एनबी इन्स्युरेन्सको शतप्रतिशत हकप्रद सेयर, मंसिर १७ गते वार्षिक साधारणसभा

काठमाडौं, २६ कात्तिक । एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गुर्नपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो मंसिर १७ गते हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय इन्स्योरेन्सको प्रतिकित्ता सेयर १६१ रुपैयाँमा कारोबार भएको छ ।

रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने, पूँजी ६९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, २४ कात्तिक । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको कात्तिक २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्दछ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड ९२ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६९ करोड २१ लाख रुपैयाँ पुग्ने छ । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर करिब ८४३ रुपैयाँमा किनबेच भइरहेको छ ।

जीवन बिमा कम्पनीको ८१ अर्ब वित्तीय संस्थाको मुद्दती निक्षेपमा , ८६ मुद्दती निक्षेपमा

काठमाडौं २४, कात्तिक । लगानीको अन्य विकल्प नहुँदा जीवन बिमा कम्पनीहरूको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ९२०७२/७३० को अन्त्यसम्ममा कम्पनीहरूले ८१ अर्ब ३४ करोड रुपैयाँ वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् । यो रकम कम्पनीहरूको कुल लगानीको ८६.५९ प्रतिशत हो । बिमा समितिले बिमा कम्पनीहरूलाई लगानी गर्न निश्चित क्षेत्र तोकिदिएको छ । त्यस्तै, उक्त क्षेत्रमा सीमित लगानी गर्न समेत निर्देशन दिएको छ । समितिको प्रावधानअनुसार वाणिज्य बैंकको मुद्दती निक्षेपमा तथा अल्पकालीन लगानीमा कम्पनीहरूले कुल लगानी रकमको ३५ प्रतिशतमा नघट्ने गरी लगानी गर्नुपर्नेछ । तर, यस्तो बैंकमा लगानी गर्दा बैंक कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ । त्यस्तै, नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको वाणिज्य बैंकमा कम्पनीहरूले कुल लगानी रकमको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । सञ्चालनमा आएको ५ वर्ष नपुगेका वाणिज्य बैंकको हकमा भने औचित्यको आधारमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म एउटै वाणिज्य बैंकको मुद्दती निक्षेप तथा अल्पकालीन लगानीमा लगानी गर्न सकिनेछ । कम्पनीहरूले कुल लगानी रकमको १५ प्रतिशतमा नबढ्ने गरी विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्छ । लगानी गर्दा कम्तीमा ५ वर्षसम्म सञ्चालनमा आई नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको विकास बैंकमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । सञ्चालनमा आएको पाँच वर्ष नपुगेका विकास बैंकको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा २ प्रतिशतसम्म एउटै विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सक्दछन् । वित्त कम्पनीको मुद्दती निक्षेपमा भने कम्पनीले आफ्नो कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी लगानी गर्नुपर्नेछ । यसका लागि कम्पनी कम्तीमा पाँच वर्षदेखि सञ्चालन रहेको संस्थामा कुल लगानी रकमको बढीमा ३ प्रतिशतसम्म र पाँच वर्ष नपुगेका वित्त कम्पनीको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा १ प्रतिशतसम्म एउटै वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न गर्नुपर्नेछ । जीवन बिमा कम्पनीले बिमितबाट आर्जन गरेको बिमा शुल्कलाई नै विभिन्न क्षेत्रमा लगानी गर्दछन् । यसरी लगानी गरिएको क्षेत्रबाट प्राप्त भएको प्रतिफलको आधारमा नै विमितहरूले प्रतिफल प्राप्त गर्दछन् । कारोबार दैनिकबाट ।