बागलुङ–२ मा रास्वपाका शर्मा विजयी
ढोरपाटन । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६४७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेकी छन् ।
बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् । ताजा मतपरिणामअनुसार भण्डारीले ६ हजार २९९ मत प्राप्त गरेका छन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ८८९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार १८९ मत पाएका छन् । नेकपाका परमानन्द भट्टले २ हजार ४५५ र राप्रपाका भुपेन चन्दले ४५७ मत प्राप्त गरेका छन् । यो मत परिणाम २१ हजार ७७९ मत गन्दाको हो । प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
ललितपुर–१ रास्वपाका महर्जन विजयी
पाटन । ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् । प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् । यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बनेका थिए ।