पाल्पाको निस्दी निस्दी गाउँपालिका सिल

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा सङ्क्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो । गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ । रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आज राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । यसैगरी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रबार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विजय परियारले बताए । रासस

चितवनमा होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् । रासस

टोखामा काेराेना संक्रमितकाे संख्या १३ सय नाघ्यो

काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् । यस्तै, वडा नं १ मा २८, २ मा ६२,ं ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् । कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेशन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ श्ययाको आइसोलेशन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेशन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए । नगरपालिकाभित्रका सबै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन ३५० भत्ता दिने निर्णय गरिसकेको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए । रासस