तेस्रो स्थानका लागि संघर्ष गर्दै एमाले र नेकपा
काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) र नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बीच प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणना अनुसार नेकपाले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ भने एमालेले ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकूम पूर्वबाट विजयी हुने सम्भावना बढी देखिन्छ । एमालेका लिलामणि गौतमले २ हजार ७५६ मत पाउँदा प्रचण्डले ६ हजार ८२० मत पाएका छन् । नेकपाका उम्मेदवार वर्षामान पुन (रोल्पा–१), महेन्द्रबहादुर शाही (कालिकोट १), वृजेश कुमार गुम्ता (कपिलबस्तु–२), बीरमान चौधरी (कैलाली–३), नन्दबहादुर साउद (कैलाली–२), भीम बहादुर रावल (अछाम–१), रमेशकुमार मल्ल (सल्लान–१) र दीनानाथ गौतम (काभ्रे–२) को मतगणनामा अगाडि रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी बालेन्द्र शाहको भन्दा कम मत पाइरहेका छन् । एमालेका दीपकबहादुर धामी (डोटी–१), मोहम्मद इश्तियाक राई (बाँके–२), कुलमणि देवकोटा (सुर्खेत–२), लक्ष्मी प्रसाद पोखरेल (दैलेख–२), प्रमोद कुमार यादव (रुपन्देही–४), राजेन्द्र कुमार राई (धनकुटा–१) र भानुभक्त ढकाल (तेह्रथुम–१)मा र सुहाङ नेम्वाङ इलाम–२ मा अगाडि रहेका छन् । शुक्रबार मध्यान्नसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा विजय हासिल गर्दै ९२ स्थानमा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले एक स्थानमा विजयीसहित ११ स्थानमा अग्रता हासिल गरिरहेको निर्वाचन आयोगले जनाएको छ । जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही अग्रस्थानमा छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन अग्रस्थानमा छन् । बाँकी ४१ वटा निर्वाचन क्षेत्रमा मत गणनाको तयारीका काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म रास्वपा एक जितसहित ९२ र कांग्रेस एक जितसहित ११ ठाउँमा अगाडि छ ।
इलाम २ मा सुहाङलाई पछयाउँदै श्रम संस्कृतिका उम्मेदवार
काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पच्छाएका छन् । नेम्वाङले ४९१ मत प्राप्त गर्दा राईले ४४३ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० र रास्वपाका गोकुल राईले १७१ प्राप्त गरेका छन् ।
सुर्खेत- १ मा कांग्रेसका उम्मेदवार विष्णु खड्काले लिए अग्रता
काठमाडौं । सुर्खेत- १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले अग्रता लिएका छन् । खड्काले २ हजार ५ सय १० मत ल्याउँदा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित पछ्याइरहेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर सिंह ठकुरीलाई १ हजार ४४२ मत आएको छ । नेकपाका जितबहादुर रानाले २५४ मत र राप्रपाका रविकिरण हमालले ६० मत ल्याएका छन् ।