प्रभु बैंककाे दुई दिने वित्तीय साक्षरता कार्यक्रमः अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं । प्रभु बैंकले दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते दुई दिन उक्त कार्यक्रम गरेको हो । यूके एड-डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस् अडभाईजरी र र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा उक्त अन्तक्रिया कार्यक्रम गरेको बैंकले जनाएको छ । विभिन्न पेशा र व्यवसायमा आवद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त २ दिने वित्तीय साक्षरता एवं अन्तर्क्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो । उक्त अवसरमा सहभागीहरुबाट अन्तर्क्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो । प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उपस्थिति जनाएका मुम्बईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नेछन् । साथै, यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ भन्ने बैंकको विश्वास छ ।

प्रभावकारी बन्याे स्थानीय पाठ्यक्रम, विद्यार्थी संस्कारी बन्न प्रेरित

सुरुङ्गा ।  बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको स्थानीय पाठ्यक्रम निकै प्रभावकारी देखिएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत (निजी) सहित ७४ वटा विद्यालयमा आचरण सचेतना शिक्षाको पठनपाठन हुँदै आएको छ । नगरपालिकाले गत आव २०७५/७६ मा रु छ लाख बजेट विनियोजन गर्दै ‘आचरण सचेतना शिक्षा’ नगरका सबै विद्यालयमा लागू गर्न स्थानीय पाठ्यक्रम तयार गरेको थियो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शैक्षिकसत्र २०७६ देखि लागू भएको छ । स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू भएपछि विद्यार्थीलाई संस्कार संस्कृति सिकाउन सहज भएको अनारमनी प्राथमिक विद्यालयका प्रधानाध्यापक टङ्क कटुवालले बताए । ‘आचरण सचेतना शिक्षा’को पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रीतिरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने सवारी नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने हानी नोक्सानीलगायत विषयवस्तुलाई समेटिएकाले व्यावहारिक शिक्षा सिकाउन सहज भएको प्रधानाध्यापक कटुवालको भनाइ छ । कक्षा ३ र ४ मा अध्ययन गर्ने विद्यार्थीका लागि तयार गरिएको पुस्तकभित्र पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकासलाई समेत समेटिएकाले विद्यार्थीको आनीबानी सुधार्नसमेत सहज भएको प्रधानाध्यापक कटुवालले बताए । उनले भने, “सानै उमेरदेखि यो खाले शिक्षा विद्यालयमा विद्यार्थीलाई सिकाउने हो भने विद्यार्थी संस्कारी बन्ने रहेछन् ।” विद्यार्थीलाई घरपरिवार, आफन्त, शिक्षक, आफूभन्दा ठूला र सानासँगको व्यवहार सिकाउन नगरपालिकाले लागू गरेको ‘आचरण सचेतना शिक्षा’ अत्यान्त प्रभावकारी भएको न्युटन्स एजुकेशन एकाडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाइले बताएका छन् । उनले भने, “सानै उमेरदेखि सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियम जस्ता विषयवस्तुसमेत यो पाठ्यक्रममा समेटिएकाले यो शिक्षा विद्यार्थीका लागि अति प्रभावकारी देखिएको छ ।” नगरपालिकाले भने ‘आचरण सचेतना शिक्षा’ लागू गर्दै विद्यार्थीलाई सभ्य र संस्कारयुक्त बनाउन सकिने अपेक्षा राखेको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रयोगात्मकरूपमै विद्यार्थीलाई शिक्षा दिन सकिने गरी पाठ्यक्रम निर्माण गरिएकाले यो शिक्षा प्रभावकारी र नतिजामुखी हुने बताए । उनले भने, ‘‘परिकल्पनामा बालबालिकाको नैतिक, व्यावहारिक र व्यक्तित्व विकाससहितको विद्यालय शिक्षामा गुणात्मक परिर्वतन गर्न यो पाठ्यक्रम लागू गरिएको हो ।’’ नगरले लागू गरेको स्थानीय पाठ्यक्रमलाई प्रत्येक शैक्षिक सत्रमा कक्षा वृद्धि गर्दै लगिने भएको छ । आचारण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्म पठन–पाठन हुने गरी नगरपालिकाले तयारी गरिरहेको नगर शिक्षा अधिकृत तीलचन भण्डारीले बताए । नगरपालिकाले अरु सबै विषय उत्तीर्ण गरेपनि आचरण सचेतना शिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीलाई माथिल्लो कक्षा पढ्न नपाउने नीति लिएको बताइएको छ । नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना शिक्षा’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन भइरहेको छ । नगरपालिकाले विद्यालयमा भएकै शिक्षकलाई तालिम दिएर यो विषय लागू गरेको जनाएको छ । विद्यालयमा पढेका तथा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसँगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने नगर शिक्षा अधिकृत भण्डारीले बताए । बिर्तामोड नगर क्षेत्रमान अहिले कक्षा ३ र ४ का पाँच हजार विद्यार्थीले आचारण शिक्षा लिइरहेका छन् । आचरण शिक्षा व्यवहार उपयोगी र आवश्यक रहेको अभिभावकको भनाइ छ । आचरण सचेतना शिक्षा शुरु भएसँगै विद्यार्थीको दैनिकी र व्यवहारमा सकारात्मक परिवर्तन आएको सरस्वती माध्यमिक विद्यालय बिर्तामोड–५ बुट्टावारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुगंघ कन्दङ्वाले बताए । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको सङ्घीय ढाँचाअन्तर्गत स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र र शैक्षिक व्यवस्थाअनुरुपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई उपयोग गर्दै बिर्तामोड नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको बताइएको छ । प्राथमिक विद्यालय पाठ्यक्रमले प्राथमिक तह भर स्थानीय तहमा मातृभाषा/स्थानीय विषयगत पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार अहिले बिर्तामोड नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गर्दै लागू गरेको हो । रासस

यी हुन् विदेशका राम्रा विश्वविद्यालयका छात्रवृत्ति, यसरी खोज्नुस् अरु

काठमाडाैं । धेरै विद्यार्थीहरुको चाहना हुन्छ विदेशको राम्रो विश्वविद्यालयमा अध्ययन गरेर डिग्री हासिल गर्ने । तर, विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययन खर्च निकै महंगो पर्छ । त्यसैले हत्तपत्त पैसा तिरेर विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययनको आँट गर्न सकिदैन । विदेशका राम्रा विश्वविद्यालयहरु आफैले पनि छात्रवृतिको व्यवस्था गर्छन् । यस्तै, कतिपय बहुराष्ट्रिय र राम्रा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत पनि राम्रा र स्थापित विश्वविद्यालयहरुमा छात्राबृत्तिको व्यवस्था गरिदिएका हुन्छन् । यस्तै कार्यक्रम अन्तरगत अहिले पनि सयौं नेपाली विद्यार्थी पूर्णरुपमा छात्रवृत्ति पाएर विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । तपाईले पनि राम्रोसँग अध्ययन गरेर यस्ता छात्रवृत्तिको लागि आवेदन दिनुहुन्छ भने तपाई पनि विदेशमा छात्राबृत्ति पाउने सम्भावना रहन्छ । १. चिभिनिङ्ग छात्रवृत्ति यो बेलायत सरकारले प्रदान गर्ने छात्रवृत्ति हो । यो छात्रवृत्ति नेपाललगायत विश्वका १ सय ६० भन्दा बढी देशका विद्यार्थीलाई प्रदान गरिन्छ । यो छात्रवृति अन्तगर्त विद्यार्थीलाई बस्न, पढाई खर्च, हवाई भाँडाहरु सबैको व्यवस्था हुन्छ । यो छात्राबृत्ति प्राप्त गर्नको लागि तपाईले प्राप्त गरेको छात्रवृत्तिको समय समाप्त भएपछि कम्तिमा पनि २ वर्षको लागि आफ्नो देश फर्कनुपर्छ । कम्तिमा पनि २ वर्षको कार्य अनुभव हुनुपर्छ । मास्टर लेभलको कोर्षको लागि विद्यार्थीले ब्याचलर लेभलको सबै किसिमको कोर्ष पुरा गरेको हुनुपर्छ । अंगे्रजी भाषाको सबै आवश्यकता पुरा गरेको हुनुपर्छ । तपाईले रोजेको ३ विश्वविद्यालय मध्ये कम्तिमा पनि एउटाले तपाईलाई बिना कुनै शर्त अफर लेटर पाएको हुनुपर्छ । २. अष्ट्रेलियन अवार्ड अष्ट्रेलियन अवार्ड दीर्घकालिन विकासलाई मध्यनजर गर्दै अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति हो । नेपालको लागि अष्ट्रेलियन अवार्ड आर्थिक विकासको प्राथमिक विकासका कोर्स जस्तै शिक्षा, स्वास्थ्य, लैंगिक समानता, अपांग समावेशिकरण, सामाजिक समावेशीकरण, जलश्रोत व्यवस्थापन क्षेत्रमा मास्टर डिग्री गर्नको लागि प्रदान गरिन्छ । यस अवार्डको लागि आवेदन दिनुअघि तपाईले आईईएलटीएस, टोफल, पिटिई जस्ता कोर्स पुरा गरेको हुनुपर्छ । ३. अपसाला आईपीके छात्रवृत्ति स्वीडेनको द अपसाला विश्वविद्यालयले यो छात्राबृत्ति प्रदान गर्छ । यस्तो छात्राबृत्ति मास्टर्स कोर्ष गर्नका लागि हो । यो छात्रवृत्तिले विद्यार्थीको ट्युसन फि पुर्ण रुपमा कभर गर्दछ भने यसमा बस्ने खर्चको व्यवस्था भने हुँदैन । छात्रवृत्ति पाउने मापदण्ड विद्यार्थी युरोपियन युनियन राष्ट्र, युरोपियन ईकोनोमिक एरिया राष्ट्र र स्विटजसल्याण्डको हुनुहँुदैन । विद्यार्थीको शैक्षिक योग्यता राम्रो हुनपर्छ । अपसाला विश्वविद्यालयको कुनै पनि कोर्स पहिलो प्राथमिकता रुपमा छनोट गरेको अवस्थामा मात्र विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । ४. एरिक ब्लेम्युनिक छात्रवृत्ति नेदरल्याण्डको युनिभर्सीटी अफ ग्रोनिजेनमा छात्राबृत्ति पाइने हो । यो छात्राबृत्ति मास्टर तहको अध्ययनका लागि हो । यो छात्रवृत्ति एक वा दुई वर्षको मास्टर कोर्सको लागि प्रदान गरिन्छ । यस छात्रवृत्तिमा शिक्षण शुल्क, अन्तराष्ट्रिय यात्राको खर्च, कितावहरुको शुल्कको व्यवस्था गरिएको हुन्छ । धेरै संख्यामा विद्यार्थीहरुले संसारभरबाट यस छात्रवृत्तिको लागि आवेदन दिएका हुन्छन् । यद्यपि थोरैलाई मात्र विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दछ । छात्रवृत्तिको लागि योग्य हुन विद्यार्थीको स्नातक तहमा निकै राम्रो अंक ल्याएको हुनुपर्छ । विद्यार्थीको अंगे्रजी बोल्न र लेख्न सक्ने क्षमतम राम्रो हुनपर्छ । विद्यार्थीको स्वास्थ्य स्थित पनि राम्रो हुनुपर्दछ । अन्य छात्रवृत्तिहरु –ब्रिस्टल युनिभर्सिटी थिङ्क बिग स्कलरसिप, बेलायत –वल्र्ड सिटिजन ट्यालेन्ट स्कलरसिप फर ईन्टरनेसनल स्टुडेन्टस्, नेदरल्याण्ड –फुलब्राईट फरेन स्टुडेण्ट प्रोग्राम ईन युएसए –एडिनबर्ग ग्लोबल रिसर्च स्कलरसिप, बेलायत –गभरमेन्ट अफ फल्यान्डरर्स मास्टर माईण्ड स्कलरसिप फर ईन्टरनेसनल स्टुडेण्टस्, बेल्जियम