सात वटा जीवन बीमा कम्पनीको नाफा ७३ करोड ९७ लाख
काठमाडौं, २ जेठ । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा सात वटा जीवन बीमा कम्पनीहरुले ७३ करोड ९७ लाख नाफा कमाएका छन् । यो नाफा गत आर्थिक बर्षको सोही अवधीमा तिनै कम्पनीहरुले आर्जन गरेको भन्दा १९ करोड ४५ लाखले बढि हो । गत आवको चैत मसान्तसम्ममा यीनै सात जीवन बीमा कम्पनीहरुको नाफा ५४ करोड ५२ लाख मात्रै थियो । नौ महिनामा सबै भन्दा धेरै नाफा कमाउने कम्पनीका रुपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) रहेको छ । कम्पनीले नौ महिनामा २४ करोड ९० लाख नाफा कमाएको छ । कम्पनीले आफ्नो नाफा १९ करोड ४८ लाखबाट बढाएर २४ करोड ९० लाख पुर्याएको हो । नौ वटा जीवन बीमा कम्पनीमध्ये मेट लाइफ कम्पनी र राष्ट्रिय बीमा संस्थान भने नेप्सेमा सूचिकृत छैनन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)को चुक्ता पुँजी ८४ करोड ५५ लाख छ भने जगेडा कोष ३४ करोड ७५ लाख रहेको छ । कम्पनीले महाविपक्ति जगेडा कोषमा ५ करोड ६० लाख राखेको छ । सबै भन्दा धेरै नाफा बढाउने कम्पनीका रुपमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी स्थापित भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नाफा ११ करोड ८७ लाखबाट बढाएर २३ करोड ८० लाख बनाएको छ । एक अर्ब ७३ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ करोड ८७ लाख छ भने महाविपक्ति जगेडा कोष १३ करोड ४२ लाख जम्मा गरेको छ । कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैंयाँ ३० पैसा छ भने प्रति सेयर नेटवर्थ १४९ रुपैंयाँ ७७ पैसा रहेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत मसान्त अवधीमा ११ करोड ८६ लाख नाफा कमाएको भएपनि गत बर्षको तुलनामा नाफा भने घटेको छ । कम्पनीले गत आर्थिक बर्षको नौ महिनामा १२ करोड ४२ लाख नाफा कमाएको थियो । एक अर्ब एक करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८ लाख छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले महाविपक्ति जगेडा कोषमा ४ करोड ८८ लाख राखेको छ । कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ५३ पैसा छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैंयाँ ९ पैसा रहेको छ । प्राइम लाइफले पनि आफ्नो नाफ ६ करोडबाट बढाएर नौ करोड पुर्याएको छ । कम्पनीले गत आर्थिक बर्षको नौ महिनामा ६ करोड ६ लाख नाफा आर्जन गरेको थियो भने चालु आवको सोही अवधीमा ९ करोड ४४ लाख नाफा आर्जन गरेको छ । ४८ करोड ८१ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड छ । प्राइम लाइफको प्रति सेयर आम्दानी २५ रुपैंयाँ ७९ पैसा छ भने प्रति सेयर नेटवर्थ २२१ रुपैंयाँ ५ पैसा छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा एक करोड ५६ लाखबाट बढेर दुई करोड ३ लाख पुगेको छ । ६७ करोड १३ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १९ करोड २३ लाख रहेको छ । महाविपक्ति कोषमा भने ए करोड ९४ लाख रहेको छ । एसियन लाइफको प्रति सेयर आम्दानी ४ रुपैंयाँ ५ पैसा रहेको छ भने १२८ रुपैंयाँ ६५ पैसा रहेको छ । गुराँस लाइफ इन्स्योरेन्सको नाफा एक करोड ५८ लाखबाट घटेर एक करोड १५ लाखमा झरेको छ । चुक्ता पुँजी ५० करोड रहेको गुराँसको जगेडा कोषमा १८ करोड २४ लाख छ । कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैंयाँ ७ पैसा भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ ५० पैसा रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा एक करोड ५५ लाख नाफा कमाएको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले भने चालु आवको सोही अवधीमा जम्मा ७९ लाख मात्रै कमाएको छ । ५० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड १६ लाख छ । कम्पनीले महाविपक्ति जगेडा कोष एक करोड १२ लाख राखेको छ । सुर्या लाईफको प्रति सेयर आम्दानी २ रुपैंयाँ ११ पैसा छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ ५८ पैसा रहेको छ ।
बीमा नगरी ८ खर्ब ३८ अर्बको भौतिक संरचना पुननिर्माण हुँदै, बीमा समिति मौन बस्यो, सरकार जोखिम बोक्दै
काठमाडौं, २ जेठ । गोर्खा भूकम्पले ध्वस्त भौतिक संरचना पुननिर्माण गर्न सरकार ८ खर्ब ३८ अर्ब रुपैयाँको बजेटसहित पाँच वर्षे योजना बनाएर अगाडि बढेको छ । यस योजनाको नेतृत्व गर्दै आएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई समेटर ‘वृहत सहभागिता’मा पुननिर्माण कार्यक्रम कार्यान्वयन गरिने बताउँदै आएका छन् । तर पुननिर्माणमा समेट्नै पर्ने बीमा समेटिएको छैन। जानी नजानी सरकार फेरी पनि जोखिम आफ्नै काँधमा राखेर पुननिर्माणमा होमिएको छ । बीमा बजारको नियामक तथा बीमाबारे सरकारको सल्लाकारको भूमिकामा रहेको बीमा समिति यस विषयमा आश्चर्यजनक ढंगले मौन बसेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई समेटर ‘वृहत सहभागिता’मा पुननिर्माण कार्यक्रम कार्यान्वयन गरिने बताउँदै आएका छन् । २०७२ सालमा गएको भूकम्पले करिब ८ लाख भवनहरु भत्किए । पुननिर्माण प्राधिकरणका अनुसार ४ लाख ९८ हजार ८५२ वटा आवासीय घर ध्वस्त भए । थप २ लाख ५६ हजार ६९७ घरमा क्षति पुग्यो । २ हजार ६५६ वटा सरकारी भवन ध्वस्त भए । ३ हजार ६६२ सरकारी भवनमा क्षति पुग्यो । १९ हजार कक्षाकोठा ध्वस्त भए, ११ हजार कक्षकोठामा क्षति पुग्यो । त्यसबाहेक सामुदायिक, धार्मिक, सांस्कृतिक भवन तथा सम्पदाहरुमा पनि ठूलो क्षति भएको छ । बीमा नभएका कारण एकातिर त्यो सबै क्षतिको भार सरकारको काँधमा आयो भने अर्कोतिर नागरिकहरु बेसाहारा भए । नेपाल बीमक संघको अध्यक्ष विजयबहादुर शाह भन्छन्–यदि बीमा भएको थियो भने बीमा कम्पनीहरुले क्षतिपूर्ति दिने थिए । पुर्नबीमा कम्पनीहरुले नियमित प्रक्रियाबाट र व्यवसायिक तरिकाबाटै भुक्तानी दिन्थे । नागरिकहरु अनिश्चित कालसम्म सरकारको सहयोग आश गरेर बस्नु पर्ने, सरकार विदेशी सहायतामा निर्भर हुनुपर्ने, अनिश्चित अवधिसम्म पालमुनि बास विताउनु अबस्था आउने थिएन । २०७२ को विनासकारी भूकम्प, अत्यान्तै ठूलो धनजनको क्षति, चुनौतिपूर्ण व्यस्थापनबाट हामीले के सिक्यौ ? भूकम्प अध्ययन समाज केन्द्रका कार्यकारी निर्देशक आमोदमणि दीक्षित भन्छन्–‘जोखिम न्यूनिकरण गर्ने सवालमा खास काम भएको छैन । ज्ञान र क्षमता दुबैको कमी देखियो । जोखिमरहित भवन बनाउने सीपको विकास पनि भएन । बीमा गरेर जोखिम हस्तान्तरण गर्ने काम पनि भएन ।’ बीमा गर्नु जोखिमलाई विश्वभरी छर्नु हो । पुर्नबीमा मार्फत जोखिम विश्वभर फैलन्छ । हामीले बीमा नगरे जोखिमलाई आफ्नो देशमा मात्र राखेको उनको भनाई छ । भूकम्प पीडितलाई नयाँ घर बनाउन सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ अनुदान दिने प्रक्रिया अगाडि बढाएको छ । केही स्थानमा अनुदान रकम दिने प्रक्रिया पनि सुरु भएको छ । प्रतिपरिवार २ लाख रुपैयाँका दरले ८ लाख परिवारलाई अनुदान दिदा राज्यकोषको १ खर्ब ६० अर्ब रुपैयाँ जति खर्च हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत विहीबार संसदलाई दिएको जानकारी अनुसार निजी आवास सहितको सामाजिक क्षेत्रको भौतिक संरचाना निर्माण गर्दा ६ खर्ब ४५ अर्ब रुपैयाँ लागत पर्नेछ । त्यस्तै उत्पादक क्षेत्रमा १ खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा ६१ अर्ब तथा अन्तरसम्बन्धित क्षेत्रमा २६ अर्ब बराबरको बजेट पूननिर्माणमा लाग्नेछ । राज्यकोषको यति धेरै रकम खर्च भएपनि पीडितको लागि घर बनाउनको लागि आवश्यक रकम अझै पुग्दैन । राज्यले नै सामुहिक जमानीमा थप ३ लाख रुपैयाँ प्रतिपरिवार ऋण दिने पनि भनेको छ । यसो हुदा पनि एउटा परिवारले घर बनाउनको लागि ५ लाख रुपैयाँ पाउने भए । राज्यले घर बनाउन २ लाख रुपैयाँ अनुदान र ३ लाख रुपैयाँ सामुहिक जमानीमा ऋण दिने घोषणा गर्नुको अर्थ एउटा घर बनाउन कम्तिमा ५ लाख रुपैयाँ लाग्छ भन्ने नै हो । बीमा समितिका अनुसार गार्हस्थ बीमामा १ रुपैयाँ बीमा शुल्क तिर्दा १ हजार रुपैयाँको बीमा समेटिन्छ । राज्यले अहिले घर बनाउन लाग्ने अनुमान गरेको ५ लाख रुपैयाँको बीमा गराउनको लागि बार्षिक ५ सय रुपैयाँ बीमा शुल्क (प्रिमियम) तिर्दा पुग्छ । यस्तै वार्षिक १ हजार रुपैयाँ बीमा शुल्क तिर्दा १० लाख रुपैयाँको सम्पत्तिको बीमा हुने अवस्था रहन्छ । बीमा समितिले दिएको जानकारी अनुसार अहिले बीमाले समेटेको भनेको कुल जनसंख्याको करिब ६ प्रतिशत मात्रै हो । घर बनाउन राज्यले अनुदान दिएका परिवारलाई अनिवार्य रुपमा बीमा गराउनै पर्ने व्यवस्था गरिएको भए ८ लाख घरको बीमा हुने थियो । यस्तो अवसरलाई बीमा समितिले गुमाएको छ । बीमा गराउने विषयमा कसैले पनि प्रस्ताव नगरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले बताए । ‘बीमा गराउन पाए राम्रो हुने थियो, तर बीमा कसरी गराउने, कसले प्रिमियम तिर्ने भन्ने जस्ता आधारभूत विषयमा पनि छलफल हुनै सकेको छैन, प्रस्ताव नआएकोले छलफल नभएको हो,’ प्रवक्ता थपलियाले भने । अनुदान दिएर बनेका घरको बीमा गराउने विषयमा बीमा समितिले नै पहल गर्नुपर्ने हो । बीमा क्षेत्रको नियमन तथा बीमाबारे प्रचार प्रसार गर्नकै लागि समिति गठन भएको हो । पुननिर्माणमा बीमालाई पनि सँगै लैजाने विषयमा समितिले कुनै पहल कदमी नलिएको अर्थमन्त्रालयका सहसचिव सूर्यप्रसाद आचार्यले बताए । ‘बीमा गराउन सकेको भए जोखिम हस्तान्तरण हुने थियो, फेरि कुनै पनि प्रकारको प्रकोपको कारण सर्वसाधारणको घर भत्किए राज्यले अनुदान दिइरहनु पर्ने थिएन, तर पुननिर्माणमा बीमालाई पनि सँगै लैजानु पर्छ भन्ने विषयमा कसैले पनि प्रस्ताव गरेन, बीमा समितिले पनि यस्तो कार्यको पहल लिएन, पहल गर्नुपर्ने पहिलो जिम्मेवारी समितिकै हो,’ अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख समेत रहेका आचार्यले भने । मलाई बोल्ने फुर्सदै छैन-अध्यक्ष केसी पुननिर्माणमा बीमालाई पनि सँगै लैजाने अवधारणा आएको भए शुल्क मात्रै प्रमुख विषय नहुने आचार्यको भनाइ छ । ‘८ लाख घरको पहिलो वर्षको किस्ता राज्यले नै तिरिदिने हो भने पनि जम्मा ४० करोड रुपैयाँ मात्रै खर्च हुन्छ, यस्तो रकम राज्यको लागि धेरै होइन, पहिलो वर्ष राज्यले तिरिदिन्थ्यो, त्यसपछि व्यक्ति स्वयम्ले तिर्ने भएकोले बीमा क्षेत्रको लागि यो कदम निकै फलदायी हुने थियो,’ आचार्यले भने । पुननिर्माणमा बीमा किन समावेश भएन ? देशविकासले सोधेको प्रश्नको जवाफ दिन बीमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी मानेनन् । ‘म अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारीमा छु । त्यसको काममा व्यस्त छु । मलाई बोल्ने फुर्सदै छैन’ उनले भने ।
जीबन बीमा ब्यवसायः प्रिमियमका आधारमा नेपाल लाइफ र बीमालेखका आधारमा अमेरिकन लाइफ अग्रस्थानमा
काठमाडौं, ९ बैशाख । जीबन बीमा ब्यवसाय गर्ने कम्पनीमध्ये बीमा शुल्क (प्रिमियम) आर्जन र बीमालेख जारी गरेको संख्याको आधारमा दुई भिन्न कम्पनी अग्रस्थानमा देखिएका छन् । बीमा समितिले दिएको गत पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । प्रिमियम संकलनका हिसावले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र बीमालेख जारी गरेको संख्याको आधारमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका पाइएको छ । समितिले दिएको तथ्यांक अनुसार गत पुस मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब १२ करोड ७१ लाख ४८ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ । यो रकम अन्य जीबन बीमा कम्पनीहरुले आर्जन गरेको प्रिमियमको आधारमा सवैभन्दा बढी हो । सवै जीबन बीमा कम्पनीहरुले गत पुस मसान्तमा १३ अर्ब ११ करोड ५२ लाख ४३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमालेख जारी गरेको संख्याको आधारमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी सवैभन्दा अग्रस्थानमा रहेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा २ लाख २३ हजार ३ सय ६१ बीमालेख जारी गरेको छ । यो संख्या अन्य जीबन बीमा कम्पनीहरुको भन्दा बढी हो । सवै जीबन बीमा कम्पनीहरुले ६ लाख ५६ हजार १ सय ४९ ओटा बीमालेख जारी गरेका छन् । सवैभन्दा बढी बीमालेख जारी गर्ने कम्पनीले अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालमा शाखा मात्रै हो । राष्ट्रिय बीमा संस्थानले ३ हजार ७ सय ४४ बीमालेख जारी गरेको छ । उसको यस्तो विवरण अनुमानित मात्रै हो । संस्थानले १ अर्ब २४ करोड १ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख ४ हजार ८ सय ४१ ओटा बीमालेख जारी गरेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा १ अर्ब ४९ करोड ४० लाख १४ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ५९ हजार ४ सय १८ बीमालेख जारी गरेको छ । सो अवधिमा कम्पनीले २ अर्ब ९५ करोड ४० लाख ६४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ७ ३२ बीमालेख जारी गरेको छ । सो कम्पनीले ९३ करोड २३ लाख ६५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ४६ हजार ७ सय ८१ बीमालेख जारी गरेको छ । सो कम्पनीले ३७ करोड ९३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ११ हजार ४ सय ५९ बीमालेख जारी गरेको छ । सो कम्पनीले ३४ करोड ५ लाख ९ हजार रुपैयाँ प्रिमियम आर्जन गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ७७ हजार ४ सय १ बीमालेख जारी गरेको छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा ७१ करोड ५ लाख १७ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।