सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, सबै मतदानस्थलमा खटाइए

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए ।  उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका ९ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेश भरि १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रमा पुगेका हुन् । मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिश चन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजना अनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ । 

६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने, मौन अवधिमा के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ । निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ-आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ । मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ । भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सु-सूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचरण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

४५ प्रतिशत उम्मेदवारले व्यक्तिगत बैंक खाताबाट निर्वाचन खर्च गर्दै, आयोगले कारवाही गर्ने

काठमाडौं । निर्वाचन प्रयोजनका लागि १ हजार ८६५ उम्मेदवारहरूले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुन श्रीसले कुल उम्मेदवारको आधा भन्दा बढीले खाता खोलेको जानकारी दिइन् ।  फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवारले सहभागी जनाएका छन् । विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । जुन ५४ बढी प्रतिशत हो ।  एघार वटा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले बैंक खाता खोलेको उनले जानकारी दिइन् । १ हजार ५४१ उम्मेदवारले भने खाता नखोलेको उनले जानकारी दिइन । बैंक खाता नखोलेका उम्मेदवारलाई आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले सम्झाउने श्रीसले बताइन् । बैंक खाता खोल्नका लागि आयोगले धेरै ताकेता गरेको उनको भनाइ छ । ‘कुल संख्याको आधाभन्दा धेरै उम्मेदवारले बैंक खाता खोलेका छन्,’ उनले भनिन्,’ पहिलोपटक भएकाले यतिका उम्मेदवार खाता खोल्नुलाई सकरात्मक मान्न सकिन्छ ।’ आयोगमा सुरुवाती चरणमा उम्मेदवारहरू बैंकमा खाता खोल्न झन्झट भएको भन्दै गुनासो गर्दै आएको उनले बताइन् ।  ‘बैंकमा खाता खोल्न जिल्ला निर्वाचन कार्यालयको सिफारिस लिनु पर्ने हुँदा उम्मेदवारले टाढा परेको भनेर गुनासो गरेका थिए,’ उनले सुनाइन्,’ निर्वाचनमा सहभागिता जनाउने उम्मेदवारले बैंक खाता खोल्न मानेनन् । निर्वाचन आयोगले उम्मेदवारको बैंकमा खाता खोल्न सहजीकरण गरिदिन राष्ट्र बैंकसँग अनुरोध पनि गरेका थियौं ।’ धेरै पार्टीका उम्मेदवार आफ्नो व्यक्तिगत खाताबाट निर्वाचन खर्च गरिरहेको पनि उनले जानकारी दिइन् ।