मंगलबार नेपालभर १७९० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७९० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १७९० जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १७ हजार ८५९ पुगेकाे छ । नेपालमा आजसम्म १६ लाख ८१ हजार २९९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २७९१ जना निकाे भएसँगैं हालसम्म २ लाख ४ हजार ८५८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३६१ पुगेकाे छ ।
भ्याक्सिन बजारमा आउने वित्तिकै नेपालीले पाउने तयारी भइरहेकाे छ: स्वास्थ्यमन्त्री
काठमाडाैं । सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको बताए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिनहरु प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेश मार्फत कानून संशोधन गरिएको उनले बताए । उनले भने, ‘‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस भनेर कानूनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस भनेर कानूनी अफ्ठ्यारो नपरोस भनेर कानूनी बाटो खुला र सहज गरिएको हो । भ्याक्सिन अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने वित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’ मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताए । उनले तरकारी, फलफुल लगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए । रासस
कोरोना परीक्षणका लागि टोलटोलमा काठमाडाैं महानगरपालिकाकाे मोबाइल भ्यान
काठमाडाैं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको उक्त भ्यान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेपछि प्रयोग गरिएको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु लकडाउनको शुरु अवधिदेखि नै कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन लागिरहेको बताउँदै थप प्रभावकारी बनाउनका लागि नाष्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब सङ्कलनको काम शुरुआत गरिएको जानकारी दिए । नेपाल सरकारले तोकेको मापदण्डभित्र परेका नागरिक र कन्ट्याक्ट टे«सिङमा परेका शङ्कास्पद व्यक्तिलाई निःशुल्क परीक्षण गर्ने कामपा लागिपरेको बताइएको छ । यसमा एक पटकमा दुई जनाको स्वाब लिन सकिने छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैँ परीक्षण गर्न पनि कामपाले अनुरोध गरेको छ । शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबार वडा नं १३ मा स्वाब सङ्कलन गरिएको छ भने आजदेखि अन्य वडामा हुनेछ । रासस