सन्दीप लामिछानेलाई कोरोनाको संक्रमण

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । लामिछानेलाई शनिबार सामाजिक स‌जाल मार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्विटरमा ट्विट गर्दै आफुलाई बुधबारदेखि शरीर दुखिरहेकाे तर हाल स्वास्थ्यस्थित सामान्य हुँदैं गइरहेकाे र छिटै मैदानमा फर्किने बताएका छन् ।

गण्डकी प्रदेश: कोरोना व्यवस्थापनमा बागलुङ नगरपालिकासहित ११ स्थानीय तह उत्कृष्ट

बलेवा । बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए । उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् । महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए । ‘‘मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्याङ्क मागेका थियौँ, तिनै तथ्याङ्कको आधारमा उत्कृष्ट छनोट गरिएको हो’’, पौडेलले भने । रासस

शरणार्थीको कोभिड-१९ को उपचार नेपाली नागरिकसरह गर्न निर्देशन

काठमाडौं । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड-१९ को पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोभिड-१९ को पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका छन् । सरकारले कोभिड-१९ को लक्षण र चिह्न देखिएमा सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गरेको छ । नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रुपमा विदेशीहरु बस्दै आएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ६४० सङ्क्रमित, दुई लाख नौ हजार ४३५ जना निको र एक हजार ४१२ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । रासस