रामकृष्ण पौडेल

जोखिममा पर्दा तपाईंलाई साथ दिने हामी छौं

जोखिममा-पर्दा-तपाईंलाई-साथ-दिने-हामी-छौं

वित्तीय क्षेत्रका खम्बा

गभर्नर महाप्रसाद अधिकारीलाई वित्तीय क्षेत्रमा सक्रिय रूपमा काम गरेको चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकमा निर्देशक तथा कार्यकारी निर्देशकको भूमिकामा होस् वा डेपुटी गभर्नर र अहिले गभर्नरको रूपमा पनि उनले वित्तीय क्षेत्र सुधारमा उल्लेखनीय काम गरेका छन् । आगामी चैतमा गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिँदैछ । अधिकांश समय नियामक निकायमा र करिव ४ वर्ष लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)भएर काम गर्दा अधिकारीले आफूलाई कुशल व्यवस्थापक र प्रशासकको रूपमा उभ्याएका छन् ।  मर्जरमा सफलता अधिकारी डेपुटी गभर्नर हुँदै नेपाल राष्ट्र बैंकले अगाडि सारेको बैंक मर्जरको नीतिलाई सहज रूपमा प्रभावकारी बनाउन उनले प्रशंसनीय भूमिका खेलेका छन् । २०६७/६८ सालमा ३२ वटा रहेका वाणिज्य बैंक अहिले २० मा सीमित छन् । त्यतिबेला ८९ वटा विकास बैंक रहेकोमा अहिले १७ वटा भएका छन् । त्यतिबेला ७९ वटा फाइनान्स कम्पनीहरू रहेकोमा अहिले १७ वटामा सीमित भएका छन् । नेपाल राष्ट्र बैंकमा अनुसार २०६७ पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीको संख्या २७७ वटा थिए । पछि मर्जर हुँदै अहिले जम्मा १०७ वटा बैंक तथा वित्तीय संस्था भएका छन् । संख्याका आधारमा बैंक तथा वित्तीय संस्थाको संख्या ६१ प्रतिशतले घटेका छन् ।  यसलाई उनले आफ्‌नो सफलताका चित्रण गर्ने गरेका छन् । ‘हामी फोर्स मर्जरमा गएनौं, स्वेच्छिक रूपमा बैंकलाई मर्जर हुन प्रोत्साहन गर्‍यौं, परिणामस्वरूप अहिले बैंक तथा वित्तीय संस्थाको संख्या कम भएको छ । पुँजीका हिसाबले बैंकहरू बलियो बनेका छन्,’ अधिकारी भन्छन्, ‘यसलाई हामीले नीतिगत सफलताका रूपमा लिएका छौं ।’  २०६७ सालपछि पनि जिल्लास्तरीय विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरू धेरै खुलेका थिए । वित्तीय पहुँच विस्तारका लागि भन्दै गभर्नर चिरञ्जीवी नेपालको पालामा ग्रामीण क्षेत्रमा बैकिङ सेवा दिन चाहनेलाई लाइसेन्स पनि वितरण भएका थिए । महाप्रसाद गभर्नर भएपछि कुनै पनि बैंक तथा वित्तीय संस्थालाई लाइसेन्स वितरणको काम राष्ट्र बैंकले गरेन । पछिल्लो समय वित्तीय क्षेत्रमा नयाँ प्रकृतिमा समस्याहरू देखिएका छन् । आर्थिक मन्दी ऋणीहरूको व्यावसायिक असफलतासँगै बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात बढेर गएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाका नेतृत्वले दवाव महसुस गरिरहेका छन् । गभर्नर अधिकारी भन्छन्, ‘एक दशकअघिको तुलनामा बैंक तथा वित्तीय संस्था धेरै बलिया भएको छन् । जोखिम बहन गर्न सक्ने सामर्थ्य वृद्धि भएको छ । यदि राष्ट्र बैंकले समयमा नै मर्जरको नीति लिएको थिएन र त्यसको सफल कार्यान्वयन भएको थिएन भने यतिबेलाको समस्या समाल्नै नसक्ने तहमा पुग्न सक्थ्यो ।’ डिजिटल कारोबारमा छलाङ अधिकारीले आफ्‌नो कार्यकालमा सबैभन्दा प्रभावकारी रूपमा अगाडि बढाएको एजेण्डा हो डिजिटल बैंकिङ । उनी राष्ट्र बैंकको गभर्नर बनेपछिको पहिलो मौद्रिक नीतिमै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने अगाडि सारे । अहिले देश डिजिटल बैंकिङमा अगाडि बढिरहेको छ । एउटा सामान्य किराना पसलदेखि ठूल्ठूला कर्पोरेट हाउस तथा मार्टहरूमा क्यूआर कोडमात्रै भेटिन्छ । उनी मोबाइल, इन्टरनेट तथा डिजिटल बैंकिङ र क्यूआर कोड प्रोत्साहन गर्न आफै बजारमा निस्किए । ठाउँ–ठाउँमा तरकारी तथा फलफूल पसलमा गएर क्यूआर कोड सञ्चालन गरे । अधिकारी गभर्नरका रूपमा नियुक्त भएको वर्ष २०७७ कात्तिक महिनामा २० खर्ब ५८ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको थियो । २०८१ कात्तिक महिनामा ९४ खर्ब ८६ अर्ब रुपैयाँ डिजिटल भुक्तानी भएको छ । यो भनेको ३७५ प्रतिशत वृद्धि हो । डिजिटल भुक्तानीमा यो किसिमको गतिको श्रेय उनैलाई जान्छ । ‘यो अवधिमा हामीले डिजिटाइजेसनका कुरालाई एग्रेसेभ्ली अगाडि बढायौं, बैंक तथा वित्तीय संस्थासँगै प्रत्येक नागरिकलाई डिजिटल भुक्तानीका कुरा सिकायौं, आज देश डिजिटल भुक्तानीमा आश्रित छ,’ उनी भन्छन्, ‘अहिले राष्ट्र बैंक डिजिटल करेन्सीको विषयमा काम गरिरहेको छ, त्यसमा पनि सफलता पाउने विश्वास छ ।’ विदेशी मुद्रा सञ्चिति वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या हो । वैदेशिक व्यापार विदेशी मुद्रामा हुन्छ । देशको व्यापार घाटा बढ्दै जाँदा सरकारको ढुकुटीको विदेशी मुद्रा सकिँदै जान्छ । नेपाल राष्ट्र बैंकको लागि सबैभन्दा ठूलो टाउको दुःखाइको विषय हो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्नु । यही विषयले अधिकारीलाई सर्वाधिक तनावमा पुर्‍यायो । विदेशी मुद्रा सञ्चिति सकिएपछि छिमेकी देश श्रीलंका टाट पल्टियो सन् २०२३ जुलाईमा । पाकिस्तान, अफगानिस्थान, बंगलादेशमा पनि विदेशी मुद्राको भण्डारण सकिँदै गएको थियो ।  २०७७ साल माघमा नेपालसँग झण्डै १२ महिनाका लागि विदेशबाट वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्राको मौज्दात थियो । ढुकुटीमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलरको हाराहारीमा थियो । २०७८ सालको माघमा ढुकुटीमा ९ अर्ब ७४ करोड अमेरिकी डलर बचत थियो । एक वर्षमा देशको कुल विदेशी मुद्रा सञ्चितिको २२ प्रतिशत घट्यो । डलर सञ्चिति २२ प्रतिशत घटेपनि विदेशी वस्तु तथा सेवा आयात धान्ने क्षमतामा ५० प्रतिशतले कमी आएको थियो । २०७७ पुसमा १२ महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेकामा २०७८ मा ६ महिना १८ दिन मात्र धान्न पुग्ने अवस्थामा झर्‍यो । यसरी विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा नेपाल श्रीलंका झंै टाट पल्टन्छ कि कि भन्ने चिन्ता विज्ञ र व्यवसायीमा मात्र होइन, सर्वसाधारणको तहमा पुगिसकेको थियो ।    व्यवसायी जगतले चर्को आलोचना गरे पनि, सरकारले निलम्बन गरे पनि गभर्नर अधिकारी अविचलित रहे । वित्तीय क्षेत्रको सुदृढिकरण, डिजिटल कारोबारमा वृद्धि, विदेशी मुद्रा सञ्चिति बचाउन लिएको कडा नीति र त्यसको सफलतासँगै गभर्नर अधिकारी वित्तीय क्षेत्रको दरिलो खम्बाका रूपमा स्थापित भएका छन् ।  विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले २०७७ पुस ५ मा १८ प्रकारका वस्तु आयात गर्दा बैंकमा शतप्रतिशत नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्‍यो । त्यसपछि लगत्तै माघ २६ गते ४५ भन्सार कोडका करीब २ हजार ७०० वस्तुको आयातमा ७० प्रतिशतसम्म रकम व्यवसायी आफैले नगद हाल्नुपर्ने व्यवस्था गर्‍यो । २०७९ वैशाखमा राष्ट्र बैंकको सुझावमा सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर महँगा सवारीसाधन, महँगा मोबाइलसहित १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी आयातमा अंकुश लगाउँदा आयात व्यापारमा संलग्न व्यवसायीहरूले सार्वजनिक मञ्चबाटै गभर्नरको चर्को आलोचना गरे । देशभित्रका व्यवसायी मात्रै होइन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन लगायतले असन्तुष्टि व्यक्त गरे । यहीबेला गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच विवाद बढ्दै गयो । व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै सरकारले उनलाई निलम्बन गर्‍यो । सरकारले गभर्नरलाई हटाउन गोप्य सूचना चूहाएको आरोप पनि लगायो ।  गभर्नर अधिकारी सरकारी निर्णयविरुद्ध अदालत गए । अदालतको आदेशमा उनी फेरि जिम्मेवारीमा फर्किए । उनले आफ्‌ना नीतिमा निरन्तरता दिए । परिणाम गत कार्तिक मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर अर्थात २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन २ वर्षअघिको तुलनमा ७१.४५ प्रतिशतले बढी हो । यस सञ्चिति १५ महिनाभन्दा बढी वस्तु तथा सेवा आयात गर्न सकिने नेपाल राष्ट्र बैंकको भनाइ छ । अधिकारी गभर्नर बन्नुअघि १० खर्ब ३८ अर्ब रुपैयाँ रहेको कुल विदेशी मुद्राको सञ्चिति अहिले २२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा ११७ प्रतिशतको विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्रा सञ्चिति पर्याप्त भएकैले देशको रेटिङ रिपोर्ट पनि राम्रो आएको छ ।  राष्ट्र बैंकप्रतिको आकर्षण वृद्धि विगतमा खासै चासोका रूपमा नलिइने मौद्रिक नीति गभर्नरमा अधिकारीको आगमनपछि भने सबैको बहस र प्रतीक्षाको विषय बन्न पुगेको छ । खासगरी व्यावसायिक जगतकोे ध्यान संघीय सरकारको बजेटभन्दा राष्ट्र बैंकको मौद्रिक नीतिमा बढी केन्द्रीत हुन थालेको छ । कोरोनाको महामारीमा थला परेको अर्थतन्त्रलाई पुर्नजीवित पार्न राष्ट्र बैंकले लिएको नीतिले यसमा ठूलो भूमिका निभायो । कोरोनाको समयमा बजेटबाट केही नपाएका व्यवसायीले मौद्रिक नीतिबाट भरपुर राहत पाए । त्यसपछि मौद्रिक नीतिले वाहीवाही पायो । व्यवसायीले मागेकोभन्दा बढी सुविधा उनले मौद्रिक नीतिबाट दिए । जुन विषयको चौतर्फी तारिफ भयो । ‘हामीले गर्न सकेको गर्‍यौं, कोरोना महामारीबाट प्रभावित भएका व्यवसायीलाई दिन सक्ने राहत दियौं, मुद्रा कोष, विश्व बैंकजस्ता संस्थाले अहिले के गर्न सकिन्छ मुठ्ठी खोलेर सहयोग गर भनेर सबै केन्द्रीय बैंकहरूलाई आग्रह नै गरेको थियो, सोही किसिमले हामीले पनि काम गर्‍यौं, त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नै पर्‍यो,’ उनले भने ।  बिर्सिन चाहेको ‘त्यो घटना’ मान्छेको जीवनमा धेरै घटना आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन्, कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । अधिकारीको जीवनमा पनि यस्तो घटना छ, जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी विसं २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिए जनार्दन शर्मा । निलम्बनपछि उनी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेवारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिलेकाहीं कानूनी झन्झटको सामना गर्नुपर्ने रहेछ, मैले यसलाई स्वाभाविक रूपमा लिएको छु,’ उनी भन्छन्, ‘म यो घटनालाई बिर्सिन चाहन्छु, यस विषयमा धेरै नबोलौं ।’ अधिकारी सरकारसँग लडे । त्यसले उनको पद मात्र जोगाएन, राष्ट्र बैंकको स्वायत्तता बचाउनका लागि पनि दरिलो टेवा दिएको छ, जसरी पूर्वगभर्नर तीलक रावलले दिएका थिए । राजनीतिक अदूरदर्शिता र अस्थिरताको सिकारले सबै सार्वजनिक संस्थाहरू ध्वास्त हुँदै गरेको बेलामा तत्कालीन गभर्नर रावल र वर्तमान गभर्नर अधिकारीले लिएको अदालतको सहायताले राष्ट्र बैंकको स्थायित्वमा दूरगामी महत्व राख्नेछ ।  देश विकासको बाधा अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरूको संख्याप्रति चिन्तित छन् । युवाहरू दिनहुँ विदेश पलायन भइरहेको बेला उनी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, मेरा पनि छोराछोरी नेपालमै छन्, विदेश गइहाले पनि केही सिकेर स्वदेशमै फर्किनुपर्छ,’ उनले भने, ‘नेपालमा सरकारी सेवा लिन झन्झटिलो हुने, रोजगार अभाव लगायतले युवाहरूमा निराशा छ, विदेसिने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो ।’  नेपाल ठूलो सम्भावना र अवसर भएको देश हो । ‘कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ,’ अधिकारी भन्छन्, ‘तर, हाम्रो देशमा योजनाबद्ध हिसाबले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुन सक्छ, त्यसतर्फ हामी सबैले ध्यान दिन आवश्यक छ ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको अधिकारी बताउँछन् । ‘योजना तथा कार्यक्रमको कार्यान्वयन गर्न केही न केही स्थायित्व चाहिन्छ, नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृत्ति पनि विकासको बाधक हो,’ उनी भन्छन्, ‘हामीले यो प्रवृत्ति सच्याउनुपर्छ ।’  खोटाङदेखि गभर्नरसम्म खोटाङको गाउँबेसीमा उकाली गर्दैगर्दा अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही जिज्ञासा हामीले उनैलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यहीं बन्छु भन्ने लागेको थिएन । तर, सबै कुरा समयले बनायो, मैले मिहिनेत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यहीअनुसार मिहिनेत पनि गरेको हुन्छ, मिहिनेतअनुसार फल नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने काम निरन्तर जारी राख्नुपर्छ । तर, महत्वाकांक्षा राखियो तर  भोलि गएर प्राप्त गर्न सकिएन भने व्यक्तिगत रूपमा पनि त्यसले राम्रो गर्दैन ।’ विसं २०२१ सालमा खोटाङमा जन्मिएका अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेसा गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी २०४० सालमा बाँकी अध्ययनको लागि काठमाडौं छिरे । काठमाडौं प्रवेश गरेसँगै सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । अधिकारीले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दै जाँदा संस्थाको लागि इमान्दारीपूर्वक गरेँ, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ कार्यकारी निर्देशक (ईडी) बनेँ, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वाभाविकै रूपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो ६ दशक लामो जीवन यात्रा संक्षेपमा सुनाए ।  अधिकारीले २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । २०४२ सालमा राष्ट्र बैंकको सहायक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने लाग्यो । उनी २०५१ सालमा राष्ट्र बैंकको उप–निर्देशक पदमा स्तरोन्नति भए । २०५६ मा निर्देशक पदमा बढुवा भए । निर्देशकमा ९ वर्ष ६ महिना काम गरेका उनी २०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भए । कार्यकारी निर्देशकमा बढुवा भएको दुई वर्ष तीन महिनापछि अर्थात् २०६७ सालमा सरकारले उनलाई राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त गर्‍यो । कनिष्ट कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त भएको भन्दै त्यतिबेला राष्ट्र बैंकभित्र खैलाबैला नै भयो ।  राष्ट्र बैंकको डेपुटी गभर्नर भएको ४ वर्षपछि अधिकारीले गभर्नरका लागि आवेदन दिएका थिए । तर, उनी सर्टलिष्टमै सीमित बने । त्यतिखरे डा. चिरञ्जीवी नेपाल गभर्नर बनेका थिए । डेपुटी गर्भनरको ५ वर्षेकाल सकेर उनी राष्ट्र बैंकबाट विदा भए । तर उनको सरकारी सेवाको यात्रा यही अन्त्य भएन । २०७३ साल असारमा लगानी बोर्डको सीईओ बने । चार वर्षका लागि सीईओ नसकिँदै उनी राष्ट्र बैंकको गभर्नरमा नियुक्त भए । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका अधिकारी २०७६ चैत २४ गते गभर्नरका रूपमा नियुक्त भएका थिए । उनी जुन संस्थाबाट सामान्य कर्मचारीको रूपमा प्रवेश गरेका थिए, त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मिहिनेत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) गरेका छन् । गभर्नर अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पुर्‍याउने बताउँछन् । उनी विद्यार्थीलाई पनि ठूलो महत्वाकांक्षा नराखी मिहिनेत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहिनेत गर्छु र केही गर्छु भन्ने साेंच्दा राम्रो हुन्छ,’ उनी भन्छन्, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नर अधिकारीलाई म नेपालको गभर्नर हुन्छु भन्ने कल्पनासमेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ ।  

टायल बजारमा लेमिनारको उदय, १२ अर्बको आयात विस्थापित गर्ने लक्ष्य

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि श्री एयरको उडान समय मध्यान्न १२ः१५ मा थियो तर जहाज उड्दा २ बज्यो । उडान ढिला भएकाले नेपालगञ्जस्थित सिद्धार्थ होटलमा २ बजे खाना खाने कार्यक्रम रद्द गरिएछ । एयरपोर्टबाट मिडिया टुरको गाडी सरासर गुलरिया-८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्यो । उद्योगभित्र छिरेका बसहरू सोझै क्यानटिनको ढोकामा पुगे । स्वादिलो समोसा, पुरी, तरकारी र चियाले सबैको भोक मर्‍यो । कम्पनीका अध्यक्ष सुब्रत धिताल, सञ्चालक अभिनव चुरिवालसहित कम्पनीका कर्मचारी पत्रकारहरूलाई उद्योग भ्रमण गराउन खटिए । करिब तीन दर्जन पत्रकारका हातमा वाकीटकी थमाए र कानमा एअरसेट लगाइदिए । १२.५ बिगा क्षेत्रफलमा फैलिएको उद्योग भ्रमणका लागि एक घण्टाभन्दा बढी समय लाग्यो । सञ्चालक अभिनव चुरिवालले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ- विभिन्न प्रकारका माटोहरूलाई प्रशोधन गर्ने, मिश्रण गर्ने, भट्टीमा तताएर ग्यासको रूपमा विकास गर्ने, त्यसलाई पानीमा मिसाउने, त्यसपछि टायलको रूपमा विकास गर्ने, टायललाई पोल्ने, चिस्याउने, पखाल्ने, कलर गर्ने, प्रिन्ट गर्ने, गुणस्तर जाँच गर्ने, प्याकेजिङ गर्ने प्रक्रियादेखि उद्योगभित्र रहेको शोरुमसम्म सबै प्रक्रिया देखाउँदै बेलिविस्तार सुनाए । उनले उद्योगभित्र टायल कसरी बन्छ भनेर मात्र देखाएनन्, टायल कति बलियो छ र कति गुणस्तरी छ भनेर पत्रकारहरूलाई जीवन्त प्रदर्शनीसमेत गरे । उद्योगको पुरै भ्रमण गर्दा कहीं कतै फोटो, भिडियो खिच्न रोकतोक नलगाउनुले उनीहरूको पारदर्शीता र आत्मविश्वासकाे झल्को दियो । सुब्रत धिताल, श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान, अभिनव चुरिवालसहितका उद्यमीहरूले एउटा गजबको उद्योग खोलेका रहेछन् । ‘उद्योग राम्रो लाग्यो, यस्ता उद्योगले देश विकासमा मद्दत गर्छ, ’ उद्योग भ्रमणपछि कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीले साथीहरूसँग टिप्पणी गरे । लुम्बिनी सेरामिक्स लिमिटेडले गत भदौदेखि लामिनार टायल उत्पादन थालेको छ । देशका प्रमुख सहरमा १०० भन्दा बढी डिपोबाट लेमिनार बिक्री सुरु भइरहको चुरिवालले जानकारी दिए । ४ अर्ब लगानी यस उद्योगमा करिब ४ अर्ब रुपैयाँ लगानी भएको अभिनव चुरिवालले बताए । कम्पनीमा सुब्रत धितालको ३१ प्रतिशत सेयर रहेको छ भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान र शशि चुरिवालको १५.९ प्रतिशतका दरले सेयर रहेको छ । ५.६ प्रतिशत सेयर अन्य साझेदारसँग रहेको छ । कम्पनीको सञ्चालक समितिमा उल्लेखित पाँचजना मुख्य सेयरधनी र सृजन अर्यालसहित ६ जना रहेका छन् । यस उद्योगमा ३०० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् भने केही वरिष्ठ प्राविधिक कर्मचारी (विदेशीसमेत) आवद्ध रहेका छन् । उत्पादन क्षमता प्रतिवर्ष लगभग ४ करोड १५ लाख वर्ग फुट छ । व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स र मल, अस्पताल, अपार्टमेन्ट सबैलाई आवश्यक टायल उत्पादन गर्न थालिएको चुरिवालले बताए । अत्याधुनिक मेसिन, डडेलधुरामा खानी टायल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतमा विकसित प्रविधि र मेसिनहरूको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले डिजिटल प्रिन्टर र गुणस्तर जाँच गर्ने मेसिन इटालीबाट ल्याएको छ । मसी र ग्लेज पनि स्पेन र इटालीबाट ल्याइएको छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने माटो भारतबाट ल्याउने गरिएको छ । ‘हामीले उत्पादनको सुरुवातमा भारतबाट कच्चा पदार्थ ल्याएका छौं । कच्चा पदार्थ पनि पूर्णरूपमा नेपाली नै प्रयोग गर्ने गरी काम गरिरहेका छौं, ’ चुरिवालले भने, ‘टायल बनाउने माटोको लागि डडेलधुरामा खानीको लाइसेन्स कम्पनीले पाएको छ । हामी छिट्टै उत्खननको प्रक्रियामा जानेछौं ।’ डडेलधुरामा खानी सञ्चालनमा आएसँगै टायल उद्योगले खपत गर्ने कच्चा पदार्थ, बिजुली, श्रमिक सबै नेपाली हुनेछन् । सिमेन्ट उद्योग जस्तै टायल उद्योग पनि नेपालका लागि मूल्य-श्रृंखलामा उच्च लाभ भएको र आयातलाई पूर्णरूपमा विस्तापित गर्ने उद्योगको रूपमा विकास हुने सम्भावनालाई यस उद्योगले उजागर गरेको छ । गुणस्तरसँगै छनौटका अवसर सञ्चालक चुरिवालका अनुसार लेमिनारका सबै उत्पादन १०० प्रतिशत भिट्रीफाइड टायल हुन् जुन पानी प्रतिरोधी, बलियो र गैर-छिद्र हुन्छन् । यी घर भित्र र बाहिर, भित्ता र भुइँ, आवास र व्यावसायिक स्थानमा लगाउन सकिन्छ । गुणस्तरसँग उपभोक्तालाई छनौटको अवसर पनि कम्पनीले दिएको छ । उनका अनुसार लेमिनार ब्राण्डमा ५०० भन्दा बढी प्रकारका टायल छन् जुन डिजाइन, साइज, फिनिशिङ र प्रयोगमा भिन्न छन् । मूल्य २० प्रतिशत कम हाल लेमिनारले प्रतिवर्ग फुट टाइलको उपभोक्ता मूल्य ८० देखि २०० रुपैयाँसम्म तोकेको चुरिवालले बताए । यो मूल्य विदेशबाट आयातित टायलभन्दा करिब २० प्रतिशत कम भएको उनको भनाइ छ । नेपालमा टायल बजार एकदमै प्रारम्भिक अवस्थामा रहेको र बजार खेलाडीहरूको मूल्य निर्धारण रणनीति परिवर्तनसँगै यस कम्पनीले पनि मूल्य परिवर्तन गर्न सक्ने देखिन्छ । लेमिनारको टायलको गुणस्तर र मूल्यलाई हेर्दा नेपालीहरूले भविष्यमा उच्च गुणस्तरीय टायल कम मूल्यमा किन्ने सक्ने सम्भावना देखिन्छ, जसरी नेपालमा सिमेन्ट उद्योगहरूको विकाससँगै उपभोक्ताले राम्रो लाभ पाएका छन् । टायल बजार कोभिड-१९ को महामारी आउनु अघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो । सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको थियो ।  नेपालमा टायलको बजार वार्षिक १० प्रतिशतभन्दा बढीले विस्तार भएको अनुमान छ र हाल करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ । नेपाली उपभोक्ताको लागि उच्च गुणस्तरका टायल उपलब्ध गराउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित लेमिनार उद्योग स्थापना गरेको कम्पनीका अध्यक्ष सुब्रत धितालले बताए । ‘नेपालको प्रतिव्यक्ति टायल खपत यस क्षेत्रका देशहरूको तुलनामा कम छ । टायल खपत पनि बढ्दै जाने हामीलाई विश्वास छ । र, अबको केही वर्षमा नेपाल टाइल उत्पादन उद्योगमा पूर्ण आत्मनिर्भर हुनेछ, ’ अध्यक्ष धितालले भने । लेमिनारले बजारमा बलियो उपस्थिति जनाउँदै गर्दा अन्य ५ वटा टायल उद्योगहरू पनि सञ्चानमा आएका छन् । नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लामिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकोले बजारमा आफूहरू लिडर बन्ने विश्वास सञ्चालक अभिनव चुरिवालको छ । हाल देशका मुख्य सहरमा १०० भन्दा बढी लेमिनार टायलको डिलरहरू सञ्चालनमा आइसकेको र देशका सबै सहरमा उपस्थिति जनाउने उनले बताए । आर्थिक मन्दीले निर्माण क्षेत्रमा पनि मन्दी निम्त्याएको छ । टायल्सलगायत निर्माणसँग सम्बन्धित कुनै पनि उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती यही हो । अरूको नक्कल गर्दै व्यवसायमा लगानी गर्ने संस्कार पनि छँदैछ । नयाँ कम्पनी थपिँदै जाँदा सबै कम्पनीको व्यावसायिक जोखिम बढ्दै जाने देखिन्छ । तर नेपालमा टायल उद्योग आयात प्रतिस्थापनको लागि एकदमै राम्रो अवसर रहेको छ । १० समूहका टायल कम्पनीले आफ्ना उत्पादनहरूलाई विभिन्न १० समूहमा वर्गीकरण गरेको छ । पानी प्रतिरोधी, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, टेरेस र बालकोनी, आवासीय क्षेत्र, अनुहार, व्यावसायिक क्षेत्र इत्यादिका लागि सतह कायम राख्न उपयोगी ‘म्याट’ एउटा समूह हो । त्यस्तै, पानी प्रतिरोधी, मर्मत गर्न सजिलो, शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको भित्ता, व्यावसायिक क्षेत्र इत्यादिका लागि उपयुक्त चमकदार सतह भएको ‘चम्किलो’ टायल । लेमिनारको अर्को समूह हो म्याट नक्काशी जुन पानी प्रतिरोधी हुन्छ । यो टायल शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, व्यावसायिक क्षेत्रमा सजावटी रूपमा सुन्दर तरिकाले राख्न सकिन्छ । उच्च चमक अर्थात अल्ट्रा-चमक भएको अर्को समूहको टायल पानी प्रतिरोधी र सतह मर्मत गर्न सजिलो हुन्छ, जुन बेडरुमको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको पर्खाल र व्यावसायिक क्षेत्रमा मार्बलको विकल्पको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । कम्पनीले विशेष गरी पार्किङ, टेरेस, बाल्कोनी, पैदल मार्ग, बगैंचालगायतका सुख्खा र भिजेको बाह्य वातावरणमा सुरक्षाको लागि डिजाइन गरिएको उच्च-ग्रिप सतह भएको टायल पनि उत्पादन गर्छ । त्यस्तै, ठूला मल, सार्वजनिक भवन, कार्यालय भवन, लबी र लिफ्ट, पार्किङ, टेरेस र बालकोनी र अन्य निजी तथा व्यावसायिक स्थानहरू जस्ता उच्च ट्राफिक क्षेत्रहरूमा प्रयोग हुने १०० प्रतिशत एकरूपी पहिरन प्रतिरोधी टायलका लागि फुल बडी टायल बनाएको छ । त्यस्तै, व्यस्त क्षेत्रहरू जस्तै होटल, रेस्टुरेन्ट, स्टोर, बैठक कोठा, फोयर र अन्य व्यावसायिक स्थानहरूका लागि डिजाइन गरिएको विलासी अनुभूतिसहितको अतिरिक्त कडा सतह भएका घर्षण प्रतिरोधी टायल पनि उत्पादन गरेको छ । ‘स्थायित्व, डिजाइन र समाधान’ तीनवटै मोर्चामा प्रभावकारी हुन १०० प्रतिशत भिट्रीफाइड टायलहरूको पूर्ण दायरा विकास गरेका छौं । ग्राहकले लेमिनारमा सबै प्रकारका टायल पाउन सक्नेछन्, ’ सञ्चालक चुरिवालले बताए । १०० प्रतिशत भिट्रीफाइड पानी प्रतिरोधी हुने, कुनै पनि क्षति बिना अधिक लोडभार ग्रहण गर्न सक्ने, निर्माणको क्रममा ज्यादै कम क्षति हुने उनले बताए । नेपालको पहिलो १०० प्रतिशत भिट्रीफाइड टायल लेमिनार नै भएको पनि उनको दावी छ ।

कक्षा र कार्यकक्षमा कुशल कुलमान

काठमाडौं । साँझको साढे ७ बजे । मोबाइलमा घण्टी बज्यो । फोन उठाएँ, उताबाट आवाज आयो- ‘तपाईंलाई एमडी (म्यानेजिङ डाइरेक्टर) सरले समय दिनुहुन्छ, अहिले नेपाल विद्युत प्राधिकरण आउन सक्नुहुन्छ ? पंक्तिकार हस् आउँछु भन्दै प्राधिकरणतर्फ लागे । पंक्तिकारले कुराकानीका लागि प्राधिकरणका एमडी कुलमान घिसिङलाई समय मागेका थिए, घिसिङले साँझ साढे सात बजे प्राधिकरणमै बोलाए । विकासन्युजको कार्यालय पनि प्राधिकरणको मुख्यालय नजिकै रहेकोले हिड्दै प्राधिकरण पुग्न सजिलो भयो । फोटो पत्रकार रिसव चौधरी घर पुगिसकेका रहेछन् । पंक्तिकार माेटरसाइकल लिएर सोझै प्राधिकरण पुगे । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय सुनसान थियो । जाँदा र फर्कँदा गेटमा सुरक्षाकर्मी र सचिवालयमा एक जना कर्मचारी, ड्राइभरलाई हामीले देख्यौं, अरु कोही देखिएनन् । घिसिङ काममा व्यस्त । पंक्तिकारले सुरुमै जिज्ञासा राखे, ‘सर, अहिलेसम्म घर जानु भएको रहेनछ ? मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘८/९ बजे घर फर्किनु आदत बनिसक्यो, दिनभर विभिन्न मिटिङ तथा अफिसका साथीहरूसँग छलफलमै समय बित्छ, मेरो काम गर्ने समय नै यतिबेला हो ।’ विद्युत महसुल नतिरेपछि बत्ती काटिएको विषयमा पत्रकार सम्मेलनमा बताउने भन्दै अन्य विषयमा मात्र कुरा गर्न उनी तयारी भए । विद्यार्थी जीवन, प्राधिकरणको यात्रा, कुशल व्यवस्थापनमा उनले गरेका अभ्यास, अध्यारो नेपाललाई उज्यालो बनाउन उनले गरेका प्रयासबारे हामीले साढे नौ बजेसम्म कुरा गर्यौं । उनी घर पुग्दा करिब १० बज्यो नै । कति घण्टा काम गर्नुहुन्छ ? जवाफमा उनले भने, ‘बिहान ९ बजे अफिस आइपुग्छु, साँझ ८/९ बजे घर पुग्छु, म मिहिनेत गर्न रूचाउँछु, जसरी पनि नतिजा दिनुपर्छ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्छु ।’ उनले आफू सानैदेखि नै मिहिनेती स्वभावको रहेको बताउँदै आफ्नो बाल्यकालको काहानी सुनाए । वि.सं २०२७ सालमा रामेछापको बेथान गाउँपालिकामा जन्मेका कुलमान सानैदेखि मिहिनेती । देशलाई लोडसेडिङ मुक्त बनाएर ठूलो प्रशंसा र वाहीवाही पाएका उनी आफू भने टुकी बालेर रातभर पढेको दिनहरू अझैं स्मरण गर्छन् । ‘त्यतिबेला गाउँमा बत्ती, टेलिफोन, सडक केही पनि सुविधा थिएन, टुकी बालेर पढ्नु पर्थ्यो, बिहान भैंसीलाई घाँस काटेर त्यसपछि स्कुल जानु पर्थ्यो,’ उनी विगत सम्झिँदै भन्छन्, ‘म धेरै दुःख र मिहिनेत गर्ने मान्छे हो, मेरो मिहिनेत देखेर धेरैले मलाई माया गर्नुहुन्थ्यो ।’ आठ वर्षको हुँदा स्कुलमा भर्ना भएका उनको स्कुले पढाइको अनुभव भने गज्जबको छ । कुलमान एक र दुई कक्षामा प्रथम भए । तीन कक्षा नपढेर चारमा भर्ना भए । तर, चार कक्षामा पढ्नको लागि भने उनले एक घण्टाको उकालो हिडेर स्कुल जानु पर्थ्यो । बिहान भैंसीको लागि घाँस काटेर त्यसपछि एक घण्टाको उकालो हिडेर स्कुल जानु परेको संघर्षपूर्ण दिनहरु उनी अझै पनि स्मरण गर्छन् । उनी चार कक्षाबाट पाँच कक्षामा पनि पहिलो नै भए । पाँच कक्षाबाट नै विद्यालय टप गरे । त्यसपछि कुलमान काठमाडौंको बालसेवा माविमा सात कक्षामा भर्ना भए । उनका दाजुहरू काठमाडौंमा थान्का लेख्ने काम गर्थे । उनका दाजुहरूले उनलाई काठमाडौं ल्याए । उनी काठमाडौं आएर पनि धेरै मिहिनेत गरे । भन्छन्, ‘म पढ्नमा धेरै मिहिनेत गर्थें, कोठा वरिपरी बस्नेहरूले पनि यो केटा कति पढ्छ भनेर प्रश्न गर्थे,’ उनी स्कुले जीवन स्मरण गर्दै भन्छन्, ‘सात कक्षामा पनि पहिलो नै भएपछि स्कुलमा पनि धेरैले माया गर्न थाले ।’ बालसेवा माविका शिक्षकहरूले उनलाई राम्रो विद्यार्थी भएकोले बोर्डिङमा पढाउन उनका दाजुलाई सल्लाह दिए । सोही सल्लाह अनुसार अब उनी बानेश्वरमा रहेको अमरआदेश बोर्डिङ स्कुलमा पढ्ने भए । तर, सो स्कुलले उनलाई ८ कक्षामा भर्ना लिन मानेन । पछि फर्ष्ट ब्वाई भएको सर्टिफिकेट देखेपछि भर्ना दिएको कुलमान बताउँछन् । सुरुमा त उनलाई साँच्चिकै कठिन भयो । विस्तारै मिहिनेत गर्दै गए । सुरुको त्रैमासिक परीक्षामा एक/दुई विषयमा फेल भएका उनी वार्षिक परीक्षामा भने कक्षा फर्ष्ट नै भए । १६ वर्षको उमेरमा एसएलसी (हालको एसईई) दिएका उनी ५ नम्बरले बोर्ड टप हुनबाट पछि परे । ‘सबैले मलाई बोर्ड टप आउँछ भनेर आशा गरेका थिए, । तर, ५ नम्बरले पछि परें, साथी (महेश ढकाल) ले टप गरे,’ उनले भने । एसएलसीपछि उनी आइएस्सी पढ्न अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सी पास भएपछि उनी छात्रवृत्तिमा भारतमा इन्जिनियर पढ्न गए । सन् १९९४ मा भारतको बिहार टाटानगरमा रहेको रिजनल इन्टिच्युट अफ इन्जिनियरिङमा चार वर्ष पढे र नेपाल फर्किए । एकै पटक तीन ठाउँमा नाम स्कुले जीवनमा पढाइमा कुशल कुलमानले भारतबाट इन्जिनियरिङ पास गरेपछि सरकारी जागिर गर्ने सोच बनाए । उनले भारतबाट फर्किएलगत्तै तीन ठाउँमा आवेदन दिए । २०५१ सालमा नेपाल विद्युत प्राधिकरण, लोकसेवा आयोग र हवाइ विभागमा एकै पटक मौखिक र लिखित परीक्षामा नाम निस्किएर पनि सिफारिस भए । उनले कामका लागि प्राधिकरण नै रोजे । ‘प्राधिकरणमा फिल्ड र प्राविधिक काम हेर्नु पर्ने भएकोले पनि मैले प्राधिकरण रोजेको हुँ, त्यतिखेर २३ वर्षको थिएँ, प्राधिकरणमा सातौं तहमा नाम निकालें,’ उनले विगत स्मरण गर्दै भने, ‘म अफिसमै बसेरभन्दा पनि फिल्डमा काम गर्न चाहन्थें ।’ सातौं तहमा नाम निकालेका उनले ८ वर्ष सोही तहमा रहेर काम गरे । पछि आठौं तहमा नाम निकाले । पढाइमा एक कक्षा अपग्रेड गरेका उनले काममा पनि नवौं तह काम नगरी १०औं तहमा नाम निकाले । त्यही बिचमा एक जना सहसचिवका लागि खुला प्रतिस्पर्धा भयो । उनले लिखितमा नाम निकाले । अन्तर्वार्तामा दिनेश घिमिरेको नाम निस्कियो । घिमिरे मन्त्रालयको सचिवको रुपमा प्राधिकरणको सञ्चालक भए, घिसिङ प्रबन्ध निर्देशक । घिमिरेले गत मंसिरमा सचिवबाट अवकाश पाए । ‘यदि त्यतिबेला म सहसचिव भएको भए अहिले सचिव भएर म पनि अवकाश भइसकेको हुन्थें,’ उनी हाँस्दै जवाफ दिन्छन् । चिलिमेले चम्कायो १०औं तहमा काम गरिरहेका कुलमानलाई सरकारले चिलिमे जलविद्युत आयोजनाको एमडी बनाएर पठायो । त्यतिखेर चिलिमे परियोजना अगाडि बढ्न नसक्ने अवस्थामा थियो । स्थानीयले परियोजनाविरूद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले सेयरको माग गरिरहेका थिए । उनले ती सबै समस्याको समाधान गर्ने प्रयास गरे । नभन्दै एउटा सफल परियोजनाको रूपमा अगाडि बढाए । ‘म गएपछि स्थानीयहरूसँग समन्वय गरेर मुद्दा फिर्ता गर्न लगाएँ, १० प्रतिशत स्थानीय र पब्लिकलाई १५ प्रतिशत सेयर जारी गर्यौं । १०० रुपैयाँको सेयर २८१० रुपैयाँ पुग्यो,’ उनी भन्छन्, ‘त्यसपछि चिलिमेमा सबैको ध्यान गयो ।’ उनले सरकारको अपेक्षाअनुसार काम मात्रै गरेनन् स्थानीयलाई सेयर दिएर धनी समेत बनाए । ‘त्यो सेयरको नाफाबाट धेरै स्थानीयले काठमाडौंमा घर बनाए, जग्गा किने, कतिले व्यवसाय सुरु गरे, पछि त्यो सेयरमा दलाली पनि लागे, पछि सेयर बिक्री गर्नु हुँदैन भनेर स्थानीयमा सचेतना पनि जगायौं, ७ करोडको सेयर फिर्ता नै गर्न लगायौं,’ उनी भन्छन्, ‘त्यो परियोजना सफल बनेपछि धेरैले मलाई चिन्न थाले ।’ चिलिमेमा सफल काम गरेका उनलाई सरकारले फिर्ता बोलायो । त्यतिखेर उर्जामन्त्री थिइन् राधा ज्ञवाली । उनको चिलिमेबाट जिम्मेवारी मात्रै खोसिएन प्राधिकरणमा पनि उनलाई कामबिहिन बनाइयो । उनी जगेडामा परे । ‘म त्यतिखेर २४ घण्टा खट्ने मान्छेलाई सरकारले डेढ वर्षसम्म जगेडामा राख्यो, प्राधिकरणमा बस्ने कुर्सी पनि पाइनँ, कुर्सी नपाएपछि लाइब्रेरीमा गएर पढ्थें,’ निराश हुँदै उनी भन्छन्, ‘बिहान हाजिर गरेर लाइब्रेरीमा जान्थें, दिनभर पढेर साँझ हाजिर गरेर घर जान्थें ।’ कुलमानले त्यतिबेला राजीनामा दिने मनसाय पनि बनाए । तर, उनका केही सहकर्मीले रोके । त्यसपछि उनी ११औं तहमा बढुवा भए । दुई वर्षपछि सरकारले उनलाई राहुल गाड जलविद्युत आयोजनाको प्रमुखको जिम्मेवारी दिएर पठायो । त्यो पनि जीर्ण अवस्थामा रहेको आयोजनालाई उनले सफलताका साथ अगाडि बढाए । चिलिमे र राहुल गाड जलविद्युत आयोजनालाई सफलताका साथ अगाडि बढाएका कुलमानको नाम अब बजारमा सुनिन थाल्यो । सञ्चार माध्यमको नजरमा पनि कुलमान पर्न थाले । उनले एउटा अनुभव सुनाए- ‘एकपटक तत्कालीन राजा वीरेन्द्रको सवारी थियो, फागुनको अन्तिममा काम सुरु गरेर करिब ६ किलोमिटर लाइन बनाएर १ महिनामा काम सक्यौं, धेरैले अचम्म पनि माने,’ उनी भन्छन्, ‘म परियोजना प्रबन्धक वा जुनसुकै लेबलमा भएपनि प्रभावकारी र जिम्मेवारीबोध हुने गरी काम गर्छु, मेरै काम हो भनेर ओनरसिप लिएर काम गर्छु ।’ लोडसेडिङको अन्त्य, शाख र सम्पत्ति जोगियो चिलिमे र राहुल गाड जलविद्युतको जिम्मेवारी लिएर एक किसिमको प्रशंसाको पात्र बनिसकेका कुलमान अब नेपाल प्राधिकरणका एमडी बने । वि.सं २०७३ भदौमा उनी प्राधिकरणको एमडी बने । ११ तहमा बढुवा भएको एक वर्षमै उनी एमडी बने । प्राधिकरणमा १२ औं तह पनि हुन्छ । १२ औं तहमा काम नगरी प्राधिकरणको कार्यकारी प्रमुख बने । तर, त्यतिखेर पनि उनको प्राधिकरणभित्रकै कर्मचारीले साथ समेत नदिने अवस्था सिर्जना भयो । कारण थियो जुनियरलाई एमडी बनाएको । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिए । ‘मैले ११औं तहबाट राजीनामा दिएर कार्यकारी निर्देशक बनें, मभन्दा सिनियर धेरै थिए, सिनियरहरूले जुनियर आएर कसरी चलाउँछ भन्ने प्रश्न पनि गर्थे, मलाई काम गर्ने यही समय हो भन्ने हुटहुटी थियो,’ उनी भन्छन् । उनी आफू कर्मचारी मात्रैभन्दा पनि एउटा ओनरसिप नै लिएर काम गर्ने बताउँछन् । ‘कर्मचारीलाई कसरी मोटिभेट गर्ने, ठेकेदारलाई कसरी मनाउने, आफूले कसरी काम गर्ने भन्ने विषयमा म धेरै होमवर्क गर्छु, सोही अनुसार काम गर्छु, सफल पनि हुन्छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म धेरै मिहिनेत गर्छु ।’ उनी प्राधिकरणको एमडी हुँदा त्यतिधेरै ठूलो संस्थाको वित्तीय अवस्था नाजुक थियो । देश अँध्यारोमा थियो । उनी विगत स्मरण गर्दै भन्छन्, ‘सबैको मुखबाट यो अवस्था सुधार नै हुँदैन भन्ने कुरा सुनिन्थ्यो, जसले पनि प्राधिकरणको आलोचना गर्थे ।’ उनी प्राधिकरणको एमडी हुुँदा संस्थाको ३५ अर्ब रुपैयाँ सञ्चिति घाटा थियो । कर्मचारीलाई तलब खुबाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो, वर्षमा ९ अर्ब घाटा थियो । यो अवस्थाबाट गुज्रिरहेको संस्थालाई उनले जसरी पनि सुधार गर्ने र लोडसेडिङको अन्त्य गर्ने महत्वकांक्षा बोके । उनी एमडी बनेको अर्को वर्षदेखि प्राधिकरण नाफामा जान थाल्यो । पहिलो चरणमा काठमाडौंमा लोडसेडिङको अन्त्य भयो । ‘सर्वसाधारणलाई लोडसेडिङ अन्त्यको महसुस गराउनु पर्छ भन्ने सन्देश दिन शुरुमा काठमाडौंमा लोडसेडिङको अन्त्य भएको घोषणा गर्यौं, देशभर लोडसेडिङको अन्त्य गर्ने विषय सम्भव थिएन, मान्छेले लोडसेडिङको अन्त्य हुन्छ भन्ने विश्वास नै गरेका थिएनन्,’ उनी थप्छन्, ‘संस्था समस्यामा भएपनि ठूलो चुनौती लिन सकिन्छ भन्ने थियो, चुनौती पनि लिएँ ।’ एउटा नेतृत्वकर्ताका लागि नतिजा महत्वपूर्ण हो । एउटा व्यवस्थापकले २४ घण्टा नै खटेर काम गरे पनि उसले रिजल्ट दिन सकेन भने त्यसको कुनै महत्व हुँदैन । खेल खेल्दा जतिसुकै पसिना बगाए पनि गोल गर्न सकेन भने अर्थ नहुने उनी बताउँछन् । प्राधिकरणमा जागिर खाईसकेपछि घिसिङले पुल्चोकबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर पनि गरेका थिए । इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइट म्यानेज्मेन्ट विषयमा थेसिस गरेका थिए । एमडी भएपछि उनलाई त्यो विषयले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले व्यवस्थापन पनि पढेका छन् । त्यसैले पनि उनी एक कुशल व्यवस्थापक बनेका छन् । देशमा लोडसेडिङ अन्त्य गर्नका लागि पनि उनले ठूलो संघर्ष गर्नुपर्यो । ‘हाम्रो टीमवर्कले नै लोडसेडिङमुक्त सम्भव भएको हो, एमडी बन्दा सहयोग नगरेका साथीहरू पनि पछि सँगै आए, लोडसेडिङको अन्त्य भएपछि पब्लिकको साथ मिल्यो, लोडसेडिङको अन्त्य हुन्छ भन्ने कुरा प्राधिकरणभित्रका साथीहरूले कल्पना पनि गरेका थिएनन् । तर, पछि पब्लिकको पनि साथ आएपछि उनीहरू काम गर्न र टीमवर्क गर्न उत्साहित भए,’ अनुभव सुनाउँदै उनी भन्छन्, ‘टीमले नेतृत्वको विश्वास गर्न सक्नुपर्छ, जब टीमले नेतृत्वलाई विश्वास गर्दैन अनि काम हुँदैन ।’ नेतृत्वप्रतिको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ । प्राधिकरणभित्र रहेका १२/१३ हजार कर्मचारी र चार वटा ट्रेड युनियनलाई सँगै लिएर जानु पर्ने चुनौतीसँगै संस्थाको व्यवस्थापन, पूर्वाधार निर्माण लगायत विषयमा ठूलो चुनौती खेप्नु परेको उनी बताउँछन् । ‘विगतमा प्राधिकरणको ड्रेस लगाउने बित्तिकै बाटोमा कुट्छन् कि भन्ने त्रास हुन्थ्यो । तर, अहिले प्राधिकरणको कर्मचारी भन्ने बित्तिकै फरक किसिमको छाप बसेको छ, म्यानेज्मेन्टमा मोटिभिसन र पैसा दिएर मात्रै होइन, इमोसन पनि महत्वपूर्ण हो,’ उनले भने । ‘राइट म्यान इन दि राइट प्लेस’ ले संस्थालाई ठूलो प्रभाव पार्ने उनको अनुभव छ । उनी भन्छन्, ‘संस्थामा १० प्रतिशत राम्रो र १० प्रतिशत खराब मान्छे हुन्छन्, ८० प्रतिशत मान्छे नेतृत्वमा भरपर्छ, त्यो १० प्रतिशत मान्छेलाई समातेर काम गर्न सक्यो भने १० प्रतिशत खराब मान्छे लाइनमा आउँछन् । तर, काम राम्रो गर्न सकेन भने सबै १० प्रतिशत खराबको बाटोमा जान्छन्, त्यो कहाँ लग्ने भन्नेमा नेतृत्वको हात हुन्छ ।’ ६६ अर्ब नाफा, पुनः नियुक्ति चार वर्षको कार्यकाल सकेर कुलमान घिसिङ वि.सं २०७७ मा प्राधिकरणबाट बाहिरिए । एक कार्यकाल सफलरूपमा जिम्मेवारी निर्वाह गरेका उनी बाहिरिएपछि सरकारको नै आलोचना हुन सुरु भयो । ‘राम्रो मान्छेको पुनः नियुक्ती नगरेको’ भन्दै सर्वसाधारणबाट सरकारको समेत आलोचना भयो । ‘मलाई एउटै व्यक्ति त्यही सिटमा बस्नुहुँदैन भन्ने नै थियो, सरकारले कार्यकाल थप्दैन भन्ने पनि थाहा थियो, नथपेकोमा पनि कुनै गुनासो थिएन । तर, सर्वसाधारण र सञ्चार माध्यमले कुलमान दोहोरिनुपर्छ भनेर आवाज उठाए,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘काम गरेपछि सबैको साथ मिल्दो रहेछ भन्ने त्यतिबेला पनि धेरै बुझ्ने मौका मिल्यो ।’ सबैले उनलाई दोहोरिनुपर्छ भन्ने आवाज उठाएपछि उनी पुनः प्राधिकरणको एमडी बने । उनी २०७८ साल साउनमा पुनः प्राधिकरणको एमडी बनेका हुन् । यो अवधिमा पनि धेरै काम भएको उनको भनाइ छ । कुलमान घिसिङ प्रबन्ध निर्देशकमा नियुक्ती हुँदा प्राधिकरणको संचित नोक्सानी ३५ अर्ब रुपैयाँ थियो । एक वर्षमा करिब ९ अर्ब घाटा थियो । कर्मचारीलाई तलब खुवाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो । घोषित रूपमा दैनिक १५/१६ घण्टा लोडसेडिङ थियो । सबैले भन्न थालेका थिए, अब प्राधिकरण कहिल्यै उठ्दैन । पहिले ३५ अर्ब नोक्सानमा रहेको प्राधिकरण अहिले ३१ अर्ब नाफामा छ । यो हिसाबले प्राधिकरणले कुलमान एमडी भएपछि करिब ६६ अर्ब नाफा गरेको छ । ‘नाफा मात्रै होइन हामीले ठूलो लगानी पनि गरेका छौं, हामीलाई टुकी बालेको पीडा छ, हरेकले बिजुलीमा बसेर पढ्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो, यो ठूलो उपलब्धि हो,’ उनले भने । उनी भन्छन्, ‘म आउँदा विद्युत प्राधिकरणको रेभिन्यू वार्षिक ३२ अर्ब थियो, अहिले १ खर्ब २५ अर्ब पुगेको छ, भारतबाट विद्युत आयात गर्न पनि ठूलो सकस भोग्नु पर्थ्यो, पछि लाइन बनायौं, अहिले हामी त्यही लाइनबाट निर्यात गरिरहेका छौं, उनी भन्छन्, ‘ हिजो १५/२० अर्ब रुपैयाँ बराबरको आयात थियो, आज १५ अर्बको बिजुली निर्यात गरिरहेका छौं ।’ उनका अनुसार आगामी वर्ष एउटा सिजनमा ३० अर्ब रुपैयाँसम्मको बिजुली निर्यात गर्न सकिन्छ । सरकारी योजनाअनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुँदा ५ खर्बको बिजुली निर्यात हुने बताए । यसले देशको व्यापार घाटा कम गर्न धेरै सहयोग पुग्ने उनको भनाइ छ । ‘मैले जुन काम गरें त्यसमा सन्तुष्ट पनि बनें, यो एउटा ‘हर्ट सिट’ हो, निर्णय छिटो गर्नुपर्छ । तर, निर्णय गर्दा जोखिम पनि हुन सक्छ, आफूलाई कन्फिडेन्टमा राख्नुपर्छ, नेपालमा फसिन्छ कि भनेर तत्काल निर्णय नलिने अभ्यास छ, उनी प्रश्न गर्छन्, ‘निर्णय नगर्ने भए किन त्यो पोस्टमा बस्ने ?’ उनका अनुसार हाल २५ लाख ग्राहकले ३० रुपैयाँ बिजुली उपभोग गरिरहेका छन् भने कम रेटमा विद्युत उपभोग गर्नेको संख्या पनि ठूलो छ । आफू आएपछि बिजुलीको रेट घटाए पनि संस्था नाफामा जान सफल भएको उनको भनाइ छ । नेपालको विद्युत क्षेत्र आत्मनिर्भर भएर ६० प्रतिशतसम्म निर्यात गर्न सक्ने अवस्थामा चाँडै पुग्ने उनको भनाइ छ । आईपीओ जारी गरेर हाइड्रोमा लगानी प्राधिकरणले अब सर्वसाधारणका लागि आईपीओ पनि जारी गर्ने तयारी गरिरहेको छ । एमडी घिसिङका अनुसार अहिले प्राधिकरणको कुल भ्यालुएसन ७ खर्बको छ । त्यसलाई मोनिटाइज गर्नका लागि पनि आईपीओ जारी गर्नु परेको उनको भनाइ छ । उनले १० प्रतिशत सेयर जारी गर्ने तयारी भइरहेको बताए । ‘हामीले १० प्रतिशत सेयर जारी गरे पनि २५० रुपैयाँ प्रिमियम तोक्यौं भने डबल बनाउन सकिन्छ, अर्थमन्त्रालयबाट सहमति पनि मागिसकेका छौं, अब छिट्टै मन्त्रिपरिषद् जान्छ र पब्लिकलाई ६०/७० अर्बको सेयर जारी गर्छौं,’ उनले भने । त्यो रकम जलविद्युतमा नै लगानी हुने उनको भनाइ छ । त्यसले सर्वसाधारणलाई पनि फाइदा नै हुने उनले बताए । ‘तपाईंको घर छ र त्यसलाई बैंकमा राखेर व्यापार गर्नु भयो भने राम्रै हुन्छ । व्यापार पनि चल्छ, घर पनि रहन्छ । तर, घरलाई त्यतिकै राख्यो भने त्यो सम्पत्ति भएको महत्व नै हुँदैन, त्यसैले हामीले पब्लिकको लागि सेयर जारी गर्ने भनेका हौं, हामीसँग ठूला प्रोजेक्ट छन्, आएको पैसा रिइन्भेष्ट गर्ने हो,’ उनले भने । १० वर्षपछि देश सम्वृद्ध बन्छ कार्यकारी निर्देशक घिसिङ सबैको मुखबाट देश बिग्रियो, खत्तमै भयो भन्ने धारणाहरू सुनेर अचम्ममा पर्छन् । युवाहरू विदेश गएको ट्रेण्डलाई हेरेर धेरै नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘देश खत्तम भयो भनेर अधिकांशले बच्चाहरूको मेन्टल नै डिस्टर्ब गरिरहेका छन्, म पोजिटिभ कुरा गर्छु, विकास जति गाउँमा छ तर युवा जति विदेशमा छन्, चीनको मान्छे पनि विदेशमै छन्, युरोपबाट एसिया आउन चाहन्छन्, यो ग्लोबल ट्रेण्ड हो, यो विषयमा धेरै चिन्तित हुनु पर्ने म देख्दिनँ, एक पटक भारतबाट धेरै ठूलो जनसंख्या बाहिरिएको थियो । तर, अहिले स्वदेशमा फर्किने ट्रेण्ड सुरु भएको छ, नेपालमा पनि एकदिन त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले चिन्तित हुनु पर्ने अवस्था छैन ।’ अहिले विदेशिएका युवा ५/१० वर्षपछि नेपालमा नै फर्किने उनको तर्क छ । ‘नेपालमा अवसर र सम्भावना पनि धेरै छ, अबको ५/१० वर्षमा सम्वृद्धिको बाटो लिन्छ, हावापानी राम्रो छ, दुई ठूलो देशको बिचमा छ, बाहिर गएकाहरू अनुभव र पैसा ल्याउँछन् र त्यो अनुभव र पैसा लिएर नेपालमा आएर काम गर्छन्, त्यसले देशलाई सम्वृद्ध नै बनाउँछ,’ उनी भन्छन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल