टायल बजारमा लेमिनारको उदय, १२ अर्बको आयात विस्थापित गर्ने लक्ष्य
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि श्री एयरको उडान समय मध्यान्न १२ः१५ मा थियो तर जहाज उड्दा २ बज्यो । उडान ढिला भएकाले नेपालगञ्जस्थित सिद्धार्थ होटलमा २ बजे खाना खाने कार्यक्रम रद्द गरिएछ । एयरपोर्टबाट मिडिया टुरको गाडी सरासर गुलरिया-८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्यो । उद्योगभित्र छिरेका बसहरू सोझै क्यानटिनको ढोकामा पुगे । स्वादिलो समोसा, पुरी, तरकारी र चियाले सबैको भोक मर्यो । कम्पनीका अध्यक्ष सुब्रत धिताल, सञ्चालक अभिनव चुरिवालसहित कम्पनीका कर्मचारी पत्रकारहरूलाई उद्योग भ्रमण गराउन खटिए । करिब तीन दर्जन पत्रकारका हातमा वाकीटकी थमाए र कानमा एअरसेट लगाइदिए । १२.५ बिगा क्षेत्रफलमा फैलिएको उद्योग भ्रमणका लागि एक घण्टाभन्दा बढी समय लाग्यो । सञ्चालक अभिनव चुरिवालले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ- विभिन्न प्रकारका माटोहरूलाई प्रशोधन गर्ने, मिश्रण गर्ने, भट्टीमा तताएर ग्यासको रूपमा विकास गर्ने, त्यसलाई पानीमा मिसाउने, त्यसपछि टायलको रूपमा विकास गर्ने, टायललाई पोल्ने, चिस्याउने, पखाल्ने, कलर गर्ने, प्रिन्ट गर्ने, गुणस्तर जाँच गर्ने, प्याकेजिङ गर्ने प्रक्रियादेखि उद्योगभित्र रहेको शोरुमसम्म सबै प्रक्रिया देखाउँदै बेलिविस्तार सुनाए । उनले उद्योगभित्र टायल कसरी बन्छ भनेर मात्र देखाएनन्, टायल कति बलियो छ र कति गुणस्तरी छ भनेर पत्रकारहरूलाई जीवन्त प्रदर्शनीसमेत गरे । उद्योगको पुरै भ्रमण गर्दा कहीं कतै फोटो, भिडियो खिच्न रोकतोक नलगाउनुले उनीहरूको पारदर्शीता र आत्मविश्वासकाे झल्को दियो । सुब्रत धिताल, श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान, अभिनव चुरिवालसहितका उद्यमीहरूले एउटा गजबको उद्योग खोलेका रहेछन् । ‘उद्योग राम्रो लाग्यो, यस्ता उद्योगले देश विकासमा मद्दत गर्छ, ’ उद्योग भ्रमणपछि कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीले साथीहरूसँग टिप्पणी गरे । लुम्बिनी सेरामिक्स लिमिटेडले गत भदौदेखि लामिनार टायल उत्पादन थालेको छ । देशका प्रमुख सहरमा १०० भन्दा बढी डिपोबाट लेमिनार बिक्री सुरु भइरहको चुरिवालले जानकारी दिए । ४ अर्ब लगानी यस उद्योगमा करिब ४ अर्ब रुपैयाँ लगानी भएको अभिनव चुरिवालले बताए । कम्पनीमा सुब्रत धितालको ३१ प्रतिशत सेयर रहेको छ भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान र शशि चुरिवालको १५.९ प्रतिशतका दरले सेयर रहेको छ । ५.६ प्रतिशत सेयर अन्य साझेदारसँग रहेको छ । कम्पनीको सञ्चालक समितिमा उल्लेखित पाँचजना मुख्य सेयरधनी र सृजन अर्यालसहित ६ जना रहेका छन् । यस उद्योगमा ३०० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् भने केही वरिष्ठ प्राविधिक कर्मचारी (विदेशीसमेत) आवद्ध रहेका छन् । उत्पादन क्षमता प्रतिवर्ष लगभग ४ करोड १५ लाख वर्ग फुट छ । व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स र मल, अस्पताल, अपार्टमेन्ट सबैलाई आवश्यक टायल उत्पादन गर्न थालिएको चुरिवालले बताए । अत्याधुनिक मेसिन, डडेलधुरामा खानी टायल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतमा विकसित प्रविधि र मेसिनहरूको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले डिजिटल प्रिन्टर र गुणस्तर जाँच गर्ने मेसिन इटालीबाट ल्याएको छ । मसी र ग्लेज पनि स्पेन र इटालीबाट ल्याइएको छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने माटो भारतबाट ल्याउने गरिएको छ । ‘हामीले उत्पादनको सुरुवातमा भारतबाट कच्चा पदार्थ ल्याएका छौं । कच्चा पदार्थ पनि पूर्णरूपमा नेपाली नै प्रयोग गर्ने गरी काम गरिरहेका छौं, ’ चुरिवालले भने, ‘टायल बनाउने माटोको लागि डडेलधुरामा खानीको लाइसेन्स कम्पनीले पाएको छ । हामी छिट्टै उत्खननको प्रक्रियामा जानेछौं ।’ डडेलधुरामा खानी सञ्चालनमा आएसँगै टायल उद्योगले खपत गर्ने कच्चा पदार्थ, बिजुली, श्रमिक सबै नेपाली हुनेछन् । सिमेन्ट उद्योग जस्तै टायल उद्योग पनि नेपालका लागि मूल्य-श्रृंखलामा उच्च लाभ भएको र आयातलाई पूर्णरूपमा विस्तापित गर्ने उद्योगको रूपमा विकास हुने सम्भावनालाई यस उद्योगले उजागर गरेको छ । गुणस्तरसँगै छनौटका अवसर सञ्चालक चुरिवालका अनुसार लेमिनारका सबै उत्पादन १०० प्रतिशत भिट्रीफाइड टायल हुन् जुन पानी प्रतिरोधी, बलियो र गैर-छिद्र हुन्छन् । यी घर भित्र र बाहिर, भित्ता र भुइँ, आवास र व्यावसायिक स्थानमा लगाउन सकिन्छ । गुणस्तरसँग उपभोक्तालाई छनौटको अवसर पनि कम्पनीले दिएको छ । उनका अनुसार लेमिनार ब्राण्डमा ५०० भन्दा बढी प्रकारका टायल छन् जुन डिजाइन, साइज, फिनिशिङ र प्रयोगमा भिन्न छन् । मूल्य २० प्रतिशत कम हाल लेमिनारले प्रतिवर्ग फुट टाइलको उपभोक्ता मूल्य ८० देखि २०० रुपैयाँसम्म तोकेको चुरिवालले बताए । यो मूल्य विदेशबाट आयातित टायलभन्दा करिब २० प्रतिशत कम भएको उनको भनाइ छ । नेपालमा टायल बजार एकदमै प्रारम्भिक अवस्थामा रहेको र बजार खेलाडीहरूको मूल्य निर्धारण रणनीति परिवर्तनसँगै यस कम्पनीले पनि मूल्य परिवर्तन गर्न सक्ने देखिन्छ । लेमिनारको टायलको गुणस्तर र मूल्यलाई हेर्दा नेपालीहरूले भविष्यमा उच्च गुणस्तरीय टायल कम मूल्यमा किन्ने सक्ने सम्भावना देखिन्छ, जसरी नेपालमा सिमेन्ट उद्योगहरूको विकाससँगै उपभोक्ताले राम्रो लाभ पाएका छन् । टायल बजार कोभिड-१९ को महामारी आउनु अघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो । सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको थियो । नेपालमा टायलको बजार वार्षिक १० प्रतिशतभन्दा बढीले विस्तार भएको अनुमान छ र हाल करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ । नेपाली उपभोक्ताको लागि उच्च गुणस्तरका टायल उपलब्ध गराउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित लेमिनार उद्योग स्थापना गरेको कम्पनीका अध्यक्ष सुब्रत धितालले बताए । ‘नेपालको प्रतिव्यक्ति टायल खपत यस क्षेत्रका देशहरूको तुलनामा कम छ । टायल खपत पनि बढ्दै जाने हामीलाई विश्वास छ । र, अबको केही वर्षमा नेपाल टाइल उत्पादन उद्योगमा पूर्ण आत्मनिर्भर हुनेछ, ’ अध्यक्ष धितालले भने । लेमिनारले बजारमा बलियो उपस्थिति जनाउँदै गर्दा अन्य ५ वटा टायल उद्योगहरू पनि सञ्चानमा आएका छन् । नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लामिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकोले बजारमा आफूहरू लिडर बन्ने विश्वास सञ्चालक अभिनव चुरिवालको छ । हाल देशका मुख्य सहरमा १०० भन्दा बढी लेमिनार टायलको डिलरहरू सञ्चालनमा आइसकेको र देशका सबै सहरमा उपस्थिति जनाउने उनले बताए । आर्थिक मन्दीले निर्माण क्षेत्रमा पनि मन्दी निम्त्याएको छ । टायल्सलगायत निर्माणसँग सम्बन्धित कुनै पनि उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती यही हो । अरूको नक्कल गर्दै व्यवसायमा लगानी गर्ने संस्कार पनि छँदैछ । नयाँ कम्पनी थपिँदै जाँदा सबै कम्पनीको व्यावसायिक जोखिम बढ्दै जाने देखिन्छ । तर नेपालमा टायल उद्योग आयात प्रतिस्थापनको लागि एकदमै राम्रो अवसर रहेको छ । १० समूहका टायल कम्पनीले आफ्ना उत्पादनहरूलाई विभिन्न १० समूहमा वर्गीकरण गरेको छ । पानी प्रतिरोधी, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, टेरेस र बालकोनी, आवासीय क्षेत्र, अनुहार, व्यावसायिक क्षेत्र इत्यादिका लागि सतह कायम राख्न उपयोगी ‘म्याट’ एउटा समूह हो । त्यस्तै, पानी प्रतिरोधी, मर्मत गर्न सजिलो, शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको भित्ता, व्यावसायिक क्षेत्र इत्यादिका लागि उपयुक्त चमकदार सतह भएको ‘चम्किलो’ टायल । लेमिनारको अर्को समूह हो म्याट नक्काशी जुन पानी प्रतिरोधी हुन्छ । यो टायल शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, व्यावसायिक क्षेत्रमा सजावटी रूपमा सुन्दर तरिकाले राख्न सकिन्छ । उच्च चमक अर्थात अल्ट्रा-चमक भएको अर्को समूहको टायल पानी प्रतिरोधी र सतह मर्मत गर्न सजिलो हुन्छ, जुन बेडरुमको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको पर्खाल र व्यावसायिक क्षेत्रमा मार्बलको विकल्पको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । कम्पनीले विशेष गरी पार्किङ, टेरेस, बाल्कोनी, पैदल मार्ग, बगैंचालगायतका सुख्खा र भिजेको बाह्य वातावरणमा सुरक्षाको लागि डिजाइन गरिएको उच्च-ग्रिप सतह भएको टायल पनि उत्पादन गर्छ । त्यस्तै, ठूला मल, सार्वजनिक भवन, कार्यालय भवन, लबी र लिफ्ट, पार्किङ, टेरेस र बालकोनी र अन्य निजी तथा व्यावसायिक स्थानहरू जस्ता उच्च ट्राफिक क्षेत्रहरूमा प्रयोग हुने १०० प्रतिशत एकरूपी पहिरन प्रतिरोधी टायलका लागि फुल बडी टायल बनाएको छ । त्यस्तै, व्यस्त क्षेत्रहरू जस्तै होटल, रेस्टुरेन्ट, स्टोर, बैठक कोठा, फोयर र अन्य व्यावसायिक स्थानहरूका लागि डिजाइन गरिएको विलासी अनुभूतिसहितको अतिरिक्त कडा सतह भएका घर्षण प्रतिरोधी टायल पनि उत्पादन गरेको छ । ‘स्थायित्व, डिजाइन र समाधान’ तीनवटै मोर्चामा प्रभावकारी हुन १०० प्रतिशत भिट्रीफाइड टायलहरूको पूर्ण दायरा विकास गरेका छौं । ग्राहकले लेमिनारमा सबै प्रकारका टायल पाउन सक्नेछन्, ’ सञ्चालक चुरिवालले बताए । १०० प्रतिशत भिट्रीफाइड पानी प्रतिरोधी हुने, कुनै पनि क्षति बिना अधिक लोडभार ग्रहण गर्न सक्ने, निर्माणको क्रममा ज्यादै कम क्षति हुने उनले बताए । नेपालको पहिलो १०० प्रतिशत भिट्रीफाइड टायल लेमिनार नै भएको पनि उनको दावी छ ।
कक्षा र कार्यकक्षमा कुशल कुलमान
काठमाडौं । साँझको साढे ७ बजे । मोबाइलमा घण्टी बज्यो । फोन उठाएँ, उताबाट आवाज आयो- ‘तपाईंलाई एमडी (म्यानेजिङ डाइरेक्टर) सरले समय दिनुहुन्छ, अहिले नेपाल विद्युत प्राधिकरण आउन सक्नुहुन्छ ? पंक्तिकार हस् आउँछु भन्दै प्राधिकरणतर्फ लागे । पंक्तिकारले कुराकानीका लागि प्राधिकरणका एमडी कुलमान घिसिङलाई समय मागेका थिए, घिसिङले साँझ साढे सात बजे प्राधिकरणमै बोलाए । विकासन्युजको कार्यालय पनि प्राधिकरणको मुख्यालय नजिकै रहेकोले हिड्दै प्राधिकरण पुग्न सजिलो भयो । फोटो पत्रकार रिसव चौधरी घर पुगिसकेका रहेछन् । पंक्तिकार माेटरसाइकल लिएर सोझै प्राधिकरण पुगे । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय सुनसान थियो । जाँदा र फर्कँदा गेटमा सुरक्षाकर्मी र सचिवालयमा एक जना कर्मचारी, ड्राइभरलाई हामीले देख्यौं, अरु कोही देखिएनन् । घिसिङ काममा व्यस्त । पंक्तिकारले सुरुमै जिज्ञासा राखे, ‘सर, अहिलेसम्म घर जानु भएको रहेनछ ? मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘८/९ बजे घर फर्किनु आदत बनिसक्यो, दिनभर विभिन्न मिटिङ तथा अफिसका साथीहरूसँग छलफलमै समय बित्छ, मेरो काम गर्ने समय नै यतिबेला हो ।’ विद्युत महसुल नतिरेपछि बत्ती काटिएको विषयमा पत्रकार सम्मेलनमा बताउने भन्दै अन्य विषयमा मात्र कुरा गर्न उनी तयारी भए । विद्यार्थी जीवन, प्राधिकरणको यात्रा, कुशल व्यवस्थापनमा उनले गरेका अभ्यास, अध्यारो नेपाललाई उज्यालो बनाउन उनले गरेका प्रयासबारे हामीले साढे नौ बजेसम्म कुरा गर्यौं । उनी घर पुग्दा करिब १० बज्यो नै । कति घण्टा काम गर्नुहुन्छ ? जवाफमा उनले भने, ‘बिहान ९ बजे अफिस आइपुग्छु, साँझ ८/९ बजे घर पुग्छु, म मिहिनेत गर्न रूचाउँछु, जसरी पनि नतिजा दिनुपर्छ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्छु ।’ उनले आफू सानैदेखि नै मिहिनेती स्वभावको रहेको बताउँदै आफ्नो बाल्यकालको काहानी सुनाए । वि.सं २०२७ सालमा रामेछापको बेथान गाउँपालिकामा जन्मेका कुलमान सानैदेखि मिहिनेती । देशलाई लोडसेडिङ मुक्त बनाएर ठूलो प्रशंसा र वाहीवाही पाएका उनी आफू भने टुकी बालेर रातभर पढेको दिनहरू अझैं स्मरण गर्छन् । ‘त्यतिबेला गाउँमा बत्ती, टेलिफोन, सडक केही पनि सुविधा थिएन, टुकी बालेर पढ्नु पर्थ्यो, बिहान भैंसीलाई घाँस काटेर त्यसपछि स्कुल जानु पर्थ्यो,’ उनी विगत सम्झिँदै भन्छन्, ‘म धेरै दुःख र मिहिनेत गर्ने मान्छे हो, मेरो मिहिनेत देखेर धेरैले मलाई माया गर्नुहुन्थ्यो ।’ आठ वर्षको हुँदा स्कुलमा भर्ना भएका उनको स्कुले पढाइको अनुभव भने गज्जबको छ । कुलमान एक र दुई कक्षामा प्रथम भए । तीन कक्षा नपढेर चारमा भर्ना भए । तर, चार कक्षामा पढ्नको लागि भने उनले एक घण्टाको उकालो हिडेर स्कुल जानु पर्थ्यो । बिहान भैंसीको लागि घाँस काटेर त्यसपछि एक घण्टाको उकालो हिडेर स्कुल जानु परेको संघर्षपूर्ण दिनहरु उनी अझै पनि स्मरण गर्छन् । उनी चार कक्षाबाट पाँच कक्षामा पनि पहिलो नै भए । पाँच कक्षाबाट नै विद्यालय टप गरे । त्यसपछि कुलमान काठमाडौंको बालसेवा माविमा सात कक्षामा भर्ना भए । उनका दाजुहरू काठमाडौंमा थान्का लेख्ने काम गर्थे । उनका दाजुहरूले उनलाई काठमाडौं ल्याए । उनी काठमाडौं आएर पनि धेरै मिहिनेत गरे । भन्छन्, ‘म पढ्नमा धेरै मिहिनेत गर्थें, कोठा वरिपरी बस्नेहरूले पनि यो केटा कति पढ्छ भनेर प्रश्न गर्थे,’ उनी स्कुले जीवन स्मरण गर्दै भन्छन्, ‘सात कक्षामा पनि पहिलो नै भएपछि स्कुलमा पनि धेरैले माया गर्न थाले ।’ बालसेवा माविका शिक्षकहरूले उनलाई राम्रो विद्यार्थी भएकोले बोर्डिङमा पढाउन उनका दाजुलाई सल्लाह दिए । सोही सल्लाह अनुसार अब उनी बानेश्वरमा रहेको अमरआदेश बोर्डिङ स्कुलमा पढ्ने भए । तर, सो स्कुलले उनलाई ८ कक्षामा भर्ना लिन मानेन । पछि फर्ष्ट ब्वाई भएको सर्टिफिकेट देखेपछि भर्ना दिएको कुलमान बताउँछन् । सुरुमा त उनलाई साँच्चिकै कठिन भयो । विस्तारै मिहिनेत गर्दै गए । सुरुको त्रैमासिक परीक्षामा एक/दुई विषयमा फेल भएका उनी वार्षिक परीक्षामा भने कक्षा फर्ष्ट नै भए । १६ वर्षको उमेरमा एसएलसी (हालको एसईई) दिएका उनी ५ नम्बरले बोर्ड टप हुनबाट पछि परे । ‘सबैले मलाई बोर्ड टप आउँछ भनेर आशा गरेका थिए, । तर, ५ नम्बरले पछि परें, साथी (महेश ढकाल) ले टप गरे,’ उनले भने । एसएलसीपछि उनी आइएस्सी पढ्न अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सी पास भएपछि उनी छात्रवृत्तिमा भारतमा इन्जिनियर पढ्न गए । सन् १९९४ मा भारतको बिहार टाटानगरमा रहेको रिजनल इन्टिच्युट अफ इन्जिनियरिङमा चार वर्ष पढे र नेपाल फर्किए । एकै पटक तीन ठाउँमा नाम स्कुले जीवनमा पढाइमा कुशल कुलमानले भारतबाट इन्जिनियरिङ पास गरेपछि सरकारी जागिर गर्ने सोच बनाए । उनले भारतबाट फर्किएलगत्तै तीन ठाउँमा आवेदन दिए । २०५१ सालमा नेपाल विद्युत प्राधिकरण, लोकसेवा आयोग र हवाइ विभागमा एकै पटक मौखिक र लिखित परीक्षामा नाम निस्किएर पनि सिफारिस भए । उनले कामका लागि प्राधिकरण नै रोजे । ‘प्राधिकरणमा फिल्ड र प्राविधिक काम हेर्नु पर्ने भएकोले पनि मैले प्राधिकरण रोजेको हुँ, त्यतिखेर २३ वर्षको थिएँ, प्राधिकरणमा सातौं तहमा नाम निकालें,’ उनले विगत स्मरण गर्दै भने, ‘म अफिसमै बसेरभन्दा पनि फिल्डमा काम गर्न चाहन्थें ।’ सातौं तहमा नाम निकालेका उनले ८ वर्ष सोही तहमा रहेर काम गरे । पछि आठौं तहमा नाम निकाले । पढाइमा एक कक्षा अपग्रेड गरेका उनले काममा पनि नवौं तह काम नगरी १०औं तहमा नाम निकाले । त्यही बिचमा एक जना सहसचिवका लागि खुला प्रतिस्पर्धा भयो । उनले लिखितमा नाम निकाले । अन्तर्वार्तामा दिनेश घिमिरेको नाम निस्कियो । घिमिरे मन्त्रालयको सचिवको रुपमा प्राधिकरणको सञ्चालक भए, घिसिङ प्रबन्ध निर्देशक । घिमिरेले गत मंसिरमा सचिवबाट अवकाश पाए । ‘यदि त्यतिबेला म सहसचिव भएको भए अहिले सचिव भएर म पनि अवकाश भइसकेको हुन्थें,’ उनी हाँस्दै जवाफ दिन्छन् । चिलिमेले चम्कायो १०औं तहमा काम गरिरहेका कुलमानलाई सरकारले चिलिमे जलविद्युत आयोजनाको एमडी बनाएर पठायो । त्यतिखेर चिलिमे परियोजना अगाडि बढ्न नसक्ने अवस्थामा थियो । स्थानीयले परियोजनाविरूद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले सेयरको माग गरिरहेका थिए । उनले ती सबै समस्याको समाधान गर्ने प्रयास गरे । नभन्दै एउटा सफल परियोजनाको रूपमा अगाडि बढाए । ‘म गएपछि स्थानीयहरूसँग समन्वय गरेर मुद्दा फिर्ता गर्न लगाएँ, १० प्रतिशत स्थानीय र पब्लिकलाई १५ प्रतिशत सेयर जारी गर्यौं । १०० रुपैयाँको सेयर २८१० रुपैयाँ पुग्यो,’ उनी भन्छन्, ‘त्यसपछि चिलिमेमा सबैको ध्यान गयो ।’ उनले सरकारको अपेक्षाअनुसार काम मात्रै गरेनन् स्थानीयलाई सेयर दिएर धनी समेत बनाए । ‘त्यो सेयरको नाफाबाट धेरै स्थानीयले काठमाडौंमा घर बनाए, जग्गा किने, कतिले व्यवसाय सुरु गरे, पछि त्यो सेयरमा दलाली पनि लागे, पछि सेयर बिक्री गर्नु हुँदैन भनेर स्थानीयमा सचेतना पनि जगायौं, ७ करोडको सेयर फिर्ता नै गर्न लगायौं,’ उनी भन्छन्, ‘त्यो परियोजना सफल बनेपछि धेरैले मलाई चिन्न थाले ।’ चिलिमेमा सफल काम गरेका उनलाई सरकारले फिर्ता बोलायो । त्यतिखेर उर्जामन्त्री थिइन् राधा ज्ञवाली । उनको चिलिमेबाट जिम्मेवारी मात्रै खोसिएन प्राधिकरणमा पनि उनलाई कामबिहिन बनाइयो । उनी जगेडामा परे । ‘म त्यतिखेर २४ घण्टा खट्ने मान्छेलाई सरकारले डेढ वर्षसम्म जगेडामा राख्यो, प्राधिकरणमा बस्ने कुर्सी पनि पाइनँ, कुर्सी नपाएपछि लाइब्रेरीमा गएर पढ्थें,’ निराश हुँदै उनी भन्छन्, ‘बिहान हाजिर गरेर लाइब्रेरीमा जान्थें, दिनभर पढेर साँझ हाजिर गरेर घर जान्थें ।’ कुलमानले त्यतिबेला राजीनामा दिने मनसाय पनि बनाए । तर, उनका केही सहकर्मीले रोके । त्यसपछि उनी ११औं तहमा बढुवा भए । दुई वर्षपछि सरकारले उनलाई राहुल गाड जलविद्युत आयोजनाको प्रमुखको जिम्मेवारी दिएर पठायो । त्यो पनि जीर्ण अवस्थामा रहेको आयोजनालाई उनले सफलताका साथ अगाडि बढाए । चिलिमे र राहुल गाड जलविद्युत आयोजनालाई सफलताका साथ अगाडि बढाएका कुलमानको नाम अब बजारमा सुनिन थाल्यो । सञ्चार माध्यमको नजरमा पनि कुलमान पर्न थाले । उनले एउटा अनुभव सुनाए- ‘एकपटक तत्कालीन राजा वीरेन्द्रको सवारी थियो, फागुनको अन्तिममा काम सुरु गरेर करिब ६ किलोमिटर लाइन बनाएर १ महिनामा काम सक्यौं, धेरैले अचम्म पनि माने,’ उनी भन्छन्, ‘म परियोजना प्रबन्धक वा जुनसुकै लेबलमा भएपनि प्रभावकारी र जिम्मेवारीबोध हुने गरी काम गर्छु, मेरै काम हो भनेर ओनरसिप लिएर काम गर्छु ।’ लोडसेडिङको अन्त्य, शाख र सम्पत्ति जोगियो चिलिमे र राहुल गाड जलविद्युतको जिम्मेवारी लिएर एक किसिमको प्रशंसाको पात्र बनिसकेका कुलमान अब नेपाल प्राधिकरणका एमडी बने । वि.सं २०७३ भदौमा उनी प्राधिकरणको एमडी बने । ११ तहमा बढुवा भएको एक वर्षमै उनी एमडी बने । प्राधिकरणमा १२ औं तह पनि हुन्छ । १२ औं तहमा काम नगरी प्राधिकरणको कार्यकारी प्रमुख बने । तर, त्यतिखेर पनि उनको प्राधिकरणभित्रकै कर्मचारीले साथ समेत नदिने अवस्था सिर्जना भयो । कारण थियो जुनियरलाई एमडी बनाएको । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिए । ‘मैले ११औं तहबाट राजीनामा दिएर कार्यकारी निर्देशक बनें, मभन्दा सिनियर धेरै थिए, सिनियरहरूले जुनियर आएर कसरी चलाउँछ भन्ने प्रश्न पनि गर्थे, मलाई काम गर्ने यही समय हो भन्ने हुटहुटी थियो,’ उनी भन्छन् । उनी आफू कर्मचारी मात्रैभन्दा पनि एउटा ओनरसिप नै लिएर काम गर्ने बताउँछन् । ‘कर्मचारीलाई कसरी मोटिभेट गर्ने, ठेकेदारलाई कसरी मनाउने, आफूले कसरी काम गर्ने भन्ने विषयमा म धेरै होमवर्क गर्छु, सोही अनुसार काम गर्छु, सफल पनि हुन्छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म धेरै मिहिनेत गर्छु ।’ उनी प्राधिकरणको एमडी हुँदा त्यतिधेरै ठूलो संस्थाको वित्तीय अवस्था नाजुक थियो । देश अँध्यारोमा थियो । उनी विगत स्मरण गर्दै भन्छन्, ‘सबैको मुखबाट यो अवस्था सुधार नै हुँदैन भन्ने कुरा सुनिन्थ्यो, जसले पनि प्राधिकरणको आलोचना गर्थे ।’ उनी प्राधिकरणको एमडी हुुँदा संस्थाको ३५ अर्ब रुपैयाँ सञ्चिति घाटा थियो । कर्मचारीलाई तलब खुबाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो, वर्षमा ९ अर्ब घाटा थियो । यो अवस्थाबाट गुज्रिरहेको संस्थालाई उनले जसरी पनि सुधार गर्ने र लोडसेडिङको अन्त्य गर्ने महत्वकांक्षा बोके । उनी एमडी बनेको अर्को वर्षदेखि प्राधिकरण नाफामा जान थाल्यो । पहिलो चरणमा काठमाडौंमा लोडसेडिङको अन्त्य भयो । ‘सर्वसाधारणलाई लोडसेडिङ अन्त्यको महसुस गराउनु पर्छ भन्ने सन्देश दिन शुरुमा काठमाडौंमा लोडसेडिङको अन्त्य भएको घोषणा गर्यौं, देशभर लोडसेडिङको अन्त्य गर्ने विषय सम्भव थिएन, मान्छेले लोडसेडिङको अन्त्य हुन्छ भन्ने विश्वास नै गरेका थिएनन्,’ उनी थप्छन्, ‘संस्था समस्यामा भएपनि ठूलो चुनौती लिन सकिन्छ भन्ने थियो, चुनौती पनि लिएँ ।’ एउटा नेतृत्वकर्ताका लागि नतिजा महत्वपूर्ण हो । एउटा व्यवस्थापकले २४ घण्टा नै खटेर काम गरे पनि उसले रिजल्ट दिन सकेन भने त्यसको कुनै महत्व हुँदैन । खेल खेल्दा जतिसुकै पसिना बगाए पनि गोल गर्न सकेन भने अर्थ नहुने उनी बताउँछन् । प्राधिकरणमा जागिर खाईसकेपछि घिसिङले पुल्चोकबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर पनि गरेका थिए । इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइट म्यानेज्मेन्ट विषयमा थेसिस गरेका थिए । एमडी भएपछि उनलाई त्यो विषयले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले व्यवस्थापन पनि पढेका छन् । त्यसैले पनि उनी एक कुशल व्यवस्थापक बनेका छन् । देशमा लोडसेडिङ अन्त्य गर्नका लागि पनि उनले ठूलो संघर्ष गर्नुपर्यो । ‘हाम्रो टीमवर्कले नै लोडसेडिङमुक्त सम्भव भएको हो, एमडी बन्दा सहयोग नगरेका साथीहरू पनि पछि सँगै आए, लोडसेडिङको अन्त्य भएपछि पब्लिकको साथ मिल्यो, लोडसेडिङको अन्त्य हुन्छ भन्ने कुरा प्राधिकरणभित्रका साथीहरूले कल्पना पनि गरेका थिएनन् । तर, पछि पब्लिकको पनि साथ आएपछि उनीहरू काम गर्न र टीमवर्क गर्न उत्साहित भए,’ अनुभव सुनाउँदै उनी भन्छन्, ‘टीमले नेतृत्वको विश्वास गर्न सक्नुपर्छ, जब टीमले नेतृत्वलाई विश्वास गर्दैन अनि काम हुँदैन ।’ नेतृत्वप्रतिको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ । प्राधिकरणभित्र रहेका १२/१३ हजार कर्मचारी र चार वटा ट्रेड युनियनलाई सँगै लिएर जानु पर्ने चुनौतीसँगै संस्थाको व्यवस्थापन, पूर्वाधार निर्माण लगायत विषयमा ठूलो चुनौती खेप्नु परेको उनी बताउँछन् । ‘विगतमा प्राधिकरणको ड्रेस लगाउने बित्तिकै बाटोमा कुट्छन् कि भन्ने त्रास हुन्थ्यो । तर, अहिले प्राधिकरणको कर्मचारी भन्ने बित्तिकै फरक किसिमको छाप बसेको छ, म्यानेज्मेन्टमा मोटिभिसन र पैसा दिएर मात्रै होइन, इमोसन पनि महत्वपूर्ण हो,’ उनले भने । ‘राइट म्यान इन दि राइट प्लेस’ ले संस्थालाई ठूलो प्रभाव पार्ने उनको अनुभव छ । उनी भन्छन्, ‘संस्थामा १० प्रतिशत राम्रो र १० प्रतिशत खराब मान्छे हुन्छन्, ८० प्रतिशत मान्छे नेतृत्वमा भरपर्छ, त्यो १० प्रतिशत मान्छेलाई समातेर काम गर्न सक्यो भने १० प्रतिशत खराब मान्छे लाइनमा आउँछन् । तर, काम राम्रो गर्न सकेन भने सबै १० प्रतिशत खराबको बाटोमा जान्छन्, त्यो कहाँ लग्ने भन्नेमा नेतृत्वको हात हुन्छ ।’ ६६ अर्ब नाफा, पुनः नियुक्ति चार वर्षको कार्यकाल सकेर कुलमान घिसिङ वि.सं २०७७ मा प्राधिकरणबाट बाहिरिए । एक कार्यकाल सफलरूपमा जिम्मेवारी निर्वाह गरेका उनी बाहिरिएपछि सरकारको नै आलोचना हुन सुरु भयो । ‘राम्रो मान्छेको पुनः नियुक्ती नगरेको’ भन्दै सर्वसाधारणबाट सरकारको समेत आलोचना भयो । ‘मलाई एउटै व्यक्ति त्यही सिटमा बस्नुहुँदैन भन्ने नै थियो, सरकारले कार्यकाल थप्दैन भन्ने पनि थाहा थियो, नथपेकोमा पनि कुनै गुनासो थिएन । तर, सर्वसाधारण र सञ्चार माध्यमले कुलमान दोहोरिनुपर्छ भनेर आवाज उठाए,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘काम गरेपछि सबैको साथ मिल्दो रहेछ भन्ने त्यतिबेला पनि धेरै बुझ्ने मौका मिल्यो ।’ सबैले उनलाई दोहोरिनुपर्छ भन्ने आवाज उठाएपछि उनी पुनः प्राधिकरणको एमडी बने । उनी २०७८ साल साउनमा पुनः प्राधिकरणको एमडी बनेका हुन् । यो अवधिमा पनि धेरै काम भएको उनको भनाइ छ । कुलमान घिसिङ प्रबन्ध निर्देशकमा नियुक्ती हुँदा प्राधिकरणको संचित नोक्सानी ३५ अर्ब रुपैयाँ थियो । एक वर्षमा करिब ९ अर्ब घाटा थियो । कर्मचारीलाई तलब खुवाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो । घोषित रूपमा दैनिक १५/१६ घण्टा लोडसेडिङ थियो । सबैले भन्न थालेका थिए, अब प्राधिकरण कहिल्यै उठ्दैन । पहिले ३५ अर्ब नोक्सानमा रहेको प्राधिकरण अहिले ३१ अर्ब नाफामा छ । यो हिसाबले प्राधिकरणले कुलमान एमडी भएपछि करिब ६६ अर्ब नाफा गरेको छ । ‘नाफा मात्रै होइन हामीले ठूलो लगानी पनि गरेका छौं, हामीलाई टुकी बालेको पीडा छ, हरेकले बिजुलीमा बसेर पढ्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो, यो ठूलो उपलब्धि हो,’ उनले भने । उनी भन्छन्, ‘म आउँदा विद्युत प्राधिकरणको रेभिन्यू वार्षिक ३२ अर्ब थियो, अहिले १ खर्ब २५ अर्ब पुगेको छ, भारतबाट विद्युत आयात गर्न पनि ठूलो सकस भोग्नु पर्थ्यो, पछि लाइन बनायौं, अहिले हामी त्यही लाइनबाट निर्यात गरिरहेका छौं, उनी भन्छन्, ‘ हिजो १५/२० अर्ब रुपैयाँ बराबरको आयात थियो, आज १५ अर्बको बिजुली निर्यात गरिरहेका छौं ।’ उनका अनुसार आगामी वर्ष एउटा सिजनमा ३० अर्ब रुपैयाँसम्मको बिजुली निर्यात गर्न सकिन्छ । सरकारी योजनाअनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुँदा ५ खर्बको बिजुली निर्यात हुने बताए । यसले देशको व्यापार घाटा कम गर्न धेरै सहयोग पुग्ने उनको भनाइ छ । ‘मैले जुन काम गरें त्यसमा सन्तुष्ट पनि बनें, यो एउटा ‘हर्ट सिट’ हो, निर्णय छिटो गर्नुपर्छ । तर, निर्णय गर्दा जोखिम पनि हुन सक्छ, आफूलाई कन्फिडेन्टमा राख्नुपर्छ, नेपालमा फसिन्छ कि भनेर तत्काल निर्णय नलिने अभ्यास छ, उनी प्रश्न गर्छन्, ‘निर्णय नगर्ने भए किन त्यो पोस्टमा बस्ने ?’ उनका अनुसार हाल २५ लाख ग्राहकले ३० रुपैयाँ बिजुली उपभोग गरिरहेका छन् भने कम रेटमा विद्युत उपभोग गर्नेको संख्या पनि ठूलो छ । आफू आएपछि बिजुलीको रेट घटाए पनि संस्था नाफामा जान सफल भएको उनको भनाइ छ । नेपालको विद्युत क्षेत्र आत्मनिर्भर भएर ६० प्रतिशतसम्म निर्यात गर्न सक्ने अवस्थामा चाँडै पुग्ने उनको भनाइ छ । आईपीओ जारी गरेर हाइड्रोमा लगानी प्राधिकरणले अब सर्वसाधारणका लागि आईपीओ पनि जारी गर्ने तयारी गरिरहेको छ । एमडी घिसिङका अनुसार अहिले प्राधिकरणको कुल भ्यालुएसन ७ खर्बको छ । त्यसलाई मोनिटाइज गर्नका लागि पनि आईपीओ जारी गर्नु परेको उनको भनाइ छ । उनले १० प्रतिशत सेयर जारी गर्ने तयारी भइरहेको बताए । ‘हामीले १० प्रतिशत सेयर जारी गरे पनि २५० रुपैयाँ प्रिमियम तोक्यौं भने डबल बनाउन सकिन्छ, अर्थमन्त्रालयबाट सहमति पनि मागिसकेका छौं, अब छिट्टै मन्त्रिपरिषद् जान्छ र पब्लिकलाई ६०/७० अर्बको सेयर जारी गर्छौं,’ उनले भने । त्यो रकम जलविद्युतमा नै लगानी हुने उनको भनाइ छ । त्यसले सर्वसाधारणलाई पनि फाइदा नै हुने उनले बताए । ‘तपाईंको घर छ र त्यसलाई बैंकमा राखेर व्यापार गर्नु भयो भने राम्रै हुन्छ । व्यापार पनि चल्छ, घर पनि रहन्छ । तर, घरलाई त्यतिकै राख्यो भने त्यो सम्पत्ति भएको महत्व नै हुँदैन, त्यसैले हामीले पब्लिकको लागि सेयर जारी गर्ने भनेका हौं, हामीसँग ठूला प्रोजेक्ट छन्, आएको पैसा रिइन्भेष्ट गर्ने हो,’ उनले भने । १० वर्षपछि देश सम्वृद्ध बन्छ कार्यकारी निर्देशक घिसिङ सबैको मुखबाट देश बिग्रियो, खत्तमै भयो भन्ने धारणाहरू सुनेर अचम्ममा पर्छन् । युवाहरू विदेश गएको ट्रेण्डलाई हेरेर धेरै नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘देश खत्तम भयो भनेर अधिकांशले बच्चाहरूको मेन्टल नै डिस्टर्ब गरिरहेका छन्, म पोजिटिभ कुरा गर्छु, विकास जति गाउँमा छ तर युवा जति विदेशमा छन्, चीनको मान्छे पनि विदेशमै छन्, युरोपबाट एसिया आउन चाहन्छन्, यो ग्लोबल ट्रेण्ड हो, यो विषयमा धेरै चिन्तित हुनु पर्ने म देख्दिनँ, एक पटक भारतबाट धेरै ठूलो जनसंख्या बाहिरिएको थियो । तर, अहिले स्वदेशमा फर्किने ट्रेण्ड सुरु भएको छ, नेपालमा पनि एकदिन त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले चिन्तित हुनु पर्ने अवस्था छैन ।’ अहिले विदेशिएका युवा ५/१० वर्षपछि नेपालमा नै फर्किने उनको तर्क छ । ‘नेपालमा अवसर र सम्भावना पनि धेरै छ, अबको ५/१० वर्षमा सम्वृद्धिको बाटो लिन्छ, हावापानी राम्रो छ, दुई ठूलो देशको बिचमा छ, बाहिर गएकाहरू अनुभव र पैसा ल्याउँछन् र त्यो अनुभव र पैसा लिएर नेपालमा आएर काम गर्छन्, त्यसले देशलाई सम्वृद्ध नै बनाउँछ,’ उनी भन्छन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल
व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा
काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा र जलविद्युत् क्षेत्रको सेयरमा उनको ठूलो लगानी रहेको छ । वि.सं. २०१६ पुस २४ काठमाडौंको झोसेमा जन्मिएका अग्रवाल अहिले ६२ वर्षका भए । हट्टाकट्टा देखिने उनको जीवनशैली सामान्य छ । उनी बिहान एक घण्टा मर्निङ वाक गर्छन् । दैनिक केही मात्रामा रक्सी पिउँछन् । खानपान ननभेज हो । नेपालको सन्दर्भमा एउटा सामान्य मान्छेभन्दा व्यापारीलाई बढी रोग लागेको देखिन्छ । अग्रवाल पनि यसलाई स्वीकार्छन् । ४५ देखि ५० वर्षभन्दा माथिका अधिकांश व्यापारीलाई ब्लड प्रेसर छ । त्यस्तै, अधिकांशमा मुटुको समस्या छ । उनलाई पनि यहि समस्या छ र दैनिक औषधि सेवन गर्छन् । मारवाडी समुदायका अग्रवालको परिवार राजस्थानबाट काठमाडौंको झोसे आएका हुन् । र, बिजनेस यात्रा पनि झोसेबाटै शुरु भएको थियो । जुन शशिकान्तको हजुरबुबाले शुरु गरेका हुन् । अग्रवालको परिवार काठमाडौंमा बस्दै आएको करिब १२० वर्ष भइसकेको छ । व्यापारिक पृष्ठभूमिको उनको परिवारले कपडाको व्यापारबाट आफ्नो करियर शुरु गरेको हो । पहिले इन्द्रचोकमा कपडा पसल थियो । पछि झोसेमा कपडाको होलसेल पसल चलाए । ‘मेरो हजुरबुबा (मालुराम मारवाडी/मालुसाहु) ले नेपालमा धेरै कपडाको बजार विस्तार गर्नुभएको छ, उतिबेला पनि ओखलढुङ्गा, बनेपा, धुलिखेल, टाँडी, गोरखा, दार्खु, बाह्रबिसे, लगायत विभिन्न ठाउँमा कपडा बोकेर जानुहुन्थ्यो, धेरै ठाउँमा गएर कपडा बेच्न सकाउने, उहाँको नाम मालुसाहु नै चिरपरिचत छ, जुन नामले मलाई धेरै सहयोग गरेको छ,’ स्वर्गीय हजुरबुबाको कहानी सुनाउँदै उनले भने । शशीकान्तका हजुरबुबा (मालुराम) र बुबा (शिवकुमार) को नामबाट एमएस (मालुराम शिवकुमार) ग्रुप जन्मियो । त्यहीबाट अग्रवालको परिवारले आफ्नो व्यावसायिक पहिचान बनाएको छन् । कपडा ट्रेडिङबाट अग्रवाल ग्रार्मेन्ट उद्योगमा लागे । शुरुमा भारतबाट आयात गर्दै आएका अग्रवालले पछि तेश्रो देशबाट कपडाको आयात गर्न थालेका थिए । ‘सन् १९७८/१९७९ ताका सबै नेपालीहरु मिलेर कोरिया र जापानबाट एउटा ठूलो पानी जहाजमा कपडा मगाइएको थियो, उक्त जहाज कम्पनी बदमास रहेछ, जसले जहाजको सामान अन्तै बेच्ने तयारी गरेछ, पछि मुद्दा हालेपछि सामान नेपाल फिर्ता ल्याउन सफल भयौं,’ विगतलाई स्मरण गर्दै उनले भने- ‘व्यापारमा बढी जोखिम देखेपछि म ट्रेण्डबाट उद्योगमा लागेँ ।’ सुरुमा उनले मोजा, कट्टु, गञ्जी, बच्चाको सुटको उत्पादन शुरु गरे । उद्योग राम्रै चल्यो । अग्रवालले राम्रै कमाए । त्यसपछि धोविघाटमा पशुपति टेस्टाइल फ्याक्ट्री चलाए । त्यसपछि उनले क्रमशः व्यापार छोड्दै गए, उद्योग थप्दै गए । सन् १९९४ मा उनले एभरेष्ट सुगर एण्ड केमिकल्स इन्ड्रस्टीज खोले । जुन उद्योग अहिले पनि नेपालको सबैभन्दा ठूलो चिनी उद्योगमध्ये एक हो । सिराहामा हिमालय सुगर चलाएका छन् । वीरगञ्जमा भगवती स्टिल उद्योग छ । त्यस्तै, पवन गोल्यानसँगको पार्टनरशीपमा इटहरीमा रिलायन्स स्पिनिङ मिल्स सञ्चालनमा छ । धागोमात्र बन्ने यो उद्योगबाट टर्की, जापान, दक्षिण अफ्रिका, भारत लगायतका देशहरुमा करोडौंको निर्यात हुन्छ । धागो बनाउनको लागि कच्चा पदार्थ अर्थात फाइबर भने भारत, चीन, इन्डोनेसिया, थाइल्याण्डलगायतका देशबाट आयात गरिने उनले बताए । ‘अहिले हामी बल व्यिरिङको मात्र व्यापार गर्छौं, संसारको सबैभन्दा ठूलो व्यिरिङ म्यानुफ्याक्चर कम्पनी स्वीडेनको एसकेएफको एजेन्ट हौं, ४० वर्षदेखि नेपालका अधिकांश कारखाना, अस्पताल, होटल लगायतका क्षेत्रलाई चाहिने ठूलो तथा सानो सबै व्यिरिङ सप्लाई गर्दै आएका छौं, अरु व्यापारमा हामी छैनौं,’ उनले भने । हाल अग्रवालले काठमाडौंको दुई ठाउमा होटल चलाउँदै आएका छन् । ठमेलमा फेयरफिल्ड र नक्सालमा मेरियट होटल सञ्चालन गर्दै आएका अग्रवाल अर्को नयाँ होटल सञ्चालनमा ल्याउने योजनामा छन् । उनले काठमाडौंको कमलादीमा मेरियटकै ब्राण्डको मोक्सी नामक होटल सञ्चालनमा ल्याउन लागेका हुन् । यो ९० कोठाको तीन तारे होटल हो । उनका छोरा गौरव अग्रवाल पनि व्यवसायमा आइसकेका छन् । गौरवले होटल बिजनेश हेरिरहेका छन् । शशीकान्तका भाई सुमित अग्रवालले होटलसँगसँगै कन्स्ट्रक्सन एक्टिभिटी, हाउँजिङ्गको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । जग्गा बेचेर पनि समयमा तलब चिनी उद्योगीले किसानलाई भुक्तानी नदिएको विषयले नेपालको राजनीति र उखु किसानमा ठूलो तरङ्ग पैदा गर्छ । चिनी व्यवसायीको बदनाम हुने गरेको छ । यहि विषयमा जोडिएर शशीकान्त अग्रवालको नाम र फोटा समाचारहरुमा आईरहन्छ । अग्रवाल विगत २५ वर्षदेखि चिनी उत्पादक सङ्घको अध्यक्ष हुन् । ‘म चिनी उत्पादक सङ्घको अध्यक्ष भएकोले पत्रकारहरुले मलाई सोध्नुहुन्छ, मेरो नाम र फोटो पनि छापिन्छ, तर मैले कुनै पनि किसानको पैसा भुक्तानी बाँकी राखेको छैन’ अग्रवालले भने- ‘कोभिड महामारीको समयमा जग्गा बेचेर कर्मचारीलाई तलब खुवाएको सुनाए, अरुले व्याज तिर्न नसकेको समयमा पनि मैले किस्ता तिरेँ, अहिले यो होटललाई पैसा चाहिएको अथवा अर्को होटल बनाउनु छ भने बैङ्कहरुले मलाई आँखा चिम्लेर पैसा दिन्छन्, आर्थिक कारोबारमा मेरो रेपुटेशनलाई लिएर कसैले पनि प्रश्न गर्ने ठाउँ राखेको छैन ।’ टुरिजम ग्लामर पनि, फ्रजाइल पनि हालसम्म दुई होटल सञ्चालनमा ल्याएका अग्रवाल थप अर्को होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । उनी होटल व्यवसायलाई फ्रजाइल व्यवसायको उपनाम दिन्छन् अग्रवाल । ‘टुरिजम एकदमै फ्रजाइल बिजनेस हो, नेपालमा जस्तै कुनै रोग फैलियो भन्ने हल्ला कसैले फैलाइदियो, काठमाडौंमा बम् पड्कियो भनेर सुनाइदिनुस्, भोलिदेखि नै क्यान्सिलेसन शुरु भइहाल्छ, त्यसैले यो बढो फ्रजाइल बिजनेस हो,’ प्रष्टाउँदै उनले भने- ‘तर यो बिजनेसको कमाइभन्दा पनि आफ्नो प्रपर्टीको एप्रिसियसनले फाइदा गर्छ ।’ साथै, यो क्षेत्रमा ग्लामर पनि मिसिएको अग्रवाल बताउँछन् । ‘होटलभन्दा पनि एभरेष्ट सुगर मिल्स, रिलायन्स मिल्समा ठूलो लगानी थियो, तर पनि कुनै पनि पत्रकार साथीबाट ती उद्योगको बारेमा सोधखोज हुँदैनथ्यो, तर होटलको बारेमा भने दैनिक कम्तिमा ५ जनाले अन्तरवार्ता लिन आउनुहुन्थ्यो, त्यसैले यो ग्लामर बिजनेस हो,’ उनले थप्दै भने- ‘मलाई अरु क्षेत्रमा आफ्नो चिनारी बनाउन ३०/४० वर्ष लाग्यो होला तर होटलमा ५ वर्षमै बन्यो ।’ व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमा हात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्ड सेटरको उपनाम दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । तपाईं कति सम्पत्तिको मालिक ? हामीले प्रश्न गर्यौं । ‘जति सम्पत्ति छ प्रायः सबै मेरै नाममा छ, कतिपय कम्पनीको सेयर भाइको नाममा होला, सबै पारदर्शी नै छन्, लुकाउनु पर्ने आवश्यकता छैन र लुकाएर लुकिने पनि होइन, तर मूल्यांकन भने गरिएको छैन,’ अग्रवालले बताए । नेपालमा व्यक्तिगत सम्पत्तिको मूल्यांकन गर्ने चलन नभएर पनि आफूहरुले यसमा गृहकार्य नगरेको उनी बताउँछन् । एमएस ग्रुपका प्रबन्धक निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । धेरै पैसा भएपछि त्यसको भ्यालुएसन गर्न नसकिने हो ? प्रतिप्रश्न गर्दै सोध्यौं । ‘त्यो पनि होला,’ उत्तर फर्काउँदै उनले भने- ‘सार्वजनिक गर्न नचाहने पनि होला, मूल्यांकन गर्न नचाहेको पनि हुन सक्छ ।’ की म यति सम्पत्तिको मालिक हुँ भन्दा समाजमा असुरक्षित भइन्छ ? हामी रोकिएनौं । ‘विल्कुल होइन, कुनै जमाना थियो होेला, तर अहिले विनोदजीले डलरमा अरबपति छु भनिराख्नु भएको छ, उहाँले हरेक वर्ष सार्वजनिक गर्नुहुन्छ, असुरक्षित हुने भए किन सार्वजनिक गर्नुहुन्थ्यो र ? चोरेर ल्याएको हो र लुकाउन ? हामीलाई नै प्रतिप्रश्न गर्दै उनले भने । पैसा र खुसी दुवै आर्जन ‘यो समानान्तर हो, पैसा पनि राम्रै कमाएको छु, नकमाएको भए अहिले पाँच तारे होटलको ओनर अर्थात सञ्चालक हुँन्थिन होला र कमाएपछि यसै खुसी भइहालियो, व्यापारिक यात्रामा पैसा कमाउने दौडमा लाग्दा योसँग मेरो खटपट छ, झगडा परेको छ भन्ने दिन आजसम्म कहिल्यै आएन, यसको यति तिर्नु छ, कसरी तिर्ने ? भन्ने पनि कहिल्यै भएन, ‘आई अल्वेज इन्ज्योई माई बिजनेस, सो आई अल्वेज ह्याप्पी,’ अग्रवाल भन्छन् । व्यवसायमा इमान्दारिता, स्वच्छता, जोडिएका स्टाफहरु, वितरकहरु सबैसँग हातमाहात मिलाउँछन् अग्रवाल । उनीप्रति सबैजना खुसी छन्, त्यसलाई नै अग्रवालले ग्रोथको अर्को बाटो सम्झिन्छन् । आफूलाई ट्रेण्डसेटरको उपमा दिनेहरुलाई इमान्दारीपूर्वक कर्म गर्न सुझाव दिन्छन् उनी । जसले ग्रोथको बाटो पहिल्याउँछ र नाम कमाउन प्रेरित गर्नेमा उनी विश्वस्त छन् । सफल उद्यमीका आधारहरु ‘प्यासन इज भेरि की फ्याक्टर’ भन्छन् अग्रवाल । ‘नेपालमा विश्वव्यापी कोरोना भाइरस आयो, दुई वर्ष केही भएन, व्यवसाय ठप्प, त्यही पनि हामीले धैर्यता राख्यौं, होटल बन्द पनि गरेनौं, कर्मचारीलाई पनि निकालेनौं, अहिले त्यसकै विभिन्न रिवार्डहरु पाइरहेका छौं ।’ त्यसैले, कहिले पनि प्यासन लुज नगर्न उद्यमीहरुलाई सन्देश दिन्छन् उनी । यसका साथै आफ्नो लगन छाड्नु हुँदैन । गृहकार्य गर्छु भनेर लिइसकेपछि त्यसको अर्थपूर्ण अन्त्य नभएसम्म निरन्तरता दिनुपर्छ । आजको काम भोलि गर्छु भन्ने सोच्नु हुँदैन । स्टेकहोल्डर सन्तुष्ट, बिजनेस सक्सेस अग्रवाल संलग्न भएका व्यवसायमा आबद्ध जो कोही हत्तपत्त बाहिरिँदैनन् । ‘व्यापार नै उसले छाडेर अर्को लाइनमा लाग्यो भने त अर्कै कुरा हो, नत्र त हामीसँग अहिलेसम्म जोडिएका व्यापारी, एशोसिएट र स्टाफहरुले छोडेको रेकर्ड छैन,’ गौरवका साथ भन्छन् अग्रवाल । खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुसियाली छाउँछ । यसले काम गर्न ऊर्जा थपिन्छ, आयू बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन । फ्रस्ट्रेशन नभएपछि कति कुरा आफैं ठीक हुन्छन्,’ शशिकान्त अग्रवालले भने । विगत ३०/४० वर्षदेखिका स्टाफहरु आफूसँगै छन् भनेर सुनाउँन पाउँदा अग्रवालको मन खुसीले प्रफुलित हुन्छ । ‘हामीले उहाँहरुको सन्तुष्टिको ख्याल राख्यौं, आवश्यकताहरुलाई हरसम्भव पुरा गर्न कोशिस ग¥यौं, तर कोहीकसैसँग सन्तुष्टि स्तर कायम नभएसम्म कोही पनि लामो समयसम्म जोडिइ रहँदैन, पूर्णरुपमा सन्तुष्ट भएरै त होला उहाँहरुले आफ्नो पुरै जीवन दिनुभएको छ, यसमा म गर्व गर्छु,’ यसलाई अर्को सक्सेसको रुपमा लिने गरेको अग्रवालले बताउँछन् । ठमेल र नक्सालको दुई होटलमा एमएस ग्रुपको शतप्रतिशत लगानी छ । दुई होटलमा गरी ४ सय जना स्टाफ छन् । भगवती स्टीलमा करिब ४ सय जना छन् । अन्य कर्पोरेट अफिस तथा रिटेलहरुमा गरी कूल ५० जना रहेको र हाल ८५० जना जतिले प्रत्यक्ष रुपमा रोजगार गरिरहेका एमएस ग्रुपका अध्यक्ष अग्रवाल बताउँछन् । भक्तपुरमा हाउजिङ बनाउँदै एमएस ग्रुपले पछिल्लो ५/७ वर्ष केही काम नगरेको अध्यक्ष अग्रवाल बताउँछन् । ‘जग्गा महङ्गो भएर किन्ने आट पनि गरिएन, पछि कोभिड आयो,’ उनले भने- ‘अब थिमी बजारैमा २/३ सय फ्याल्ट बन्दै छ, भक्तपुरको ताथली भन्ने ठाउँमा ५० रोपनीमा एउटा प्रोजेक्ट बनाउँदै छौं, जसमध्ये आधा जग्गामा प्लटिङ गरेर बेच्छौं र बाँकीमा अपार्टमेन्ट बनाउँछौं ।’ देश बनाउन व्यवसायीको भूमिका अग्रवालका अनुसार देश बनाउन व्यापारीको कुनै अलग भूमिका हुनै पर्दैन । ‘यदि मैले राष्ट्रमा लगानी गरेँ भने त्यसले राष्ट्रको रोजगारी, बिजुली खपत लगायत देशमा सम्पत्ति सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने । सरकारले समय सापेक्ष पोलिसी बनाउनु पर्छ । कुन बेला कुन पोलिसीमा के हेरफेर गर्ने हो भनेर अध्ययन गरेर समय हिसावले गराउनु पर्छ । ‘कानून अर्थात सविधान त परिवर्तन गराउनु पर्ने हुन्छ भने पोलिसी त के हो र ?’ अग्रवाल बताउँछन् । पोलिसी लविङमा अग्रवालको बिजनेस कमिटीले धेरै प्रयास गरिरहेको छ । तर राम्रो प्रभाव छोड्न सकेको छैन । ‘हामीले ठूला विज्ञहरु हायर गरेर यस्तो चाहियो भन्छौं, कलेक्टिभ लविङ गर्ने तीन चारवटा सङ्घ संस्था छन्, कमन इन्ट्रेष्ट भए पनि सेम भ्वाइस छैन, त्यसैले पनि सरकारले त्यति सिरियस्ली नलिएको होला,’ चिन्तित हुँदै अग्रवालले भने । अब व्यापारको ड्राइभिङ सिटमा नबस्ने ६२ वर्ष भएका अग्रवाल अब बिजनेसमा सक्रिय नहुने बताउँछन् । ‘थप व्यापारिक सङ्घर्ष गर्दिनँ, सन्यास पनि लिन्न, तर अबको समय व्यापारको ड्राइभिङ सिटमा बस्दिनँ, छोरा भाइहरुलाई गाइड गर्छु, भइराखेको कारोबारलाई अपडेट राख्ने, मोडरनाइजेशन गर्ने काम गर्छु,’ भावी योजना सुनाउँदै अग्रवालले भने । सामान्य जीवन बिताउने अग्रवाल साथीभाइहरुसँग घुलमिल हुन बढी रुचाउँछन् । ‘अबको १०/१२ वर्ष यसरी नै बित्यो भने म खुसी र भाग्यमानी हुनेछु,’ उनले भने । ‘जीवनको प्राथमिकता नै खुसी हो, खुसीले सन्तुष्टि प्राप्त गर्छ, सन्तुष्टिले घर परिवारमा खुशियाली छाउँछ, यसले काम गर्न उर्जा थपिन्छ, आयु बढ्छ, लाइफमा फ्रस्ट्रेशन हुँदैन, फ्रस्ट्रेशन नभएपछि कति कुरा आफै ठिक हुन्छ,’ शशिकान्त अग्रवालले भने । जीवनमा मान्छेलाई कहिल्यै केही कुराको सन्तुष्टि नमिल्ने उनी बताउँछन् । राजनीतिको उदाहरण दिँदै उनी भन्छन्- ‘एक व्यक्ति जसले तल्लो स्तरबाट राजनीति गर्छ, गर्दा गर्दा मन्त्री बन्ला, प्रधानमन्त्री बन्ला र पनि उसको इच्छा आकांक्षा खतम हुँदैन, जुन जागेको जागै हुन्छ ।’ खासमा जीवन के रहेछ ? हामीले प्रश्न गर्यौं । ‘अरुलाई नोक्सान नपुर्याई आफ्नो कर्म गर्नु र आफ्नो लक्ष्य प्राप्त गर्न अघि बढ्नु नै जीवन हो,’ छोटोमा उनले टुङ्ग्याए । यो भन्दै गर्दा अग्रवालले आफ्ना समकालिन साथीहरुलाई सम्झिए । कति आफूभन्दा पछि छुटेका त कति कयौं अगाडि पुगेका । ‘यो एउटा भाग्यको खेल पनि हो र कसले कति जोखिम मोल्यो र मिहिनेत ग¥यो भन्ने पनि हुन्छ,’ उनी रोकिएनन् र भन्न थाले- ‘ जीवनले सबै मान्छेलाई एउटा मुकाममा पुर्याउँछ, त्यो मुकाममा पुगिसकेपछि जीवन कस्तो छ भन्ने बुझिन्छ, जुन मान्छेले आफूलाई सन्तोष र भाग्यशाली सम्झिन्छ त्यसको जीवन सधैँ राम्रो हुन्छ ।’ (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
जहाँ अवसर आउँछ त्यहीँ पैसा बग्छ : अध्यक्ष गोल्छासँगको विकास वहस
नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक दर्जन देशमा निर्यात हुन्छ । गोल्छाले नै नेपालमा पहिलो पटक बजाज मोटरसाइकल एसेम्बल उद्योग लगाएर स्थापित गरे, जसलाई अरु धेरै ब्राण्डहरुले पछ्याइरहेको छ । बहुराष्ट्रिय कम्पनी सामसुङको रेफ्रिजेरेटर र वासिङ मेसिन नेपालमा नै उत्पादन थालेर उनले अर्को ठूलो व्यावसायिक पहलकदमी लिएका छन् । अटो फाइनान्समा गोल्छाले थालेको व्यवसायलाई अधिकांश ठूला अटो विक्रेताले पछ्याएका छन् । व्यावसायिक ब्राण्ड बिल्डिङ्मा शेखर धेरैले लिने नाम हो । उनै शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घको समेत नेतृत्व गरिरहेका छन् । महासङ्घ सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था भएकोले पनि हामीले गोल्छाको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि र उद्योग व्यवसायमा हासिल गरेका उपलब्धीहरु समेटेनौं, गोल्छाको चाहना पनि त्यही रह्यो । वर्तमान आर्थिक सङ्कटको अन्त्य, व्यवसायीको सृर्जनशीलता, युवाहरुको लगाव र भविष्यको अवसरबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले अध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेका छन् । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायीलाई पनि सकस परेको छ, महासङ्घको अध्यक्षको हैसियतमा तपाईंले उनीहरुलाई कसरी मोटिभेट गरिरहनु भएको छ ? पक्कै पनि कठिन समय छ । तरलताको अभावले धेरै क्षेत्र सङ्कुचनमा छ । मलाई लाग्छ यो नेपाली उद्योगीले अहिलेसम्म नदेखेको अवस्था हो । मैले साथीहरुलाई यही भन्न चाहान्छु कि ६ देखि ८ महिनामा हामी एकदमै सहज स्थितिमा आउन सक्छौं । सहज हुन्छ भन्ने आधार के हुन् ? यसका पाँचवटा आधार छन् । पहिलो, हाम्रो तरलता विप्रेषणसँग जोडिएको छ । जति जति हाम्रो विप्रेषण बढ्छ, त्यति नै तरलता सुध्रिन्छ । यस वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको छ । यसरी रेमिट्यान्स बढ्दा यो सीधै बैंकिङ्ग सिस्टममा जाने भएकोले यसले तरलता बढाउँछ । हाम्रो विदेशी मुद्राको आयको श्रोत पनि मुख्यतः रेमिट्यान्स नै हो । वल्र्ड बैङ्कले यस वर्ष १२ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढ्छ भनेको थियो, त्योभन्दा पनि बढेको देखिएको छ । जुन गतिमा हाम्रो भाइ बहिनीहरु बाहिर गइरहेका छन्, यसले पक्कै पनि भविष्यमा रेमिट्यान्स बढ्छ । जसले तरलतामा सहजता ल्याउँछ । दोस्रो, हाम्रो कमोडिटीको मूल्य रुस र युक्रेनको युद्धले निकै बढेको थियो । जसले पेट्रोलियम पर्दाथको मूल्य ७० प्रतिशतसम्म बढाएको थियो । त्यसका साथै तेल, कोइला, स्टीलको मूल्य अत्याधिक रुपमा बढेको थियो, जसले तरलतामा प्रभाव पारेको थियो र हाम्रो शोधानान्तर स्थिति कमजोर हँदै गएको थियो । तर, अहिले हेर्ने हो भने पेट्रोलियम, खाद्यान्य र स्टीलको मूल्य घट्दै गएको छ । त्यसैले अब आउने समयमा हाम्रो सेभिङ्ग बढ्दै जान्छ र तरलता पनि सुधार हुँदै जान्छ भन्ने विश्वास लिन सकिन्छ । तेस्रो, विगतमा बैङ्कमा लगानीयोग्य रकमको धेरै ठूलो अभाव हुँदा अर्थतन्त्र स्लोडाउन भइसकेको छ । जब अर्थतन्त्र स्लोडाउन हुन्छ तरलता स्वभाविक रुपमा बढ्छ । एउटा पोइन्टमा आइसकेपछि यो माथि जाने भन्ने अर्थतन्त्रको नियम नै हो । हामी पुस महिना बटम आउट गर्छौं होला । माघदेखि हाम्रो तरलता सुध्रिने देखिन्छ । चौथो, डिसेम्बर–जनवरीको होटल बुकिङ्गले अब आउने समय पर्यटनको लागि धेरै राम्रो रहने देखिएको छ । होटलको बुकिङ प्रि–कोभिड लेभलमा आइसकेको छ । एयरपोर्ट भरिभराउ भइरहेका छन्, ल्याण्डिङ्ग गर्ने स्पटहरु पाइरहेको छैन, भैरहवा एयरपोर्ट निश्चित रुपमा चल्छ किनभने काठमाडौंमा ल्याण्डिङ्ग स्पट नभएपछि त काँही न काँही त जान्छन् होला । यो आधारमा पर्यटकको आगमन हुने हो भने पर्यटनले झण्डै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ८ देखि १० प्रतिशत असर गर्न सक्छ । त्यसले ट्रेकिङ्ग व्यवसायदेखि रेष्टुरेन्ट व्यवसाय, ट्याक्सीदेखि लिएर माइक्रोबस बुकिङ्गसम्म पुरै इकोसिस्टम चल्नेछ । पाँचौ, नयाँ सरकार हो । नयाँ सरकार बनेपछि हाम्रा डेभलपमेन्ट ऐजेन्सीहरु जस्तै वल्र्ड बैङ्क, एडिबी र हाम्रा डोनर कन्ट्रीहरु नयाँ सरकारसँग सहकार्य गर्न चाहिरहेका छन् । मसँग भएको कुराकानीको आधारमा उनीहरु नयाँ सरकार बनेपछि नेपाललाई सहयोग गर्न तयार रहेको बुझिन्छ । नेपाललाई हामीले कसरी सहयोग गर्न सक्छौं त्यसको मोडल पनि तयार छ, नयाँ सरकार आउने बित्तिकै हामी सहयोग गर्छौं’ भन्ने जस्तो डाइरेक्सन उनीहरुले दिएका छन् । धेरै एफडीआई पनि यस्ता छन् जुन नयाँ सरकार आएपछि अवस्था हेरेर लगानी गर्छौं भनेर बसेका छन् । त्यसैले नयाँ सरकार आएपछि केही समय राम्रो जोश देखिन्छ होला । नयाँ सरकार बनेको छ । अब सरकारले कुन विषयलाई प्राथमिकता दिनुपर्छ ? सबैभन्दा पहिला नयाँ सरकारले अहिले आएको आर्थिक शिथिलतालाई पुनः कसरी गतिशील बनाउन सकिन्छ र निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन तबसम्म लगानी हुँदैन र जबसम्म देशमा दीर्घकालिन लगानी हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन । अहिले निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्ने, तरलतालाई द्रुत गतिमा ठिक गर्ने र नेपालमा निजी क्षेत्रको मनोबल बढाउने कामहरु नयाँ सरकारबाट अपेक्षित छ । अहिले आएको समस्या निजी क्षेत्रको मात्र होइन । राजस्व २० देखि ३० प्रतिशतले घटेको छ । साधारण खर्च धान्न सकिएको छैन । नयाँ रोजगारी सृजना हुन सकेको छैन । देशबाट जुन गतिमा मान्छे पलायन भइरहेको छ त्यो गति कहिले पनि थिएन । अर्को, मुद्रास्फिती राष्ट्र बैङ्कले १२ प्रतिशतसम्म पुग्न सक्छ भनेको छ, जसको अर्थ सर्वसाधारणको क्रयशक्ति त कम हुनु हो । सेयर बजारका ४० लाख सेयर होल्डर टाउकोमा हात राखेर बसिरहेका छन् । जग्गा व्यापार गर्नेहरु ब्रिकी नभएर ठूलो समस्यामा परेका छन् । हेर्नुहोला, बैङ्कहरुमा पनि अब पुस महिनामा नेपालले कहिले नदेखेको खराब कर्जा बढ्न सक्छ, त्यसले गर्दा बैंकिङ्ग क्षेत्रपनि ठूलो सङ्कटमा पर्छ । इन्स्योरेन्सको पनि कुरा गर्ने हो भने यसमा पनि पहिलोपटक ठूलो सङ्कुचन आएको छ । लाइफ इन्स्योरेन्समा पोलिसी सरेन्डर गर्नेहरु एकदमै बढिरहेको छ । सबैतिर निराशा छाएको छ । यो निराशालाई सम्बोधन गर्ने कि नगर्ने ? योभन्दा ठूलो एजेन्डा के हुन सक्छ ? नयाँ सरकारले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो अवस्थामा निजी क्षेत्रको फोकस केमा हुनुपर्छ ? निजी क्षेत्रसँग मेरो अपेक्षा के छ भन्दा अलिक सृजनशील भइदिनुहोस् । लहैलहैमा नलाग्नुस् । एउटा ठाउँमा राम्रो देख्ने बित्तिक्कै सबै त्यहीँ लगानी गर्छौं । हाम्रो श्रोतहरु सीमित छन् । हामीले नयाँ क्षेत्र खोज्न जरुरी छ । सृजनशील हुन जरुरी छ । हाम्रो प्रतिव्यक्ति आय १३ सय डलर रहेको छ । हाम्रो रेमिट्यान्सदेखि सेभिङ्गमा रहेको रकम धेरै खपतमा खर्च हुन्छ । सम्भावना धेरै छ तर सृजनशील हुनुपर्यो । हामीले सृजनशीलतालाई छोडेर जसको एउटा राम्रो व्यालेन्ससिट छ । त्यसको पछि लाग्यौं भने यसले आफूलाई पनि डुबाउँछ देश पनि डुबाउँछ र अन्य व्यवसायलाई पनि स्लोडाउन गर्छ किनभने हामीसँग सीमित श्रोतहरु छन् । मैले निजी क्षेत्रसँग यसपालि हाम्रो पुरानो गल्तीलाई आत्मासमीक्षा पनि गरौं भनेको छु । आउने समयमा सो विचार गरेर लगानी गर्न जरुरी छ । बैङ्कहरुलाई पनि मेरो आग्रह छ, अलिकति धितो हेरेर मात्र कर्जा नदिनुहोस्, बिजनेशलाई विश्लेषण गरेर सृजनशीलतामा लगानी गरिदिनुहोस् । ब्राण्डको नाम र धितोमा मात्र लगानी गरेर देश बन्ने वाला छैन । पछिल्लो समय व्यवसायीहरु कालो ब्यानर लिएर सडकमा उत्रिएका ेहामीले देख्यौं । बैङ्कर र व्यवसायीबीच यस्तो किसिमको दरार किन आइरहको छ ? समाधानका उपाय के हुन सक्छन् ? बैङ्कहरु पनि अर्थतन्त्रको मेरुदण्ड हुन् । सबल बैंकिङ्ग क्षेत्रले गर्दा अर्थतन्त्र चलायमान भएको हो । बैङ्क बलियो हुन अर्थतन्त्रलाई एकदमै जरुरी छ । तर, बैङ्कहरुले यो कठिन समयलाई मध्यनजर गरेर यसलाई अवसरको रुपमा हेरेर अनावश्यक रुपमा प्रिमियम बढाउने, अन्य शुल्कहरु लिने र अनावश्यक दवाव सृजना गरेको हुँदा निजी क्षेत्र आक्रान्त भएको हो । अहिले हाम्रो अपेक्षा भनेको बैङ्कहरुले यो समयमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । बैङ्कहरु बलियो नभए निजी क्षेत्र भोलीको दिनमा व्यवसाय गर्न असक्षम रहन्छ । तर, बैङ्कहरुले अहिलेको कठिन स्थितिलाई अवसरको रुपमा हेर्नु हुँदैन । यो सहकार्य गर्ने समय हो । व्यवसाय बाँचेन भने बैङ्क पनि बाँच्न सक्दैन । र, यो सम्बन्ध अझ बढी गाढा हुनुपर्छ । कर्जा लिने र दिनेले अर्थतन्त्र चल्ने हो र यसलाई निरन्तरता दिन र सम्बन्ध सुमधुर राख्नको लागि एकअर्कालाई बुझ्नु पर्दछ । बैङ्कहरुको उद्योगलाई जाने कर्जादर र व्यापारलाई जाने कर्जादर फरक हुनुपर्छ भनेर उत्पादनमूलक क्षेत्रमा लागेका उद्यमीहरु आवाज उठाइरहन्छन्, यस विषयमा तपाईंको धारणा के हो ? पक्कै पनि हुनुपर्छ । राष्ट्र बैङ्कले कुन क्षेत्रमा कति लगानी गर्ने भनेर गाइडलाइन पनि बनाएको छ । जसमा उद्योगमा पनि कति लगानी गर्ने, साना मझौलामा कति गर्ने भन्ने खुलाइएको छ । उद्योगमा कम व्याजदरमा जानुपर्छ भन्ने स्वभाविक हो तर हाम्रो यसमा व्यवहारिक समस्या के छ भन्ने हेर्न जरुरी छ किनभने अन्तिममा बैङ्कहरु पनि आफ्नो लगानीकर्ताहरु प्रति उत्तरदायी हुन्छन् । उनीहरुलाई प्रतिफल दिने बैङ्कको जिम्मेवारी हो । त्यो आधारमा ट्रेडिङलाई तरलता बढेको बेला वेवास्ता गर्ने हो भने बैङ्कको नाफामा पनि धेरै फरक पर्न सक्छ । त्यो आधारमा एउटा व्यालेन्सड रुपमा जाँदा ठिक होला । पछिल्लो समय बैङ्कर्सको विरोधमा देखिएका केही पात्रहरु हेरेर को उद्यमी र को बैङ्कर भनेर बहस पनि चलेको छ । के उद्योगी र बैङ्कर छुट्याउनु पर्ने अवस्था आएको हो ? धेरै देशहरुमा यो छुट्याउने प्रयास गरिएको छ । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अब त्यसलाई फर्काउ भन्न मिल्दैन । त्यस्तै सबै बेथितिलाई एकैदिनमा हटाउ भन्न गाह्रो छ र त्यो अहिले सम्भव पनि छैन । किनभने धेरैजसो बैङ्कका प्रमोटरहरु उद्योगी व्यवसायीहरु नै छन् र त्यसको आधारमा त्यसलाई फर्काउन सकिन्छ जस्तो मलाई लाग्दैन । व्यवसायीहरुमा कुन लेभलको सृजनशीलता छ, त्यसलाई तपाईंले कसरी मार्किङ गरिरहनुभएको छ ? हामीले धेरै यस्ता लगानीहरु देखेका छौं, जुन लहैलहैमा लागेर कुनै बजारको समीक्षा बिना भएका छन् । जसले गर्दा क्षमताभन्दा बढी भएर सबै समस्यामा परेका छन् । देशको अर्थतन्त्रमा तरलताको समस्या पनि देखिएको छ । र त्यो आधारमा मैले पक्कै पनि सृजनशीलताको कमी देखेको छु । यसको एउटा मुख्य कारण बैङ्कले सृजनशीलतामा लगानी नगर्नु । बैङ्कले मात्र कोल्याट्रल र कसलाई लोन दिइरहेको छु भन्ने हेरेको छ । कसैले नयाँ क्षेत्रमा केही गर्छु भन्दा बैङ्कहरुले त्यसमा लगानी गर्दैनन् । सृजनशीलतामा नेपालमा लगानी अलिकति पनि छैन । यो सबै समस्याको जरो पनि निजी क्षेत्र, बैङ्क र सरकारले सृजनशीलतालाई हेर्ने नजर हो । यसलाई प्रोत्साहन गर्न सबै लागे पक्कै पनि सृजनशीलताले बढी महत्व पाउने छ । सृजनशीलता प्रोत्साहित हुनेछ । तपाईंको नजरमा निजी क्षेत्रबाट बनेको सृजनशील उद्यम कत्तिका छन् ? पक्कै पनि छन् । मैले केही सृजनशील व्यवसायको उदाहरण दिन्छु । जस्तै चन्द्रागिरी प्रोजेक्ट एउटा सृजनशील प्रोजेक्ट हो । नेपालमा पहिलोपटक यस्तो किसिमको सेटअपमा उक्त प्रोजेक्ट बनेको हो । यसले अरु पनि त्यस्ता धेरै प्रोजेक्टलाई निम्त्याएको हामीले देखिरहेका छौं । त्यस्तै, निजी एयरलाइन्स बिजनेश पनि प्राइभेट सेक्टरको सृजनशीलता हो । यो बिजनेश रचनात्मक रुपमा विकशित भएको छ । पहिला आएका सिमेन्ट उद्योगहरु र अहिले बनेका जुन स्टील स्ट्रक्चर फ्याक्ट्रीहरु, केही औषधिको फ्याक्ट्रीहरु छन्, त्यसमा पनि सृजनशीलता देखिन्छ । यस्तै, पर्यटनमा द्धारिका होटल सृजनशीलताको एउटा नमूना हो । त्यस्तै, तराईमा भएको फाइभ स्टार होटलहरु जसले भारतीय पर्यटकलाई टार्गेट गरेर लगानी गरेका छन्, त्यसमा सृजनशीलता देखिन्छ । यस्तै कफी व्यवसाय नेपालमा सृजनशीलताको ठूलो उदाहरण हो । सडकभरी देखिने बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा शुद्ध नेपाली उद्यमशीलता र सृजनशीलताको उदाहरण देख्छु म । हरेक क्षेत्रमा सृजनशील बिजनेशलाई देखेको छु तर यतिले पुगेन । यसमा अझ अगाडि बढ्नुपर्छ । थप लगानी बढाउनु पर्छ । महासङ्घको अध्यक्षको रुपमा सल्लाह दिँदा तपाईं अबको युवाहरुलाई कुन क्षेत्रमा फोकस हुन भन्नुहुन्छ ? हाम्रो देश अत्यन्तै सम्भावना बोकेको देश हो । म हरेक क्षेत्रमा सम्भावना के हुन सक्छ ? भनेर उदाहरण दिन चाहान्छु । जस्तै पर्यटनमा हामी १० लाख पर्यटक भित्र्याउन सक्छौं । कृषिमा सृजनशीलता ल्याउने हो भने कति उन्नति गर्न सकिन्छ होला किनभने जुन नेपालको जैविक विविधता छ त्यो विश्वमा अरु कतै छैन । तर हामीले त्यसको कुनै अन्वेषण गर्न सकेका छैनौं । हामीले त्यसमा केही गर्न सकेकै छैन । विश्वको कान्छो देशमध्ये एक हौं हामी । २३ वर्ष । हाम्रो प्रतिव्यक्ति आय यस्तो पोइन्टमा पुग्दैछ जब मान्छेहरुको डिस्पोजेबल इन्कम बढेर जान्छ । यसमा खोजौं न सृजनशीलता । यसमा सर्भिसेसहरु खोजौं न । त्यसपछि यातयातदेखि लिएर अन्य धेरै ठाउँमा सृजनशीलता भयो भने धेरै विकास गर्न सकिन्छ । मैले सम्भावनानै सम्भावनाको देशको रुपमा नेपाललाई देखेको छु । पहिला पहिला हामी भन्थ्यौं हामी भारत र चीनको बीचमा छौं एउटा हाइवे बनाइदिए हामीलाई पुग्छ । तर म यो कुरालाई मान्दिन । तर तपाईंको छिमेकीहरु अति धनी हुन्छन् भनेपछि तपाईंको पनि स्ट्याटस् अफ इकोनोमी त केही न केही बढ्छ । जब हामी विश्वकै भाइब्रेन्ट इकोनोमिक डेभलपमेन्ट एरिया भएको बीचमा हुन्छौं भने त्यसबाट हामीले पनि पक्कै केही पाउँछौं । त्यसैले मैले सम्भावनाहरु असीमित देखेको छु । तपाईंले आशावादीता जनाउने कुरा गर्नुभयो तर निराशा भएर युवाहरु देश छोडिरहेका छन् । यो ट्रेण्डलाई युटर्न कसरी गर्न सकिन्छ ? कुनै पनि देशको लागि आफ्ना देशको युवाहरु विमुख भएर विदेशिन खोज्छन् भने त्यो देशको लागि त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । देशमा जिम्मेवारी देखाउने काम सरकार, निजी क्षेत्रदेखि लिएर हामी सबैको हो । तर त्यो सम्भावनाहरु यस्ता छन् भनेर देखाउन नसक्नु हाम्रो असफलता हो । यसको भार हामी सबैले बोक्नुपर्छ । यसलाई युटर्न गर्ने आधार सक्सेस् स्टोरिज हो । हामीले सक्सेस् स्टोरी देखाउन सक्नुपर्यो । आज कसैले कुखरा पालन गरेर वर्षको ५० लाख कमाइरहेको होला । कसैले ट्राउट फार्मिङ्ग गरेर वर्षको एक करोड कमाइरहको छ । कसैले होमस्टे सञ्चालन गरेर मनग्य फाइदा गरिरहेको कथाहरुलाई मार्केटिङ गर्नुपर्यो । युवाहरुलाई देशमा सम्भावना छ है, यहाँ गरेर खान सकिन्छ भनेर भन्न सक्नुपर्यो । यसो गर्दा युवाहरु विस्तारै यसमा आकर्षित हुन्छन् । ३ करोड जनता भएको देश, प्रतिव्यक्ति आय १३–१४ सय भएको देश, अपार सम्भावना भएको देश, विश्वले माया गर्ने देशमा हामीले केही न केही त पक्कै पनि गर्न सक्छौं । नेपालको कानुनले विदेशमा लगानी गर्न रोकेको छ । यो बन्देज खुल्ला गर्न महासङ्घले ध्यान दिएको छैन वा महासङ्घको प्रयासले सम्भव भएन ? कि नेपालीहरुको विदेशमा गएर लगानी गर्नसक्ने क्षमता विकास भएको छैन ? पुँजी रोकेर रोाकिँदैन । कानुन बनाउँदा सबै कानुनको दायरमा आउँछन् । करको दायरामा आउँछन् । जहाँ अवसर देखिन्छ पैसा त्यही बग्छ र नेपालीहरुले बाहिर लगानी गरेका छैनन् भनेर भन्न सकिँदैन । बाहिर लगानी गर्ने कुरालाई लिगलाइज गर्नुपर्छ किनभने हामीले जति रोकेर मानिसहरुलाई करको बाहिर राख्छौं त्यसले त्यति नै बढी विकृति ल्याउँछ । कन्ट्रोल तरिकाले हामीले यसलाई खोल्दै लैजानुपर्छ । (देशविकास पत्रिकाको वर्षअङ्क बाट)