लाखौँ खर्चेर बनाएकाे बैतडीकाे प्रसूति गृह प्रयोगविहीन
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् । सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने, “भवन मात्रै बनेको छ, आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।” गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ । कोरोना महामारीका कारण बाहिर जानसमेत अप्ठ्यारो भइरहेका बेला गाउँमा बनेका प्रसूति सेवा केन्द्र सञ्चालनमा नआउँदा समस्या भएको स्थानीयवासीले बताएका छन् । पाटन नगरपालिका वडा नं १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन् । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको १२ देखि २० लाखको लागतमा बनेका ती भवन अझै पनि सञ्चालन गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने “कर्मचारीको अभाव र उपकरण औजारको अभावमा शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिएको छैन् ।” यस्तै पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य एकाइ पनि सञ्चालनमा आएको छैन । स्थानीयवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माण भएका संरचना प्रयोगमा नआउँदा स्थानीयवासीलाई समस्या भएको छ । सो सामुदायिक स्वास्थ्य एकाइमा शौचालय, खानेपानीको अभाव रहेको छ भने उपकरण र कर्मचारीको समेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताए । उनले भने, “मलाई धेरै कुरा थाहा छैन्, तर बनेका संरचना प्रयोगमा आएका छैनन्, प्रदेश सरकारको पैसाले बनेको हो, कर्मचारी र उपकरणको अभावले सो भवन प्रयोगविहीन भएको छ ।” पुर्चौँडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुकले बताए । रासस
हामीले बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएका हौं: नर्भिक अस्पताल
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले आफुहरु बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएको बताएको छ । विभिन्न मिडियाहरुमा अस्पतालमा आएको कोभिड सुरक्षा शुल्क विषयमा अस्तपतालले यस्तो प्रतिकृया रहेकाे जनाएको हो । अस्पतालमा आउने बिरामी उनको परिवारको सदस्यको सुरक्षाको लागि ठुलो मात्रामा रकम खर्च भएको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव भएकोले आफुहरु शुल्क लिन बाध्य भएको अस्पतालले बताएको हाे । उक्त शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अस्पतालले अनुरोध गरेको छ । नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्नलाई ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसन, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क र शू कभर आदिको दिने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको जनाएको छ । कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि नर्भिक ननकाेभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएको र यसको एक मात्र प्रमुख कारण आफुहरुले अप्नाएका सुुरक्षा अवधारणा र उपायहरु नै रहेको अस्पतालले जनाएको छ । कोभिड प्रोटेक्सन चार्ज कोभिड बिरामीहरुलाई नभएर अस्पतालमा आउने बिरामी कुरुवाहरुहरुलाई रहेको अस्पतालले जनाएको छ ।
बैंक वित्तीय संस्थाका कर्मचारी र परिवार गरी ३ हजारलाई कोरोना संक्रमण, कहाँ राखिन्छ संक्रमितलाई ?
काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासले नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म १० लाख ९९ हजारमा पीसीआर प्रणालीबाट परीक्षण गर्दा ९० हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । समुदायस्तरमै फैलिसकेको कोरोना भाइरसको कारणको नेपालका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी र तिनका परिवारमा पनि संक्रमण फैलिसकेको छ । अहिलेसम्म बैंकमा काम गर्ने कर्मचारी र उनीहरुका परिवार गरी ३ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । पछिल्लो समय सरकारले संक्रमितलाई खासै गाह्रो नभए घरमै आइसोलेसनमा बस्न आग्रह गरिरहेको छ । तर, काठमाडौं उपत्यका तथा अन्य शहरी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीमध्ये भाडामा बस्नेको संख्या धेरै भएको र उनीहरुको डेरामा आइसोलेसनमा बस्नको लागि बेग्लै कोठा नभएकोले समस्या परिरहेको संक्रमित र उनीहरुको परिवारले बताउँदै आएका छन् । संक्रमित कर्मचारीको लागि आइसोलेसनमा बस्ने व्यवस्था सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार नै आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था नभएका कर्मचारीको लागि बेग्लै व्यवस्था गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘लक्षण देखिएका कर्मचारीको पीसीआर परीक्षणको शुल्क बैंकहरुले नै तिरेका छन्, आइसोलेसनमा बस्नुपर्ने कर्मचारीलाई तिमीहरुको घरमा बस्ने व्यवस्था छ कि छैन भनेर सोध्छौं, नहुनेलाई बैंकले नै शुल्क तिरेर होटलमा राख्ने व्यवस्था मिलाइएको छ,’ सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने । पीसीआर परीक्षणको लागि ल्याव र होटल खोज्नको लागि एसोसिएसनले नै पहल गरिदिएको छ । तर, एसोसिएसन आफैले होटल वा पीसीआर परीक्षणको लागि ल्यावसँग सम्झौता गरेको भने होइन । ‘विभिन्न ल्यावले हामीसँग सम्पर्क गरेका छन्, होटलहरुसँग पनि हामीले क्वारेन्टिनमा बस्नको लागि कति खर्च लाग्छ भनेर विवरण मागेका छौं, यी दुबै विवरण सबै बैंकहरुलाई दिएका छौं, बैंकहरु आफैले ल्याव र होटलसँग सम्पर्क गरेर पीसीआर परीक्षण र क्वारेन्टिनको व्यवस्था मिलाएका छन्,’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने । बैंकहरुले महंगोदेखि सस्तोसम्म ५ प्रकारका होटलसँग सम्झौता गरेर आफ्ना कर्मचारीलाई क्वारेन्टिनमा राख्ने गरेका छन् । संक्रमित व्यक्तिलाई होटलहरुले पनि राख्न नमानेको कारण केही समस्या भएको बैंकहरुले बताएका छन् । होटलले राख्न नमानेका संक्रमित व्यक्तिहरुलाई भने निजी अस्पतालहरुसँग सम्पर्क गरी त्यस्ता अस्पतालमा राख्ने गरिएको छ । संक्रमण पुष्टी भएपनि लक्षण् नदेखिएका र गम्भीर समस्या नभएका व्यक्तिहरुलाई सरकारले अस्पताल भर्ना गरी उपचारमा सहयोग गरेको छैन ।