नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न पाचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेअनुसार संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने छ । सो मात्राको बोनस पश्चात संस्थाको चुक्ता पुँजी बढेर १५ करोड ४ लाख रुपैयाँ नाघेको छ । साथै, सभाले सस्थापक तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचित गरेको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैकको तर्फबाट रबिन सिंजापती र बरुण श्रेष्ठ, कुमारी बैंकको तर्फबाट राजिव गिरी तथा केशवप्रसाद आचार्य निर्वाचित भएका छन् । हालसम्म संस्थाले कर्जा २ अर्ब ६३ करोड र बचत ८४ करोड रुपैयाँ भन्दा बढी संकलन गरेको छ ।
आईएमई जनरल इन्स्योरेन्सको हकप्रद पुस १७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कम्तीमा १ अर्ब चुक्ता पुँजी पुर्याउन भनेकोमा अपुग बाँकी करिब ३ करोड बराबरको पुँजी बोनस शेयर दिएर पुर्याउनेछ । उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पाउनेछन् । शेयर निष्कासन अवधि माघ २१ सम्म रहने इन्स्योरेन्सले जनाएको छ ।
एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मंसीर २६ गतेको भएको उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने भएको छ ।