ललितपुरमा कोरोना सङ्क्रमितकाे सङ्ख्या चार हजार नाघ्याे, डा. गेलाल भन्छन्ः डर मान्न छाडेकाेले बढ्याे
ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए। उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।” महानगरपालिकामा ७९ देखि ८० प्रतिशत सङ्क्रमितहरूको कन्ट्रयाक ट्रेसिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छौं”, उनले थपे, “कोभिड सङ्क्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवारको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।” लपु महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामानिको भई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय सङ्क्रमित एक हजार २३१ पुगेकामा होम आइसोलेसनमा एक हजार १५० र विभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिइन् । उनले भनिन्, “शनिबार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगर बाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन् । वडाका विभिन्न काममा लागिपर्दा महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएर उनीहरु होम आइसोलेसनमा बसिरहेका छन् । महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ । गत बुधबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका थिए । उनले हाल घरबाटै महानगरपालिकाको काम गरिरहेकी प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराइन् । महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ५४३ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्तभई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय सङ्क्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन सङ्क्रमितको मृत्यु भईसकेको छ ।” गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएका थिए । उक्त नगरपालिकाले कोभिड सङ्क्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताए । “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उनले भने, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन सङ्क्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।” गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ३०४ पुगेकामा निकोभई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ । यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मङगलबार कोरोना सङ्क्रमण मुक्त भएका थिए । कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताए । वाग्मती गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेको संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए । महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेकामा निकोभई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भने, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छौं ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन । रासस
शनिबार मात्रै एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क वितरण
काठमाडौं । नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए । यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटामार्फत वडाको सार्वजनिकस्थल एवं कोरोना सङ्क्रमितका घरघरमा रोप्न ४०० बिरुवा हस्तान्तरण गरिएको छ । बल्खु क्षेत्रको भुवनेश्वर मन्दिर वरपरसमेत गुर्जो रोपिने वडा कार्यालयले जनाएको छ । १४ नं वडामा हाल आइसोलेसनमा बसेका ३०० जनालाई गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरस्थित आदर्श पाञ्चायन वाटिकामा रोप्न २०० बिरुवा वितरण गरिएको छ । कोरोना सङ्क्रमित भई आइसोलेसनमा बसेका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पनि गुर्जोको बिरुवासँगै चिया एवं धुलोसमेत उपलब्ध गराइएको छ । आचार्यका छोराले कुपण्डोलमा चलाएका दृग क्याफेमा पुगी हाँस्य कलाकार आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत गरी १०० गुर्जोका बिरुवा वितरण गरिएको छ । यसअघि राजधानीका वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । उनले हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको बताएका छन् । गुर्जोको बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ । गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो । गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिएका छन् । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मीलगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ । रासस
२७ दिनपछि डा. केसीले अनसन तोडे, यस्ताे छ ८ बुँदे सहमति
काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइतबार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्। सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।