ठूलाे लगानीसहित शिक्षा क्षेत्रमा नम्वर वान बन्दैछाै- सिजी ग्रुपका करण चौधरीसँगकाे अन्तरवार्ता
करणकुमार चौधरी, कार्यकारी निर्देशक–चौधरी ग्रुप व्यवसायिक घरानाको परिवारमा हुर्केका करणकुमार चौधरीको व्यवसायिक यात्रा एक दशक लामो भईसकेको छ । ११ वर्षअघि व्यवसायमा छिरेको चौधरी अहिले सिजी होल्डिङ अन्तरगतको सिजी मोटोकर्प, सिजी मनि ट्रान्सफर, नेपाल ल्युव आयल लगायत कम्पनीहरुको नेतृत्व गरिरहेका छन् । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका कार्यकारिणी सदस्य समेत रहेका चौधरीसँग अटोमोवाईल्स बजार, उनको व्यवसायिक योजना र आकांक्षाबारे विकासन्युजका लागि प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस यसपटक । पछिल्लो समय अटो मोवाइल क्षेत्रमा मन्दी आएको हो ? यसबारेमा मेरो सोच्ने तरिका अलि फरक छ । अरुहरुले त अटो मोवाइल क्षेत्रमा मन्दी आएको छ भन्छन् तर म यसो भन्दिन । किनकी मैले यसलाई वे अफ बिजनेशको रुपमा लिइसकेँ । १ वर्ष हुन्छ म अचम्मित हुन्छु । २ वर्ष हुन्छ, अनि यस्तो लाग्छ यो ट्रेण्ड बनिरहेको हो कि ? यो त तेश्रो वर्ष हो । बिजनेशमा यस्तो हुन्छ कि कहिले मन्दी हुन्छ, कहिले अलि चल्छ । नेपालको आर्थिक वर्ष साउनमा शुरु हुन्छ । त्यसपछि दशैं आइहाल्छ । अटो मोवाइल क्षेत्रमा त झन् भदौदेखि नै दशैँले छोइसकेको हुन्छ । नाडा अटो शोपछि नै दशैँ शुरु भइसक्छ । दशैँ त्यहाँबाट शुरु भएतापनि त्यो बेलाको बुकिङलाई गाडी दिंदादिंदा मंसिर सकिन्छ । त्यसपछि पुस महिना आउँछ । पुस महिना यस्तो महिना हो, हाम्रो रितिरिवाज, लाइफस्टाइलका लागि राम्रो महिना होइन । यो महिनामा मानिसहरुले गाडी किन्न खोज्दैनन् । यसमध्ये कतिपयले भने जरुरी परेमा किन्छन् । मंसिर, पुस, माघ, फागुन स्वभाविक रुपमा मन्दी आउने समय हो । चैत महिनामा अलि बढ्छ, नयाँ वर्षमा नयाँ गाडी चढ्न खोज्छन् । अहिलेको अवस्थालाई मन्दी नमान्ने हो भने अटो मोवाइल क्षेत्रको मार्केन्ट ग्रोथ कस्तो छ ? ओभरअल मार्केट ग्रोथ छ । हामीले ३ वर्षमा पहिलो वर्ष १२/१३ हजार गाडी बेच्थ्यौ भने त्यसपछि १६ हजार पुग्या छ । यो वर्ष मेरो अनुमानमा १९ हजार पुग्नु पर्ने हो कार/जीप बिक्री । सुजुकीले इयर अन इयर बिक्री बढिरहेको छ । ओभर अल सेग्मेन्टमा त ग्रो गर्ने नै भइहाल्यो । हामीले सेग्मेन्ट टार्गेट गरेर पनि ग्रो गराइरहेका छौं । पहिलो सुजुकी कम मूल्यमा बढी बिक्न गाडी हो भनिन्थ्यो । आज स्वीफ्टहरुको सेग्मेन्टमा पनि राम्रो छ । युटिलिटी सवारी साधनमा ब्रेजाको बिक्री दोस्रो स्थानमा छ । हामी क्रेटाभन्दा केही कम छौं तर फोर्डभन्दा माथि छौं । ओभरअल ट्रेण्डमा सुजुकीको बिक्री बढीरहेको छ । हामीले कार/जीप सेगमेन्टमा ३६ प्रतिशत मार्केट होल्ड गरेका छौं । लोनको कुरा गर्दा सुजुकी नै ८५ प्रतिशत फाइनान्स गरेर नै बिक्री गरेका हुन्छन् । मानिसहरु नगदमा भन्दापनि फाइनान्स गरेर गाडी किन्न रुचाउँछन् । बजारमा जति रोइ कराई गरे पनि अटोमोबाइल क्षेत्रले राम्रै गरिरहेको छ । तपाईँले भन्नुभयो ८५ प्रतिशत सवारी अटो लोनमा खरिद बिक्री भइरहेको छ । बैंकको ब्याज दरपनि १४/१५ प्रतिशत छ । लगानीयोग्य पुँजीको कमी देखिन्छ बैंममा । यसले असर गरेको छैन ? यो एउटा मनोबैज्ञानिक असर मात्र हो । अरु केही होइन । पहिले ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पथ्र्यो । अहिले १५ प्रतिशत बढी तिर्नु पर्ने त हो । ८/९ प्रतिशतबाट १२ प्रतिशत पुगेको त हो अटो लोन । त्यसकारण बैंक ब्याज महङ्गो भएर गाडी बिक्री घट्यो भन्नु उपयुक्त हुन्न । अहिले देशको अवस्था पनि नाजुक छ । फरेन करेन्सी जुन रिजर्भ छ, त्यो डेन्जर जोनमा छ । फरेन्स करेन्सी बाहिर पठाउने अटो मोवाइल क्षेत्र टप टेनमा होला तर टप थ्रीमा छैन । अटोमोवाईल क्षेत्रले भन्दा विदेश गुम्ने जाने नेपालीले विदेश लैजाने डलर बढी छ । त्यसतर्फ सरकारले ध्यान दिने कि ? उच्चदरको करले होला, व्यवसायिक लागत उच्च भएर होला, नेपालीहरुको लागि निजी सवारी निकै महँगो भएको छ । कसरी सवारीलाई सस्तोमा र आम मानिसको पहुँचमा पुर्याउन सकिन्छ ? मेरो यसमा के सोचाई छ भने सस्तो गाडी छ भन्दैमा मान्छेले किन्दैन । हामी कहाँ सस्तोमा अल्टो छ १४ लाख ४९ हजारमा किन्न सकिन्छ । तर, यसको बिक्री घट्दै आएको छ । मानिसहरुको सोचाई परिवर्तन भएको देखिन्छ । सस्तो भन्दा पनि राम्रो गाडी चढौँ न भन्ने सोचाई विकास हुँदै आएको छ । पहिलो पटक गाडी किन्नेहरु पनि इन्ट्री लेवलको कार किनि रहेका छैनन् । १४ लाखको अल्टो छोडेर २४ लाखको सेलेरो किन्न थाले । ऋणै गरेर भए पनि महँगो गाडी चड्ने क्लास बढेको छ । ल्याण्ड रोभर, जीप जस्ता महँगा गाडी सडकमा प्रशस्त देखिन थालिसके । समाज देखावटी रुपमा गइसक्यो । नेपालीको इच्छा आकांक्षा निकै बढ्यो । पहिला नेपाली घुम्न जाँउ न भन्दा भारत आउँथ्यो–आग्रा, जयपुर । दिन राम्रो भएको रहेछ भने गोहा गुम्न जाउँ भनिन्थ्यो । तर अहिले नेपालीहरु अमेरिका, अष्ट्रलेलिया, स्वीजरल्याण्ड, अफ्रिकामा जंगल सफारी जाउँ भन्छन् । घुम्न जाने देशमा भारतको नाम नै पर्न छोड्यो नेपालीका लागि । घरमा केटाकेटीले पनि स्मार्ट फोन माग्छन्, टचवाला । जहाँ फेसबुक, ट्वीटर, यूट्युव, ह्वाटएप सबै चल्नुपर्छ । समाजमा देखावटी पन बढेको हो कि नेपालीहरुको आयस्रोत नै बढ्या हो ? आयश्रोत बढेको भन्ने चिजको तथ्याङ्क छैन । देखावटी नै हो । बल्लबल्ल बैंकको कति प्रोसेस गरेर कसैले गाडी किने भने उसले त्यो गाडी पाल्न धौ धौ परेको देखिन्छ, यसरी हेर्दा नेपालीको आयश्रोत बढ्यो, त्यही भएर महङ्गो गाडी चढ्न थाले भन्न सकिदैन । अलि फरक प्रशंगमा कुराकनी गरौं, तपाईँले कुन–कुन बिजनेश लिड गरिरहनु भएको छ अहिले ? अटोमोविल छ । नेपाल ल्यूब आयल र सिजी मनी लिड गरिरहेको छु । चौधरी ग्रुपका अरु कम्पनीमा म एडभाइजर रोलमा हुन्छु । नेपाल ल्यूब आयलको अवस्था कस्तो छ ? राम्रो छ । यस वर्ष हामीले सेयरधनीलाई ४० प्रतिशत लाभांश दियौं । सरकारले निजीकरण गरेका कम्पनी मध्ये सबैभन्दा राम्रो कम्पनीमा पर्छ नेपाल ल्युब । तर यो कम्पनीको सेयर कारोबार किन हुँदैन ? मैले हाम्रो एजिएममा पनि यो कुरा उठाएको थिएँ । हाम्रो शेयर पनि किनबेच गरौँ न । हाम्रो शेयरको भ्यालु बढ्ने हो । तर, अहिले नेपाल ल्यूबको शेयर भ्यालु २०० सय छ तर मार्केन्टमा यस्तो भ्याबरेन्ट ल्याइरहेको कम्पनीको शेयर भ्यालु त बढ्नु पर्ने हो नि । कसैले बेच्नै मान्दैन, आज ३/३ पुस्तासम्म शेयर होल्ड गरेर राखेको छ । त्यसलाई के भन्ने ? त्यस्तो मोह छ, आजसम्म ट्रेड नै भएको छैन । नेप्से अपडेट छ, डिम्याटमा अपडेड छौं । नेपाल ल्यूब आयलमा ८०० शेयरधनी छन् तर यसको शेयर कारोबार नै हुँदैन । आज शेयर किन्न जानुस्, कसैले बेच्दैन । ४० प्रतिशत रिटर्न इन्भेष्टभेन्ट बैंकको सेयर मूल्य ६०० भन्दा माथि छ । तर नेपाल ल्युवको सेयर मूल्य किन २०० मात्र ? हो । यो कम्पनी निकै राम्रो छ । यसको सेयर मूल्य १००० भन्दा माथि हुनु पर्ने हो । आफूले रन गरेको कम्पनीको शेयर मूल्य बढोस् भन्ने त भइहाल्छ नि । खै किन यस्तो भइरहेको छ, मलाई नै थाहा छैन । सिजी मनी ट्रान्सफरको के छ बिजनेश ? यो बिजनेशमा म आउँदा त्यस्तो ग्रोथ हेरेर आएको हैन । रेमिटेन्स बिजनेश एउटा अनौठो बिजनेश छ । आज जुन हिसाबको प्रतिष्पर्धा छ, नेपालमा म रेमिटेन्स ल्याइदिन्छु, उताबाट यता, यताबाट उता पैसा ल्याइदिन्छु भन्दैमा पैसा कमाउन असंभव छ । किनभने अरु कम्पनीहरुले धेरै चिज अफर गरिरहेका छन् । हुन सक्छ हामीले पनि भविश्यमा केही न केही अफर ल्याउँदै छौँ । त्यो ल्याउँदा यो बिजनेशको स्केल त्यही अनुसार बढ्ने हो । यसलाई कसरी बढाउने भन्ने बारेमा सोचिरहेका छौँ । तपाईँ ११ वर्षदेखि बिजनेशमा हुनुहुन्छ । के रहेछ बिजनेश ? मेरो बिचारमा बिजनेश मेन्टल पीस अर्थात दिमागको आराम, शान्ति नै रहेछ । विजनेशमा साँच्चै शान्ति छ, म बनावटी कुरा गरिरहेको छैन ? तपाईँले सोध्नु पनि जायज छ । कहिले काँही केही अप्ठ्यारो, तनाव होला, समग्रमा भन्दा शान्ति नै हुन्छ । म यो भूमिमा आएको विजनेश गर्नका लागि हो । यो भूमिमा केही गरेर देखाउनु पर्नेछ । अरु भन्दापनि यो देशको नाम माथि बढाउनु पर्नेछ । आज मेरो देश सिंगापुर जस्तो भएको भए मैले कति गर्थे होला ? बिजनेशको प्लेफर्मबाट नेपाललाई अन्तर्राष्ट्रिय फोरममा चिनाउन सकिन्छ ? मैले मेरो देशलाई चिनाउनका लागि पहिलो कुरा देशमा म चिनिनु पर्छ । देशले मलाई चिन्नु पर्छ पहिला । देशले मलाई चिन्ने कसरी त ? यो देशले बनाएको मान्छेले के गर्न सक्दो रहेछ ? मेरो एउटा लक्ष्य रहेको छ, म जहाँकहीँ पनि जाँदा मान्छेले फर्केर हेरोस् । चिनोस्÷नचिनोस्, मान्छेको नाम चिन्नु स्वभाविक छैन, एकचोटी को आएछ भन्ने चाँही होस् । नेपालको फिल्डमा त मलाई कत्तिले चिन्नु हुन्छ होला, कत्तिले चिन्नु हुन्न, बाहिरपनि त्यो फिलिङ गराउनु छ । आज व्यवसाय भन्ने, उद्योग भन्ने चिज एकदम पावरफुल चिज हो । किनभने यो चिजले आज संसारमा मान्छेले ब्राण्डको रुपमा लिन्छ । आज सुजुकी गाडी भन्ने त सबैले चिन्छिन् नि । मैले भविश्यमा एउटा ब्राण्ड निकालेर संसारमा पुर्याउनले लक्ष्य लिएको छु । त्यो ब्राण्ड विश्वमा पुग्यो भने देशको नाम माथि आउँछ । आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो प्रोडक्ट/इनोभेशन चाहियो नि ? म निराश छैन, म एउटा लक्ष्य लिएर अगाडि बढिरहेको छु । म यो कुरामा विश्वास राख्छु कि म चुप लागेर बसेँ भने फल पाउछुँ भन्ने छैन । मैले कर्म गर्नु पर्छ तब फल पाउँछु । मलाई केही लिएर जानु छैन, मलाई त्यस्तो केही गर्नु छैन । म सधैँ खुशी छु । मैले जे गरेपनि नम्बर वान हुने मेरो लक्ष्य हो । अब लगानी विस्तार कहाँ कहाँ गर्दै हुनुहुन्छ ? हाम्रो देशमा सबैभन्दा खाँचो बुद्धिको छ, शिक्षाको खाँचो छ । शिक्षा हाम्रा लागि एकदमै महत्वपूर्ण क्षेत्र हो । आउँदो दिनमा बृहत रुपमा शिक्षाको क्षेत्रमा लगानी गर्नेछौँ । त्यसको लागि के गर्ने भन्ने सोचिरहेका छौँ । हाम्रो काठमाडौँ बल्र्ड स्कूल खुलेको छ । लिंकन स्कूल, प्रिमियर कलेज, एक्सल कलेज, सिजी आयाममा लगानी गरेका छौं । त्यसबाट शिक्षाको गुणस्तर बढाएका छौँ । शिक्षामा हामी नम्बर वान बनेर आउँछौं । अर्को हाम्रो ध्यान पर्यटन क्षेत्रमा छ । हाम्रो देशलाई चिनाउन पनि पर्यटन क्षेत्रको विकास र त्यसमा लगानी गर्नु जरुरी छ । होटल अर्को क्षेत्र छ, त्यसले ठूलो कट्रिव्यूट गर्ने वाला छ । हामी पावरमा जाने वाला छौँ । जति कठिनाई भएपनि पावरमा जानु पर्ने जरुरी छ अहिले । देशलाई इलेक्ट्रिसिटी जरुरी छ । उत्पानमुलक उद्योगमा पनि ठूलो लगानी गर्ने सोचमा छौं । तपाईँका बुबाहरु ३ दाजुभाई, सबैजना बिजनेश मै हुनुहुन्छ र सिजी भन्ने बित्तिकै बिनोद चौधरीको भन्ने बुझ्छन् । यसले गर्दा तपार्इँहरुलाई ब्राण्ड डोमिनेशको फिल हुन्छ कि हुँदैन ? मैले जहिले पनि एउटा कुरा सोच्ने गरेको छु । परिवारलाई कहिले पनि बिजनेशको रुपमा लिइन् । बिनोद बुबाले गर्नु भएको, बसन्त बुबाले गर्नु भएको वा मैले गरेको सबै चौधरी ग्रुप नै हो । मैले कसैलाई म चौधरी ग्रुपको भन्दा तपाईँ बिनोद चौधरीको रिलेटिभ भन्दा किन दुःख मान्नु ? हो, मेरो ठूलो बुबा भन्छु । यो त झन् सकारात्मक कुरा हो । उहाँले मलाई चिनाउन सहयोग गरिरहनु भएको छ । नाम एउटै भएता पनि हाम्रो बिजनेश सम्पूर्ण रुपमा फरक छ । आज निर्वाण दाईहरुले के गर्नु हुन्छ मलाई सरोकार छैन, मैले के गर्छु उहाँलाई सरोकार छैन । तर हामीबीच अत्यान्तै राम्रो सम्बन्ध छ । हामी एक अर्कोसँग प्रतिष्पर्धा गर्दैनौँ । हामी एकअर्कामा स्वायत्त छौँ, तर चौधरी ग्रुपमा सबै एकताबद्ध छौँ ।
कम ग्रेड ल्याउनेलाई शिक्षा शास्त्र पढाएर शैक्षिक गुणस्तर बढ्दैन : शिशिर खनाल (टिच फर नेपाल)
शिशिर खनाल : प्रमुख कार्यकारी अधिकृत, टिच फर नेपाल शैक्षिक सुधारका लागि सिकाई पद्धतिमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता महसुस गरी शुरु भएको संस्था हो ‘टिच फर नेपाल’ । सोही संस्थाका एक अभियन्ता हुन् शिशिर खनाल । तनहुँमा जन्मिएको उनले केही बर्ष गाउँमै पढेर जागिरे बुवाको पिछा लागेर विभिन्न ठाउँमा पढ्ने मौका पाएका थिए । कक्षा ७ सम्म सर्लाहीमा अध्ययन गरेर काठमाडौमा एसएलसी सिध्याएपछी प्लस टु त्रिचन्द्र कलेजबाट पूरा गरेका थिए । उनी उच्च शिक्षाको लागि अमेरिका गए र केही समय त्यहाँ काम गरे । फर्केर नेपालको गाउँहरुमा काम गर्ने क्रममा गुणस्तरीय शिक्षालाई गहिरो रुपमा बुझ्ने मौका पाए र टिच फर नेपालको सुरुवात गरे । उनै शिशिर खनालसँग टिच फर नेपालको अभियान कस्तो हो ? अहिले के गरिरहेको छ ? र समग्र शैक्षिक क्षेत्रको बारेमा विकास न्यूजका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: ‘टिच फर नेपाल’ कस्तो अभियान हो ? ’टिच फर नेपाल’ शैक्षिक र सामाजिक न्यायको लागि युवाहरुबीचको अभियान हो । नेपालमा सामुदायिक विद्यालय र निजी विद्यालयको नतिजामा ठूलो भिन्नता देखिएको छ । यो केवल डिग्रीको भिन्नता मात्र नभएर सामाजिक तथा आर्थिक अवस्थाको परिमाण पनि हो । जसमा तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर भएका परिवार तथा बालिकाहरु प्रायः सरकारी स्कुलमा गएका देखिन्छ यसको अर्थ नेपालमा अझैपनि सामाजिक विभेद रहेको छ । यी दुई शिक्षा प्रणालीको फरक नतिजा हुने बित्तिकै यसले ब्यक्तीको जीवनभरी असर गर्छ, यसकारण मानिसहरुमा एक प्रकारको विभेद सिर्जना हुन्छ । कोही मान्छे छोरा वा छोरी भएर जन्मियोस्, गाउँमा जन्मियोस् कि शहरमा जन्मियोस्, धनी भएर जन्मियोस् अथवा गरीब भएर जन्मियोस् भन्ने कुराले उनको शिक्षामा फरक नपारोस् भने हाम्रो मुख्य उदेश्य हो । हाम्रो मूलधारणा सार्वजनिक शिक्षा बलियो हुनपर्छ र त्यसको लागि योगदान गर्न सक्ने युवाहरुको जमात तयार गर्ने हो । ‘टिच फर नेपाल’ को नेतृत्वमा को को हुनुहुन्छ ? हाम्रो नेतृत्व परिषदमा नेपालमा नाम चलेका ब्यक्तित्वहरु जस्तै केदारभक्त माथेमा, गगन थापा, मनप्रसाद वाग्ले, शेखर गोल्छा, अनिलकेशरी शाह लगायत सामेल हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा हाम्रो कार्यकारी कक्षमा २५ जनाको फुलटाइम टिम छ, त्यसले दिनहुँ गरिने तालिम दिने, अप्लिकेसन लिने जस्ता काम गर्छौँ । एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् । तपाईलाई ‘टिच फर नेपाल’ मा लागेर भविष्यमा केही गर्नुपर्छ भन्ने सोचको विकास कहिले, कुन मोडमा आएर उत्पन्न भयो ? सामुदायिक विकासलाई मध्यनजर गर्दै अमेरिकाबाट नै नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ म नेपाल आएको थिएँ । महात्मा गान्धीको फिलोसोफीबाट म एकदमै प्रभावित भएको थिएँ । एउटा गान्धीय वार्डमा काम गर्ने क्रममा गाउँ गाउँमा भएको शिक्षाको अवस्थालाई मूल्याङ्कन गर्दै जाँदा गुणस्तरीय शिक्षाको समस्या देखियो । राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ’टिच फर नेपाल’ को स्थापना भएको हो । वि.स २०६८/०६९ बाट शिक्षाको विषयमा मैले गम्भीर रुपमा सोच्न थालेँ, त्यसपछि २०६९ को दशैँपछि हामीले ’टिच फर नेपाल’ को पहिलो ब्याच खटाउनको लागि तालिम दिई २०७० को बैशाखदेखी विद्यालयमा पठाई काम शुरु गरेको हौं । नेपालमा शिक्षाको महत्व र शिक्षाको स्थिति कस्तो रहेको छ ? शिक्षा दुई प्रकारको हुन्छ, औपचारिक र अनौपचारिक । अनौपचारिक शिक्षा त हामी जीवनमा निरन्तर रुपमा सिकिरहेका हुन्छौँ । औपचारिक शिक्षाको कुरा गर्न पर्दा नेपालमा यसको सुरुवात २००७ साल पछिमात्र नागरिकको पहुँचमा पुगेको हो । त्यस अगाडि दरबार स्कुल तथा केही संस्कृति पढाउने विद्यालयहरुमा मात्र शिक्षा दिने गरिन्थ्यिो । हाम्रोमा बिशेष गरी नागरिकको पहुँचमा शिक्षा बल्ल २००७ सालको क्रान्ति पछि मात्र पुगेको हो । २०४६ सालको जनअन्दोलन पछी मात्र शिक्षा क्षेत्रको बिकास राम्रोसँग भएको देखिन्छ । पछिल्लो १५–२० बर्षको रेकर्ड हेर्यो भने चाँही बिकासशील देशको सन्दर्भमा नेपालमा शिक्षाको पहुँच राम्रो देखिन्छ । ५ देखी ६ बर्ष उमेरको झ्ण्डै ९७ प्रतिशत बालबालिका विद्यालय पुगेको सरकारको तथ्यांकले देखाउँछ । त्यो हिसाबले हाम्रो साक्षरताको दर धेरै रहेको छ । त्यस्तै, वयस्क साक्षरता ८० प्रतिशत देखिएको छ । साक्षरताको प्रतिशत राम्रो भएतापनि समस्या भने १०० जनाले कक्षा १ मा भर्ना भए भने त्यो पछी १० कक्षामा पुग्दा १० प्रतिशत भएर गएको देखिन्छ । यसले २ तिहाई विद्यार्थी कक्षा १० सम्म नपुगेको देखिन्छ । नेपालको परिवेशमा सरकारी भन्दा निजी स्कुलमा पढ्नेले राम्रो शिक्षा पाएको देखिन्छ । शिक्षण पेशा प्रतिको मानिसहरुको धारणा अझै पनि राम्रो देखिदैन, यसको कारण के होला ? शिक्षण पेशालाई अझैपनि समाजमा उच्च स्तरीय पेशाको रुपमा नलिनु दुई वटा कारण छन् । तथ्याङ्क हेर्दै गर्दा सरकारी स्कुल र निजी स्कुलको विद्यार्थीमा गणित, विज्ञान र अंग्रेजी जस्तो बिषयमा एकदमै बढी भिन्नता देखियो । पब्लिक स्कुलबाट एसएलसी फेल हुने ९० प्रतिशत विद्यार्थी यी बिषयहरुमा कमजोर देखिए । किन त सामाजिक, नेपाली, स्वास्थ्य÷जनसंख्यामा चाहीँ केटाकेटीहरु पास हुने तर अन्य बिषयमा चाँही फेल हुने कारणको अध्ययन गर्यौं । हामी कहाँ एसएलसीपछि नै हाम्रो करियरको लागि बाटो छुट्टिने गर्छ । एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् । पछिल्लो समय ग्रेड कति ल्यायो भने के पढ्न पाउने भन्दा सबैभन्दा कम ल्यायो भने मात्र शिक्षा संकाय पढ्न पाउने भनिएको छ । हाम्रो संस्कारले पनि शिक्षा सम्मानजनक पेशा हो र त्यस पेशाप्रति राम्रो मानिसहरुलाई तान्न पर्छ भनेर भन्दैन भने अर्कोतर्फ सरकारी नीतिले पनि त्यो भन्दैन । जब हाम्रो समाज र सरकारको नीति दुवैले शिक्षक सम्मानजनक पेशा हो भनेर भनिरहेको छैन । यसले गर्दा कमजोर विद्यार्थीहरु शिक्षक बन्ने भए, राम्रो पढ्ने मान्छे अन्य पेशामा संलग्न हुने भए । सही प्लेटफर्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ । कस्तो ब्यक्तीले टिच फर नेपालको लागि अप्लाई गर्छन् र तपाईंहरु आफ्नो फेलो कसरी छान्नु हुन्छ ? हाम्रोमा अप्लाई गर्ने मानिसहरु ठूलो संख्यामा रहेका छन् । शिक्षाशास्त्र पढेकाहरु मात्र नभएर हरेक विधाका मानिसहरुले टिच फर नेपालमा काम गर्नको लागि आवेदन दिने गरेका छन् । हामीले हेर्ने भनेको शैक्षिक योग्यता, उहाँहरुको हाम्रो अभियानप्रतिको बुझाई र प्रतिबद्धता हो, किनभने धेरैलाई यो पनि लाग्न सक्छ कि यो ६ महिना गरेपनि हुन्छ वा १ बर्ष गरे पनि हुन्छ । यो गलत हो, हाम्रोमा २ बर्षको फुल टाईम कमिटमेन्ट चाहिन्छ चाहिन्छ, त्यो बाहेक उहाँहरुको समाजप्रतिको बुझाई र पढाइ बाहेक अन्य कुराको संलग्नतालाई हेरेर हामी आफ्नो अभियानमा सामेल गराउँछौ । विद्यार्थीमा बिकास हुने त छँदै छ, तर फेलोमा चाँही यो कार्यक्रमले कसरी सहयोग गर्छ ? हामीले उहाँहरुलाई पहिलो ६ हप्ता ट्रेनिङ दिएर मात्र गाउँमा पढाउन पठाउँछौ । त्यसपछी उहाँहरु हरेक महिना भेटेर क्लस्टरमा आफ्नो समस्या र ईनोभेसनहरु सेयर गर्नुहुन्छ । हरेक तीन महिनाको एकचोटी हामी उहाँहरुलाई ४ दिने ट्रेनिङ पनि दिने गरेका छौँ । उहाँहरुले कक्षाकोठा र समाजमा देखेको समस्या र त्यसलाई कसरी हल गर्ने साथसाथै नेपालको ऐतिहासिक कुराहरु कसरी बुझ्ने र एउटा शिक्षकको अभियन्ताको रुपमा हामी उनीहरुलाई दुई बर्षसम्म मात्र नभएर दुई बर्ष पछी पनि काम गर्नुपर्छ है भनेर बुझाईरका हुन्छौँ । हामीले समाजको समस्याहरुलाई हेर्ने दृष्टिकोणमा उहाँहरुलाई मद्त पुर्याउँछौँ । हरेक बर्ष कति युवाहरुले अप्लाई गर्नुहुन्छ ? यो बिस्तारै बढ्ने क्रममा छ । सबैभन्दा पहिलो बर्ष ५०० जनाले अप्लाई गर्नुभएको थियो भने अहिले १७६० जनाले अप्लाई गर्नुभएको छ । हामीले पहिलो साल ३० जना लियौं, पछिल्लो बर्ष ६० जना र यसवर्ष नि ६० जना नै लिनेछौँ । नेपालली युवाहरु के पोजिटीभिटीतर्फ अघि बढेका हुन् ? पक्कैपनि यसमा त कुनै दुईमत नै छैन । सही प्लेटफार्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ । तर, अब हामीसँग पनि न्युनतम श्रोत र नीति नियमको कारणले बढाउन सकिरहेका छैनौँ । किनभने पढाउनु सजिलो कुरा होईन । त्यसैले जती युवाहरु लिन चाहिरहेका छौँ, त्यती हामीले लिन सकिरहेका छैनौँ । तर स्पष्ट रूपमा नेपालमा मात्र नभएर विदेशमा बसेका नेपाली युवाहरुपनि अहिले टिच फर नेपालको फेलोको रुपमा गाउँघरमा कार्यरत छन् । जहाँ भएपनि नेपालको समृद्धि र बिकासमा योगदान गरिरहेका छन् । राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ‘टिच फर नेपाल’ को स्थापना भएको हो । फेलोहरु कुन कुन जिल्लामा कार्यरत छन् त ? हामी सबैभन्दा पहिला ललितपुर, सिन्धुपाल्चोक र धनुषामा कार्यरत थियौँ । अहिले हामीले थपा तीन जिल्ला पर्सा, लम्जुङ र दाङमा काम गरिरहेका छौँ । फन्डिङको व्यवस्था कसरी गर्नुहुन्छ ? यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाली ब्यक्तीहरुले हाम्रो मन्थली गिभिङ क्याम्पियन महिनाको पाँचसय, हजार, दुई हजार, ५ हजार दिने गर्नुहुन्छ । अर्को श्रोत भनेको हामी जुन समुदाय, स्थानीय सरकार विद्यालयसँग काम गर्छौ, वहाँहरुपनि हाम्रो श्रोत हुनुहुन्छ । तेस्रो नेपालको कर्पोरेट सेक्टर रहेको छ । यसमा झन्डै ११ वटा कम्पनीहरुले हामीलाई सहयोग पुर्याउँदै आउनुभएको छ । चौथो चाँही नेपाल, बाहिर भएका नेपाली साथीहरु र केही विदेशी साथीहरुले पनि ५–१० डलर सहयोग गर्नुहुन्छ । पाँचौ चाहीँ अन्तराष्ट्रिय संघसस्थामा जहाँ चाहीँ अप्लाई ग्राण्टहरु खुलेको थाहा भएपछी हामीले हाम्रो कार्यक्रमलाई सहयोग गर्नु भनी ग्रान्टहरु लेखेर अप्लाई गर्छौँ । तर मेजोरोटी फन्ड चाँही नेपालबाट उठाउँछौ । के छन् समस्या ? हाम्रो च्यालेज भनेको हाम्रो कामको प्रभाव देखेर सबैतर्फबाट हाम्रो संख्या बढाउन माग भईरहेको छ, जुन हामीले खोज्छौँ पनि । तर, त्यती सक्षम युवाहरु पाईरहेका छैनौँ । अप्लिकेसन भोलुम धेरै देखिन्छ, तर हामीले खोजेको गुणस्तर कम देखिन्छ । त्यसैले हामीले जति समुदायमा काम गर्न खोजेका छौँ, त्यो भने गर्न सकिरहेका छैनौं । केही समय अगाडि ‘टिच फर नेपाल’ एउटै नाम जस्तो देखिने ’टिच नेपाल’ भन्ने संस्थासँग नाम जुध्न गएर समस्यामा परेको थियो । टिच फर नेपाली र टिच नेपाल दुई भिन्न संस्था हुन् । ‘फर’ भन्ने शब्दले यी दुई भिन्न संस्था हुन् भन्ने स्पस्टसँग देखाउँछ ।
चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने
काठमाडौं। नेपाल चिकित्सक संघले डा. केसीको मागलाई वेवस्ता गरेको भन्दै माघ १८ गते शुक्रबार देशभरको स्वास्थ्य संस्था ठप्प गर्ने घोषणा गरेको छ। शुक्रबार आकस्मिक सेवा बाहेक सबै ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ। संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ। आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको महासचिव डा. लोचन कार्कीले बताएका छन्।