धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै, एक हप्तामा संचालनमा आउने

धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो । धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले भेन्टिलेटर राख्ने र बिरामीलाई कुर्ने आइसीयूमा राखिने स्थान बनाउँदै गरेको तथा एक सातामा तयार हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताएका छन् । अस्पतालले दुई भेन्टिलेटर र आठवटा आइसीयू शय्यासहितको थप सेवा दिन निरन्तर लागिरहेको र एक सातापछि अस्पतालले सेवा शुरु गर्न सकिने अवस्थामा पुगेको जनाएको छ । कोभिड–१९ उपचारका लागि स्थापना गरिने भए पनि यो सेवा शुरु भएपछि जिल्लामै सुविधासम्पन्न अस्पतालको रूपमा रहने भएको छ । आइसीयू र भेन्टिलेटर राखिएपछि बिरामीले जिल्लामै अति संवेदनशील अवस्थामा समेत सेवा पाउनेछन् भने गरिब नागरिकले घरआँगनमै निःशुल्क सेवा पाउने अवस्था आएको अस्पतालका अध्यक्ष धमलाको भनाइ छ । अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालन भएपछि गम्भीर बिरामी भएकाहरुले समेत उपचार पाउने र सबै किसिमको विशेषज्ञ सेवासमेत रहने धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताएका छन् । हाल धादिङ अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवामा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेका छन् भने विषेशज्ञसहितको टोलीले सेवा दिइरहेको छ । रासस

मंगलबार तीन हजार ११४ काेराेना संक्रमित थपिए, २० जनाकाे मृत्‍यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ४ सय ७६ पुगेकाे छ । नेपालमा आजसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३१४२ जना निकाे भएसँगैं हालसम्म १ लाख ४१ हजार १३४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २० जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १००४ पुगेकाे छ ।

नेपालमा बस्ने पूर्वभारतीय सैनिकले मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउने

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटो र नेपाल स्थित भारतीय राजदुतावासका इसिएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले आज कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षिय सम्झौतामा हस्ताक्षर गरेका हुन् । अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसिएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसिएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् । कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसिएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।