पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा, सर्वसाधारणको बच्यो समय र पैसा
राँझा । बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए । 'अस्पतालमा सेवा विस्तारसँगै विभाग थपिएका छन्, बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन्', मल्लले भने, 'हामी कहाँ अहिले गम्भीर प्रकृतिका बाहेक क्यान्सरका सबैखाले अप्रेशन र उपचार हुने भएकाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।' अध्यक्ष मल्लले सीमित स्रोत साधनबाट अस्पतालमा बिरामीलाई अधिकतम सेवा प्रवाह गर्दै आएको उल्लेख गरे । आफू अस्पताल व्यवस्थापन समिति नेतृत्वमा आएपछि अस्पतालमा अक्सिजन प्लान्ट, रक्त सञ्चार केन्द्र स्थापना, १५ श्ययाको डेकेयर, प्रयोगशाला र फार्मेसी भवन निर्माण, ५५ शैय्याबाट ९५ शैय्यामा विस्तार, कर्मचारी बस र बिरामी बोक्ने एम्बुलेन्स खरिद लगायतका कार्य गरेको जानकारी दिए । उनले सरकारी उपेक्षाका कारण हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नगरेको उल्लेख गर्दै अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताए । अस्पतालमा जनशक्तिका लागि स्थायी दरबन्दी र पूर्वाधार विकासका लागि सरकारले ध्यान दिन सके अझ सेवा प्रभावकारी र सहज हुने उनको भनाइ छ । 'अस्पतालमा अहिले क्यान्सरका बिरामीलाई किमोथेरापी सेवा सञ्चालनमा भए पनि बिरामीलाई श्यया छैन, कर्मचारीका लागि आवासको व्यवस्था छैन', अध्यक्ष मल्लले भने, 'अस्पतालको पूर्वाधार विकास र जनशक्तिको स्थायी दरबन्दीका लागि पटक पटक सरकारसँग माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।' क्यान्सर अस्पतालमा हालसम्म उपचारका लागि आएका एक लाख ४३ हजार ३३४ बिरामीमध्ये ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा २०८१ साउनदेखि हालसम्म ३२ हजार ९०३ बिरामीले उपचार सेवा लिइरहेका छन् । यसमा एघार हजार ३१९ जना नयाँ बिरामी रहेका थिए । क्यान्सरको विशेषज्ञ सेवासमेत प्रवाह हुन थालेपछि खजुरामा बिरामीको चाप बढेको उनको भनाइ छ । हाल अस्पतालले अत्याधुनिक उपकरणसहितका आइसियू, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, रेडियोथेरापी सेवा प्रवाह गर्दै आएको छ । खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौंबाट समेत बिरामी आउन थालेको पाइएको छ । नयाँ प्रविधिको प्रयोग गरेर विशेषज्ञ चिकित्सकले क्यान्सरका बिरामीलाई आवश्यक सबै खाले सेवा खजुरामै पाएपछि पश्चिम नेपालका जनताको समय र पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको अस्पतालका रेडियसन अनकोलिष्ट डा मुकेश यादवले बताए । रासस
महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै उनले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षा र राज्यको दायित्वलाई पनि गम्भीर रूपले हेरिएको बताए । उनले गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि निर्माण गर्न लागिपरेको बताए । उनले महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेतर्फ ध्यान दिइएको दाबी गरे । औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने अवस्था निर्माण गर्न खोजिरहेको बताए । उनले औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भलगायतका क्षेत्रलाई व्यवस्थित गर्न समितिको प्रतिवेदन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिका संयोजक तथा अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता, प्रकृति र महत्वको आधारमा सुझाव प्रस्तुत गरिएको बताए । नेपालमा औषधिको घरेलु उत्पादनको अवस्थालाई समेत प्रस्तुत गरिएको उनको भनाइ थियो ।
नेपालमा दन्त चिकित्सकहरूको आवश्यकता, महत्व र माग निकै ठूलो छ : मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२ औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकहरुको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए । उनले भने, 'नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकहरुको माग अत्यन्तै उच्च छ । सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।' दिवंगत तीर्थरत्न बज्राचार्यको योगदानको उच्च मूल्याङ्कन गर्नु हुँदै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गरेको र उनको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे । उनले भने, 'दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ । उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पतल र यहाँका बिद्यार्थीहरुको महत्वपूर्ण भुमीका रहन्छ ।' कार्यक्रमका विशिष्ठ अतिथि एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्रप्रशाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार, र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कुरमा जोड दिए । पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा एमबिबिएसको पढाई सुचारु गर्नका लागि भैतिक लगायतका अन्य प्रक्रिया अघि सारिएपनि अहिले सम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो व्यक्त गरे । कार्यक्रममा बागमति प्रदेश सभा सदस्य सैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष बिद्याभुषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रवन्ध निर्देशक रोशन लुईटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले दिवंगत बज्राचार्यको योगदान र नेपालमा दन्त स्वास्थ्यको अवस्थाबारे धारणा राखेका थिए ।