नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।  अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ ।  निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् ।  उनले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।  नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे ।  ‘यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,’ मन्त्री पौडेलले भने ।  

बालबालिकाको आँखाको क्यान्सर र मायोपिया समयमै चिन्न डाक्टरहरूको आग्रह

काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे ११-१७) र विश्व मायोपिया सचेतना सप्ताह (मे १९-२५) का अवसरमा काठमाडौंसहित देशभरका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरूमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । प्रतिष्ठान परिसरमा सचेतना डेस्क स्थापना, भिडियो सामग्री प्रदर्शन, सामाजिक सञ्जाल प्रयोग र विभिन्न जिल्लामा रेडियोमार्फत जनचेतना फैलाउने कार्य गरिएको हो । प्रतिष्ठानले रेटिनोब्लाष्टोमा अर्थात् बालबालिकाको आँखामा हुन सक्ने क्यान्सरको समयमै पहिचानको खाँचो औंल्याएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभाग प्रमुख डा. पूर्णिमा राजकर्णिकारका अनुसार अँध्यारो कोठामा खिचिएको तस्बिरमा आँखाको कालो भागमा सेतो टिका देखिनु, आँखा रातो हुनु, दुख्नु, आकार ठूलो हुँदै जानु वा आँखाको दिशा असमान्य हुनुजस्ता लक्षण देखिए रेटिनोब्लाष्टोमाको संकेत हुन सक्छ । यस सन्दर्भमा प्रतिष्ठानले ओपन आइज नेपालसँग सहकार्यमा बालबालिकालाई लक्षित गरी निःशुल्क ओपीडी सेवा, उपचार र प्रोस्थेसिस सफाइ सेवा प्रदान गरेको थियो। यो सेवा वैशाख २८ देखि जेठ ३ गतेसम्म सञ्चालनमा रहेको थियो । प्रतिष्ठानले जेठ ५ देखि ११ गतेसम्म मायोपिया सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस वर्षको नारा : 'स्क्रिन तल, आँखामाथि' अर्थात् स्क्रिन तल राखौं, दृष्टि माथि उठाऔं र मायोपियाबाट बचौं । डा. सिर्जना अधिकारीका अनुसार बालबालिकालाई नियमित आँखा परीक्षण गराउनु, हरेक दिन २ घण्टा बाहिरी गतिविधिमा सहभागी गराउनु, स्क्रिनको प्रयोग सीमित राख्नु तथा '२०-२०-२० नियम' (हरेक २० मिनेटमा, २० फिट टाढा, २० सेकेन्ड हेर्ने) अपनाउनु आवश्यक छ । विद्यालय भर्ना अघि अनिवार्य आँखाको परीक्षण गरिनु पर्ने सुझाव पनि उनले दिएकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।  इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए । सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्याङ्क साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लाष्टका उपाध्यक्ष डा. खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।