कोरोनामा आयुर्वेदिक औषधिको माग बढ्दो
काठमाडाैं । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन् । “विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ”, उनले भने । समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ । मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् । “गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ”, उनले भने । उपत्यकामा वाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ । समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो । गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु¥याउँछ भनी अनुसन्धान शुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरु काम अघि बढेको बताउँछन् ।
नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेटस्द्वारा हिरोजको उपमा
काठमाडाैं । सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्स्नोट्स्मा ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ । बिल गेट्सको ब्लग गेट्स्नोट्सले कोरोना महामारीमा समस्या परेकाहरूको हेरचाह गर्ने ७ व्यक्तिहरूको कथा समेटेको थियो । लक्ष्मी रायमाझी यसमध्ये एकजनामा नेपालबाट छानिएकी हुन्। उनले नेपालको काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गर्दै आएकी छिन्।
कोरोना लागेका शिक्षा र पर्यटन मन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?
काठमाडौं । गएको शनिबार र आईतबार नेपालका दुई मन्त्रीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराई र शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड १९ पुष्टि भएको हो । पर्यटनमन्त्री याोगेश भटराईले आफ्नो सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए । मन्त्री भटराईलाई गएको हप्ता उपत्यका बाहिरका कार्यक्रममा सहभागी भएर शुक्रबार घर फर्किएपछि हल्का ज्वरो आएको थियो । उनले त्यसलगत्तै भोलिपल्ट शनिबार परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम हुमगाईको अनुसार भटराईको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी होम क्वारेन्टिनमा नै बसिरहेका छन् । ‘गएको शुक्रबार र शनिबार उहाँलाई हल्का ज्वरो देखिए पनि अहिले उहाँको अवस्था सामान्य छ,’ उनले भने । मन्त्री भटराई हाल पुल्चोकस्थित मन्त्री क्वार्टरमै रहेको र उनीकी श्रीमती तथा आफूलाई संक्रमण नदेखिएको स्वकीय सचिव हुमागाईले जानकारी दिए । यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई शनिबार राति ज्वारो आएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । पोखरेलको पीसीआर गर्दा आइतबार उनलाई कोरोना भएको पुष्टि भएको थियो । मन्त्री पोखरेलको स्वास्थ्यमा खासै सुधार नआएको उनका स्वकीय सचिव पुरन केसीले बताएका छन् । ‘गत शनिबारदेखि उहाँमा देखिएको लक्षण निरन्तर नै छ, उहाँलाई ज्वारो आउने र जिउ दुख्ने लक्षण देखिएको छ,’ केसीले भने । मन्त्री पोखरेलसँग सम्पर्कमा आएको सबैजनाको पीसीआर परीक्षण भएको र साँझसम्म नतिजा आइपुग्ने केसी बताए । मन्त्री पोखरेल शनिबार अगाडि प्रन्धामन्त्रीसँगको बैठक, मन्त्रालयमा सचिवलायको दैनिक हुने बैठक, डाक्टर केसीको विषयमा सरकारी वार्ता टोलीको बैठक लगायत सबै बैठकमा सहभागी रेहेको स्वकीय सचिव केसीले जानकारी दिए । ‘शनिबार स्वास्थ्यमासमस्या आएपछि उहाँ कुनै कार्यक्रममा पनि सहभागी हुनभएन, त्यसअघि भने सबै बैठकहरुमा सहभागी हुनुहुन्थ्यो,’ स्वकीय सचिव केसीले भने ।