जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय

जुम्ला । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उनले जानकारी दिए । अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । त्यसैगरी कोरोना सङ्क्रमितलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले कोभिड एम्बुलेन्सको भाडास्वरूप चार महिनामा ८६ हजारका दरले उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको हो । जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ । तीन सय ७१ सङ्क्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अन्य बिरामीको जोखिमलाई मध्यनजर गर्दै भिन्नै कोभिड अस्पताल बनाउने यसअघिको प्रस्तावमा सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको संयोकत्वमा पूर्वाधार कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, नेपाल पत्रकार महासङ्घ र नागरिक समाज समेटेर पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले अनुगमन गरी प्रतिवेदन दिएपछि सोही आधारमा जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको हो । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले हिमपात पूर्वतयारी कार्ययोजना पारित गरेको छ । रासस

जाजरकाेटकाे अस्पतालमा बिरामी बोक्न डोकोकाे प्रयोग, एम्बुलेन्स ग्यारेजमा तर चालकले थाप्छन् तलब

जाजरकाेट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए । एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन । जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन् । एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा सुनिल पुनले जानकारी दिए । यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताए । भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषण गरेको वर्ष दिन बिते पनि अझै प्राप्त भएको छैन । उत्ता छेडागाड नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । सो नगरपालिकाले आफैँ चिकित्सक नियुक्ति गरेर सेवा दिँदै आएको छ । जुनिचाँदे गाउँपालिकाले समेत सोही कार्य अगाडि बढाएको छ । स्थानीय तहले एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर काम गर्दै आएका छन् । रासस

आइतबार १६६९ जनामा संक्रमण पुष्टि हुँदा पाँच हजार ६९९ जना निकाे भए

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १६६९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १९ हजार ९६३ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५६९९ जना निकाे भएसँगैं हालसम्म १ लाख ९९ हजार २४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १३२१ पुगेकाे छ ।