कोरोनाको त्रास र अस्पतालमा बेडकाे खोज

काठमाडौं । तपाईँ सोच्दै हुनुहुन्छ होला कतै मलाई कोभिड–१९ को सङ्क्रमण भइहाल्छ कि ! कोरोना भए कसरी उपचार गर्ने ! फेरि टोल समाजले भेदभावपूर्ण व्यवहार गर्छ । आफन्त र इष्टमित्रको पनि व्यवहार फरक हुन्छ । अहिले नेपालमा कोरोनाको संक्रमण दर उच्च रहेका बेला शायद कमैमा होला यस्ताखाले विचारले डेरा नजमाउने तर के गर्नू, जति नै स्वास्थ्य सावधानी अपनाउँदा पनि निर्दयी कोरोनाले कसैलाई छाडेको छैन । अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तै कुरा देख्न र पढ्नुपर्ने बाध्यता छ । अधिकांशले लेख्ने गरेका छन् ‘स्वास्थ्य सावधानी अपनाउँदा अपनाउँदै कोरोना सङ्क्रमण भयो, सम्पर्कमा आउनेले परीक्षण गराउनुहोला, कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ । आजकल धेरैले फेसबुक पोष्टमा कोरोनाले अल्पायुमै निधन, कोरोनाले चुँडेर लग्यो, फलानो रहनुभएन…हार्दिक श्रद्धाञ्जलि आदि समवेदनाका शब्द पढ्नु दैनिकी बनेको छ । बस, तपाईँले जस्तै मैले पनि सोच्ने र सतर्कता अपनाउने गरेकै हो तर कोरोना नभए पनि जटिल प्रकारका कोरोना सङ्क्रमितको जत्तिकै पीडा भोग्नुप¥यो । व्यक्तिगत भोगाइ शायद कतिपयसँग मेल खान पनि सक्छ । हो, म कोरोनाका कारण हैन, त्यसको त्रासले झण्डै मृत्युको मुखमा पुगेँ । अस्पतालको दुई घण्टाको छटपटाहट र पीडादायी बसाइ मेरा निम्ति कहालीलाग्दो बन्यो । सिजनल भाइरलका कारण मलाई हल्का मात्रै निमोनियाको सङ्केत थियो । शुरुमा एक दिन जीउ दुख्यो पछि तीन दिन हल्का ज्वरो (१०० डिग्रीभन्दा कम), थप तीन दिन सामान्य रुघाखोकी । यसरी सात दिनका दिन आफू स्वस्थ्य भएको अनुभूत गरी फेसबुक स्टाटस लेखेँ तर हल्का खोकी पनि रहेकाले थप जटिलता ननिम्तियोस् भनी म नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालको आपत्कालीन उपचार कक्षमा पुगेँ । कात्तिक ४ गते करीब साँझ ६ बजेको समय । म सहयोगीका साथ सिभिल अस्पतालको आकस्मिक कक्षमा पुगेँ । सोही दिन दिउँसो मेडिसिन डिपार्टमेन्टमा फिजिसियनलाई स्वास्थ्य परीक्षण गराउँदा सामान्य थियो । छातीको एक्सरे गर्न चिकित्सकले आग्रह गरे । म एक्सरेको रिपोर्ट लिएर फर्कँदा अस्पतालको ओपिडी सेवा बन्द भइसकेको थियो । सेवा अपराह्न १२ बजेसम्म मात्रै रहेछ । रिपोर्टमा सानो दाग देखिएकाले निमोनियाको आशङ्का गरियो । सोचेँ, यदि निमोनिया हो भने त बेलैमा उपचार गर्नुप¥यो । सेवा बन्द भएकाले रिपोर्ट लिएर घर फर्किएँ । स्टाफ नर्स पत्नीले रिपोर्ट डाक्टरलाई देखाएर औषधि शुरु गरिहाल्नुपर्छ भनिन् तर कसरी त्यो सम्भव छ र ? विकल्प निस्कियो इमर्जेन्सीमा जाने । सास फेर्न केही असहज भएजस्तो महसुस गरँे । अपराह्न म साँझ सिभिल हस्पिटल पुगेँ । आकष्मिक कक्षमा त्यति धेरै बिरामी थिएनन् । म गएपछि एक/दुई जना श्वासप्रश्वास र पेटसम्बन्धी समस्या भएका केही बिरामी थिए । म सामान्य अवस्थामै थिएँ । स्वास्थ्यकर्मीले सोधपुछ गरे । उनले कोरोनाको सिम्टम्स जस्तो छ, जसरी पनि पिसिआर परीक्षण गराउनू भने । त्यसक्रममै मेरो ज्वरो परीक्षण गरियो, ९९ दशमलव ८ ज्वरो आएपछि चिकित्सक आत्तिए । घरबाट निस्कनुअघि ९७ दशमलव ५ ज्वरो भएकामा अस्पताल पुगेपछि एक्कासि बढ्यो । अक्सिजनको मात्रा मापन गरियो, त्यो पनि सामान्य थियो । त्यसपछि मेरो रगत परीक्षण भयो । दुई घण्टामा मात्रै रिपोर्ट आउने भयो । ब्लड कल्चर गर्दा अरु चार दिन लाग्ने भयो । सोही बीचमा चिकित्सकले मलाई कोरोनाको आशङ्का गरी अस्पताल बाहिरको पालमा पठाए । म त्यतै गएँ । म एक्लो बिरामी थिएँ, स्वास्थ्यकर्मी कोही आउँदैन थिए । सोचेँ कालकोठरीमा पुगेछु । चिकित्सकले पनि त्रसित बनाए । निमोनिया भएको व्यक्तिलाई अस्पतालले घर जान रेफर गर्दैन । तत्काल अक्सिजनसहितको बेड खोज्नू भने । त्यति राति कहाँ कसरी बेड पाउने ? यहीँ सम्भव छैन, बेड खाली छैन भनी सोधेँ । “अन्त खोज्नुस्”भने । वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज तथा केही निजी अस्पतालमा बुझँ,े कतै बेड छैन । यो मेरो मात्रै पीडा थिएन अन्य दुई बिरामी पनि थपिए । प्रायः इमर्जेन्सीमा आउने बिरामीलाई चिकित्सकको एउटै आग्रह थियो, ‘यहाँ बेड छैन बेड खोज्नू, अनि पिसिआर रिपोर्ट नेगेटिभ ल्याउनू’ । म बेडबाटै बेड खोज्न छुट्टिएका बेला सिभिल अस्पतालकै निर्देशक तथा अन्य अस्पतालका उच्च अधिकारीसँग बेडका लागि गुहारेँ तर कतैबाट सम्भव भएन । सम्भावित सबैसँग सहयोग मागेँ । कतैबाट पार लागेन । अन्तिममा मन्त्रिस्तरमा कुरा राख्ने निष्कर्षमा पुगेँ । फोन भने लगाइन । करीब रातिको ८ बजिसकेको छ । रगतको रिपोर्ट पनि आयो । शरीरमा कुनै इन्फेक्सन रहेनछ । अब तत्कालै पिसिआर टेष्ट गर्न चिकित्सकले भने । रातिको समय भएकाले कहाँ जाने परीक्षण गर्न ? सिभिलबाट सीधै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज हानिएँ । त्यहाँ केहीबेरको लाइनपछि स्वाब दिएँ । पिसिआर रिपोर्ट लिएपछि…. बेचैन मनलाई सम्हाल्दै कात्तिक ५ गते म सिभिल हस्पिटलको मेडिसिन डिपार्टमेन्ट पुगेँ । मलाई पिसिआर रिपोर्टपछि मात्रै भेट्नू भनिको थियो तर म सम्हालिने अवस्थामा थिइन । त्यसैले चिकित्सकको आग्रह विपरीत म अस्पताल गएँ किनकि मैले एक्सरेको रिपोर्ट देखाउनु थियो । रिपोर्ट हेरेर चिकित्सकले भने, “तपाईँलाई सामान्य मात्रै हो निमोनिया । आत्तिनु पर्दैन ।” मलाई एन्टिबायोटिक र केही भिटामिन प्रिस्क्राइब गरे तर एन्टिबायोटिक पिसिआर रिपोर्ट नेगेटिभ आयो भने मात्र खाने, नभए औषधि सेवन गर्न मिल्दैन भने । मनभित्रको छटपटी चुलियो । सहनुको विकल्प थिएन । सोही दिन साँझ आफँै गएर रिपोर्ट लिएँ । काउन्टरमा नसोधी रिपोर्ट सीधै हातमा लिएँ । रिपोर्ट नेगेटिभ रहेछ । अन्य पीडा बिर्सेर खुशीले गद्गद् भएँ । दुई घण्टाको पाल बसाइले मलाई अन्तिम रोजाइ मृत्यु हो भन्ने निष्कर्षमा पुगेको थिएँ । घरमा तीन वर्षको छोरो अनि श्रीमतीको शारीरिक अवस्थाले पनि म थप पिरोलिएको थिएँ । परिवारका सदस्य पनि सशङ्कित थिए । छरछिमेकका मानिस देखेर तर्किन्थे, फर्किन्थे । भेदभावपूर्ण व्यवहार गरेको अनुभूति हुन्थ्यो । कोरोनाको उपचार पनि नपाइने भएकाले परिवारका अन्य सदस्यलाई पनि केही भइहाल्यो भने के होला, यस्तै अनगिन्ती प्रश्न र नकारात्मक सोचाइले मलाई अन्तिम विकल्प नै मृत्यु जस्तो लाग्यो । कोरोना रिपोर्ट नेगेटिभपछि मैले चिकित्सकले लेखिदिएको औषधि सेवन गरँे । सात दिनको डोज पूरा भएपछि आफू स्वस्थ भएको महसुस गरँे । निमोनिया भर्खरै ठीक भएको र अझै केही दिन हिँडडुल गर्न नमिल्ने भएकाले अहिले म घरबाटै अफिसको काम सम्पादन गरिरहेको छु । स्वास्थ्यमा राम्रो सुधार भएको छ । सावधानी अपनाउनैपर्ने बाध्यता छ । अहिले पनि मन पुलकित छैन सर्वसाधारण नेपालीको अवस्था देखेर, सुनेर । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दागर्दै र उच्च सतर्कता अपनाउँदा पनि अहिले धेरैमा कोरोना भाइरस को सङ्क्रमण देखिने गरेको छ । कतिपय लक्षणसहितका सङ्क्रमित छन् भने केहीलाई लक्षण नै नदेखिई कोरोना पोजेटिभ हुने गरेको छ । नेपालमा यतिखेर कोरोना सङ्क्रमण दर उच्च रहेका बेला राजधानीका सबैजसो अस्पताल कोरोनाका बिरामीले भरिभराउ छन् । कोरोना उपचार हुने सरकारी अस्पतालमा त झन् बेड नै पाइँदैन । बिरामीले तीनदेखि साता दिन प्रतीक्षापछि मात्रै बेड पाउनसक्छन् । त्यतिञ्जेल उनीहरुको स्वास्थ्य अवस्था कस्तो होला । हो, अहिले सरकारी मात्र हैन, निजी अस्पतालमा पनि कोरोना सङ्क्रमितले बेड पाउन मुश्किल छ । कतिपय अस्पतालले त बेड भएर पनि बहानाबाजी गर्ने गरेका छन् । निजीको त कुरा गरिसाध्य छैन तर निजी अस्पताल कोरोना परीक्षणमा चाहिँ लालायित हुन्छन् । रु दुई हजार सहजै पाइने र त्यसपछि बिरामीको अवस्थाअनुसार उपचार पनि गर्नुपर्ने भएकाले अधिकांश अस्पताल तथा निजी प्रयोगशालाले परीक्षण गरे पनि उपचारका लागि बेड उपलब्ध गराउन आनाकानी गरेको भेटिएको छ । कोरोनाको त्रासमा सामान्य बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भनेर आवश्यक उपचार र व्यवस्थापनमा सरोकार पक्ष एवं निकायको ध्यान जान जरुरी छ ।

अब कान्तिबाल अस्पतालको सेवा नुवाकाेटकाे त्रिशूलीमा

त्रिशुली । त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग सम्झौता गरिएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट एंव प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. केसीले जानकारी दिइन् । उनको अनुसार अबदेखि हरेक साताको सार्वजनिक बिदाको दिन बाहेक मंगलबार कान्तिबाल अस्पतालको सेवा स्याटेलाइट क्लिनिक मार्फत बाल रोगसंग सम्बन्धित सेवा उपलब्ध गराइने भएको छ । स्याटेलाइट क्लिनिक सेवा मार्फत बालरोग सम्बन्धि सर्जरी चिकित्सक सहितको चिकित्सक रहने त्यसमा मेडिकल र सर्जिकल विशेषत्र सेवा समेत उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिए । यहाँको अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा बाल रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन कान्तिबाल अस्पताल समक्ष त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा केसीले आग्रह गरिन् । ग्रामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न सङ्घीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै बजेट सुनिश्चित गरिएको थियो ।

बाँकेमा उपचारारत ३० सङ्क्रमित सिकिस्त

बाँके । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचारारत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त रहेका छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना रहेका छन् । भेरीमा नौ र कोहलपुरमा १२ जना गरी अस्पतालमा २१ जना सामान्य बिरामी उपचाररत रहेका छन् । बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका सङ्क्रमितको दैनिकजसो मृत्यु भइरहेको छ । लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । कोरोना सङ्क्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्दछन् । बाँकेका विभिन्न स्थानीय तहमा १९१ जना कोरोना सङ्क्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । बाँकेमा हालसम्म कोरोनाका कारण १३ महिला र २१ पुरुष गरी ३४ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन् ।