डिपिएस स्कुलमा स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । कुलेश्वरस्थित डिपिएस स्कुलमा स्वास्थ तथा पोषण सम्बन्धि कार्यक्रक्रम सम्पन्न भएको छ । कीर्तिपुर अस्पतालमा कार्यरत पोषण विज्ञ मिरा शाहले पोषणको महत्व, स्वस्थ रहने तरिका, रोगबाट बच्न सकिने र स्वस्थ खानेकुराको बारेमा जानकारी दिएकी थिइन् । कार्यक्रममा अभिभावकसँग अन्तरक्रिया गर्नुका साथै विद्यार्थीको समेत क्यूज मार्फत खानेकुराको उपयोगिताको बारेमा जानकारी प्रस्तुत गरिएको थियो । अहिलेको परिवेशमा बाहिरको खानेकुरा , जन्कफुड, प्याकेटको खानेकुरा नखान, घरमा पकाएको पोषिलो खाना मात्रै राम्रो हुने बुझाएकी छन्। अहिलेका व्यस्त जीवनशैली , घर भित्रै बस्नु पर्ने, मोबाइल ल्याप्टोप, टयाब,टिभि, आदिको प्रयोगले बालबालिकाको शारिरीक तथा मानसिक विकासमा नराम्रो असर पारेको , तथा आफ्नो संस्कार पनि बिर्सन थालेको समेत बताइन्। जति व्यस्त भएपनि आफ्नो सन्तान , परिवारका सदस्यसँगै खाना खानु पर्ने, अहिले आफ्ना सन्तान, परिवारलाई समय दिएन भने भविष्यमा उनीहरूसँग आस गर्नु उचित होइन भन्ने कुरामा पनि छलफल भएको थियो । सुक्ष्म पोषक तत्वको कमीबाट कसरी दैनिक खानेकुरामा ध्यान दिने, मोटोपना, थाइरोइड, मधुमेह , उच्च रक्तचाप ,भिन्न रोगहरु कसरी नियन्त्रण गर्ने, योगा अभ्यास आदिको बारेमा शाहले बताइन् । खानपानबाट नै कसरी स्वस्थ , निरोगी , लामो आयू बाँच्ने समेत जानकारी मूलक प्रस्तुती देखाएको थियो। रोग भएर उपचारको प्रतिक्षा गर्नुभन्दा बरु पहिला नै निरोगी रह्ने उपाय गर्नु जाति भने । खानेकुरा नखाएर होइन, नजानेर हामी बिरामी भएका हौं। उमेर समूह, क्रियाकलाप , काम गर्ने तरिका, रोगी वा निरोगी कस्ता व्यक्ति हो सोहीअनुसारको आहार तालिका दिनु पर्ने बताए। मधुमेह , उच्च रक्तचाप , दम, आदि बिरामीको लागि भिन्न खालको आहार तालिका दिनुपार्ने समेत कार्यक्रमा छलफल भएको थियो ।

क्लिन अप नेपालद्वारा देशव्यापी अभियान पुरस्कार वितरण

काठमाडौं । क्लिन अप नेपालले कमलपोखरीस्थित क्युएफएक्स कुमारीहलमा बिहीबार वार्षिक देशव्यापी अभियान अन्तर्गत पुरस्कार वितरण समारोह आयोजना गरेको छ । यस समारोह क्लिन अप नेपालका प्रत्येक वर्ष गर्ने देशव्यापी अभियान अन्तर्गत रहेको थियो । वर्ष २०७६ अन्तर्गतको देशव्यापी अभियानका लागि क्लिन अप नेपालले अन्तर विद्यालय पटकथा (नाटक) लेखन प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको लागि नेपाल भरी रहेका ९ वटा विद्यालयले १७ वटा नाटक उपलब्ध गराएका थिए । उपलब्ध गराइएका १७ नाटक मध्य विजयी २ वटा नाटकको भिडियो निर्माण गरियो भने बाँकी रहेका १४ वटा नाटक महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेको मेट्रो एफएमले उपयोग गर्ने भएको छ । उक्त समारोह सोही नाटक लेखन प्रतियोगिताको विजेताताहरुलाई पुरस्कृत गर्न गरिएको थियो । समारोहमा क्लिन अप नेपालद्वारा आफूले संचालन गरिरहेको परियोजना नेपाल वेस्ट म्याप, जेरो वेस्ट इन स्कूल र प्रेसिअस प्लास्टिककोको बारेमा पनि प्रकाश पारिएको थियो । नाटक प्रतियोगिता अन्तर्गत भिडियो निर्माण गरिएको विजेता विद्यालयको नाटकलाई प्रिमियर गर्दै, तेश्रो विजयी नाटकलाई स्टेजमा बिमोचन पनि गरिएकाे थियो । सोही समारोहमा जेरो वेस्ट परियोजना अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख अतिथि भू.पू. मन्त्री गणेश शाहले क्लिन अप नेपालले सबै वर्ग र समूहलाई समेटेर गरेको यस कार्यक्रममा आफू पनि सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनमा पनि यस्तै कार्यक्रम गर्न उपस्थित सबै माझ सुझाव दिनुका साथै आगामी दिनमा सहयोग चाहिएमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस अभियानका सहयोगी दाता लक्ष्मी बैँक, वेस्ट कन्सर्न, टिम क्येस्ट, द एसिया फाउन्डेसन, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अन्य संस्था तथा विद्यालय सहभागी थिए । लक्ष्मी बैँक र वेस्ट कन्सर्न यस वर्ष २०७६ देशव्यापी अभियानका मुख्य सहयोगी दाताहरु हून् । यस देशव्यापी अभियान, वर्ष २०६९ मा सरसफाई अभियानबाट सुरु गरिएको थियो र हाल सम्म यस अभियानको पहूँच अनुमानित १ लाख ६२ हजार सर्वसाधारण माझ पुगिसकेको छ ।साथसाथै यस अभियानबाट ४५ जिल्लाहरुमा रहेको १ हजार १ सय १ संकलन बिन्दुबाट करिब ६ लाख ५५ हजार किलो फोहोर संकलन गरिएको छ । यस अभियानका लागि क्लिन अप नेपालले करिब ३ सय सरोकारवालाहरुसँग साझेदारी र सहकार्य गरिसकेको छ ।

इन्फोमेटिक्स कलेजमा नेतृत्व विकास तालिम सञ्चालन

काठमाडौं । पोखराको माटेपानीस्थित इन्फोमेटिक्स कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबारबाट विद्यार्थीहरूका लागि बोल्नेकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिमको उद्घाटन सो कलेजका प्राध्यापक आनन्द भट्टराईले गरेका हुन् । भट्टराईले बोल्नेकला जीवनको जुनसुकै पेशा–व्यवसाय र क्षेत्रमा पनि आवश्यक रहेको हुँदा उत्कृष्ट सफलताका लागि गम्भिरतापूर्वक तालिममा सहभागी हुन सहभागी विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका प्राध्यापक बद्रिप्रसाद लामिछानेले नेतृत्वविकासको चरणमा बोल्नेकला लगायतका विभिन्न शिपहरूको आवश्यकता पर्ने हुँदा सोको विकासका लागि कलेजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको भन्दै आगामी दिनहरूमा उत्कृष्ट रचनात्मक कार्यहरू सञ्चालन हुनेमा विश्वस्त रहन विद्यार्थीहरूलाई आग्रह गरे । कलेजका प्राध्यापक अर्जुन सापकोटाले शैक्षिक गुणस्तर विकासका लागि अतिरिक्त क्रियाकलापहरूको महत्वपूर्ण भूमिका रहने हुँदा विश्वविद्यालय स्तरमा विद्यार्थीहरूको क्षमता विकासलाई आफुहरूले उच्च प्राथमिकतामा राखेर अध्यापन कार्य सञ्चालन गर्दै आएको बताएका छन् । स्नातकतहको तृतीय वर्षमा अध्ययनरत २५ विद्यार्थी सहभागी रहेको कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने छ । बोल्ने कला अन्तर्गत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका विषयमा सञ्चारकर्मी रामजीप्रसाद लम्सालले सहजीकरण गरेको उक्त कलेजका विद्यार्थी व्यवस्थापन विभाग प्रमुख आरजु बरालले जानकारी दिए । अर्जुन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत एवम् कार्यक्रमबारे जानकारी बद्रीप्रसाद लामिछानेले गरेका थिए ।