पूर्वअर्थमन्त्री प्रकाश शरण महतले मतदान गरे

काठमाडौं । प्रकाश शरण महतले बिहीबार नुवाकोट जिल्लाबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महतले पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। पूर्व अर्थमन्त्री समेत रहेका उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेको बताए । उनले मतदान केवल अधिकार मात्र नभई लोकतन्त्रप्रतिको कर्तव्य पनि भएको उल्लेख गर्दै सचेत नागरिकका रूपमा सबैलाई मतदान गरेर आफ्नो आवाज व्यक्त गर्न आग्रह गरे ।

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेकी छिन् ।  उनले आम मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भनिन्, ‘आदरणीय दिदीबहिनी तथा दाजु भाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।’ प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरिन् ।

पूर्वमन्त्री जनार्दन शर्माले गरे मतदान

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।  मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले आफ्नो जित सुनिश्चित भएको बताए । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । रुकुम पश्चिममा उनको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।