विदेश जानुपर्ने दिन गए, मृगौला रोगको उपचारमा नेपाल आत्मनिर्भर

पछिल्लो समय नेपालमा मृगौला उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मृगौला रोगीको संख्या बढे सँगै यसको उपचारमा पनि विशिष्टिकृत हुँदै गएको हो । नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मृगौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो । टिचिङ अस्पतालसँगै क्रमशः अन्य अस्पतालहरुमा यो सेवाको बिस्तार भएको छ । निजी क्षेत्रबाट सबैभन्दा पहिले मृगौला प्रत्यारोपण शुरुवात गर्ने अस्पताल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हो । हाल एक दर्जनभन्दा बढी अस्पतालहरूमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल वर्षेनी ४०० को हाराहारीमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल नेपालमा जटिल खालका मृगौला प्रत्यारोपण पनि सम्भव रहेको छ । भिन्न रक्त समूहका व्यक्तिले पनि मृगौला प्रत्यारोपण गर्न पाउनेछन् । मृगौलाका उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् । मृगौला प्रत्यारोपण मात्र नभएर यससम्बन्धी जटिल रोगको पनि नेपालमा उपचार हुँदै आएको छ । मृगौला उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । समयमै मृगौला रोग पत्ता लगाउन सके कम खर्चमा यस रोगको उपचार गरी मृगौला रोग पूर्ण रुपमा निको हुने हुन्छ । मृगौला रोग लागेका विरामीले समयमै जाँच नगर्दा अन्तिम अवस्थामा विरामी अस्पताल आउने गरेको पाइन्छ । मृगौला फेल भइसकेपछि विरामी अस्पताल पुग्दा यसको उपचारका लागि धेरै खर्च लाग्छ । मृगौला प्रत्यारोपण र डायलाइसिस दुबै महँगो विधि हो । मृगौलाको रोग समयमै पत्ता नलाग्दा नेपाल जस्तो मुलुकका लागि मात्र नभई विश्वकै लागि ठूलो आर्थिक भार थपेको छ । हाल सरकारले मृगौला विरामीको उपचारका लागि सहयोग गर्दै आएको छ । सरकारले मृगौला प्रत्यारोपणका लागि सरकारी अस्पतालमा रु चार लाख ५० हजार र औषधीका लागि रु एक लाख सहयोग गर्दै आएको छ । यस्तै, विमामा आवद्ध भएका विरामीलाई विमाबाट पनि औषधी दिने व्यवस्था गरेको पाईन्छ । यस्तै, डायलाइसिसका लागि पनि सहयोग गर्दै आएको छ । डायलाइसिसको सुविधा गाउँमा नहुँदा शहरी क्षेत्रमा आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । शहरी क्षेत्रमा आएर कोठा खोजेर हिमोडायलाइसिस गराउँदा खर्च महँगो हुँदै गएको छ । डायलाइसिस हप्ताको २ देखि ३ पटकसम्म गर्नुपर्ने हुन्छ । अरु रोगको तुलनामा मृगौला उपचारमा ठूलो आर्थिक भार पर्ने गरेको छ । पेटमा हुने डाइलोसिस घरमै बसेर गर्न सकिन्छ । पाँच प्रतिशत विरामीले मात्र पेरिटोनियल (घरमै बसेर गर्न मिल्ने डायलाइसिस) गरिरहेका छन् । हिमो डायलाइसिस (मेसिनबाट गरिने) डायलाइसिस हो । नेपालमा यो डायलाइसिस अस्पतालमा मात्र गरिन्छ । नेपालमा मृगौलाका विरामी दिन प्रतिदिन बढ्दै गएको पाईन्छ । मृगौला रोग हुने मुख्य कारणमा मधुमेह (सुगरको रोग) र उच्च रक्तचाप नै हो । यसबाहेक ग्लोमरुलोनेफ्राइटीस, पत्थरी, वंशाणुगत रोग र विभिन्न किड्नी बिगार्ने औषधिको सेवनले गर्दा हो । विदेशी मुलुकमा श्रम गर्न गएका नेपालीलाई बढी मात्रामा मृगौलाको रोग देखा परेको पाईन्छ । खानपान नमिल्ने, लामो समय काम गर्नुपर्ने, समयमै उपचार नहुनु आदि तनावका कारण यो रोग विदेश काम गर्न गएका नेपालीलाई लाग्ने गरेको पाईन्छ । मृगौला फेल भएपछि गरिने उपचार पद्दती ज्यादै महंगो भएकाले समयमै मृगौला रोग लाग्न नदिनु वा समयमै पहिचान गरि त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मृगौला रोगको जोखिममा रहेका विरामीले यसको नियमित परीक्षण गर्नुपर्छ । परिवारमा मृगौला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मृगौलामा पत्थरी भएका व्यक्तिले मृगौलाको नियमित जाँच गर्नुपर्छ । त्यो बाहेक कुनै लक्षण देखा परेमा जस्तै, जीउ सुनिन्ने, खुट्टाको गोलीगाँठा सुन्निने, आँखाको डिल सुन्निने, पिसावको रङ धमिलो हुने, घाममा हिँड्दा गाला रातो हुने  पिसावमा अत्याधिक फिँज आउने  या कोखा दुख्ने, पिसाव छिनछिनमा आउने, जोर्नी, दुख्ने वा पोल्ने यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गनुपर्ने हुन्छ । यस्तै, दुखाई कम गर्ने औषधी लामो समय प्रयोग गर्दा मृगौलालाई खराब गर्ने भएकाले त्यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नुपर्छ ।   चिकित्सकको सल्लाह विना औषधी प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकाशं रोग निको हुन्छ । मृगौला प्रत्यारोपणबाट बच्न सकिन्छ । मृगौलाको रोगबाट बच्न र नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिने, सुख्खा खाना (जंक फुड) नखाने, प्रशस्त मात्रामा फलफूल, सागपात तथा पानी पिउनुपर्छ । नियमित व्यायाम गर्ने, गुलियो खानेकुरा नखाने, गुलियो पेय पदार्थ सकेसम्म नखाने गर्नुपर्छ । अत्याधिक नुन भएका खानाहरु कम खाने गर्नुपर्छ । यसबाहेक तनाव कम गर्नका लागि व्यायाम, योगा, ध्यान गर्नुपर्ने हुन्छ । दैनिक ६ घण्टादेखि ८ घण्टासम्म सुत्ने गर्नुपर्छ । आफ्नो तौल नियन्त्रण गर्ने गर्नुपर्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण गर्ने गर्नुपर्छ । मृगौला रोगको जोखिममा रहेका ब्यक्तिहरुले आफनो ब्लडप्रेसर, सुगर र पिसावको जाँच नियमित गर्नुपर्छ । (प्रा. डा. दिव्या सिंह शाह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको वरिष्ठ मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ हुन् )  

सुर्ती नियन्त्रणमा असाधारण योगदानका लागि भन्दै विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

काठमाडौं । सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशकको विशेष सम्मान अवार्ड प्राप्त गरेको हो । विश्व स्वास्थ्य संगठनको ७९ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा। टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् । हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने शिलशिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ । मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए । अब यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भनेको छ ।  

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

काठमाडौं । आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको सतप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । त्यसको कार्यान्वयन भने १ भदौ २०८२ देखि हुने भनिएको थियो । नयाँ निर्देशिकामा चुरोट, खैनी, बिँडी र गुट्खाको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत्प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्यु जस्ता घातक रङ्गीन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । मुखको क्यान्सर अङ्कित चित्र, हृदयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ । सुर्तीजन्य पदार्थको सेवनकर्ताले बट्टामा घिनलाग्दो रङ्गीन चित्र देखेपछि सेवन नगरून् भनेर नै सरकारले शत्प्रतिशत घातक रङ्गीन चित्रको व्यवस्था गरेको हो । यसअघि चुरोट, बिँडी, खैनीलगायतका सुर्तीजन्य पदार्थमा ९० प्रतिशत भागमा घातक चित्र र चेतावनीमूलक सन्देश छाप्ने गरिन्थ्यो । सुर्तीजन्य पदार्थको प्याकेटको शत्प्रतिशत भागमा चित्र तथा सन्देश छाप्ने निर्देशिका पारित गरेर विश्वमै सबैभन्दा बढी भागमा सुर्तीजन्य पदार्थविरुद्धको सन्देश छाप्ने राष्ट्रको पहिचान बनाएको नेपाल अब चाँडै नै ‘प्लेन प्याकेजिङ’मा जाने तयारी गरेको छ । प्लेन प्याकेजिङमा जाँदा सुर्तीजन्य कम्पनीले ‘ब्रान्डिङ’ गर्न नपाउने र प्याकेजको ‘लेभल’ पनि एकै हुने छ । स्वास्थ्य कर कोष सचिवालयका सदस्यसचिव तथा मन्त्रालयका कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ संशोधन गरेर प्लेन प्याकेजिङमा सुर्तीजन्य पदार्थको प्याकेज लैजानेबारे छलफल गरिएको बताए । 'प्लेन प्याकेजिङका लागि ऐन नै संशोधन गर्नुपर्दछ', उनले भने, 'आगामी संसद्को अधिवेशनमा ऐन संशोधन गर्नेगरी कानुनको मस्यौदा तयारी गरिएको छ ।' उपसचिव रेग्मीले प्लेन प्याकेजिङमा अन्य धेरै देश पनि अभ्यासमा गइसकेको हुनाले नेपालमा प्लेन प्याकेजिङमा जानेबारे तयारी गरिएको बताए । मन्त्रालयले ऐन सशोधन गर्नका लागि प्रशासन महाशाखाका प्रमुख ऋषिराज आचार्यको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र उद्योग मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ । 'हामीले मस्यौदा बनाउने कार्य गरिरहेका छौँ, तयार भएपछि छलफल गर्छौं', उनले भने, 'सुझाव सङ्कलन गरेपछि गठित कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएर संसद्का समितिमा छलफलका लागि पठाउनेछौँ ।' उपसचिव रेग्मीका अनुसार अष्ट्रेलिया, बेल्जियम, टर्की, इजरायल, फ्रान्स, बेलायत, लाओस, म्यान्मालगायतका देशले प्लेन प्याकेजिङ लागू गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले शत्प्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राखे पनि सुर्तीजन्य पदार्थको ब्रान्डलाई रोक्न नसकिएको बताए । 'हामीले सुर्तीजन्य पदार्थको प्याकेजिङमा शत्प्रतिशत घातक चित्र र चेतावनीमूलक सन्देश राख्ने निर्देशिका संशोधन गरिसकेका छौँ', उनले भने, 'तर त्यसले सुर्तीजन्य पदार्थको ब्रान्डलाई नियन्त्रण गर्न सकेका छैनौँ, सेवनकर्ता ब्रान्डका आधारमा सुर्तीजन्य पदार्थको सेवन गर्ने हुन्, त्यसलाई रोक्न प्लेन प्याकेजिङमा जाने सोच बनाएका छौँ ।' उनले ब्रान्डका कारणले सेवनकर्ता बढ्ने भएकाले ब्रान्डलाई रोक्न नै प्लेन प्याकेजिङको प्रस्ताव गरिएको बताए । मन्त्रालयका सूचना अधिकारी डा केसीले शत्प्रतिशतमध्ये २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्न पाउने व्यवस्थाअनुसार सुर्तीजन्य पदार्थ कम्पनीले त्यही २० प्रतिशत भागमा आफ्नो ब्रान्डको प्रचार गरिरहेको बताए । 'अहिले २० प्रतिशत भागमा सुर्तीजन्य पदार्थका कम्पनीले आफ्नो डिजाइनको नाम, लोगो, रङ्ग राखेर ब्रान्डिङ गरिरहेका छन्', उनले भने, 'त्यही २० प्रतिशतमा सुर्तीजन्य पदार्थका कम्पनीले ब्रान्डमा खेल्ने गर्दछन्, प्लेन प्याकेजिङमा हामीले दिएको नाम, रङ्ग हुन्छ र सुर्तीजन्य कम्पनी नाम, डिजाइन, ‘फन्ट’मा खेल्न पाउँदैनन्, त्यसपछि ब्रान्डिङ हुन पाउँदैन ।' उनले प्लेन प्याकेजिङका कारणले युरोपियन मुलुकमा चुरोट सेवन घटेको पाइएको बताए । सूचना अधिकारी डा केसीले सुर्तीजन्य पदार्थको प्याकेजिङमा प्लेन गर्दा सबैभन्दा मन नपराउने रङ्ग ‘प्यान्टोन ४४८ सि’ प्रयोग गरिने बताए । 'सबै कम्पनीले प्याकेजिङमा हामीले भनेको रङ्ग प्रयोग गर्नुपर्ने हुन्छ', उनले भने, 'जसले गर्दा प्याकेजिङमा उनीहरु खेल्न पाउँदैनन्, सेवनकर्तालाई घिनलाग्दो रङ्ग भए पनि सेवन विस्तारै छाड्दछन् ।' अहिले सतप्रतिशत चेतावनीमूलक चित्र राख्ने भने तापनि प्याकेजिङको लेभल आकर्षक गराउने गरेका छन् । 'चुरोट, खैनी, गुटखाको प्याकेज प्लेन गर्दा सेवनकर्ताले त्यति मन नपाएर विस्तारै सेवन गर्न छाड्ने छन्', उनले भने, 'नयाँ सेवनकर्ता पनि प्लेन प्याकेजप्रति आकर्षित नभएर नखाने विश्वव्यापी मान्यता रहेको छ ।' मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी नेपालजस्तो देशमा प्लेन प्याकेज आवश्यक रहेको बताउँछन् । चुरोट, सुर्तीको प्लेन प्याकेजले प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने उनी बताउँछन् । रासस