मतदाताको गोपनीयता सार्वजनिक नगर्न आग्रह, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकोमा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ । आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तक्रिर्या र सूचना प्रकाशन गरी जानकारी गराइ सकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्धारित समय अगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न÷नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ । कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ । आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराए । 

मधेसलाई नबुझी नेतृत्व गर्न सकिँदैन, काठमाडौंलाई बुझाउन उम्मेदवारी दिए: सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौंलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहेका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौंलाई जोड्न आफूले उम्मेदवारी दिएको बताए ।  उनले भने, ‘मेरो परिवार पहाडबाट काठमाडौं आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौंमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौंले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।’ आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए ।  ‘सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,’ सभापति थापाले भने ।  उनले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे । 

झापा-४ मा मतदाताको एउटै प्रश्न- कन्काई पुल कहिले बन्छ ?

काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यासी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ?  नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने, ‘हामी प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मतदाता भेट्न पुग्नासाथ आफ्ना एजेन्डा सुनाउनु पूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन् । विकासको दृष्टिकोणले पछि परेको झापा-४ को विकास एजेन्डा नै हाम्रो पहिलो प्राथमिकता हो ।’ झापा गाउँपालिका-१ सितुमारीका छवि पौडेल भन्छन्, ‘अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाएजस्तो आश्वासनमा हामी अल्मिलिदैनौँ ।’ झापा-४ मा १ लाख ३० हजार ७१२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवारले चुनावी मैदानमा रहेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवार रहेका छन् ।  विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा-४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ । विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रह्यो, तर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक दलहरूको प्रभावले पुराना र नयाँ शक्तिबीचको चुनावी समीकरणलाई रोचक बनाएको छ ।  फागुन २१ पछि मात्र झापा-४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।