ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए ।  सोहीअनुसार सचिव स्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । साथै बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ । मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरूलाई सचेत बनाएको छ । 

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

काठमाडौं । सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ ।  अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, ‘हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।’ जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक,  दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ । हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ । ‘एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ,’ अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरी भन्छिन्, ‘हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२/१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ ।’ करारका कर्मचारीको भरमा अस्पताल अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्छिन्, ‘छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।’ करारका चिकित्सकहरूले सक्दो योगदान दिएपनि उनीहरू लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बार चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, ‘हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।’ उनले गत साता मात्रै प्रदेशका स्वास्थ्य मन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए । प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ ।  स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, ‘हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेश भर जनशक्ति अभाव छ ।’

कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए । प्रवक्ता डा. बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् । पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए । प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए । ‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं । र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं,’ उनले भने। कोरोना उपचारमा स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव छैन डा. बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने बताए । आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेट भित्र काम शुरु गर्नेगरी तयारी अवस्थामा रहेको बताए । देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताए । कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको बताए । संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्नसक्ने गरी तयारी गरिएको उनको भनाई छ । उनी भन्छन्, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरुलाई पनि एक्टिभेट गरिसकेका छौं । र निदानका लागि र मोनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवस संक्रमण फैलिइ हाल्यो भने त्यो संक्रमणलाई थप संक्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौं । साथै प्रत्येक वडामा भएका र्‍यापिड रेस्पोन्स टिमहरु, भोलि इमर्जेन्सी मेडिकल टिम मोबिलाइज गर्नुपर्‍यो भने पनि त्यसलाई तयारी अवस्थामा राखेका छौं । त्यसमा आम नेपालीले शतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्वतयारीले कोभिडलाई परास्त गर्नसक्छौं ।’ मनसुनी प्रकोप र कारोना संक्रमण बढे समस्या आउन सक्ने नेपालमा मनसुजन्य रोगको संक्रमण हरेक वर्ष तिब्ररुपमा बढीरहेको छ । विगत केहि वर्ष यता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको संक्रमण घातक रुपमा देखिएको छ । प्रवक्ता डा.बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र संक्रमण तथा कीटजन्य रोग र संक्रमण डेङ्गु, मलेरियाजस्ताको संक्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारीको काम गरिरहेको बताए । मनसुनी प्रकोप र कारोना संक्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने बताए । सरकार एक्लैको पहलले मात्र संक्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरुप सचेतना अपनाइदिन प्रवक्ता डा. बुढाथोकीले आग्रह गरे । नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सिमित श्रोत साधनले सबैको उपचार गर्नसक्ने अवस्था रहेको बताए । उनले भने, ‘मनसुनजन्य रोगहरु हुन्, चाहे पानी प्रदुषित भएर फैलने रोगहरु हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गी जस्ता रोगहरु हुन् । ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्वतयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धुम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरु गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौति सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतिलाई पनि न्युनिकरण गर्नसक्छौं ।’ स्वास्थ्य सामग्रीको अभावमा राहत उद्धार प्रभावित हुँदैन विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरु गरिरहेको बताए । विपद्को पूर्वतयारी र राहत उद्धारको लागि आवश्यक सामग्रीको मौज्दातहरुमध्ये स्थानीय तहले कति किन्ने राख्ने। प्रदेशले कति किन्ने राख्ने र संघले कति किन्ने राख्नेबारे पनि टुंगो लागिसकेको बताए । विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने बताए । कुन क्षेत्रमा, कहाँ कस्तो विकटता छ, त्यसको अध्ययन गर्न र त्यहाँ रहेका जनप्रतिनिधिकै संलग्नतामा र्‍यापिड रेस्पोन्स टीमहरु गठन गरी देशभर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको बताए । साथै विपद्मा परेकाहरुको तत्काल उद्धार कार्यका लागि मन्त्रालयको हटलाइन नम्बर, हेलो स्वास्थ्यका नम्बरमा, प्रदेश स्तरका आकस्मिक सेवाका सम्पर्क नम्बर र स्थानीय तहका आकस्मिक सेवाका सम्पर्क नम्बरमा खबर गरेर सेवा लिन दिन सकिने बताए । उनले भने, ‘हामी कहाँ भौगोलिक रुपले हिमाल, पहाड र तराईका विविध कठिनाईहरु छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केहीपनि उपलब्ध नहुनसक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्वतयारीका लागि हामीले २५ वटा हव हस्पिटलमै इमर्जेन्सी लजिष्टिकका ट्यांकरहरु पनि राखेका छौं । त्यस्तै जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरुलाई पनि कम्तिमा १५ दिन पुग्नेगरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौं । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै सेटेलाइट हस्पिटल र हव हस्पिटललाई पनि तयारी गरिसकेका छौं ।’ डा. बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आँकलन आइरहेकोले त्यसैअनुसार काम गर्नसक्ने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । नेपालको पश्चिम-उत्तरका क्षेत्रहरुमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको बताए । विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रुपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको बताए । मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवसथालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्‍याउने गरी कार्यढाँचा तयार गरिएको बताए ।