नलगाडको सबै वडामा स्वास्थ्य संस्था
जाजरकाेट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । वडा नं ४ र ५ मा नयाँ भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १, ६, ८, ९, १० र १२ मा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा नं १३ को गेउमा र सिउनामा गरी दुई ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलब्ध गराइएको छ । भवन पूर्णरूपमा निर्माण नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ । वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण जारीसँगै नगरपालिकाभित्रका करिब २५ हजार ५९७ जनसङ्ख्या स्वास्थ्य सेवाको पहुँचमा पुगेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिए । नगरपालिकाले यसै आर्थिक वर्षदेखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पताल बनाउनका लागि काम शुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए । अहिले आवश्यक उपकरण तथा सौर्य ऊर्जा (सोलार) खरिदको काम गर्न लागिएको छ । आफैँले एमडी चिकित्सक भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अब सबै खालको सेवा घरआँगनमै दिनका लागि काम तीव्ररूपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिए । सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन वडा नं १ को जुरेली, ५ को सिर्के, ६ को नेटिलेख, ७ को दानीपिपल, ८ को जिकुवा र ११ को रजिकमा खोप क्लिनिक निर्माण गरी सेवा सञ्चालन गरिएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद भइसकेकाले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र एक, एक्सरे भवन एकवटा नगरपालिकाले निर्माण गरेको छ । रासस
काठमाडौं महानगरले कान्ति अस्पताललाई दियो पीसीआर मेसिन, छिट्टै सेवा सुरु गर्न आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी मेसिन हस्तान्तरण गरिएको हो । चीनको नानजिङ सहरबाट प्राप्त दुई मध्ये एक थान मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो । नानजिङ र काठमाडौं महानगरको भागिनी सम्बन्ध छ । मेसिन हस्तान्तरणपछि मेयर शाक्यले जति सक्दो चाँडो मेसिन जडान गरी सेवा सुरु गर्न आग्रह गरे । सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ महानगरले आवश्यक सामग्री बिरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण आएको र यो तेस्रो चरणको कार्यक्रम रहेको उनले बताए । मेयर शाक्यले उपचाररत बालबालिकालाई राम्रो सेवा दिन आग्रह गर्दै थप सहयोग गर्न महानगर तयार रहेको बताए । कान्ति बालका अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडौं महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताए । पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताए । कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म दुई जनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् । काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड-१९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।
ग्रामीण क्षेत्रमा भुसको आगो झै फैलदै कोरोना संक्रमण, पीसीआर शुल्कको झन्झटले संकलन हुन छोड्यो स्वाव
काठमाडौं । ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भुसको आगो जस्तै गरी फैलिएपनि स्वाव संकलन हुन छोडेको छ । संक्रमण पहिचानकको लागि गरिने पीसीआर परीक्षण शुल्क ल्यावसम्म पुर्याउन स्थानीय तहले समन्वय नगर्दा स्वाव संकलन नै रोकिएको छ । सरकारले तोकिएका लक्षित समुह बाहेकको निःशुल्क स्वाव परीक्षण नगर्ने नीतिगत व्यवस्था गरेपछि आफूहरुले स्वाव संकलन गर्न छोडेको स्थानीय तहहरुले बताएका छन् । लक्षण देखिएका व्यक्तिहरुको स्वाव संकलन गरेर आफूहरुले नजिकको तथा तोकिएको ल्यावमा स्वाव पठाउने गरेको भएपनि पछिल्लो व्यवस्था अनुसारको शुल्क रकम पठाउन झन्झट भएकोले स्वाव संकलन रोकिएको जानकारी दिए । सरकारले प्रतिस्वाव परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको छ । केही निजी ल्यावहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका छन् । ‘हाम्रै गाउमा कोरोनाको लक्षणसँग शतप्रतिशत मिल्दो लक्षण भएका धेरै व्यक्ति छन्, उनीहरुलाई सार्वजनिक सवारी साधनमा धुलिखेल वा वर्दिवास गएर स्वाव दिएर आउँ भन्न सकिएन, यहीं स्वाव संकलन गरेर ल्यावमा पठाउन पनि पैसा कसरी पठाउने भन्ने समस्या रह्यो, यहाँबाट पठाएको पैसा गन्ने बेलामा पुगेन भन्ने कुरा आयो भने त्यसको जवाफदेही को हुने ? यस्ता धेरै समस्या देखिए,’ रामेछापको एक पालिकाका प्रमुखले भने । संघीय सरकारले परीक्षणको शुल्क तोकेपनि स्थानीय तहले संकलन गरेको स्वावको रकम भुक्तानी गर्ने व्यवस्था नमिलाउँदा यस्तो समस्या आएको हो । रामेछाप जस्तो सुगम र राजधानीबाट निकै नजिक रहेको जिल्लामा पनि यस्तो समस्या छ भने अन्य दुर्गम क्षेत्रको समस्या अझ जटिल भएको छ । संघीय सरकारले तोकेअनुसारको प्रतिनमुना परीक्षण शुल्क स्थानीय तहसँग पछिअसुल गर्ने वा सम्बन्धित ल्यावको बैंक खातामा रकम जम्मा गरेको भौचरका आधारमा गरिदिने व्यवस्था भए सहज हुने पालिकाहरुले बताएका छन् । ‘जुन पालिका वा स्वास्थ्य संस्थाले नमुना संकलन गरेर जुन ल्यावमा पठाउँछ, सो ल्यावले सो पालिका वा स्वास्थ्य संस्थासँग बाँकी देखाएर स्वाव परीक्षण गर्ने व्यवस्था एउटा विकल्प हुन सक्छ, अर्काे भनेको ल्यावले बैंक खाता दिने, सो बैंक खातामा रकम जम्मा गरिदिएको भौचरका आधामा स्वाव परीक्षण गर्ने अर्काे विकल्प हुन सक्छ, सम्बन्धित व्यक्तिहरुसँग पालिका वा स्वास्थ्य संस्थाले रकम लिन्छन्, तर यहाँ त कुनै विकल्प नै नदिइ स्वाव संकलन गरे पनि परीक्षण गराउन नमिल्ने अवस्था आयो,’ सिन्धुलीको एक पालिकाका प्रमुखले भने । ल्यावको छेउछाउकाको मात्रै परीक्षण ल्यावको नजिक नरहेका व्यक्तिहरुले ल्यावमा गएर स्वाव दिन सक्ने अवस्था नआएपछि नमुना परीक्षणको संख्या नै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक १० गते ५ हजार ६ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो जसमा १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टी भएको थियो । कात्तिक १२ गते ८ हजार २ सय ४८ वटा नमुनाको पीसीआर परीक्षण हुँदा १ हजार ९ सय ५४ मा संक्रमण पुष्टी भएको थियो । यस्तै, कात्तिक १३ गते ९ हजार ७ सय ६९ वटा नमुनाको पीसीआर परीक्षण गरिएको थियो, जसमा २ हजार ३ सय ६५ मा संक्रमण पुष्टी भएको थियो । कात्तिक १४ गते १४ हजार ९ सय ८९ वटा नमुनाको पीसीआर परीक्षण हुँदा ३ हजार ५ सय ३७ जनामा संक्रमण पुष्टी भएको थियो । यस्तै, कात्तिक १५ गते ९ हजार २ सय ७९ वटा नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ८ मा संक्रमण पुष्टी भएको थियो । कात्तिक १६ गते १३ हजार २३ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो, जसमा २ हजार ८ सय २४ मा संक्रमण पुष्टी भएको थियो । ल्यावको नजिक रहेका व्यक्तिहरुले स्वतस्फूर्त रुपमा परीक्षण गराएका कारणले मात्रै अहिले नमुना परीक्षणको संख्या धेरै देखिएको हो । ल्यावभन्दा टाढा रहेका सर्वसाधारणले कोरोना भाइरस संक्रमणको शतप्रतिशत लक्षण देखिए पनि स्वाव परीक्षणको शुल्क बुझाउने प्रणालीको अभावमा परीक्षण गर्न पाएका छैनन् ।