अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिए । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन । रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा पाण्डेले भने, 'रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।' एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनीहरू तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए । यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलार्ई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ । रासस

भारत र चीनमा तीव्र रुपमा फैलिँदै कोरोना, नेपालमा त्रास

काठमाडौं । भारत, चीन लगायत दक्षिण एसियामा केही दिन यता कोभिड १९ संक्रमण फैलिएको छ । छिमेकी देशमा तीव्र रुपमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि त्रास बढेको छ । खुला सीमाका कारण आवत जावतमा रोकतोक नहुँदा नागरिक त्रसित बनेका हुन् ।  अहिले भारतका १६ राज्य यो संक्रमण तीव्र रुपमा फैलिएको छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन अहिलेको अवस्था हेर्दा डराइहाल्नुपर्ने नभएपनि सचेत रहन भने आवश्यक रहेको बताउँछन् । ‘नेपालमा अहिले कोरोना संक्रमण भएको व्यक्ति भेटिएको छैन, भोलि पर्सी देखिन्छ कि त्यो हेर्दै जानुपर्ला तर, नेपालमा हाम्रो अस्पतालमा कोरोना संक्रमण भएको हामीले फेला पारेका छैनौं,’ डा. पुन भन्छन्, ‘विगतको अनुभव छ भारतमा देखियो भने नेपालमा ढिलो चाँडो आउन सक्ने सम्भावना भने रह्यो नै, यसका लागि तयारी व्यक्ति आफैंबाट गर्नुपर्छ ।’ भारतमा देखिएको कोरोना नेपालमा फैलिएको छ या छैन भनेर यत्तिकै भन्न सकिने अवस्था छैन । यसका लागि सिक्वेन्सिङ गर्नुपर्छ । तर नेपालमा यो सिक्वेन्सिङ गरिएको छैन । डा. पुन भारतमा देखिनु भनेकै नेपालमा सर्तक रहनुपर्ने अवस्था भएको बताउँछन् ।  अहिले अस्पतालमा कोरोनाको जाँच गर्न कुनै व्यक्ति जाँदैनन् । कुनै दीर्घ रोगीलाई त्यस्तै लक्षण देखापर्यो  कोरोनाको आशंका लागेमा मात्र जाँच गर्ने चलन छ । बिरामीले कोरोना जाँच गर्न छोडेसँगै नेपालमा कोभिडका एक जना पनि बिरामी छैनन् ।  भारत लगायत दक्षिण एसियामा देखिएको कोरोना खासै घातक नभएको डब्लुएचओले जनाएको छ । डा. पुन यसका लागि सबै नागरिक आफै सचेत रहनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले सम्म घातक छैन भनिएको छ भोलिपर्सि के हुन्छ भन्न सकिँदैन, कुनै रोग लाग्न दिनुभन्दा लाग्नै नदिनु भनेजस्तै सबैले सचेत चाहिँ रहनै पर्छ ।’ नेपालमा तयारी के हुँदैछ अहिले घातक नदेखिएको कोरोनाले भेरियन्ट परिवर्तन गर्दा भोलि घातक हुन सक्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. पुन  विगतमा नेपालले कोरोनाबाट ठूलो जनको क्षती पुर्याइरहेको अवस्थामा सामान्य छ भन्दैमा हलका रूपले लिन नहुने बताउँछन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियामा देखिएको कोरोनालाई मध्यनजर गर्दै कुनै तयारी नगरे पनि संक्रामक जन्य रोग नियन्त्रणका लागि कसरी अघि बढ्ने भन्ने विषयमा भने आइतमात्र छलफल गरेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त बहादुर केसीले बताए ।  उनी भन्छन्, ‘हामीले कोरोनाकै लागि भनेर केही तयारी गर्न सकेका छैनौं, अहिले भारत चीनमा कोरोना तीव्र रुपमा फैलिरहेको भन्ने कुरा आएको छ, अब यसको लागि पनि कसरी अघि बढ्ने भन्ने विषयमा भोलि पर्सी छलफल हुन सक्छ ।’ उनले यसमा छलफल गरेर यो यो काम यसरी गर्ने भन्ने यकिन कार्ययोजना भनेर सरकारले नबनाएको बताए ।  सीमा नाकामा हेल्थडेस्कको बिजोग कोभिड १९ को महामारीका बेला नेपालले सिमानाकामा हेल्थ डेस्क निर्माण गरेको थियो । कोरोना संक्रमण सेलाएसँगै नाकामा रहेका हेल्थ डेस्कको अवस्था पनि बिजोग भएको छ । लाखौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका हेल्थ डेस्क अहिले अलपत्र अवस्थामा छन् । सूचना अधिकार डा. केसी हेल्थ डेस्क पहिलेदेखिनै रहेकाले तिनैलाई प्रयोग गरी सीमामा कडाइ गर्ने योजना मन्त्रालयले गर्न सक्ने बताउँछन् ।  सरकारले नेपाल भारत १४ वटा सीमामा हेल्थ डेस्क स्थापना गरेको थियो भने चीन र नेपालको सीमामा दुईवटा हेल्थडेस्क सञ्चालनमा ल्याएको थियो ।  हेल्थ डेस्कको मुख्य उदेश्य सिमानाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गर्नु थियो । यसो गर्दा कोभि १९ संक्रमतिको संख्या कम गर्न सकन्छ ।   भारत चीनमा देखिएको कोराना कस्तो हो ? अहिले भारत चीन लगायत दक्षिण एशियामा देखिएको कोभिड १९ को एनबी.१.८.१ र एलएफ.७ भेरियन्ट हो । यी भेरियन्ट भारतमो तमिलनाडु, गुजरात, महाराष्ट्र, र केरलामा देखिएको छ । भारतमा मात्र १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा मात्र १ सय ४ जनामा कोरोना पुष्टि भएको छ । एनबी.१.८.१ भेरियन्टमा ए४३५एस, भी ४४५एच र टी४७८आइ जस्ता स्पाइक प्रोटिन म्युटेसनहरू छन् । एलएफ.७ भेरियन्ट पनि जेएन.वान  समूहको उपभेरियन्ट हो । यसले पनि संक्रमणदर वृद्धि गरिरहेको छ । चीनमा पनि एनबी.१.८.१ भेरियन्ट देखिएको छ । त्यहाँ पनि संक्रमणदर वृद्धि भइरहेको छ । भारत र चीन दुवै देशमा संक्रमण दर वृद्धि भएपनि घातक भने त्यति नरहेको समाचारहरूमा जनाइएको छ ।

जाइकाको आर्थिक सहयोगमा धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी’ सेन्टर निर्माण हुने

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका लागि नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण गर्न लागिएको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको हो । यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब २९६ करोड येनसम्मको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । दूतावासले आर्थिक एवं भौतिक विकास, सडक सञ्जाल विस्तार, यातायातका साधनको बढ्दो प्रयोगलगायतका कारण ट्रमाका बिरामीको सङ्ख्यामा वृद्धि हुनुका साथै स्ट्रोक, मुटुजस्ता नसर्ने रोगका बिरामीको सङ्ख्या वृद्धि हुँदै गई बिरामीको चाप बढेकाले नेपालका स्वास्थ्य संस्थामा श्यया र चिकित्सा उपकरणको अभाव देखिएकाले उक्त सहायता दिइएको जनाएको छ । यस्तै सहायताले धुलिखेलमा ट्रमा र आपत्कालीन केन्द्र र सम्बन्धित उपकरण निर्माण गरी नेपालको चिकित्सा सेवालाई थप सुदृढ पार्ने, स्वास्थ्य तथा चिकित्सा सेवाको गुणस्तरमा सुधार ल्याउने र आर्थिक वृद्धिमा योगदान पु¥याउने उद्देश्य रहेको जनाइएको छ । धुलिखेलमा एक सय श्ययाको ट्रमा सेन्टर बनाउन सरकार र जापान सरकारबीच पाँचौँ चरणमा अन्तिम सम्झौता सम्पन्न भएको हो । धुलिखेलमा ट्रमा सेन्टरको स्थापनाले अरनिको राजमार्ग र विपी राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । धुलिखेललाई अरनिकोले चीनको तिब्बतसँग जोडेको छ भने विपीले पूर्वी नेपाल हुँदै भारतसँग जोडेको छ । निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख गरिएको छ । सेन्टरमा पार्किङ, आइसियु, तीन वटा अप्रेसन थिएटर, एचडियु, ल्याब, फार्मेसी, फोहर व्यवस्थापनलगायत आवश्यक सबै सेवा उपलब्ध हुने जनाइएको छ । यस्तै सेन्टर सञ्चालनका लागि तीन तला बेसमेन्टसहित पाँच तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदनमा उल्लेख छ । उक्त भवन भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपत्कालीन संरचना जडित हुनेछ । चिकित्सकीय भाषामा ट्रमामा छ घण्टालाई ‘गोल्डेन आवर’ भनिन्छ । यो अवधिभित्र उपचार गर्याे भने बाँच्ने र कम क्षति हुने सम्भावना हुन्छ । यो छ घण्टाको समय गुमाउँदा दुर्घटनामा धेरैको ज्यान जाने र अङ्गभङ्ग हुने हुन्छ । रासस