एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
चितवन । यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् । जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो । 'उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ', सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए । यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनले जनकारी दिए।
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन, तुलसीपुरका बिरामी बुटवल धाउन बाध्य
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन । अस्पतालमा १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएका छन् । नौ वटा मेसिन भने चालु अवस्थामा रहेको अस्पतालका डायलासिस शाखा प्रमुख लिना बडेलले बताए । मर्मत गर्नका लागि काठमाडौंबाट इञ्जिनियर नै आउनुपर्ने भए पनि इञ्जिनियर आउन नमानेको उनले बताए ।'इञ्जिनियरहरूलाई बोलाएको हो', उनले भने, 'तर पुराना डिजाइनका भएर होला, उहाँहरू आउनु मान्नुभएको छैन ।' डायलासिस मेसिन बिग्रिँदा निकै समस्या हुने गरेको छ । घर पायक डायलासिस गर्न चहानेहरूलाई समेट्न नसकिएको उनले बताए । तुलसीपुरकै बिरामीहरूलाई पनि घोराही, लमही, बुटवलसम्म लैजानुपर्ने अवस्था रहेको उनले बताए । अहिले नियमित ७२ जनाले सेवा लिइरहेका छन् । अस्पतालमा डायलासिसका लागि दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठानलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।
ओम अस्पताललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश
काठमाडौं । उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंको चावहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका छोरा बसन्त गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका थिए । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार फैसला सुनाउँदै अस्पताल र सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र घटनामा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँकी २० प्रतिशत रकम तिराउन आदेश दिएको छ । २०७८ माघ ५ गते बाथरुममा लडेका हरिप्रसाद गौतमलाई ओम अस्पतालको आपतकालीन कक्षमा चार दिनसम्म उपचार गरिएको थियो । परिवारका अनुसार सामान्य जाँचपछि एक्सरे गरेर केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर औषधि लेखी डिस्चार्ज गरिएको थियो । तर, चार दिनपछि समेत दुखाइ कम नभएपछि उनलाई अर्को निजी अस्पतालमा लग्दा खुट्टामा फ्र्याक्चर देखिएको थियो । बसन्त गौतमले समयमै सही उपचार नगरी लापरबाही गर्दा थप स्वास्थ्य समस्या उत्पन्न भई पिताको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेका थिए ।