खाने, के नखाने, के लगाउने, के नलगाउने, कुनै कुरामा उहाँलाई मतलव हुँदैन’ श्रीमानलाई आफूले सधैं सम्झाइरहने गरेको उनले लेखेकी छ ।  केपी ओलीमा देश विकासको हुटहुटी मात्र भएको, देश र जनताको विकास बारे मात्र कुरा गर्ने गरेको विषयका वर्णन गर्दै राधिकाले लेखेकी छिन्, ‘उहाँका पालामा विकास, समृद्धि, सङ्कल्प र सपनाका कुराहरू हुन्छन् । लाग्छ, उहाँले फेर्ने प्रत्येक स्वासमा देशभक्तिको अक्सिजन प्रवाहित भएको छ ।’ यसरी लेखिएका पुस्तकबारे राधिकाकी श्रीमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी छ- यो सम्पूर्णतः सत्य कथा हो । कल्पनाप्रधान कुनै कथा बुनिएको छैन । कथानक थपिएको छैन ।’ राधिकाले केपी ओली सर्वहाराजस्तो हुनुहुन्छ भनेकी छिन् । तर केपी ओलीले लगाउने घडी, जुत्ता, उनी चड्ने गाडीको मूल्य करोडौं रुपैयाँ रहेको विषयमा धेरै समाचार प्रकाशन भएका छन् । ती समाचार नपढेका, केपी ओलीलाई नदेखेका र राधिका शाक्यको किताब मात्र पढेकाले यस्ता विषय पत्याउने हुन् ।  करुणा पुस्तकमा केपी ओली १४ वर्ष जेल बसेको कुरा सयौं ठाउँमा लेखिएको छ । श्रीमानलाई केपी सर भनेर अत्यधिक रूपमा सम्बोधन गरिएको छ । केपी ओली राजनीतिमा व्यस्त हुने, भेटघाटमा व्यस्त हुने, राति अबेरसम्म पढ्ने लगायतका विषय हरेक च्याप्टरमा यतिविघ्न घुसाइएको छ कि किताब पढ्दा बारम्बार मस्तिष्कमा ठेस लाग्छ । ढिकीमा कुटेको चामल अल्छी भान्छेले नकेलाई पकाएका भात खाँदा हरेक गाँसमा बियाँ लागेजस्तै । आधुनिक मिलको चामलमा यस्तो बियाँ भेटिँदैन ।  तीन नेताको आलोचना राधिकाको लेखनमा राजनीतिक पूर्वाग्रह प्रशस्त पाइन्छ । पञ्चायत व्यवस्थाका गल्ती कमजोरी मात्र उल्लेख गर्नु, बहुदल आएपछि सबै विकास राम्रो भयो भन्नु उनीभित्र रहेको एकांकी राजनीतिक सोंच हो । एमालेभित्र केपी ओलीलाई महान् व्यक्तिको रूपमा चित्रण गर्नु, अरू कुनै पनि नेताको तारिफ करुणामा नअट्नु राधिकाको पूर्वाग्रह नै हो । केपी ओलीलाई राजनीतिमा काँध थाप्ने, पटक पटक पार्टी अध्यक्ष बनाउन र पटक पटक प्रधानमन्त्री बनाउने धेरै नेताहरूले धेरै भूमिका खेलेका छन् । तर यसतर्फ राधिकाले कहीँ कतै एक वाक्य पनि लेखेकी छैनन् ।  तीन जना नेताको बारेमा राधिकाले पुस्तकमा आक्रोश पोखेकी छिन् । सबैभन्दा बढी माधवकुमार नेपालका बारेमा, त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’का बारेमा र पूर्व अर्थमन्त्री डा. रामशरण महतका बारेमा । केपी ओली गृहमन्त्री हुँदा २०५१ सालमा राष्ट्र बैंकको शाखा अधिकृतमा राधिकामा नाम निस्क्यो । त्यो विषय कांग्रेस नेता डा. रामशरण महतले संसदमा उठाए । यसले राधिकालाई चित्त दुःखाएको रहेछ । सोही सन्दर्भ जोडेर राधिकाले पुस्तकमा डा. महतप्रति आक्रोश व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो कार्यकालमा असहयोग गरेको भन्दा नेपाल र प्रचण्डमाथि राधिका खनिएकी छिन् । ओलीलाई प्रधानमन्त्री बनाउन पटक-पटक प्रचण्ड, नेपाल र शेरबहादुर देउवाले काँध थापेको दुनियाँलाई थाहा छ तर राधिकालाई थाहा रहेनछ । किताबमा सबै कुरा मौन छन् ।   बालुवाटारमा बासीभात प्रधानमन्त्री निवासमा बासीभात खाइन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । त्यसमाथि प्रधानमन्त्राणी राधिका शाक्यलाई नै बासीभात खानुपर्ने बाध्यता होला भनेर कसले पत्याउने ? तर राधिकाले किताबमा यही सत्य हो भनेर लेखेकी छिन् । उनी लेख्छिन्‌- ‘प्रधानमन्त्री निवास, बालुवाटार । भान्छामा छिरेँ । केही पकाउनु पला कि भन्ने सोच्दै थिएँ । यसो फ्रिज खोलेँ । बेलुका बाँकी बचेको भात रहेछ । थोरै दाल पनि रहेछ । त्यही तताएँ । अनि खान थालेँ ।’ त्यसपछि उनले फेरी व्याख्या गरेकी छिन्‌- ‘एक्लै हुँदा खाना बनाउने जाँगर चल्दैन । फ्रिजमा बासी खाना रहेछ भने झनै बहाना सजिलो बनिदिन्छ ।’ किताबमा यस्तै धेरै विषय छन्, जुन पत्याउनै सकिँदैन ।  मूल्यमा चलखेल वर्तमान सरकारले उद्योगीलाई सिमन्टको बोरामा मूल्य राख्न निर्देशन दिएको छ । तर प्रधानमन्त्राणीको आत्मकथामा मूल्य राखिएको छैन । पुस्तक प्रकाशक पाणिनि बुक्सले सत्ताको बलमा, सरकारी निकायलाई उच्च मूल्यमा प्रधानमन्त्राणीको बुक भिडाउने र पैसा उठाउने नियत राखेको देखिन्छ । बिक्री प्रबन्धक उमेश आचार्यले पुस्तकको अन्तिम पृष्ठमा राखिएको बार कोडमाथि लेखिएका अंकहरू ५९५०० नै किताबको मूल्य भएको बताए । राधिकाको आत्मकथा पढ्न कसैले पनि ५९ हजार ५०० रुपैयाँ तिर्दैन । पुस्तकमा भएको यो गम्भीर त्रुटि हो ।  किताबबारे मेरो भनाइ करुणाभित्र लेखक र श्रीमान केपी शर्मा ओली (वर्तमान प्रधानमन्त्री)का जीवन कहानीहरू लेखिएका छन् । आत्मकथामा मूलपात्रले प्रचार गर्न चाहेको र प्रसंशा बटुल्न चाहेको विषयवस्तु नै हुन्छन् । आफ्ना कमजोर पक्षहरू, जीवनमा गरिएका गल्ती कमजोरीहरू लुकाइएका हुन्छन् । करुणा पुस्तमको विशेषता पनि यही हो । श्रीमान् केपी ओली एमालेका अध्यक्ष र प्रधानमन्त्री भएका थिएनन् भने राधिकाको पुस्तक प्रकाशित हुँदैन थियो । पुस्तक पढ्दा राधिकासँग कुनै असाधारण क्षमता पनि देखिँदैन, उनका कर्म पनि मामुली छन्, असाधारण छैनन् ।