डीएभी बिजनेस स्कुलको तेस्रो कर्पोरेट फुटसल सम्पन्न

काठमाडौं । डीएभी बिजनेस स्कुलले ह्युमन रिसोर्सेस सोसाइटी नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘डीएभी कर्पोरेट फुटसल प्रतियोगिता–२०२६’ को तेस्रो संस्करण सम्पन्न भएको छ । साउन १५ देखि १७ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा ३२ वटा कर्पोरेट टोलीको सहभागिता रहेको थियो । खेलकुदमार्फत उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य, टोली भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वाणिज्य बैंक, बीमा कम्पनी, व्यापारिक संस्था, सूचना प्रविधि कम्पनी, अटोमोबाइल डिलर तथा उत्पादनमूलक उद्योगका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सुरु हुनुअघि आयोजित प्रि–टुर्नामेन्ट बैठकमा सहभागी टोलीका कप्तान, व्यवस्थापक तथा प्रतिनिधिहरूलाई प्रतियोगिताबारे जानकारी गराइएको थियो । डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरीले कार्यक्रमको समापन गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । प्रतियोगिताको औपचारिक उद्घाटन डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले गरेका थिए । उद्घाटन समारोहमा ह्युमन रिसोर्सेस सोसाइटी नेपालका महासचिव दिपेश नाथको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा ३२ लिग खेलपछि १५ नकआउट खेल आयोजना गरिएको थियो । फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक फाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उत्कृष्ट टोली प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण उपविजेतामा सीमित भयो । विजेता काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नगद १ लाख रुपैयाँ, ट्रफी तथा स्वर्ण पदक प्राप्त गरेको छ । उपविजेता नेपाल नागरिक उड्डयन प्राधिकरणले ५५ हजार रुपैयाँ, ट्रफी तथा रजत पदक हात पारेको छ । समापन समारोहमा प्रतियोगितामा सहभागी सबै ३२ टोली, प्रायोजक संस्था तथा रेफ्रीहरूलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो । डीएभी बिजनेस स्कुलका अनुसार प्रतियोगिताले कर्पोरेट क्षेत्रका पेशाकर्मीबीच टोली भावना विकास, व्यावसायिक सम्बन्ध विस्तार तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको छ । सहभागीहरूले प्रतियोगिताको व्यवस्थापन र प्रतिस्पर्धात्मक वातावरणको प्रशंसा गर्दै आगामी संस्करणमा पनि सहभागिता जनाउने उत्साह व्यक्त गरेका छन् । डीएभी बिजनेस स्कुलले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने ह्युमन रिसोर्सेस सोसाइटी नेपाल, मुसाक, क्वान्टम बिट्स (साने), इको इन्फिनिटी प्रालि (एनआईयू), उपर्या ग्रुप (लिब्रा) र अल्का हस्पिटल प्रालिलगायत साझेदार संस्था, सहभागी, अधिकारी तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ । विद्यालयले आगामी दिनमा पनि कर्पोरेट र शैक्षिक क्षेत्रबीच सहकार्य प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी नियुक्त भएका छन् । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । त्यसैगरी, सचिव पदमा प्रा.डा. रोजिश श्रेष्ठ नियुक्त भएकी छन् ।

सरकारले भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयको ताला खोल्यो

काठमाडौं । सरकारले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयकाे ताला खोलेको छ ।  समाज कल्याण परिषद्ले चैत ३० गते देखि बन्द गरेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला परिषद् बुधबार खोलिएको हो । समाज कल्याण परिषद्ले ताला खोलिने जानकारी सहित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई प्रतिनिधि पठाइदिन पत्र लेखेको छ ।  पुस्तकालयले भाडा नतिरेको कारण देखाउँदै समाज कल्याण परिषदले अन्य व्यवसायीक स्टलसँगै पुस्तकालय पनि बन्द गरेको थियो ।  पुस्तकालय बन्द गरेपछि सरकारी निर्णयको चौतर्फी विरोध भएपछि सरकार आफैंले ताला खोल्न लागेको हो ।