अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने, भिसा मापदण्ड पुरा गर्न कक्षा गईरहन आग्रह
काठमाडौं। अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने बताएको छ। अष्ट्रेलिया सरकारको शिक्षा विभागले भर्खरै सिड्नीको एआईबिटी कलेजको दर्ता खारेज भएर अन्योलमा बसेका विद्यार्थीहरुको लागि सुचना निकाल्दै यस्तो बताएको हो। सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको थियो। कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन्। सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरेको हो। सुचना जारी गर्दै अष्ट्रेलियाको शिक्षा विभागले विद्यार्थीहरुलाई हाल संलग्न भईरहेको एआईबिटीबाट आफ्नो नाम नहटाउन भनेको छ।एआईबिटीमा अध्ययन गरिरहेको कोर्स आफुखुसी छोडेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीको क्षती बेहोर्ने छैन। विद्यार्थीले भिसा मापदण्ड पूरा गर्न एआईबीटीद्वारा संचालित कुनै प्रकारको कक्षा वा काम आधारित प्रशिक्षणमा भाग लिईरहनु पर्ने सरकारले जनाएको छ। भिसाको मापदण्ड पुरा नगरेको अवस्थामा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीलाई कुनै पनि प्रकारको सहयोग नगर्ने बताएको छ। यदी एआईबिटीद्वारा कक्षाहरु संचालन भईरहेको छैन भने अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसलाई सम्पर्क गर्न सुचनामा बताईएको छ। विद्यार्थी कक्षा जान किन आवश्यक छ ? – भिसाको मापदण्ड पुरा गर्नको लागि विद्यार्थीहरु आफ्नो कक्षाहरु लिईराख्नु पर्नेहुन्छ। यदी विद्यार्थीले डिप्लोमा ईन नर्सिङ गर्दै छ भने उसले एआईबिटीबाट संचलित कक्षा र ट्रेनिङ तथा प्लेसमेन्टमा गईरहनु पर्ने छ। के हुन्छ एआईबिटी बन्द भयो भने ? – यदी एआईबीटी बन्द भयो भने, एआईबिटीले विद्यार्थीलाई लागि उपयुक्त बैकल्पिक कोर्समा भर्ना गराईदिनुपर्ने हुन्छ र उक्त कोर्स मिलाईदिन नसके एआईबिटीले विद्यार्थीको खर्च नभएको ट्युसन फि फिर्ता गर्नुपर्ने हुन्छ। – यदी एआईबिटीले सही समयमा यसो नगरेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले उक्त काम गर्ने छ। के हो खर्च नभएको ट्युसन फि ? – खर्च नभएको ट्युसन फि भनेको विद्यार्थीले कलेजलाई बुझाएको पैसा हो, उदाहरणको लागि : यदी कुनै विद्यार्थीले १० हप्ताको कोर्सको लागि १० हजार डलर तिर्छ तर उसको ७ हप्ताको कक्षा मात्र संचालन हुन्छ भने उसले ३०० डलर फिर्ता पाउनुपर्छ।
सदर चिडियाखानामा शैक्षिक केन्द्र उद्घाटन, इन्भेस्टमेन्ट बैंकको ५० लाख सहयोग
काठमाडौँ । जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको छ । वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलबार केन्द्रको उद्घाटन गरेका हुन् । सो समारोहमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । ११ लाखले गरे अवलोकन आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार ११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् । इन्भेस्टमेन्ट बैंकको सहयोग नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो संगठित व्यावसायिक उत्तरदायित्व रणनीति अन्तर्गत नेपाल प्राकृतिक संरक्षण कोषको यस कार्यमा सहकार्य गरेको छ । नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वेच्छिक सहयोग गरेको हो । प्रविधिको प्रयोगबाट सिकाईको अनुभवद्वारा बढाउन सकिन्छ भन्नेमा विश्वास नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको छ । चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ । त्यसैले नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बैंकले जनाएको छ ।
चैत मसान्तभित्र स्ववियु निर्वाचन: मन्त्री पोखरेल
प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।